17.01.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– तिमी
विश्वका अति महत्त्वपूर्ण सेवाधारी हौ , तिमीले आफ्नो तन-मन-धनद्वारा श्रीमत अनुसार
यस दुनियाँलाई रामराज्य बनाउनु छ।”
प्रश्न:–
सच्चा अलौकिक
सेवा कुनचाहिँ हो, जुन अहिले तिमी बच्चाहरूले गर्छौ?
उत्तर:–
तिमी
बच्चाहरूले गुप्त रीतिले श्रीमत अनुसार पावन भूमि सुखधामको स्थापना गरिरहेका छौ– यो
नै विश्वको सच्चा अलौकिक सेवा हो। तिमीले बेहदका बाबाको श्रीमत अनुसार सबैलाई रावणको
जेलबाट छुटाइरहेका छौ। यसको लागि तिमी पावन बनेर अरूलाई पावन बनाउँछौ।
गीत:–
नयन हीन को
राह दिखाओ....।
ओम् शान्ति ।
हे प्रभु,
ईश्वर, परमात्मा! भन्नु र पिता शब्द भन्नुमा कति धेरै फरक छ। हे ईश्वर, हे प्रभु!
भन्नाले कति आदर हुन्छ। त्यस्तै फेरि उहाँलाई पिता पनि भन्छन्, पिता शब्द धेरै
साधारण छ। पिताहरू त अनगिन्ती छन्। प्रार्थनामा पनि भन्छन्– हे प्रभु, हे ईश्वर!
बाबा किन भन्दैनन्? हुनुहुन्छ त परमपिता नै। तर बाबा शब्द भन्दा परमात्मा शब्द बढी
प्रचलनमा आउँछ। बोलाउँछन्– हे प्रभु! नयनहीनलाई मार्ग बताउनुहोस्। आत्माहरूले भन्छन्–
बाबा! हामीलाई मुक्ति-जीवनमुक्तिको मार्ग बताउनुहोस्। प्रभु शब्द कति महान् छ। पिता
शब्द हल्का छ। यहाँ तिमीले जानेका छौ– बाबाले आएर सम्झाउनु हुन्छ। लौकिक हिसाबले त
पिताहरू धेरै छन्, बोलाउँछन् पनि– तिमी माता-पिता... कति साधारण शब्द छ। ईश्वर वा
प्रभु भन्नाले सम्झन्छन्– उहाँले के गर्न सक्नुहुन्न। अहिले तिमी बच्चाहरूलाई थाहा
छ– बाबा आउनु भएको छ। बाबाले धेरै उच्च सहज मार्ग बताउनु हुन्छ। बाबा भन्नुहुन्छ–
मेरा बच्चाहरू! तिमी रावणको मतमा काम चितामाथि चढेर भस्मीभूत भएका छौ। अहिले म
तिमीलाई पावन बनाएर घर लैजान आएको छु। बाबालाई बोलाउँछन् पनि त्यसैले कि आएर
पतितबाट पावन बनाउनुहोस्। बाबा भन्नुहुन्छ– म आएको छु तिम्रो सेवामा। तिमी बच्चाहरू
पनि सबै विश्वको अलौकिक सेवामा छौ। जुन सेवा तिमीहरू बाहेक अरू कसैले गर्न सक्दैन।
तिमीहरूले विश्वको लागि नै गर्छौ, श्रीमत अनुसार पवित्र बनेर दुनियाँलाई पवित्र
बनाउँछौ। बापू गाँधीको पनि आशा थियो– रामराज्य होस्। तर कुनै मनुष्यले त रामराज्य
बनाउन सक्दैन। नत्र प्रभुलाई पतित-पावन भनेर किन बोलाउँथे? अहिले तिमी बच्चाहरूमा
विश्वप्रति कति प्यार छ। सारा दुनियाँको सच्चा सेवा त तिमीले गर्छौ।
तिमीले जानेका छौ–
बाबाले फेरि रामराज्य बनाउनु हुन्छ, जुन बापूजीले चाहनुहुन्थ्यो। ती हदका बापूजी
थिए, यहाँ फेरि हुनुहुन्छ बेहदका बापूजी। उहाँले बेहदको सेवा गर्नुहुन्छ। यो कुरा
तिमी बच्चाहरूले मात्र जानेका छौ। तिमीहरूमा पनि हामीले रामराज्य बनाउँछौं भन्ने नसा
नम्बरवार रहन्छ। तिमी सरकारका सेवाधारी हौ। तिमीले दैवी सरकार बनाउँछौ। तिमीलाई
सेवाको नसा छ। जानेका छौ सत्ययुगमा यो पावन भूमि थियो, अहिले त पतित छ। तिमीले
जानेका छौ– अहिले हामीले बाबाद्वारा फेरि पावन भूमि वा सुखधाम बनाइरहेका छौं, त्यो
पनि गुप्त। श्रीमत पनि गुप्त मिल्छ। सरकारको लागि नै तिमीले काम गरिरहेका छौ।
श्रीमत अनुसार तिमीले आफ्नो तन-मन-धनबाट उच्च भन्दा उच्च सेवा गरिरहेका छौ। राजनीति
गर्नेहरू कति जेल आदिमा गए। तिमीलाई त जेल आदिमा जान आवश्यक छैन। तिम्रो त छ नै
रुहानी कुरा। तिम्रो लडाइँ पनि छ ५ विकाररूपी रावणसँग, जुन रावणको सारा पृथ्वीमा
राज्य छ। तिम्रो यो सेना हो। लङ्का त एक सानो टापु हो। यो सृष्टि बेहदको टापु हो।
तिमीले बेहदका बाबाको श्रीमत अनुसार सबैलाई रावणको जेलबाट छुटाउँछौ। यो त तिमीले
जानेका छौ– यस पतित दुनियाँको विनाश त हुनु नै छ। तिमी शिवशक्तिहरू हौ। यी गोपहरू
पनि शिवशक्ति हुन्। तिमीले गुप्त रीतिबाट विश्वको धेरै ठुलो सेवा गरिरहेका छौ। पछि
गएर सबैलाई थाहा हुन्छ। तिम्रो यो श्रीमत अनुसार रुहानी सेवा हो। तिमी गुप्त छौ।
सरकारले जान्दै जान्दैन– यी बी.के. हरूले आफ्नो तन-मन-धनबाट सबैभन्दा श्रेष्ठ
सचखण्ड बनाउँछन्। यहाँ सचखण्ड थियो, अहिले झुटखण्ड छ। सत्य त एक बाबा मात्रै
हुनुहुन्छ। भनिन्छ पनि, ईश्वर सत्य हुनुहुन्छ (गड इज ट्रुथ)। तिमीलाई नरबाट नारायण
बन्ने सत्य शिक्षा दिइरहनु भएको छ। बाबा भन्नुहुन्छ– कल्प पहिला पनि तिमीलाई नरबाट
नारायण बनाएको थिएँ, रामायणमा बसेर त के के कथा लेखिदिएका छन्। भन्छन्– रामले बाँदर
सेना लिए। तिमी पहिला बाँदर जस्तै थियौ। एक सीताको कुरा होइन। बाबाले सम्झाउनु
हुन्छ– कसरी रावण राज्यको विनाश गराएर रामराज्यको स्थापना गर्नुहुन्छ, यसमा कुनै
मेहनतको कुरा छैन। उनीहरूले त कति खर्च गर्छन्। रावणको पुत्ला बनाएर फेरि त्यसलाई
जलाउँछन्। केही पनि बुझ्दैनन्। ठुलाबडा मानिसहरू सबै जान्छन्, विदेशीहरूलाई पनि
देखाउँछन्, बुझ्न केही पनि बुझ्दैनन्। अहिले बाबाले सम्झाउनु हुन्छ, त्यसैले तिमी
बच्चाहरूलाई दिलमा उमङ्ग छ– हामीले विश्वको सच्चा रुहानी सेवा गरिरहेका छौं। अरू
सारा दुनियाँ रावणको मतमा छ, तिमी छौ रामको श्रीमतमा। राम भन, शिव भन, नाम त धेरै
राखिदिएका छन्।
तिमी बच्चाहरू श्रीमत
अनुसार चल्ने विशेष सेवाधारी हौ। भन्छन् पनि– हे पतित-पावन! आएर पावन बनाउनुहोस्।
तिमीले जानेका छौ– सत्ययुगमा हामीलाई कति सुख मिल्छ। कारूनको अथाह खजाना मिल्छ।
त्यहाँ औसत आयु पनि कति धेरै हुन्छ। ती हुन् योगी, यहाँ छन् सबै भोगी। ती पावन, यी
पतित। कति रातदिनको फरक छ। श्रीकृष्णलाई पनि योगी भन्छन्, महात्मा पनि भन्छन्। तर
उनी त सच्चा महात्मा हुन्। उनको महिमाको त गायन गरिन्छ– सर्वगुण सम्पन्न....। आत्मा
र शरीर दुवै पवित्र हुन्छन्। संन्यासीहरू त गृहस्थीहरूकहाँ विकारबाट जन्म लिएर फेरि
संन्यासी नै बन्छन्। यी कुरा तिमीलाई अहिले बाबाले सम्झाउनु हुन्छ। यतिबेला
मनुष्यहरू त छन् अधार्मिक दुराचारी, दु:खी। सत्ययुगमा कस्ता थिए? धार्मिक, सदाचारी
थिए। १०० प्रतिशत सम्पन्न थिए। सदा सुखी थिए। रातदिनको फरक छ। यो यथार्थमा तिमीले
मात्र जानेका छौ। यो कहाँ कसैलाई थाहा छ र– दुनियाँ स्वर्गबाट नर्क कसरी बनेको हो?
लक्ष्मी-नारायणको पूजा गर्छन्, मन्दिर बनाउँछन्, केही पनि बुझ्दैनन्। बाबाले
सम्झाइरहनु हुन्छ– जो राम्रा राम्रा पद भएका छन्, बिडलालाई पनि सम्झाउन सक्छौ, यी
लक्ष्मी-नारायणले यो पद कसरी पाए, यिनीहरूले के गरे जसकारण यिनका मन्दिर बनाएका हुन्?
उनको बारेमा नजानी पूजा गर्नु पनि पत्थर पूजा अथवा खेलौनाको पूजा भयो। अरू धर्माकाले
त जानेका छन्– क्राइस्ट यो समयमा आए, फेरि आउने छन्।
तिमी बच्चाहरूलाई कति
गुप्त रुहानी नसा हुनुपर्छ। आत्मालाई खुसी हुनुपर्छ। आधाकल्प देह अभिमानी बनेका थियौ।
अहिले बाबा भन्नुहुन्छ– अशरीरी बन, आफूलाई आत्मा सम्झ। हाम्रो आत्माले बाबाले भनेको
सुनिरहेको छ। अरू सतसङ्गमा कहिल्यै यस्तो सम्झदैनन्। यहाँ रुहानी बाबाले बसेर
आत्माहरूलाई सम्झाउनु हुन्छ। आत्माले नै सबै कुरा सुन्छ नि। आत्माले भन्छ– म
प्रधानमन्त्री हुँ, फलाना हुँ। आत्माले यो शरीरद्वारा भन्यो– म प्रधानमन्त्री हुँ।
अहिले तिमीले भन्छौ– म आत्मा पुरुषार्थ गरेर स्वर्गको देवी-देवता बनिरहेको छु। म
आत्मा, मेरो शरीर। देहीअभिमानी बन्नमा नै धेरै मेहनत लाग्छ। घरी घरी आफूलाई आत्मा
सम्झेर बाबालाई याद गरिरह्यौ भने विकर्म विनाश हुन्छ। तिमी एकदम आज्ञाकारी सेवाधारी
हौ। कर्तव्य गर्छौ गुप्त रीतिबाट। त्यसैले नसा पनि गुप्त हुनुपर्छ। हामी सरकारका
रुहानी सेवाधारी हौं। विश्वलाई स्वर्ग बनाउँछौं। बापूजीले पनि चाहनुहुन्थ्यो नयाँ
दुनियाँमा नयाँ भारत होस्, नयाँ दिल्ली होस्। अहिले नयाँ दुनियाँ त छँदैछैन। यो
पुरानो दिल्ली कब्रिस्तान बन्छ र परिवर्तन भएर परिस्तान बन्नेछ। अहिले यसलाई
परिस्तान कहाँ भनिन्छ। नयाँ दुनियाँमा परिस्तान, नयाँ दिल्ली तिमीले बनाइरहेका छौ।
यो राम्ररी बुझ्नुपर्ने कुरा हो। यो कुरा बिर्सिनु हुँदैन। विश्वलाई फेरि सुखधाम
बनाउनु कति उच्च कार्य हो। ड्रामा योजना अनुसार सृष्टि पुरानो हुनु नै छ। दु:खधाम
हो नि। दु:खहर्ता, सुखकर्ता एक बाबालाई मात्र भनिन्छ। तिमीले जानेका छौ– ५ हजार
वर्षपछि आएर बाबाले दु:खी संसारलाई सुखी बनाउनु हुन्छ। सुख पनि दिनुहुन्छ, शान्ति
पनि दिनुहुन्छ। मनुष्यहरूले भन्छन् पनि– मनको शान्ति कसरी मिल्छ? अब शान्ति त
शान्तिधाम स्वीट होममा मात्रै हुन्छ। त्यसलाई भनिन्छ शान्तिधाम, जहाँ आवाज हुँदैन,
दु:ख हुँदैन। सूर्य, चन्द्र आदि पनि हुँदैनन्। अहिले तिमी बच्चाहरूलाई यो सारा
ज्ञान छ। बाबा पनि आएर आज्ञाकारी सेवाधारी बन्नुभएको छ नि। तर बाबालाई त कत्ति पनि
चिन्दै चिनेका छैनन्। सबैलाई महात्मा भनिदिन्छन्। तर महान् आत्मा त स्वर्गका
देवी-देवता सिवाय अरू कोही कहिल्यै हुन सक्दैनन्। त्यहाँ आत्माहरू पवित्र हुन्छन्।
पवित्र थिए, शान्ति र सम्पन्नता पनि थियो। अहिले पवित्रता छैन त्यसैले केही पनि छैन।
पवित्रताको नै मान हुन्छ। देवताहरू पवित्र हुन्छन् त्यसैले त उनीहरूका अगाडि शिर
झुकाउँछन्। पवित्रलाई पावन, अपवित्रलाई पतित भनिन्छ। उहाँ हुनुहुन्छ सारा विश्वका
बेहदका बापूजी। हुन त मेयरलाई पनि नगर पिता भन्छन्। त्यहाँ कहाँ यस्ता कुरा हुन्छन्
र। त्यहाँ त काइदा अनुसार राज्य चल्छ। बोलाउँछन् पनि– हे पतित-पावन आउनुहोस्! बाबा
भन्नुहुन्छ– पवित्र बन, तर भन्छन्– यो कसरी हुनसक्छ, फेरि बच्चा कसरी पैदा हुन्छन्?
सृष्टि कसरी बढ्दै जाला? उनीहरूलाई यो थाहा छैन– लक्ष्मी-नारायण सम्पूर्ण निर्विकारी
थिए। तिमी बच्चाहरूले कति विरोध सहनुपर्छ।
ड्रामामा जे कल्प
पहिला भएको थियो त्यही दोहोरिन्छ। यस्तो होइन, ड्रामा भनेर रोकिनु छ– ड्रामामा भए त
प्राप्त होला! विद्यालयमा त्यत्तिकै बसिरहेर कोही पास हुन्छ र? हरेक चीजको लागि
मनुष्यको पुरुषार्थ त चल्छ। पुरुषार्थ विना पानी पनि मिल्न सक्दैन। हर सेकेण्ड जुन
पुरुषार्थ हुन्छ त्यो प्रारब्धको लागि हुन्छ। यो बेहदको पुरुषार्थ गर्नु छ, बेहदको
सुखको लागि। अहिले हो ब्रह्माको रात नै ब्राह्मणहरूको रात, फेरि ब्राह्मणहरूको दिन
हुन्छ। शास्त्रहरूमा पनि पढ्थ्यौ तर बुझ्न केही पनि बुझ्दैनथ्यौ। यी बाबाले स्वयं
बसेर रामायण भागवत आदि सुनाउँथे, पण्डित बनेर बस्थे। अहिले सम्झन्छन्– त्यो त
भक्तिमार्ग हो। भक्ति अलग्गै हो, ज्ञान अलग्गै कुरा हो। बाबा भन्नुहुन्छ– तिमी काम
चितामा बसेर सबै काला बनेका छौ। श्रीकृष्णलाई पनि श्याम सुन्दर भन्छन् नि। पुजारीहरू
अन्धश्रद्धालु हुन्छन्। कति भूत पूजा हुन्छ। शरीरको पूजा अर्थात् ५ तत्त्वको पूजा
भयो। यसलाई भनिन्छ– व्यभिचारी पूजा। भक्ति पहिला अव्यभिचारी हुन्थ्यो, एक शिवको नै
पूजा हुन्थ्यो। अहिले हेर के के पूजा भइरहन्छ। बाबाले चटक पनि देखाउनु हुन्छ, ज्ञान
पनि सम्झाइरहनु भएको छ। काँडाबाट फूल बनाइरहनु भएको छ। यसलाई नै भनिन्छ फूलको बगैँचा।
कराचीमा पहरामा एक पठान बस्थ्यो, ऊ पनि ध्यानमा जान्थ्यो, भन्थ्यो– म स्वर्गमा गएँ,
ईश्वरले मलाई फूल दिनु भयो। उसलाई धेरै आनन्द आउँथ्यो। आश्चर्य छ नि। उनीहरूले त ७
आश्चर्य भन्छन्। वास्तवमा विश्वको आश्चर्य त स्वर्ग हो– यो कसैलाई पनि थाहा छैन।
तिमीलाई कति
फस्टक्लास ज्ञान मिलेको छ। तिमीलाई कति खुसी हुनुपर्छ। बापदादा कति सर्वोच्च
हुनुहुन्छ र कति साधारण रहनुहुन्छ, बाबाको नै महिमाको गायन गरिन्छ, उहाँ निराकार,
निरहङ्कारी हुनुहुन्छ। बाबाले त आएर सेवा गर्नु पर्छ नि। बाबाले सदैव बच्चाहरूलाई
सेवा गरेर, उनीहरूलाई धनदौलत दिएर स्वयं वानप्रस्थ अवस्थामा जानुहुन्छ। बच्चाहरूलाई
शिरमा चढाउनु हुन्छ। तिमी बच्चाहरू विश्वको मालिक बन्छौ। स्वीट होममा गएर फेरि आएर
स्वीट बादसाही लिन्छौ। बाबा भन्नुहुन्छ– मैले त बादसाही लिन्न। सच्चा निष्काम
सेवाधारी त एक बाबा मात्रै हुनुहुन्छ। बच्चाहरूलाई कति खुसी हुनुपर्छ। तर मायाले
बिर्साइदिन्छ। यति महान् बापदादालाई कहाँ बिर्सिन हुन्छ र। दादाको सम्पत्तिको कति
नसा हुन्छ। तिमीलाई त शिवबाबा मिल्नुभएको छ। यो सम्पत्ति उहाँको हो। बाबा
भन्नुहुन्छ– मलाई याद गर अनि दैवी गुण धारण गर। आसुरी गुणहरूलाई निकालिदिनुपर्छ।
गायन पनि गर्छन्– मुझ निर्गुण हारे में कोइ गुण नाही। निर्गुण संस्था पनि छ। तर
अर्थ त कसैले जान्दैनन्। निर्गुण अर्थात् कुनै गुण नभएको। तर उनीहरूले कहाँ जान्दछन्
र! तिमी बच्चाहरूलाई बाबाले एउटै कुरा सम्झाउनु हुन्छ– भन, हामी त बेहदको सेवामा
छौं। जो सबैका बापूजी हुनुहुन्छ, हामी उहाँको श्रीमतमा चल्छौं। श्रीमत् भगवद् गीता
गायन गरिएको छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) जसरी सर्वोच्च बापदादा साधारण रहनुहुन्छ, त्यसैगरी धेरै धेरै साधारण, निराकारी र
निरहङ्कारी बनेर रहनु छ। बाबाद्वारा जुन फस्टक्लास ज्ञान मिलेको छ, त्यसको चिन्तन
गर्नु छ।
२) ड्रामा जुन हुबहु
दोहोरिइरहेको छ, त्यसमा बेहदको पुरुषार्थ गरेर बेहदको सुखको प्राप्ति गर्नु छ।
कहिल्यै ड्रामा भनेर रोकिनु छैन। प्रारब्धको लागि पुरुषार्थ अवश्य गर्नु छ।
वरदान:–
अव्यक्त
स्वरूपको साधनाद्वारा पावरफुल वायुमण्डल बनाउने अव्यक्त फरिस्ता भव
वायुमण्डललाई पावरफुल
बनाउने साधन हो आफ्नो अव्यक्त स्वरूपको साधना। यसको बारम्बार अटेन्सन राख्नुछ किनकि
जुन कुराको साधना गरिन्छ, त्यही कुराको ध्यान हुन्छ। त्यसैले अव्यक्त स्वरूपको साधना
अर्थात् बारम्बार अटेन्सनको तपस्या चाहिन्छ। त्यसैले अव्यक्त फरिस्ता भवको वरदानलाई
स्मृतिमा राखेर शक्तिशाली वायुमण्डल बनाउने तपस्या गर्यौ भने तिमीहरूको सम्मुख जो
आए पनि ऊ व्यक्त र व्यर्थ कुराहरूबाट पर हुनेछ।
स्लोगन:–
सर्वशक्तिमान्
बाबालाई प्रत्यक्ष गर्नको निम्ति एकाग्रताको शक्तिलाई बढाऊ।