17.03.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– पढाइ नै कमाइ हो , पढाइ आम्दानीको स्रोत हो। यस पढाइबाट नै तिमीले २१ जन्मको लागि खजाना जम्मा गर्नुछ।”

प्रश्न:–
जुन बच्चाहरूमाथि बृहस्पतिको दशा हुन्छ, उनीहरूको निसानी के देखिन्छ?

उत्तर:–
उनीहरूको पूरा पूरा ध्यान श्रीमतमा हुन्छ। पढाइ राम्ररी पढ्छन्। कहिल्यै पनि फेल हुँदैनन्। श्रीमतको उल्लङ्घन गर्नेहरू नै पढाइमा फेल हुन्छन्, उनीहरूमाथि फेरि राहुको दशा लाग्छ। अहिले तिमी बच्चाहरूमाथि वृक्षपति बाबाद्वारा बृहस्पतिको दशा लागेको छ।

गीत:–
इस पाप की दुनियाँ से.......

ओम् शान्ति ।
यो हो पाप आत्माहरूको पुकार। तिमीले त पुकार्नुछैन किनकि तिमी पावन बनिरहेका छौ। यो धारण गर्ने कुरा हो। यो धेरै ठुलो खजाना हो, जसरी स्कुलको पढाइ पनि खजाना हो नि। पढाइद्वारा शरीर निर्वाह चल्छ। बच्चाहरूलाई थाहा छ– भगवानले पढाउनुहुन्छ। यो धेरै उच्च कमाइ हो किनकि लक्ष्य-उद्देश्य सामुन्ने खडा छ। सतसङ्ग एकैपटक हुन्छ, जब सारा कल्पमा पुकार्छन्– पतित-पावन आउनुहोस् भनेर। अहिले पनि उनीहरूले पुकारिरहन्छन्, बाबा तिम्रो सम्मुख बस्नुभएको छ। तिमी बच्चाहरूलाई थाहा छ– हामीले पुरुषार्थ गरिरहेका छौं, नयाँ दुनियाँको लागि, जहाँ दु:खको नामनिसान हुँदैन। तिमीलाई चैन मिल्छ स्वर्गमा। नर्कमा कहाँ चैन हुन्छ र! यो त विषय सागर हो, कलियुग हो नि। सबै दु:खी नै दु:खी छन्। भ्रष्टाचारबाट जन्मेका हुन्, त्यसैले आत्माले पुकार्छ– बाबा हामी पतित बन्यौं। पावन हुनको लागि गङ्गामा स्नान गर्न जान्छन्। ठीक छ, स्नान गरेपछि त पावन हुनुपर्ने हो नि। फेरि घरी घरी किन धक्का खान्छन्? धक्का खाँदै सिँढी तल झर्दै झर्दै पाप आत्मा बन्छन्। ८४ को रहस्य पनि तिमी बच्चाहरूलाई बाबा नै बसेर सम्झाउनुहुन्छ, अरू धर्मकाले त ८४ जन्म लिँदैनन्। तिमीसँग यो ८४ जन्महरूको चित्र (सिँढी) धेरै राम्रो बनेको छ। कल्पवृक्षको पनि चित्र छ, गीतामा। तर भगवानले गीता कहिले सुनाउनुभयो, आएर के गर्नुभयो, यो केही जानेका छैनन्। अरू धर्मकाले आआफ्नो शास्त्रलाई जान्दछन्, हिन्दुहरूले बिल्कुल जानेका छैनन्। बाबा भन्नुहुन्छ– म सङ्गमयुगमा नै स्वर्ग स्थापना गर्न आउँछु। ड्रामामा चेन्ज हुनसक्दैन। जुनसुकै कुरा पनि ड्रामामा निश्चित छ, त्यो हुबहु हुनु नै छ। यस्तो होइन, भइसकेको कुरा फेरि परिवर्तन हुन्छ। तिमी बच्चाहरूको बुद्धिमा ड्रामाको पूरा चक्र बसेको छ। यस ८४ को चक्रबाट तिमी कहिल्यै छुट्नसक्दैनौ अर्थात् यो दुनियाँ कहिल्यै समाप्त हुनसक्दैन। विश्वको इतिहास-भूगोल दोहोरिइरहन्छ। यो ८४ जन्मको चक्र (सिँढी) धेरै आवश्यक छ। त्रिमूर्ति र गोला त मुख्य चित्र हुन्। गोलामा स्पष्ट देखाइएको छ– हरेक युग १२५० वर्षको हुन्छ। यो हो मानौं अन्धाको अगाडि ऐना। ८४ जन्त्रपत्रीको ऐना। बाबाले तिमी बच्चाहरूको दशा वर्णन गर्नुहुन्छ। बाबाले तिमीलाई बेहदको दशा बताउनुहुन्छ। अहिले तिमी बच्चाहरूमाथि बृहस्पतिको अविनाशी दशा लागेको छ। फेरि पढाइमा निर्भर हुन्छ। कसैमा बृहस्पतिको, कसैमा शुक्रको, कसैमा राहुको दशा लाग्छ। फेल भएमा भनिन्छ राहुको दशा। यहाँ पनि यस्तै छ। श्रीमतमा चलेनन् भने राहुको अविनाशी दशा लाग्न पुग्छ। त्यो बृहस्पतिको अविनाशी दशा, फेरि राहुको दशा हुन्छ। बच्चाहरूले पढाइमा पूरा ध्यान दिनुपर्छ, यसमा बहाना गर्नुहुँदैन। सेन्टर टाढा छ, यो छ.... पैदल जाँदा ६ घण्टा लागे पनि पुग्नुपर्छ। मानिसहरू यात्राहरूमा जाँदा कति धक्का खान्छन्। पहिला धेरै पैदल जान्थे, बयलगाडीमा पनि जान्थे। यो त एउटा शहरको कुरा हो। यो बाबाको कति ठुलो युनिभर्सिटी हो, जसमा तिमीहरू यी लक्ष्मी-नारायण बन्छौ। यस्तो उच्च पढाइको लागि अरू कसैले भन्छ, टाढा पर्छ वा फुर्सद छैन! बाबाले के भन्नुहुन्छ? यो बच्चा त लायक छैन। बाबा माथि उठाउन आउनुहुन्छ, यसले भने आफ्नो सत्यानाश गर्छ।

श्रीमतले भन्छ– पवित्र बन, दैवीगुण धारण गर। सँगै बसेर पनि विकारमा जानुछैन। बीचमा ज्ञान-योगको तरबार छ, हामीलाई त पवित्र दुनियाँको मालिक बन्नुछ। अहिले त पतित दुनियाँको मालिक हौं नि। ती देवताहरू थिए डबल शिरताज फेरि आधाकल्पपछि लाइटको ताज उड्छ। यस समयमा लाइटको ताज कसैको पनि छैन। जो धर्म स्थापक छन्, उनीहरूको हुनसक्छ किनकि त्यो पवित्र आत्माले शरीरमा आएर प्रवेश गर्छ। यही भारतखण्ड हो, जसमा डबल ताजधारी पनि थिए, सिङ्गल ताजधारी पनि थिए। अझैसम्म पनि डबल शिरताजको अगाडि सिङ्गल ताज भएकाले शिर झुकाउँछन् किनकि उनीहरू हुन् पवित्र महाराजा-महारानी। महाराजाहरू राजाहरूभन्दा ठुला हुन्, उनीहरूसँग धेरै सम्पत्ति हुन्छ। सभामा पनि महाराजाहरू अगाडि र राजाहरू नम्बरवार पछाडि बस्छन् । काइदा अनुसार उनीहरूको दरबार बस्छ। यो पनि ईश्वरीय दरबार हो, यसलाई इन्द्रसभा भनेर गायन गरिएको छ। तिमी ज्ञानबाट परी बन्छौ। सुन्दरीलाई परी भन्छन् नि। राधा-कृष्णको स्वभाविक सौन्दर्यता हुन्छ नि, त्यसैले सुन्दर भनिन्छ। फेरि जब काम चितामा बस्छन्, अनि उनीहरू पनि भिन्न भिन्न नाम-रूपमा श्याम बन्छन्। शास्त्रहरूमा कुनै यस्तो कुरा छैन। ज्ञान, भक्ति अनि वैराग्य, तीन चीज हुन्छन्। ज्ञान सबैभन्दा श्रेष्ठ हो। अहिले तिमीले ज्ञान प्राप्त गरिरहेका छौ। तिमीलाई वैराग्य हुन्छ भक्तिबाट। यो सारा तमोप्रधान दुनियाँ अब खतम हुँदैछ, यसबाट वैराग्य हुन्छ। जब नयाँ घर बनाउँछन् अनि पुरानोसँग वैराग्य हुन्छ नि। त्यो हो हदको कुरा, यो हो बेहदको कुरा। अहिले बुद्धि नयाँ दुनियाँतर्फ छ। यो हो पुरानो दुनियाँ नर्क, सत्ययुग-त्रेतालाई भनिन्छ शिवालय। शिवबाबाद्वारा स्थापना भएको हो नि। अहिले यस वेश्यालयबाट तिमीलाई घृणा आउँछ। कतिलाई घृणा आउँदैन। शादी बर्बादी गरेर नालीमा गिर्न चाहन्छन्। मानिसहरू त सबै छन् विषय वैतरणी नदीमा, फोहोरमा खसेका छन्। एक अर्कालाई दु:ख दिन्छन्। गायन पनि गरिन्छ– अमृत छोडेर विष किन खाने? जे भन्छन् त्यसको अर्थ बुझ्दैनन्। तिमी बच्चाहरूमा पनि नम्बरवार छौ। बुद्धिमान् शिक्षकले देख्नेवित्तिकै जान्दछन्, यसको बुद्धि कहाँ भट्किरहेको छ, क्लासको बीचमा उँगिरहन्छ वा हाइ गर्छ भने बुझिन्छ, यसको बुद्धि कहीँ घरबार वा धन्दातर्फ भट्किरहेको छ। उँग्नु थकावटको पनि निसानी हो। धन्दामा मानिसहरूको कमाइ भइरहने हो भने राती १-२ बजेसम्म पनि बसिरहन्छन्, कहिल्यै निद्रा लाग्दैन। यहाँ त बाबाले कति खजाना दिनुहुन्छ। हाइ गर्नु घाटाको निसानी हो। टाट पल्टिनेहरूले निराश भएर हाइ गरिरहन्छन्। तिमीलाई त खजानापछि खजाना मिलिरहन्छन्, त्यसैले कति ध्यान दिनुपर्छ। पढाइको समयमा कसैले हाइ गर्छ भने बुद्धिमान् टिचरले सम्झन्छ, यसको बुद्धियोग अन्त कहीँ भट्किएको छ। यहाँ बस्दा घरबार याद आउँछ, बच्चा याद आउँछ। यहाँ त तिमी भट्ठीमा रहनुपर्छ, अरू कसैको याद नआओस्। मानौं, कोही ६ दिन भट्ठीमा बस्यो, पछि कसैको याद आयो, चिठी लेख्यो भने फेल भनिन्छ, फेरि ७ दिन भट्ठी सुरु गर। ७ दिन भट्ठीमा राखिन्छ ताकि सबै बिमारी निस्किउन्। तिमी आधाकल्पका महारोगी हौ। बस्दा बस्दै अकालमा मृत्यु हुन्छ। सत्ययुगमा यस्तो कहिल्यै हुँदैन। यहाँ त कुनै न कुनै बिमारी अवश्य हुन्छ। मर्ने बेलामा बिरामी हुँदा चिल्लाइरहन्छन्। स्वर्गमा अलिकति पनि दु:ख हुँदैन। त्यहाँ त समय आएपछि सम्झन्छन्– अब समय पूरा भयो, म यो शरीर छोडेर बच्चा बन्छु। यहाँ पनि तिमीलाई साक्षात्कार हुन्छ, यो बन्छु। यस्तो साक्षात्कार धेरैलाई हुन्छ। ज्ञानबाट पनि जानेका छौ, हामी बेगर टु प्रिन्स बनिरहेका छौं। हाम्रो लक्ष्य-उद्देश्य नै यो राधा-कृष्ण बन्ने हो। लक्ष्मी-नारायण होइन, राधा-कृष्ण हो किनकि पूरा ५ हजार वर्ष त यिनकै भनिन्छ। लक्ष्मी-नारायण त फेरि पनि २०-२५ वर्ष कम हुन्छन्, त्यसैले श्रीकृष्णको महिमा धेरै छ। राधा-कृष्ण नै फेरि लक्ष्मी-नारायण बन्छन्, यो पनि कसैलाई थाहा छैन। अहिले तिमी बच्चाहरूले बुझ्दै गइरहेका छौ, यो पढाइ हो। हरेक गाउँ गाउँमा सेन्टर खुल्दै जान्छन्। तिम्रो यो हो युनिभर्सिटी कम हस्पिटल। यसमा केवल ३ पाइला पृथ्वी चाहिन्छ। आश्चर्य छ नि। जसको तकदिरमा छ, उनले आफ्नो कोठामा पनि सतसङ्ग खोलिदिन्छन्। यहाँ जो धेरै पैसावाला छन्, तिनको पैसा त सबै माटोमा मिल्नेछ। तिमीले बाबाबाट वर्सा लिइरहेका छौ, भविष्य २१ जन्मको लागि। बाबा स्वयं भन्नुहुन्छ– यस पुरानो दुनियाँलाई देखेर पनि बुद्धिको योग त्यहाँ लगाऊ, कर्म गर्दा पनि यो अभ्यास गर। हरेक कुरा देख्नुपर्ने हुन्छ नि। तिम्रो अहिले प्राक्टिस भइरहेको छ। बाबा सम्झाउनुहुन्छ– सदैव शुद्ध कर्म गर, कुनै अशुद्ध काम नगर। कुनै पनि बिमारी छ भने सर्जन बस्नुभएको छ, उहाँसँग सल्लाह लेऊ। हरेकको बिमारी आ-आफ्नो छ, सर्जनबाट त राम्रो सल्लाह मिल्छ। सोध्न सक्छौ– यस हालतमा के गरौं? ध्यान राख्नुछ– कुनै विकर्म नहोस्।

यो पनि गायन छ– जस्तो अन्न त्यस्तै मन। मासु किन्नेलाई, बेच्नेलाई, खुवाउनेलाई पनि पाप लाग्छ। पतित-पावन बाबासँग कुनै कुरा छिपाउनुहुँदैन। सर्जनसँग छिपायो भने बिमारी छुट्दैन। यहाँ हुनुहुन्छ बेहदका अविनाशी सर्जन। यी कुरालाई दुनियाँले त जानेका छैनन्। तिमीलाई पनि अहिले ज्ञान मिलिरहेको छ, तैपनि योगमा धेरै कमी छ। याद बिल्कुल गर्दैनन्। यो त बाबाले जान्नुहुन्छ, तुरुन्तै याद टिक्दैन। नम्बरवार त छन् नि। जब यादको यात्रा पूरा हुन्छ अनि भनिन्छ कर्मातीत अवस्था भयो, फेरि लडाइँ पनि पूरा हुन्छ, तबसम्म अलिअलि हुन्छ फेरि बन्द भइरहन्छ। लडाइँ त जतिबेला पनि हुनसक्छ। तर विवेकले भन्छ, राजधानी स्थापना नभएसम्म भीषण लडाइँ हुँदैन। अलिअलि हुन्छ अनि बन्द हुन्छ। राजधानी स्थापना भइरहेको छ, यो त कसैले जान्दैन। सतोप्रधान, सतो, रजो, तमो बुद्धि त हुन्छ नि। तिमीहरूमा पनि सतोप्रधान बुद्धिभएकाले राम्रोसँग याद गरिरहन्छन्। ब्राह्मणहरू त अहिले लाखौंको अन्दाजमा होलान्, तर उनीहरू मध्ये पनि सहोदर र सौतेनी त हुन्छन् नि। सहोदरले राम्रो सेवा गर्छन्, माता-पिताको मतमा चल्छन्। सौतेनीहरू रावणको मतमा चल्छन्। कति रावणको मतमा, कति रामको मतमा लर्खराउँदै चल्छन्। बच्चाहरूले गीत सुन्यौ। भन्छन्– बाबा, यस्तो ठाउँमा लैजानुहोस्, जहाँ चैन हुन्छ। स्वर्गमा चैन नै चैन हुन्छ, दु:खको नाम हुँदैन। स्वर्ग भनिन्छ नै सत्ययुगलाई। अहिले त हो कलियुग। यहाँ फेरि स्वर्ग कहाँबाट आयो? तिम्रो बुद्धि अब स्वच्छ बन्दै गइरहेको छ। स्वच्छ बुद्धि हुनेलाई म्लेच्छ बुद्धिले नमन गर्छन्। पवित्र रहनेहरूको मान हुन्छ। संन्यासी पवित्र हुन्छन्, त्यसैले गृहस्थीहरूले उनलाई ढोग्छन्। संन्यासी त विकारबाट जन्म लिएर फेरि संन्यासी नै बन्छन्। देवताहरूलाई त भनिन्छ नै सम्पूर्ण निर्विकारी। संन्यासीहरूलाई कहिल्यै सम्पूर्ण निर्विकारी भनिँदैन। तिमी बच्चाहरूको मनभित्रधेरै खुसीको पारा चढ्नुपर्छ, त्यसैले भनिन्छ अतीन्द्रिय सुख सोध्नुछ भने ती गोप-गोपीहरूसँग सोध, जसले बाबासँग वर्सा लिइरहेका छन्, पढिरहेका छन्। यहाँ सम्मुख सुन्दा नसा चढ्छ, फेरि त्यो नसा कसैमा कायम रहन्छ, कसैको त तुरुन्त उड्छ। सँगदोषको कारण नसा स्थायी रहँदैन। तिम्रा सेन्टरहरूमा यस्ता धेरै आउँछन्। अलिकति नसा चढ्यो, फेरि पार्टी आदिमा कहीँ गए, मदिरा, बिँडी आदि पिए, खतम। सँगदोष धेरै खराब छ। हंस र बकुल्ला सँगसँगै रहनसक्दैनन्। पति हंस बन्छ भने पत्नी बकुल्ला बन्छिन्। कहीँ फेरि स्त्री हंस बन्छिन्, पति बकुल्ला हुन्छन्। पवित्र बनौं भनेमा मार खान्छिन्। कुनै कुनै घरमा सबै हंस हुन्छन्, फेरि चल्दाचल्दै हंस परिवर्तन भएर बकुल्ला बन्न पुग्छन्। बाबाले त भन्नुहुन्छ– आफूलाई सुखदायी बनाऊ। बच्चाहरूलाई सुखदायी बनाऊ। यो त दु:खधाम हो नि। अब त धेरै आपद् आउनुछ, फेरि हेर कसरी त्राहि त्राहि गर्नेछन्। अरे, बाबा आउनुभयो, हामीले बाबाबाट वर्सा पाएनौं, त्यसो हो भने त धेरै ढीलो (टू लेट) हुनेछ। बाबा स्वर्गको बादसाही दिन आउनुहुन्छ, त्यो गुमाएर बस्छन्, त्यसैले बाबा सम्झाउनुहुन्छ, सदैव मजबुतलाई लिएर आऊ। जसले स्वयंले बुझेर अरूलाई पनि बुझाउन सक्छन्। बाँकी बाबा कुनै केवल देख्ने चीज त हुनुहुन्न। शिवबाबा कहाँ देखिनुहुन्छ र। के आफ्नो आत्मालाई देखेका छौ र? केवल जानेका छौ। त्यस्तै परमात्मालाई पनि जान्नु छ। दिव्य दृष्टि विना उहाँलाई कसैले देख्नसक्दैन। दिव्य दृष्टिद्वारा अहिले तिमीले सत्ययुग देख्छौ, फेरि त्यहाँ प्राक्टिकलमा जानु छ। कलियुग विनाश तब हुन्छ, जब तिमी बच्चाहरू कर्मातीत अवस्थासम्म पुग्छौ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) यस पुरानो दुनियाँलाई देखेर पनि बुद्धिको योग बाबा वा नयाँ दुनियाँतर्फ लागिरहोस्। ध्यान रहोस्– कर्मेन्द्रियहरूद्वारा कुनै पनि विकर्म नहोस्। सदैव शुद्ध कर्म गर्नुछ, भित्र कुनै बिमारी छ भने सर्जनसँग सल्लाह लिनुछ।

२) सङ्गदोष धेरै खराब हो, यसबाट आफ्नो धेरै धेरै सम्हाल गर्नुछ। आफूलाई र परिवारलाई सुखदायी बनाउनुछ। पढाइको लागि कहिल्यै बहाना गर्नुछैन।

वरदान:–
श्रेष्ठ भावनाको आधारबाट सबैलाई शान्ति र शक्तिको किरण दिने विश्व कल्याणकारी भव

जसरी बाबाको सङ्कल्प वा बोलीमा, नयनमा सदा नै कल्याणको भावना वा कामना छ, त्यसरी नै तिमी बच्चाहरूको सङ्कल्पमा विश्व कल्याणको भावना वा कामना भरिएर रहोस्। कुनै पनि कार्य गर्दा विश्वका सबै आत्माहरू इमर्ज होऊन्। मास्टर ज्ञान सूर्य बनेर शुभभावना वा श्रेष्ठ कामनाको आधारबाट शान्ति र शक्तिका किरणहरू दिइराख, तब भनिन्छ विश्व कल्याणकारी। तर यसको लागि सबै बन्धनहरूबाट मुक्त, स्वतन्त्र बन।

स्लोगन:–
मैपन र मेरोपन– यही देह अभिमानको ढोका हो। अब यस ढोकालाई बन्द गर।