16.08.26    Avyakt Bapdada     Nepali Murli    16.03.2011     Om Shanti     Madhuban


“ मन्साद्वारा प्रकृतिलाई सतोगुणी बनाउने सेवा गर , शुभ भावना , शुभ कामना राखेर संस्कार मिलनको रास गर।”


आज परम पवित्र बाबा आफ्ना बच्चाहरूसँग होली मनाउन आउनुभएको छ। तिमी सबै पनि होली मनाउन आएका छौ। चारैतर्फका टाढा बसेका बच्चाहरू पनि टाढा बसेर पनि होली मनाउन बसेका छन्। तिमी सबै कुन रङको होली मनाउन आएका छौ! जान्दछौ, सबैभन्दा श्रेष्ठ रङ हो परमात्म सङ्गको रङ। यो रङ सदा श्रेष्ठभन्दा श्रेष्ठ बनाउने हो। जसरी बाबा उच्चभन्दा उच्च हुनुहुन्छ, त्यसैगरी यो परमात्म सङ्ग उच्चभन्दा उच्च बनाउने हो। हरेक बच्चाको निधारमा चम्किरहेको भाग्यको सितारा देखिरहनुभएको छ। यो भाग्यको सितारा सारा कल्पमा तिमी भाग्यशाली बच्चाहरूबाहेक अरू कसैले प्राप्त गर्न सक्दैन। त्यो श्रेष्ठ भाग्य हो– तिमी बच्चाहरू नै डबल पवित्र अर्थात् होली बन्छौ। हुन त धर्मात्माहरू पनि छन् तर उनीहरू शरीरबाट पवित्र बन्दैनन्। तिमी ब्राह्मण आत्माहरूको भविष्यमा आत्मा पनि पवित्र बन्छ र शरीर पनि पवित्र बन्छ। यसको निसानी डबल पवित्र, त्यसैले डबल ताज प्राप्त हुन्छ। सारा कल्पमा तिमी सङ्गमयुगमा बाबाको सङ्गको रङले डबल पवित्र, डबल ताजधारी बन्छौ। सङ्गमयुगको परमात्म सङ्गतले डबल पवित्र बनाइदिन्छ। त्यसैले तिमी होली बाबाको साथमा रहनाले, बाबालाई कम्बाइन्ड बनाउनाले डबल पवित्र बन्छौ। सदा मनमा बाबाको सङ्गत रहन्छ, यो सङ्गत कति श्रेष्ठ छ जसले यति श्रेष्ठ बनाइदिन्छ। मानिसहरू त स्थूल रङले होली मनाउँछन् तर तिमी बाबाको सङ्गको रङले होली बन्छौ। त्यो पनि डबल होली। त्यसैले तिम्रो होली दुनियाँभन्दा न्यारा परमात्माको प्यारा छ। त्यसैले नसा रहन्छ नि– हाम्रो होली प्रभु सङ्गको रङको कारण आधाकल्प यस्तो पवित्र बनाउँछ, जसले गर्दा अहिलेसम्म पनि तिम्रा चित्रहरू नियम अनुसार पुजिन्छन् र अरू कसैका पनि चित्र यसरी प्रेमपूर्वक पुजिँदैनन्। तिमी स्वयं आफ्ना चित्रहरूलाई देखिरहेका छौ। अरू पनि पुजिन्छन् तर यति समय र यसरी विधिपूर्वक पूजा हुँदैन। तिमी सदा उमङ्ग र उत्साहमा रहन्छौ। रहन्छौ नि! उमङ्ग-उत्साहमा रहन्छौ? हात उठाऊ। रहन्छौ, कहिलेकाहीँ वा सदा? जो भन्छन् हामी सदा उमङ्ग-उत्साहमा रहन्छौँ पनि र अरूलाई पनि उमङ्ग-उत्साह दिलाउँछौँ, उनीहरूले हात उठाऊ। कहिलेकाहीँ होइन, सदा। सदा शब्दलाई रेखाङ्कित गर्छौ नि! तर तिम्रो यादगार, जे जति तिम्रो स्थिति रहेको छ त्यसको यादगार तिम्रा भक्तहरूले उत्सवको रूपमा मनाउँछन्। तिमीले प्रभु सङ्गको रङ लगायौ, त्यसैले उनीहरूले पनि रङ लगाउँछन् तर देह-अभिमानी छन् नि, त्यसैले स्थूल रङ लगाइदिन्छन्। जुन रङमा खर्च पनि धेरै र फेरि रिजल्ट पनि केही राम्रो केही नराम्रो, यसरी मनाउँछन्। तर तिम्रो उत्साहको यादगार उत्सव अवश्य मनाएका छन्। तिमी परमात्माको बन्नको लागि पहिला आफ्ना पुराना संस्कारहरूलाई जलाउँछौ र फेरि प्रभु सङ्गको रङ लाग्नाले सदा मनाइरहन्छौ। उनीहरूले पनि पहिला जलाउँछन् फेरि मनाउँछन् तर तिम्रो मनाउनु र उनीहरूको मनाउनुमा रात-दिनको अन्तर छ। उनीहरू देह-अभिमानी, तिमी आत्म-अभिमानी। उनीहरू देह-भानमा, तिमी आत्मिक भानमा।

तिमीलाई बापदादाको डाइरेक्सन छ होली अर्थात् बितेको कुरा बित्यो। उनीहरूले पनि भन्छन् हो ली (भइसक्यो) तर अर्थलाई यथार्थमा ल्याउन सक्दैनन्। तिमी सबैले हो ली अर्थात् बितेको कुरा बित्यो गर्छौ। गर्छौ नि! कि कहिलेकाहीँ गर्छौ? किनकि बितेको कुरालाई याद गर्नाले व्यर्थ सङ्कल्प धेरै चल्छन्। समय पनि व्यर्थ जान्छ। जुन धेरै समयका संस्कार छन्, ती नचाहँदा-नचाहँदै पनि जब चल्छन्, तब यस सङ्गमयुगको एक-एक मिनेट जसले एक जन्ममा २१ जन्मको प्रारब्ध बनाउँछ, त्यो एक-एक सङ्कल्प, एक-एक मिनेट कति मूल्यवान् छ। एक सेकेन्ड गएको होइन तर अनेक जन्मको प्रारब्धमा फरक पर्छ। बापदादाले पहिला पनि भन्नुभएको छ– सङ्गम समयको समय र सङ्कल्प कहिल्यै पनि व्यर्थ गुमाउनुहुँदैन। यदि सदा प्रभु रङमा रङ्गिएका छौ अर्थात् बाबालाई सदाको साथी बनाएर रहन्छौ भने सङ्गमयुगको एक-एक सङ्कल्प र समय अर्थात् एक-एक मिनेटलाई सफल गर्न सक्छौ। त्यसैले आफूलाई चेक गर– एक-एक मिनेट, एक-एक सङ्कल्प सफल हुन्छ? वा व्यर्थ पनि जान्छ? किनकि एक मिनेट होइन, २१ जन्मको कनेक्सन हरेक मिनेट र हरेक सङ्कल्पको छ। यति महत्त्व छ। त्यसैले आफ्नो मनमा सोच– यति महत्त्व सदा रहन्छ! यस सङ्गमको समयको लागि भनिएको छ– ‘अहिले नभए कहिल्यै हुँदैन।’ यति महत्त्व सदा स्मृतिमा रहोस्। तिमी सबैले आज होली मनायौ अर्थात् सदा बाबाको सङ्गको रङ लगायौ। दिनभरि चेक गर्यौ– बाबाको रङ लागिरह्यो? परमात्म सङ्गतमा रह्यौ वा अरू पनि कहीँ समय वा सङ्कल्प गयो? चेक गर्यौ? शिर हल्लाऊ, हात होइन, यसरी गर।

बापदादा सदा नै इसारा दिनुहुन्छ– आफ्नो मनको शुभ सतोगुणी सङ्कल्पद्वारा प्रकृतिलाई पनि सतोगुणी बनाइराख। के त्यो मन्सा सेवा याद रहन्छ? किनकि अहिले प्रकृतिले ठुलो रूपमा आफ्नो कार्य गर्नेछ। यो त सानो कुरा हो तर प्रकृतिलाई मनुष्य आत्माहरूले हैरान गर्छन्, त्यसैले उसले पनि हैरान गर्न सुरु गर्छ, त्यसैले बाबा भन्नुहुन्छ– जसरी मायाजित बन्ने अटेन्सन राख्छौ। राख्छौ नि! मायासँग वाचा छ– तिम्रो काम हो आउनु र हाम्रो काम हो विजय प्राप्त गर्नु। गरेका छौ नि वाचा सबैले? गरेका छौ? मायाजित बन्नु छ नि! त्यसैगरी प्रकृतिजित पनि बन्नु छ किनकि तिमीले राज्य गर्नु छ नि। तिम्रो राज्य आइरहेको छ नि! नसा छ नि! मानिसहरू त बिचरा सोच्छन् के हुनेछ, डराउँछन्। तर तिमीलाई थाहा छ, अहिले सङ्गमयुग अमृतवेला चलिरहेको छ। अनि अमृतवेलापछि के आउँछ? बिहानी। त्यो बिहानीमा नै हाम्रो राज्य आउनु छ। छ नि नसा! हाम्रो राज्य हो वा केवल महारथीहरूको लागि राज्य हो? तिमी सबैको राज्य हो। तिमीलाई चिन्ता छैन के हुनेछ! राम्रोभन्दा राम्रो हुनेछ। त्यसैले तिम्रो राज्यमा प्रकृति पनि सतोप्रधान हुनु छ। अनि प्रकृतिलाई तमोगुणीबाट सतोगुणी कसले बनाउँछ? कि प्रकृति जस्तो भए पनि चल्छ? तिम्रो राज्यमा चल्छ? चल्छ? हो भन वा होइन भन। चल्दैन? अनि प्रकृतिलाई सतोगुणी कसले बनाउँछ? तिमीले नै बनाउँछौ नि! त्यसैले अहिले अचानकको पहिलो दृश्य, सानो छ यो, सुरु भएको छ। अहिले त ठुला-ठुला आउनु छ र अचानक नै आउनु छ। जुन सोचमा हुँदैन, त्यही हुनु छ।

बापदादाले त धेरै समयदेखि अचानकको पाठ पढाउनुभएको छ। तर अहिले प्रत्यक्ष रूपमा देखेर अहिले आफ्नो काम सुरु गर। नआत्तिऊ। कथा सुनाउँछन् नि– चारैतर्फ आगो लाग्यो तर परमात्माका बच्चाहरू सुरक्षित रहे। त्यसैले अहिले पनि बच्चाहरू त सुरक्षित छन् नि! पेपर त आउनु नै छ तर तिम्रो डबल काम छ। एक त निर्भय भएर सामना गर, दोस्रो आफ्ना भक्त र आफ्ना दुःखी भाइ-बहिनीहरूको सेवा पनि कसले गर्छ? तिमी प्रभुको सङ्गतमा रङ्गिएका छौ, त्यसैले जुन परमात्माको सङ्गको रङमा प्राप्त गरेका छौ, त्यो आफ्ना भाइ-बहिनीहरूलाई, भक्तहरूलाई खुब प्रेमले मनदेखि बाँड। दुःखको समयमा को याद आउँछ? फेरि पनि परमात्मा, चाहे बुझून् चाहे नबुझून्, तर बाध्यताले पनि हे पिता, हे परमात्मा अवश्य भन्नेछन्। त्यसैले तिमी परमात्म बच्चाहरू अहिले दुःखीहरूको सहारा बन्नु छ। उनीहरूलाई शुभ भावना, शुभ कामनाद्वारा, बाबाद्वारा प्राप्त भएका किरणहरूद्वारा सहारा बन। फेरि पनि तिम्रो परिवार हो नि! त्यसैले परिवारमा एक-अर्कालाई सहयोग दिन्छन् नि! त्यसैले नाम नै हो सह योग, श्रेष्ठ योग। त्यही साधन हो सहारा दिने। सन्देश पनि पठाउनुभएको थियो– समय निश्चित गर। यत्तिकै हुँदैन, जसरी ट्राफिक कन्ट्रोल, अमृतवेला निश्चित छ, त्यसैले गर्छौ नि। त्यसैगरी आफ्नो कार्य अनुसार यो मन्सा सेवा पनि अहिलेको समय अनुसार अति आवश्यक छ। त्यसैले समय निकाल, रहमदिल बन। कल्याणकारी बन। तिम्रो स्वमान के हो? विश्व कल्याणकारी। के रहम आउँछ? कि भइहाल्छ? यसमा सुस्त नबन्नु किनकि जसलाई तिमीले सकाश दिन्छौ, उनीहरू नै तिम्रा भक्त बन्नेछन्, त्यसैले के गर्नु छ? अटेन्सन छ? जो सम्झन्छन् मेरो अटेन्सन छ र बढ्नेछ, उनीहरूले हात उठाऊ। तल-माथि गरिरहेका छन्। यहाँ हेर्न आइरहेका छन्। (टिभीमा) यदि यति सबैले आफ्नो स्वमानलाई यथार्थमा ल्यायौ भने आत्माहरूले अहिले पनि सङ्गममा तिम्रो मनदेखि गीत गाउनेछन्– वाह परमात्म बच्चाहरू वाह! हामीलाई सहारा दिनुभयो। अहिलेको सहाराले आधाकल्प तिम्रो गीत गाइरहनेछन्। तिमी उनीहरूका पूर्वज बन्नेछौ। पूर्वज हौ। वृक्षमा कहाँ बसेका छन् ब्राह्मण! तल बसेका छन् नि! त्यसैले पूर्वज हौ नि! भक्तहरूको आवाज सुन्न आउँछ? अलिकति आफूलाई सावधान गर, दुःखीहरूको सहारा बन्नु नै छ तब आवाज सुन्न आउनेछ।

त्यसैले सबैले होली त मनायौ, तिम्रो त सारा सङ्गम नै होली हो। परमात्माको सङ्गको रङमा नै रहन्छौ। यादगार मनाउँछन् एक-दुई दिन तर तिमी त पूरा सङ्गम प्रभुको सङ्गतमा रहनेवाला हौ। नसा छ नि! मानिसहरू बिचरा मागिरहन्छन्– हे प्रभु यो गरिदिनुहोस्, त्यो गरिदिनुहोस् तर तिमीलाई २१ जन्मको ग्यारेन्टी मिलेको छ, कहिल्यै दुःखको स्वप्नमा पनि कुनै दृश्य आउनेछैन। सङ्कल्पमा पनि दुःखको लहर आउनेछैन। त्यसैले सदा हरेकले यदि राज्य लिनु छ भने अहिले आफ्नो परिवार, सत्ययुगका साथी र रोयल प्रजा, साधारण प्रजा सबै अहिले बनाउन सक्छौ। २१ जन्मको ग्यारेन्टी छ। अलिकति सेवा गर, समय निकाल किनकि तिमीसँग सङ्कल्प शक्ति त छँदै छ। केवल जुन बाबाबाट मिलेको छ, त्यो आफ्ना भाइ-बहिनीहरूलाई पनि देऊ।

बापदादाले पहिला पनि भन्नुभएको थियो– सदा यो चेक गर– मलाई ब्राह्मण परिवारको बीचमा संस्कार मिलनको रास गर्न आउँछ? बापदादाले भन्नुभएको थियो– त्यो रास कहिले गर्छौ, त्यसको मिति पनि निश्चित गर। निश्चित हुन सक्छ? हुन सक्छ? पहिलो लाइन बताऊ। हात उठाऊ। हुन सक्छ? पाण्डवहरूले पनि उठाऊ। पाण्डवहरूविना गति छैन। अच्छा। अहिले अन्तिम टर्न छ, एक टर्न बाँकी छ। त्यसमा हरेकले आफ्नो लागि के दृढ सङ्कल्प छ, त्यो निश्चित गरेर लेख्नु। कति समय लाग्छ, जुन ब्राह्मण परिवारमा कहीँ पनि कहिल्यै पनि संस्कारले आफ्नो कार्य नगरोस्। चाहे मेरो संस्कार, चाहे अरूको संस्कारले पनि, मलाई प्रभाव नपारोस्। यो मिति निश्चित हुन सक्छ? हुन सक्छ? हात उठाऊ। अच्छा, सबैको फोटो निकालियो! किनकि जसरी यो अचानक दृश्य देख्यौ नि। (जापानमा भूकम्प र सुनामी आएको छ, जसमा धेरै नोक्सान भएको छ) यसरी सबै अचानक नै हुनु छ, त्यसैले बापदादाले तयारी त हेर्नुहुन्छ नि! जब अरूलाई शुभ भावना, शुभ कामना दिन्छौ, बापदादाले हेर्नुभयो यो अरूको सेवाको प्रोग्राम पनि बनाएका थियौ, त्यसैले यदि हरेक आत्माप्रति सदा शुभ भावना र शुभ कामना राख्यौ भने नम्बरवार त हुनु नै छ। तिम्रो यादगार मालामा सबै एक नम्बर छन् र? नम्बरवार छन् तर मालामा त उनिएका छन् नि! नम्बर किन मिल्यो? भिन्न-भिन्न संस्कार छन् तर मलाई संस्कार हेर्नुको सट्टा शुभ भावना, शुभ कामना राख्नु छ। आखिर पनि ब्राह्मण परिवार हो नि। जस्तो भए पनि, परिवार त मेरो हो नि! जसरी मेरो बाबा भन्छौ, त्यसैगरी मेरो परिवार पनि हो। त्यसैले राम्रो छ, धेरैले हात उठाएका छन्। त्यसैले सबैको उमङ्ग-उत्साह छ, तब त हात उठाएका छन् नि! त्यसैले एक-अर्काको सहयोगी बनेर शुभ भावना, शुभ कामनाको दृष्टि, वृत्ति, स्मृति राख्नाले यो रास हुनु कुनै ठुलो कुरा होइन। यसमा जसले धेरै राम्रो नम्बर लिन्छ, मितिमा यथार्थ गरेर देखाउँछ, उनीहरूलाई न्यारा र प्यारा इनाम मिल्नेछ। इनाम अहिले बताउनुहुन्न तर बापदादाले इनाम दिनुहुनेछ। किन? सेवा गर्ने टाइम निकाल्नु छ नि। त्यसैले यो संस्कारको खटपटले समय आफूतिर तान्छ, त्यसैले समयको अहिले आवश्यकता छ। ठिक छ नि!

यी सबै मधुबनवासी हुन् नि! (अगाडि बस्नेहरूलाई देखेर बाबाले भन्नुभयो) मन पर्छ नि! किनकि मधुबनवासी विशेष छन्। बापदादाको पनि मधुबनवासीहरूप्रति दिलको प्रेम छ। अनि मधुबनवासीहरूको पनि छ। यो पनि बाबा भन्नुहुन्छ, बाबासँग प्रेम छ र रहनेछ। मेटिन सक्दैन। अमर छ यसमा। तब त मधुबनवासी बनेका छन् नि! कहीँ पनि मधुबनवासी जान्छन् भने कुन रिगार्डले हेर्छन्? मधुबनको हो, मधुबनको हो। त्यसैले यो अटेन्सन राख्नु, अन्तिम टर्नभन्दा पहिला सबैले मधुबनमा कुनै स्थान निश्चित गर्नु, जहाँ आफ्नो चिट्ठी हालून्। तर अन्तिम टर्नभन्दा पहिला।

सबैले होली मनायौ? तिम्रो त दिनहुँ होली हो। अहिले पनि यो त बाहिरको अलिकति मनाउनु छ। कहाँ मनाउन जाने, यहीँ त मनाउनेछौँ। तर त्यो भयो रीति-रिवाज। त्यसैले सबै चारैतर्फका बापदादाका अति स्नेही, अति प्यारा, सिकिलधे, स्वमानधारी, हरेक बच्चालाई बापदादाले पद्मगुणा याद-प्यार पनि दिइरहनुभएको छ र मनको दुलार पनि दिइरहनुभएको छ। बापदादाले देखिरहनुभएको छ, चारैतर्फ सबैले सुनेर, देखेर हर्षित भइरहेका छन्।

अच्छा, आज पहिलो पटक को आएका छन्? उठ। यी सबै पहिलो पटक आएका हुन्। अच्छा, पहिलो पटक मधुबन निवासी बन्ने भाग्य प्राप्त भएको छ। सबै तिम्रा भाइ-बहिनीहरू र बापदादाले पनि तिमी सबैलाई पहिलो पटक आएकोमा बधाई दिइरहनुभएको छ। अहिले बापदादाले हेर्नुहुनेछ किनकि चान्स छ कि अलिकति ढिलो आएका छौ तर जो चाहन्छौ, उनीहरू अहिले पनि लास्ट सो फास्ट गएर फस्ट नम्बर लिएर फस्ट श्रेणीमा आउन सक्छौ। यहाँ बापदादाका जो पनि आज आएका छौ, सबै बच्चाहरूलाई वरदान छ। केवल जुन बाबाका महावाक्य छन्, त्यो श्रीमतमा चलिरह्यौ भने श्रीमतले तिमीलाई श्रेष्ठ श्रेणीमा ल्याउन सक्छ, ल्याउनेछ। यति सारा परिवारद्वारा तिमी सबैलाई, वरदान त बाबाको हुन्छ, तर शुभ भावना, शुभ कामना छ– तिमी जति अगाडि बढ्न चाहन्छौ, त्यति बढ्न सक्छौ। सबैले तिमीलाई दिलदेखि दुआ दिनेछन्। जहाँ पनि क्लासमा आउँछौ, त्यहाँ तिमीलाई दुआ मिलिरहनेछ र त्यो दुआले तिमीलाई तीव्र पुरुषार्थी बनाएर अगाडि बढाउनेछ, यो निश्चय राख। अच्छा। अहिले बापदादा सबैलाई धेरै राम्रो सुन्दर गुडनाइट गरिरहनुभएको छ। अच्छा।

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

वरदान:–
हरेक सङ्कल्प र कर्ममा सिद्धि अर्थात् सफलता प्राप्त गर्ने सम्पूर्ण मूर्त भव

सङ्कल्पहरूको सिद्धि तब प्राप्त हुनेछ, जब समर्थ सङ्कल्पहरूको रचना गर्नेछौ। जसले धेरै सङ्कल्पहरूको रचना गर्छन्, उनीहरूले तिनको पालना गर्न सक्दैनन्, त्यसैले जति रचना धेरै, त्यति शक्तिहीन हुन्छ। त्यसैले पहिला व्यर्थ रचना बन्द गर, तब सफलता प्राप्त हुनेछ र कर्महरूमा सफलता प्राप्त गर्ने युक्ति हो– कर्म गर्नुभन्दा पहिला आदि-मध्य र अन्त्यलाई जानेर फेरि कर्म गर। यसबाट नै सम्पूर्ण मूर्त बन्नेछौ।

स्लोगन:–
समयमा दुःख र धोकाबाट बचेर सफल हुने नै ज्ञानी (समझदार) हो।

अव्यक्त इसारा:– अपवित्रताको बीजलाई पनि समाप्त गरेर सम्पूर्ण स्वच्छ (पवित्र) बन

तिमी होलीहंस बच्चाहरूको आहार पनि शुद्ध, व्यवहार पनि शुद्ध, अशुद्धिको नाम-निसान पनि नहोस् किनकि शुद्ध दुनियाँमा गइरहेका छौ, जहाँ अपवित्रता वा अशुद्धिको नाम-निसान हुँदैन। जब यस्ता होलीहंस बन्छौ, तब भविष्यमा परम पावन (हिज होलिनेस) कहलिन्छौ।

विशेष सूचना : – महिनाको तेस्रो आइतबारको योग अभ्यास

आज महिनाको तेस्रो आइतबार हो, सबै भाइ-बहिनीहरू सङ्गठित रूपमा एकत्रित भएर बेलुका ६:३० देखि ७:३० बजेसम्म आफ्नो परम पवित्र स्वरूपमा स्थित भई, पवित्रताका दिव्य किरणहरू फैलाउँदै सर्व आत्माहरूलाई “पवित्र बनौँ-योगी बनौँ” को शुभ प्रेरणा सकाशको रूपमा दिने सेवा गर्नुहुनेछ।