17.06.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– आफ्नो
कल्याण गर्नुछ भने हर प्रकारको परहेज राख , फूल बन्नका लागि पवित्रको हातको शुद्ध
भोजन खाऊ । ”
प्रश्न:–
तिमी
बच्चाहरूले अहिले यहाँ नै कुनचाहिँ प्राक्टिस (अभ्यास) गर्छौ, जुन २१ जन्मसम्म
रहनेछ?
उत्तर:–
सदा तन-मनबाट
तन्दुरुस्त रहने प्राक्टिस तिमीले यहाँबाटै गर्छौ। तिमीले दधीचि ऋषिजस्तै यज्ञ
सेवामा हड्डी पनि दिनुछ तर हठयोगको कुरा होइन। आफ्नो शरीर कमजोर बनाउनुछैन। तिमी
योगद्वारा २१ जन्मका लागि तन्दुरुस्त बन्छौ, त्यसको प्राक्टिस यहाँबाटै गर्छौ।
ओम् शान्ति ।
कलेज अथवा
विश्वविद्यालयमा टिचरले पनि विद्यार्थीतिर हेर्छन्। गुलाबको फूल कहाँ छ, अगाडि को
बसेका छन्? यो पनि बगैँचा हो तर नम्बरवार त छन् नै। यहाँ नै गुलाबको फूल देख्छु फेरि
छेउमा रत्नज्योति। कहिलेकाहीँ आँकको बोट पनि देख्छु। बागवान (बगैँचाको मालिक)ले त
हेर्नुपर्छ नि। उहाँ बागवानलाई नै बोलाउँछन्– आएर यो काँडाको जङ्गललाई समाप्त गरेर
फूलहरूको कलमी लगाउनुहोस्। तिमी बच्चाहरूले यथार्थमा जान्दछौ– कसरी काँडाबाट
फूलहरूको कलमी लाग्छ। तिमीहरूमध्ये पनि धेरै कम छन् जसले यी कुराको चिन्तन गर्छन्।
यो पनि तिमी बच्चाहरूलाई थाहा छ– उहाँ बागवान पनि हुनुहुन्छ, खिवैया पनि हुनुहुन्छ,
सबैलाई लैजानुहुन्छ। फूलहरूलाई देखेर बाबा पनि खुसी हुनुहुन्छ। हरेकले सम्झन्छन्–
हामी काँडाबाट फूल बनिरहेका छौँ। ज्ञान (नलेज) हेर कति उच्च छ। यो बुझ्नमा पनि धेरै
विशाल बुद्धि चाहिन्छ। यिनीहरू हुन् नै कलियुगी नर्कवासी। तिमी स्वर्गवासी बनिरहेका
छौ। संन्यासीहरू त घरबार छोडेर भाग्छन्। तिमीलाई भाग्नुछैन। कुनै कुनै घरमा एउटा
काँडा हुन्छ भने एउटा फूल हुन्छ। बाबासँग कसैले सोध्छन्– बाबा, बच्चाको विवाह
गराइदिऊँ? बाबाले भन्नुहुन्छ– ठीकै छ गराऊ। घरमा राख, सम्हाल गर। यसरी सोधे भने
यसबाटै बुझिन्छ– यिनमा हिम्मत छैन। त्यसैले बाबाले पनि भनिदिनुहुन्छ– ठीकै छ गर।
भन्छन्– हामी त बिरामी हुँन्छौँ, फेरि बुहारी आउँछिन्, उनको हातको खानुपर्छ। बाबाले
भन्नुहुन्छ– ठीकै छ खाऊ। नाइँ कहाँ भन्नुहुन्छ र! परिस्थिति यस्ता हुन्छन् खानैपर्छ
किनकि मोह पनि त छ नि। घरमा बुहारी आईन् भने त कुरै नगरौँ, मानौँ देवी आइन्। यति
खुसी हुन्छन्। तर यो त बुझ्नुपर्ने कुरा हो। हामी फूल बन्नुछ भने पवित्रको हातको
खानुछ। त्यसको लागि आफ्नो प्रबन्ध गर्नुछ, यसमा सोध्नुपर्ने कहाँ हुन्छ र। बाबाले
सम्झाउनुहुन्छ– तिमी देवता बन्छौ, यसमा यो परहेज चाहिन्छ। जति धेरै परहेज राख्छौ
त्यति तिम्रो कल्याण हुन्छ। धेरै परहेज राख्नमा केही मेहनत पनि हुन्छ। बाटोमा भोक
लाग्छ, खाना साथमा लैजाऊ। कुनै तकलिफ भयो, लाचारी छ भने स्टेसनवालाहरूसँग डबलरोटी (पाउरोटी)
लिएर खाऊ। केवल बाबालाई याद गर। यसैलाई भनिन्छ योगबल। यसमा हठयोगको कुनै कुरा छैन,
शरीरलाई कमजोर बनाउनुछैन। दधीचि ऋषिलेजस्तै हड्डी हड्डी दिनुछ, यसमा हठयोगको कुरा
छैन। यी सबै भक्तिमार्गका कुरा हुन्। शरीरलाई त बिल्कुल तन्दुरुस्त राख्नुछ।
योगद्वारा २१ जन्मका लागि तन्दुरुस्त बन्नुछ। यो प्राक्टिस यहीँ नै गर्नुछ। बाबाले
सम्झाउनुहुन्छ– यसमा सोध्नुपर्ने आवश्यकता हुँदैन। हो, कुनै ठुलो कुरा छ, त्यसमा
अलमलियौ भने सोध्न सक्छौ। स-साना कुरा बाबासँग सोध्दा कति समय जान्छ। ठुलाबडा मानिस
धेरै कम बोल्छन्। शिवबाबालाई भनिन्छ– सद्गतिदाता। रावणलाई सद्गतिदाता कहाँ भनिन्छ
र। यदि सद्गतिदाता हुन्थ्यो भने उसलाई किन जलाउँथे? बच्चाहरूले जान्दछन्– रावण त
प्रख्यात छ। हुन त रावणमा तागत धेरै छ, तर दुस्मन त हो नि। आधाकल्प रावणको राज्य
चल्छ। तर कहिल्यै महिमा सुनेका छौ? रावणको केही पनि महिमा छैन। तिमीलाई थाहा छ–
रावण ५ विकारहरूलाई भनिन्छ। साधुसन्त पवित्र बन्छन् त्यसैले उनीहरूको महिमा गर्छन्
नि। यस समयका मानिस त सबै पतित छन्। ठीकै छ, जोसुकै आऊन्, मानौँ कुनै ठुला मानिस
आउँछन्, भन्छन्– बाबासँग भेटघाट गरौँ, बाबाले उनीहरूसँग के सोध्नुहुन्छ? उनीहरूसँग
त यही सोध्नुहुन्छ– रामराज्य र रावणराज्य कहिल्यै सुनेका छौ? मानिस र देवता कहिल्यै
सुनेका छौ? यस समयमा मानिसहरूको राज्य छ वा देवताहरूको? मानिस कुन, देवता कुन? देवता
कुन राज्यमा थिए? देवताहरू त सत्ययुगमा हुन्छन्। यथा राजा रानी तथा प्रजा... तिमीले
सोध्न सक्छौ– यो नयाँ सृष्टि हो वा पुरानो? सत्ययुगमा कसको राज्य थियो? अहिले कसको
राज्य छ? चित्र त सामुन्ने छन्। भक्ति के हो, ज्ञान के हो? यो कुरा बाबा नै बसेर
सम्झाउनुहुन्छ।
जुन बच्चाहरूले भन्छन्–
बाबा धारणा हुँदैन, उनीहरूलाई बाबाले भन्नुहुन्छ– अरे अल्फ र बे त सहज छ नि। अल्फ
बाबा नै भन्नुहुन्छ– म बाबालाई याद गर्यो भने वर्सा मिल्नेछ। भारतवर्षमा शिवजयन्ती
पनि मनाउँछन् तर बाबा कहिले भारतवर्षमा आएर यसलाई स्वर्ग बनाउनुभयो? यो भारतवर्ष
स्वर्ग थियो– यो जान्दैनन्, बिर्सिएका छन्। तिमीले भन्छौ– हामीले पनि यो केही
जान्दैनथ्यौँ हामी स्वर्गका मालिक थियौँ। अब बाबाद्वारा हामी फेरि देवता बनिरहेका
छौँ। सम्झाउनेवाला म नै हुँ। सेकेन्डमा जीवनमुक्ति गायन गरिएको छ। तर यसको पनि अर्थ
कहाँ बुझ्छन् र। सेकेन्डमा तिमी स्वर्गका परी बन्छौ नि! यसलाई इन्द्रसभा पनि भनिन्छ,
उनीहरूले फेरि इन्द्र सम्झन्छन् वर्षा बर्साउनेलाई। अब वर्षा बर्साउनेहरूको कुनै सभा
लाग्छ र? इन्द्रलठ, इन्द्रसभा के के सुनाउँछन्।
आज फेरि यो पुरुषार्थ
गरिरहेका छन्, पढाइ हो नि। ब्यारिस्टरी (कानुन) पढ्नेले सम्झन्छन्– भोलि हामी
ब्यारिस्टर बन्छौँ। तिमीले आज पढ्छौ, भोलि शरीर छोडेर गएर राजपरिवारमा जन्म लिन्छौ।
तिमीले भविष्यका लागि प्रारब्ध पाउँछौ। यहाँबाट पढेर जान्छौ फेरि हाम्रो जन्म
सत्ययुगमा हुन्छ। एम अब्जेक्ट (लक्ष्य उद्देश्य) नै हो– राजकुमार-राजकुमारी (प्रिन्स-प्रिन्सेस)
बन्ने। राजयोग हो नि। कसैले भन्छन्– बाबा हाम्रो बुद्धि खुल्दैन, यो तिम्रो तकदिर
नै यस्तै छ। ड्रामामा पार्ट यस्तै छ। त्यसलाई बाबाले कसरी परिवर्तन गर्न सक्नुहुन्छ
र। स्वर्गको मालिक बन्नका लागि त सबै हकदार छन्। तर नम्बरवार त हुन्छन् नि। यस्तो त
होइन सबै बादसाह बन्छन्। कसैले भन्छन्– ईश्वरीय तागत छ भने सबैलाई बादसाह
बनाइदिनुहोस्। फेरि प्रजा कहाँबाट आउँछन्। यो समझको कुरा हो नि। यी लक्ष्मी-नारायणको
राज्य थियो। अहिले त केवल नाम मात्रका महाराजा-महारानी छन्। उपाधि पनि दिन्छन्। लाख
दुई लाख दिनाले राजा-रानीको उपाधि (लकब) मिल्छ। फेरि चालचलन पनि त्यस्तै हुनुपर्छ।
अहिले तिमी
बच्चाहरूलाई थाहा छ– हामीले श्रीमतमा आफ्नो राज्य स्थापना गरिरहेका छौँ। त्यहाँ त
सबै सुन्दर गोरा हुन्छन्। यी लक्ष्मी-नारायणको राज्य थियो नि। शास्त्रहरूमा कल्पको
अवधि लामो लेखिदिएकाले मानिसहरूले बिर्सिएका छन्। अहिले तिमीले श्यामबाट सुन्दर
बन्ने पुरुषार्थ गरिरहेका छौ। के देवताहरू काला हुन्छन् र? श्रीकृष्णलाई कालो,
राधालाई गोरो देखाउँछन्। तर सुन्दर त दुवै सुन्दर हुन्छन् नि। फेरि काम चितामा चढेर
दुवै काला बन्छन्। त्यहाँ हुन्छन् स्वर्णिम दुनियाँका मालिक, यो हो कालो दुनियाँ।
तिमी बच्चाहरूलाई एक त भित्र खुसी हुनुपर्छ र दैवीगुण पनि धारण गर्नुपर्छ। कसैले
भन्छन्– बाबा बिँडी छुट्दैन। बाबाले भन्नुहुन्छ– ठीकै छ, धेरै पिऊ। सोध्छौ भने के
भन्नु! परहेजमा नचल्नाले गिर्छौ। आफैमा समझ हुनुपर्छ नि। हामी देवता बन्छौँ भने
हाम्रो चालचलन, खानपान कस्तो हुनुपर्छ। सबैले भन्छन्– हामीले लक्ष्मीलाई, नारायणलाई
वरण गर्छौँ। अच्छा, आफूमा हेर यस्ता गुण छन्? हामीले बिँडी पिउँछौँ, फेरि नारायण
बन्न सक्छौँ? नारदको पनि कथा छ नि। नारद कुनै एक त होइन नि। सबै मनुष्य भक्त (नारद)
हुन्।
बाबा भन्नुहुन्छ–
देवता बन्ने बच्चाहरूले अन्तर्मुखी बनेर आफैसँग कुरा गर– हामी देवता बन्छौँ भने
हाम्रो चालचलन कस्तो हुनुपर्ला? हामी देवता बन्छौँ भने मदिरा पिउन सक्दैनौँ, बिँडी
पिउन सक्दैनौँ, विकारमा जान सक्दैनौँ, पतितको हातको खान सक्दैनौँ। नत्र स्थितिमा
असर पर्छ। यी कुरा बाबाले बसेर सम्झाउनुहुन्छ। ड्रामाको रहस्यलाई पनि कसैले
जान्दैनन्। यो नाटक हो, सबै पार्टधारी हुन्। हामी आत्माहरू माथिबाट आउँछौँ, पार्ट त
सारा दुनियाँका कलाकारहरू (एक्टर) ले खेल्नु नै छ। सबैको आआफ्नो पार्ट छ। कति
पार्टधारी छन्, कसरी पार्ट खेल्छन्, यो भेराइटी (विभिन्न प्रकार) धर्महरूको वृक्ष
हो। एउटा आँपको वृक्षलाई भेराइटी वृक्ष भनिँदैन। त्यसमा त आँप नै हुन्छ। यो मनुष्य
सृष्टिको वृक्ष त हो तर यसको नाम हो– भेराइटी धर्महरूको वृक्ष। बीज एउटै हो,
मानिसहरूको भेराइटी हेर कति छ। कोही कस्ता, कोही कस्ता। यो कुरा बाबाले बसेर
सम्झाउनुहुन्छ, मानिसहरूले त केही जान्दैनन्। मानिसहरूलाई बाबाले नै पारसबुद्धि
बनाउनुहुन्छ। तिमी बच्चाहरूलाई थाहा छ– यो पुरानो दुनियाँमा बाँकी थोरै दिन छ। कल्प
पहिला बमोजिम कलमीहरू लागिरहन्छन्। राम्रा प्रजा, साधारण प्रजाको पनि कलमी लाग्छ।
यहीँ नै राजधानी स्थापना भइरहेको छ। बच्चाहरूले हरेक कुरामा बुद्धि चलाउनुपर्ने
हुन्छ। यस्तो होइन, मुरली सुन्यो सुनेन थाहै छैन। यहाँ बसेर पनि बुद्धि बाहिर
दौडिरहन्छ। यस्ता पनि छन्– कोही त सम्मुख मुरली सुनेर धेरै गद्गद् हुन्छन्। मुरलीका
लागि दौडन्छन्। भगवानले पढाउनुहुन्छ भने यस्तो पढाइ कहाँ छोड्नु हुन्छ र। टेपमा
ठ्याक्कै भरिन्छ, सुन्नुपर्छ। धनवान मानिसहरूले खरिद गरे भने गरिबले सुन्छन्। कतिको
कल्याण हुन्छ। गरिब बच्चाहरूले पनि आफ्नो भाग्य धेरै उच्च बनाउन सक्छन्। बाबाले
बच्चाहरूका लागि घर बनाउनुहुन्छ, गरिबले दुई रुपियाँको मनीअर्डर पनि पठाइदिन्छन्,
बाबा यसको एउटा इँटा घरमा लगाइदिनुहोला। एक रुपियाँ यज्ञमा हालिदिनुहोला। फेरि कोही
त हुन्डी भर्नेवाला पनि हुन्छन् नि। मानिसहरूले अस्पताल आदि बनाउँछन्, कति खर्च
लाग्छ, धनवान मानिसहरूले सरकारलाई धेरै मद्दत गर्छन्, उनीहरूलाई के मिल्छ! अल्पकालको
सुख। यहाँ त तिमीले जे गर्छौ त्यो सबै २१ जन्मका लागि। देख्छौ बाबाले सबथोक दिनुभयो,
विश्वको पहिलो नम्बर मालिक बन्नुभयो। २१ जन्मका लागि यस्तो सौदा कसले गर्दैन र।
भोलानाथ तब त भनिन्छ नि। अहिलेकै कुरा हो। कति भोला हुनुहुन्छ, भन्नुहुन्छ– जे जति
गर्नुछ गरिदेऊ। कति गरिब बच्चाहरू छन्, सिलाइ गरेर पेट पाल्छन्। बाबालाई थाहा छ–
यिनीहरू त धेरै उच्च पद पाउनेवाला हुन्। सुदामाको पनि उदाहरण छ नि। मुठीभर चामलको
सट्टा २१ जन्मका लागि महल मिल्यो। तिमीले यी कुराहरू नम्बरवार पुरुषार्थअनुसार
जान्दछौ। बाबा भन्नुहुन्छ– म भोलानाथ पनि हुँ नि। यी दादा त भोलानाथ होइनन्। यिनले
पनि भन्छन्– भोलानाथ शिवबाबा हुनुहुन्छ त्यसैले उहाँलाई सौदागर, रत्नागर, जादुगर
भनिन्छ। तिमी विश्वको मालिक बन्छौ। यहाँ भारतवर्ष कङ्गाल छ, प्रजा धनवान छन्, सरकार
गरिब छ। अहिले तिमीले बुझेका छौ– भारतवर्ष कति उच्च थियो! स्वर्ग थियो। त्यसका
निसानीहरू पनि छन्। सोमनाथको मन्दिर कति हीरा-जुहारतले सजिएको थियो, जसबाट ऊँटभरि
हीरा-जुहारत लगे। तिमी बच्चाहरूलाई थाहा छ– अहिले यो दुनियाँ अवश्य परिवर्तन हुनुछ।
त्यसको लागि तिमीले तयारी गरिरहेका छौ। जसले गर्छ उसैले पाउँछ। मायाको विरोध धेरै
हुन्छ। तिमी हौ ईश्वरका मुरीद (शिष्य)। बाँकी सबै छन् रावणका मुरीद। तिमी हौ
शिवबाबाका बच्चा। शिवबाबाले तिमीलाई वर्सा दिनुहुन्छ। बाबाबाहेक अरू कुनै कुरा
बुद्धिमा आउनुहुँदैन। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) अन्तर्मुखी बनेर आफैसँग कुरा गर्नुछ– मलाई देवता बन्नुछ भने मेरो चालचलन कस्तो
छ! कुनै अशुद्ध खानपान त छैन!
२) आफ्नो भविष्य २१
जन्मका लागि उच्च बनाउनुछ भने सुदामाजस्तै जेजति छ भोलानाथ बाबाको जिम्मा लगाइदिनुछ।
पढाइका लागि कुनै पनि बहाना गर्नुहुँदैन।
वरदान:–
आदि र अनादि
स्वरूपको स्मृतिद्वारा आफ्नो निजी स्वधर्मलाई अपनाउने पवित्र र योगी भव
ब्राह्मणहरूको निजी
स्वधर्म पवित्रता हो, अपवित्रता परधर्म हो। जुन पवित्रतालाई अपनाउन मानिसहरूले
मुस्किल सम्झन्छन् त्यो तिमी बच्चाहरूका लागि अति सहज छ किनकि स्मृति आयो– हाम्रो
वास्तविक आत्म स्वरूप सदैव पवित्र छ। अनादि स्वरूप पवित्र आत्मा हो र आदि स्वरूप
पवित्र देवता हो। अहिलेको अन्तिम जन्म पनि पवित्र ब्राह्मण जीवन हो त्यसैले पवित्रता
नै ब्राह्मण जीवनको व्यक्तित्व हो। जो पवित्र छ ऊ नै योगी हो।
स्लोगन:–
सहजयोगी भनेर
अलबेलापन नल्याऊ, शक्ति स्वरूप बन।