18.01.25    Avyakt Bapdada     Nepali Murli     Om Shanti     Madhuban


“ पिताश्रीको पुण्य स्मृति दिवसमा प्रातःकालीन कक्षामा सुनाउनका लागि बापदादाका मधुर अनमोल महावाक्य”


ओम् शान्ति। रुहानी बाबा अहिले तिमी बच्चाहरूसँग रूहरिहान गरिरहनुभएको छ, शिक्षा दिइरहनुभएको छ। टिचरको काम शिक्षा दिनु हो र गुरुको काम मञ्जिल बताउनु हो। मञ्जिल मुक्ति जीवनमुक्ति हो। मुक्तिका लागि यादको यात्रा धेरै जरुरी छ र जीवनमुक्तिका लागि रचनाको आदि, मध्य, अन्त्य जान्नु जरुरी छ। अब ८४ को चक्र पूरा हुन्छ, फेरि घर जानु छ। आफूसँग यस्ता यस्ता कुरा गर्नाले धेरै खुसी हुन्छ र फेरि अरूलाई पनि खुसी बनाउनेछौ। अरूमाथि पनि तमोप्रधानबाट सतोप्रधान बनाउने मार्ग बताउने कृपा गर्नु छ । बाबाले तिमी बच्चाहरूलाई पुण्य र पापको गहन गति पनि सम्झाउनुभएको छ। पुण्य के हो र पाप के हो! सबैभन्दा ठुलो पुण्य हो– बाबालाई याद गर्नु र अरूलाई पनि याद दिलाउनु। सेन्टर खोल्नु, तन-मन-धन अरूको सेवामा लगाउनु, यो हो पुण्य। सङ्गदोषमा आएर व्यर्थ चिन्तन, परचिन्तनमा आफ्नो समय बर्बाद गर्नु– यो हो पाप। यदि कसैले पुण्य गर्दागर्दै पाप गर्छ भने गरेको कमाइ सबै खतम हुन्छ। जे जति पुण्य गरेको थियो त्यो सबै खतम हुन्छ, फेरि जम्माको सट्टा घाटा हुन्छ। पाप कर्मको सजाय पनि ज्ञानी आत्मा बच्चाहरूका लागि १०० गुणा हुन्छ किनकि सतगुरुका निन्दक बन्छन्। त्यसैले बाबा शिक्षा दिनुहुन्छ– मीठे बच्चे, कहिल्यै पनि पाप कर्म नगर्नु। विकारहरूको चोट खानबाट बच्नु। बाबाको बच्चाहरूमाथि प्रेम छ त्यसैले दया पनि लाग्छ। बाबाले अनुभव सुनाउनुहुन्छ– जब एकान्तमा बस्छु, त्यतिबेला पहिले अनन्य बच्चा याद आउँछन्। वेलायतमा हुन् अथवा जहाँसुकै भए पनि, कुनै असल सर्भिसएबल बच्चाले शरीर छोडे भने उनको आत्मालाई पनि याद गरी सर्चलाइट दिनुहुन्छ। यो तिमी बच्चाहरूलाई थाहा छ– यहाँ दुई बत्ती छन्, दुवै लाइट एकै ठाउँमा छन्। यी दुवै जबरजस्त लाइट हुन्। बिहानको समय राम्रो हुन्छ, नुहाएर एकान्तमा जानुपर्छ। भित्र खुसी पनि धेरै हुनुपर्छ। बेहदको बाबा बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ– मीठे बच्चे, आफूलाई आत्मा सम्झेर म बाबालाई र आफ्नो घरलाई याद गर। प्यारा बच्चाहरू! यस यादको यात्रालाई कहिल्यै बिर्सनुहुँदैन। यादबाट नै तिमी पावन बन्छौ। पावन नबनी तिमी फर्केर फेरि घर जान सक्दैनौ। मुख्य ज्ञान र योग नै हो। बाबासँग यही धेरै ठुलो खजाना छ जुन बच्चाहरूलाई दिनुहुन्छ, यसमा योगको धेरै ठुलो सब्जेक्ट छ। बच्चाहरूले राम्रोसँग याद गरे भने बाबाको यादबाट पनि याद मिल्छ। यादबाट बच्चाहरूले बाबालाई तान्छन्। अन्त्यमा आउनेले जुन उच्च पद पाउँछन्, त्यसको आधार पनि याद हो। उनले कशिश (आकर्षण) गर्छन्। भन्छन् नि– बाबा रहम गर्नुहोस्, कृपा गर्नुहोस्, यसमा पनि मुख्य चाहिन्छ याद। यादबाट नै करेन्ट मिलिरहन्छ, यसबाट आत्मा हेल्दी बन्छ, भरपुर हुन्छ। कहिलेकाहीँ बाबाले कुनै बच्चालाई करेन्ट दिनुपर्ने भयो भने निद्रा पनि हराउँछ। यो ख्याल चलिरहन्छ– फलानालाई करेन्ट दिनु छ। तिमीलाई थाहा छ– करेन्ट मिल्नाले आयु बढ्छ, एभरहेल्दी बनिन्छ। यस्तो पनि होइन एक ठाउँमा बसेर याद गर्नु छ। बाबा सम्झाउनुहुन्छ– हिँड्दा डुल्दा, खाना खाँदा, काम गर्दा पनि बाबालाई याद गर। अरूलाई करेन्ट दिनुपर्ने छ भने राति पनि जाग। बच्चाहरूलाई सम्झाइएको छ– बिहान उठेर जति बाबालाई याद गर्नेछौ त्यति कशिश हुनेछ। बाबाले पनि सर्चलाइट दिनुहुन्छ। आत्मालाई याद गर्नु अर्थात् सर्चलाइट दिनु, फेरि यसलाई कृपा भन वा आशीर्वाद भन।

तिमी बच्चाहरूले जान्दछौ– यो ड्रामा अनादि रूपमा बनिबनाउ छ। यो हारजितको खेल हो। जे हुन्छ त्यो ठीक हुन्छ। क्रिएटर (रचयिता)लाई ड्रामा अवश्य मन पर्छ नि। त्यसैले क्रिएटरका बच्चाहरूलाई पनि मन पर्नु पर्छ। यस ड्रामामा बाबा एकैपटक बच्चाहरूको पासमा दिलोज्यान एवं प्रेमले सेवा गर्न आउनुहुन्छ। बाबालाई त सबै बच्चा प्रिय छन्। तिमीलाई थाहा छ– सतयुगमा पनि सबैले एक अर्कालाई धेरै माया गर्छन्। जनावरहरूमा पनि प्यार हुन्छ। यस्ता कुनै जनावर हुँदैनन् जो प्रेमले रहँदैनन्। त्यसैले तिमी बच्चाहरू यहाँ मास्टर प्यारको सागर बन्नु छ। यहाँ बन्यौ भने त्यो संस्कार अविनाशी बन्छ। बाबा भन्नुहुन्छ– कल्पअघि जस्तै हुबहु फेरि प्रिय बनाउन आएको छु। कहिल्यै कुनै बच्चाको क्रोधको आवाज सुनेमा बाबाले शिक्षा दिनुहुन्छ– प्यारा बच्चाहरू! रिसाउनु ठीक होइन, यसबाट तिमी पनि दुःखी हुन्छौ, अरूलाई पनि दुःखी बनाउनेछौ। बाबा सदाकालको सुख दिनेवाला हुनुहुन्छ त्यसैले बच्चाहरू पनि बाबासमान बन्नु छ। एक अर्कालाई कहिल्यै दुःख दिनुहुँदैन। धेरै धेरै लभली बन्नु छ। लभली बाबालाई धेरै प्रेमले याद गर्यौ भने आफ्नो पनि कल्याण, अरूको पनि कल्याण गर्नेछौ।

अहिले विश्वको मालिक तिमीहरूको पासमा पाहुना बनेर आउनु भएको छ। तिमी बच्चाहरूको सहयोगले नै विश्वको कल्याण हुनु छ। जसरी तिमी रुहानी बच्चाहरूलाई बाबा अति प्रिय हुनुहुन्छ, त्यसरी नै बाबालाई पनि तिमी रुहानी बच्चाहरू धेरै प्रिय लाग्छौ किनकि तिमीहरू नै श्रीमतमा सारा विश्वको कल्याण गर्नेवाला हौ। अहिले तिमी यहाँ ईश्वरीय परिवारमा बसेका छौ। बाबा सम्मुख बस्नुभएको छ। हजुरसँगै खाउँ, हजुरसँग नै बसुँ... तिमीलाई थाहा छ– शिवबाबा यिनमा आएर भन्नुहुन्छ मीठे बच्चे! देहसहित देहका सबै सम्बन्धहरूलाई बिर्सेर म एकलाई याद गर। यो अन्तिम जन्म हो, यो पुरानो दुनियाँ, पुरानो देह खलास हुनु छ। कहावत पनि छ– आफू मरेपछि दुनियाँ मर्यो। पुरुषार्थका लागि सङ्गमको थोरै समय छ। बच्चाहरूले सोध्छन्– बाबा यो पढाइ कहिलेसम्म चल्नेछ! जबसम्म दैवी राजधानी स्थापना हुँदैन, तबसम्म सुनाइरहनेछु, फेरि ट्रान्सफर हुनेछौ नयाँ दुनियाँमा। बाबा कति निरहङ्कारी भएर तिमी बच्चाहरूको सेवा गर्नुहुन्छ, तिमी बच्चाहरूले पनि त्यत्ति सेवा गर्नुपर्छ। श्रीमतमा चल्नुपर्छ। कहीँ आफ्नो मत देखायौ भने तकदिरको रेखा मेटिने छ। तिमी ब्राह्मणहरू ईश्वरीय सन्तान हौ। ब्रह्माका सन्तान भाइ-बहिनी हौ, ईश्वरीय नातिनातिना हौ, उहाँबाट वर्सा लिइरहेका छौ। जति पुरुषार्थ गर्नेछौ त्यति पद पाउनेछौ। यसमा साक्षी रहने अभ्यास पनि धेरै चाहिन्छ। बाबाको पहिलो आदेश छ अशरीरी भव, देही अभिमानी भव। आफूलाई आत्मा सम्झेर म बाबालाई याद गर अनि मात्र जो खिया लागेको छ त्यो निस्कनेछ, सच्चा सुन बन्नेछौ। तिमी बच्चाहरूले अधिकारले भन्न सक्छौ– बाबा, ओ मिठा बाबा! हजुरले मलाई आफ्नो बनाएर सबैथोक वर्सामा दिनुभएको छ। यो वर्सालाई कसैले खोस्न सक्दैन, तिमी बच्चाहरूलाई यति नसा रहनुपर्छ। तिमी नै सबैलाई मुक्ति जीवनमुक्तिको बाटो बताउने लाइटहाउस हौ, उठ्दा बस्दा, हिँड्दा डुल्दा तिमी लाइटहाउस भएर बस। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! अब समय धेरै कम छ, गायन पनि छ– एक घडी आधी घडी... जति हुनसक्छ एक बाबालाई याद गर्न थाल र फेरि चार्ट बढाउँदै जाऊ। अच्छा!

मीठे मीठे सिकीलधे लक्की र लभली ज्ञान सिताराहरूलाई माता-पिता बापदादाको दिलोज्यान एवम् प्रेमसहित यादप्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

अव्यक्त महावाक्य– निरन्तर योगी बन

जसरी एक सेकेन्डमा स्विच अन र अफ गरिन्छ, त्यसैगरी एक सेकेन्डमा शरीरको आधार लियो र फेरि एक सेकेन्डमा शरीरबाट पर अशरीरी स्थितिमा स्थित भयो। भर्खरै शरीरमा आयो फेरि भर्खरै अशरीरी बन्यो, यो अभ्यास गर्नु छ, यसैलाई नै कर्मातीत अवस्था भनिन्छ। जसरी कुनै वस्त्र धारण गर्नु वा नगर्नु आफ्नो हातमा हुन्छ। आवश्यकता भयो धारण गरियो, आवश्यकता भएन भने उतारियो। त्यसैगरी अनुभव यस शरीररूपी वस्त्रलाई धारण गर्ने र उतारर्न मा होस्। कर्म गर्दा पनि यस्तो अनुभव हुनुपर्छ जसरी कुनै वस्त्र धारण गरी कार्य गरिरहेको छु, कार्य पूरा भयो अनि वस्त्रबाट अलग भयो। हिँड्दा पनि शरीर र आत्मा दुवैको न्यारापन अनुभव होस्। जसरी कुनै अभ्यास हुन्छ नि, तर यो अभ्यास कसलाई हुनसक्छ? जो शरीरसँग वा शरीरको सम्बन्धमा जे जति कुरा छन्, शरीरको दुनियाँ, सम्बन्ध वा अनेक जे जति वस्तु छन् तीबाट बिल्कुल अलग हुनेछन्, अलिकति पनि लगाव हुनेछैन तब मात्र अलग हुन सकिन्छ।यदि सूक्ष्म सङ्कल्पमा पनि हलुकापन छैन, अलग हुन सक्दैनौ भने न्यारापनको अनुभव गर्न सक्दैनौ। हरेकले अब यो अभ्यास गर्नु छ, बिल्कुल नै न्यारापनको अनुभव होस्। यस स्थितिमा रहनाले अन्य आत्माहरूलाई पनि तिमीहरूबाट न्यारापनको अनुभव हुनेछ, उनले पनि महसुस गर्नेछन्। जसरी योगमा बस्ने समयमा धेरै आत्माहरूलाई अनुभव हुन्छ नि, यो ड्रिल गराउने अलग स्थितिमा छ, यसरी हिँड्दा पनि फरिस्तापनको साक्षात्कार हुनेछ। यहाँ बसेर पनि जोसुकै अनेक आत्माहरू पनि तिमीहरूको सत्ययुगी परिवारमा नजिक आउनेवाला छन्, तिनीहरूलाई तिमीहरूको फरिस्ता रूप र भविष्य राज्य पदको दुवै सँगसँगै साक्षात्कार हुनेछ। जसरी सुरुमा ब्रह्मामा सम्पूर्ण स्वरूप र श्रीकृष्णको दुवै सँगसँगै साक्षात्कार गर्थे, त्यसरी नै अब तिनीहरूलाई तिमीहरूको डबल रूपको साक्षात्कार हुनेछ। जति जति यस न्यारा स्थितिमा आउँदै जान्छौ, त्यति तिमीहरूको पनि यो डबल साक्षात्कार हुनेछ। अब यो पूरा अभ्यास भयो भने जताततैबाट यही समाचार आउन थाल्नेछ। जसरी सुरुमा घर बसेर पनि नजिक आउने अनेक आत्माहरूलाई साक्षात्कार भए नि। त्यसैगरी अब पनि साक्षात्कार हुनेछन्। यहाँ बसेर पनि बेहदमा तिमीहरूको सूक्ष्म स्वरूपले सेवा गर्नेछ। अब यही सेवा बाँकी छ। साकारमा सबै उदाहरण त देख्यौ। सबै कुरा नम्बरवार ड्रामा अनुसार हुनुछ। जति जति स्वयं आकारी फरिस्ता स्वरूपमा हुनेछौ त्यति तिमीहरूको फरिस्ता रूपले सेवा गर्नेछ। आत्मालाई सारा विश्वको चक्कर लगाउन कति समय लाग्छ? अब तिमीहरूको सूक्ष्म स्वरूपले पनि सेवा गर्नेछ तर तिनको साक्षात्कार हुनेछ जो यस न्यारा स्थितिमा हुनेछन्। स्वयं फरिस्ता रूपमा स्थित हुनेछन्। सुरुमा सबै साक्षात्कार भएका छन्। फरिस्ता रूपमा सम्पूर्ण स्थिति र पुरुषार्थी स्थिति, दुवै अलग अलग साक्षात्कार हुन्थ्यो। जसरी साकार ब्रह्मा र सम्पूर्ण ब्रह्माको अलग अलग साक्षात्कार हुन्थ्यो, त्यसैगरी अनन्य बच्चाहरूको पनि साक्षात्कार हुनेछ। जब हङ्गामा हुनेछ तब साकार शरीरद्वारा त केही गर्न सकिने छैन र प्रभाव पनि यस सेवाबाट पर्ने छ। जसरी सुरुमा पनि साक्षात्कारबाट नै प्रभाव भयो नि। प्रत्यक्ष-अप्रत्यक्ष अनुभवले प्रभाव पाऱ्यो। त्यसैगरी अन्त्यमा पनि यही सेवा हुनुछ। आफ्नो सम्पूर्ण स्वरूपको साक्षात्कार आफूलाई हुन्छ? अब शक्तिहरूलाई पुकार्न थालिएको छ। अहिले परमात्मालाई कम पुकार्छन्, शक्तिहरूको पुकार तीव्र गतिले चालु भएको छ। त्यसैले यस्तो अभ्यास बीच बीचमा गर्नुछ। बानी परेपछि फेरि धेरै आनन्द अनुभव हुनेछ। एक सेकेन्डमा आत्मा शरीरबाट न्यारा हुनेछ, अभ्यास हुनेछ। अब यही पुरुषार्थ गर्नु छ। वर्तमान समयमा मनन शक्तिद्वारा आत्मामा सर्व शक्तिहरू भर्ने आवश्यकता छ अनि मात्र मग्न अवस्था रहनेछ र विघ्न टर्नेछन्। विघ्नहरूको लहर तब आउँछ जब रूहानियततिर फोर्स कम हुन्छ। वर्तमान समयमा शिवरात्रिको सेवा पहिले स्वयंमा शक्ति भर्ने फोर्स चाहिन्छ। योगका कार्यक्रम त राख्छौ तर योगद्वारा शक्तिहरूको अनुभव गर्नु, गराउनु– अब यस्ता क्लासहरूको आवश्यकता छ। आफ्नो प्राक्टिकल बलको आधारमा अरूलाई बल दिनुछ। केवल बाहिरको सेवाको योजना मात्र सोच्नु छैन तर पूरा नजर चाहिन्छ सबैतिर। जो निमित्त बनेका छन् तिनीहरूलाई यो विचार आउनुपर्छ– हाम्रो फुलबारी कुन कुरामा कमजोर छ। कुनै पनि तरिकाले आफ्नो फुलबारीको कमजोरीमाथि कडा दृष्टि राख्नुपर्छ। समय दिएर पनि कमजोरीहरूलाई हटाउनुपर्छ। जसरी साकार रूपलाई देख्यौ, कुनै पनि यस्तो लहरको समय हुन्थ्यो, त्यतिबेला दिनरात सकाश दिने विशेष सेवा, विशेष योजना चल्थे। निर्बल आत्माहरूलाई बल भर्ने विशेष ध्यान रहन्थ्यो, जसबाट अनेक आत्माहरूलाई अनुभव पनि हुन्थ्यो। रातभरि पनि समय निकालेर आत्माहरूलाई सकाश दिने सेवा चल्थ्यो। अब त्यस्तै विशेष सकाश दिने सेवा गर्नुछ। लाइटहाउस, माइटहाउस बनेर यो खास सेवा गर्नुछ, अनि चारैतिर लाइट माइटको प्रभाव फैलिनेछ। अहिले यही आवश्यकता छ। जसरी कोही धनवान छ भने आफ्नानजिकका नातेदारहरूलाई मदत गरेर माथि उठाउँछ, त्यसैगरी वर्तमान समयमा जो पनि कमजोर आत्माहरू सम्पर्क र सम्बन्धमा छन्, तिनीहरूलाई विशेष सकाश दिनु छ। अच्छा!

वरदान:–
हजार भुजावाला ब्रह्माबाबाको साथको निरन्तर अनुभव गर्ने सच्चा स्नेही भव

वर्तमान समयमा हजार भुजावाला ब्रह्माबाबाको रूपको पार्ट चलिरहेको छ। जसरी आत्माबिना भुजाले केही गर्न सक्दैन, त्यसैगरी बापदादाबिना भुजारूपी बच्चाहरूले केही गर्न सक्दैनन्। हरेक कार्यमा पहिले बाबाको सहयोग हुन्छ। जबसम्म स्थापनाको पार्ट छ, तबसम्म बापदादा बच्चाहरूका हरेक सङ्कल्प र सेकेन्डमा साथसाथै हुनुहुन्छ। त्यसैले कहिल्यै पनि बिछोडको पर्दा लगाएर वियोगी नबन। प्रेमको सागरका लहरहरूमा लहराऊ, गुणगान गर तर घाइते नबन। बाबाको स्नेहको प्रत्यक्ष स्वरूप सेवाको स्नेही बन।

स्लोगन:–
अशरीरी स्थितिको अनुभव र अभ्यास नै नम्बर अगाडि आउने आधार हो।

सूचना :– आज मधुबनमा अव्यक्त बापदादासँग मिलनको शुभ दिन हो।