18.01.26    Avyakt Bapdada     Nepali Murli      Om Shanti     Madhuban


“बापदादाका अनमोल महावाक्य - पिताश्रीजी को पुण्य स्मृति दिवसमा प्रातः क्लासमा सुनाउनको लागि”

“मीठे बच्चे , ज्ञान रत्नले झोली भरेर दान पनि ग र्नुछ , जति अरूलाई मार्ग बताउँछौ त्य ति आशीर्वाद मिल्नेछ।”


ओम् शान्ति। मीठा बच्चाहरूले यो पक्का याद राख्नुछ– शिवबाबाले हामीलाई पढाउनुहुन्छ। शिवबाबा पतितपावन पनि हुनुहुन्छ, सदगतिदाता पनि हुनुहुन्छ। सदगति अर्थात् स्वर्गको राज्य भाग्य दिनुहुन्छ। बाबा कति मीठो हुनुहुन्छ। बसेर कति प्यारले बच्चाहरूलाई पढाउनुहुन्छ। बाबाले दादाद्वारा हामीलाई पढाउनुहुन्छ। बाबा कति मीठो हुनुहुन्छ, कति प्यार गर्नुहुन्छ। कुनै तकलिफ दिनुहुन्न। केवल भन्नुहुन्छ– मलाई याद गर र चक्रलाई याद गर। बाबाको यादमा दिल एकदम शीतल हुनुपर्छ। एक बाबाको नै यादले सताउनुपर्छ किनकि बाबाबाट कति श्रेष्ठ वर्सा मिल्छ। आफूलाई हेर्नुपर्छ–बाबासँग मेरो कति लभ छ? ममा कहाँसम्म दैवीगुण छन् किनकि तिमी बच्चाहरू अब काँडाबाट फूल बनिरहेका छौ। जति जति योगमा रहन्छौ, त्यति काँडाबाट सतोप्रधान फूल बन्दै जानेछौ। फूल बन्यौ भने फेरि यहाँ बस्न सक्दैनौ। फूलहरूको बगैँचा हो नै स्वर्ग। जसले धेरै काँडाहरूलाई फूल बनाउँछन्, उनीहरूलाई नै सच्चा सुगन्धित फूल भनिन्छ। उनीहरूले कहिल्यै कसैलाई काँडाले घोच्दैनन्। क्रोध पनि ठुलो काँडा हो। धेरैलाई दुःख दिन्छन्। अहिले तिमी बच्चाहरू काँडाको दुनियाबाट किनारामा आएका छौ, तिमी छौ सङ्गममा। जसरी मालीले फूलहरूलाई छुट्टै भाँडोमा निकालेर राख्छन्, त्यसरी नै तिमी फूलहरूलाई पनि अब छुट्टै सङ्गमयुगी भाँडोमा राखिएको छ। फेरि तिमी फूलहरू स्वर्गमा जानेछौ। कलियुगी काँडाहरू भस्म हुनेछन्।

मीठा बच्चाहरूलाई थाहा छ– पारलौकिक बाबाबाट हामीलाई अविनाशी वर्सा मिल्छ। जो सच्चा सच्चा बच्चाहरू छन्, जसको बापदादासँग पूरा लभ छ, उनीहरूलाई धेरै खुसी हुनेछ। हामी विश्वको मालिक बन्छौँ। हो, पुरुषार्थबाट नै विश्वको मालिक बनिन्छ, केवल भनेर मात्र होइन। जुन अनन्य बच्चाहरू छन्, उनीहरूलाई सदैव यो याद रहनेछ– हामीले आफ्नो लागि फेरि त्यही सूर्यवंशी, चन्द्रवंशी राजधानी स्थापना गरिरहेका छौँ। बाबा भन्नुहुन्छ– मीठा बच्चाहरू! जति तिमीले धेरैको कल्याण गर्छौ, त्यति तिमीलाई नै फल मिल्नेछ। धेरैलाई मार्ग बतायौ भने धेरैको आशीर्वाद मिल्नेछ। ज्ञान रत्नले झोली भरेर फेरि दान गर्नुछ। ज्ञान सागरले तिमीलाई रत्नका थालीहरू भरेर दिनुहुन्छ। ती रत्नहरूको जसले दान गर्छन्, उनीहरू नै सबैका प्यारा हुन्छन्। बच्चाहरू भित्र कति खुसी हुनुपर्छ। जुन बच्चाहरू समझदार हुन्छन्, तिनीहरूले त भन्छन्– हामीले बाबाबाट नै पूरा वर्सा लिनेछौँ। एकदमै उत्साहित हुनेछन्। बाबासँग धेरै लभ हुनेछ किनकि तिनीहरूलाई थाहा छ– प्राण दिने बाबा मिल्नुभएको छ। ज्ञानको वरदान यस्तो दिनुहुन्छ, जसबाट हामी के बाट के बन्छौँ। विपन्नबाट सम्पन्न बन्छौँ। भण्डारा यति भरपुर गरिदिनुहुन्छ। जति बाबालाई याद गर्छौ, त्यति लभ हुनेछ, आकर्षण हुनेछ। सियो सफा भयो भने चुम्बकतर्फ तानिन्छ नि। बाबाको यादबाट खिया निस्कँदै जानेछ। एक बाबा सिवाय अरू कसैको याद नआओस्।

बाबा सम्झाउनुहुन्छ– मीठा बच्चाहरू! अब गल्ती नगर। स्वदर्शन चक्रधारी बन, लाइट हाउस बन। स्वदर्शन चक्रधारी बन्ने राम्रो प्राक्टिस भयो भने फेरि तिमी मानौँ ज्ञानको सागर बन्नेछौ। जसरी विद्यार्थीले पढेर टिचर बन्छन् नि। तिम्रो काम नै यही हो। सबैलाई स्वदर्शन चक्रधारी बनाऊ, त्यसपछि मात्रै चक्रवर्ती राजारानी बन्नेछौ, त्यसैले बाबाले सदैव बच्चाहरूसँग सोध्नुहुन्छ– स्वदर्शन चक्रधारी भएर बसेका छौ? बाबा पनि स्वदर्शन चक्रधारी हुनुहुन्छ नि। बाबा आउनुभएको छ तिमी मीठा बच्चाहरूलाई फर्काएर लैजान। तिमी बच्चाहरू बिना मलाई पनि बेचैनी हुन्छ। समय भएपछि बेचैनी हुन्छ। बस् अब म जाऊँ। बच्चाहरूले धेरै पुकार्छन्। धेरै दु:खी छन्। दया लाग्छ। अब तिमी बच्चाहरू घर जानुछ। फेरि त्यहाँबाट तिमी आफै सुखधाम जानेछौ। त्यहाँ म तिम्रो साथी बन्नेछैन। आफ्नो अवस्था अनुसार तिम्रो आत्मा जानेछ।

जति तिमी बच्चाहरू बाबाको यादमा रहन्छौ, त्यति अरूलाई सम्झाउँदा असर पर्नेछ। तिमी धेरै बोल्नुपर्दैन। आत्म अभिमानी भएर अलिकति सम्झायौ भने पनि तीर लाग्नेछ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! जे भयो भयो, बितेको कुरा छोडिदिऊँ। अब पहिला आफूलाई सुधार। आफै याद गर्दैनौ, अरूलाई भनिरहन्छौ, यो ठगी चल्न सक्दैन। भित्र दिल अवश्य खान्छ होला। बाबासँग पूरा लभ छैन भने श्रीमतमा चल्दैनन्। बेहदका बाबाले जस्तो शिक्षा त अरू कसैले दिन सक्दैन। बाबा भन्नुहुन्छ– मीठा बच्चाहरू! यो पुरानो दुनियालाई अब भुलिदेऊ। अन्त्यमा त यो सबै भुल्नु नै छ। अब तिम्रो बुद्धि लाग्छ आफ्नो शान्तिधाम र सुखधाममा। बाबालाई याद गर्दागर्दै बाबाको पासमा जानुछ। पतित आत्मा त जान सक्दैन। त्यो हो नै पावन आत्माहरूको घर। यो शरीर ५ तत्त्वबाट बनेको छ। त्यसैले ५ तत्त्वले यहाँ बस्नको लागि तान्छन् किनकि आत्माले मानौँ यो सम्पत्ति लिएको छ, त्यसैले शरीरमा ममत्व भएको छ। अब यसबाट ममत्व निकालेर जानुछ आफ्नो घर। त्यहाँ त यी ५ तत्त्व हुँदैनन्। सत्ययुगमा पनि शरीर योगबलबाट बन्छ। प्रकृति सतोप्रधान हुन्छ, त्यसैले तान्दैन। दुःख हुँदैन। बुझ्नको लागि यी धेरै सूक्ष्म कुरा हुन्। यहाँ ५ तत्त्वको बलले आत्मालाई तान्छ, त्यसैले शरीर छोड्ने दिल हुँदैन। नत्र यसमा झन् खुसी हुनुपर्छ। पावन बनेर शरीर यसरी छोड्नेछौ जस्तै मक्खनबाट रौँ। त्यसैले शरीरबाट, सबै चीजहरूबाट ममत्व एकदमै मेटाइदिनुछ, यी कुरासँग हाम्रो कुनै कनेक्सन छैन। बस् हामी जान्छौँ बाबाको पासमा। यो दुनियाबाट आफ्नो सबैथोक पहिलादेखि नै पठाइसकेका छौँ। तिम्रो साथमा जान त सक्दैन। बाँकी आत्माहरू जानुछ। शरीरलाई पनि यहीँ छोडिदिनुछ। बाबाले नयाँ शरीरको साक्षात्कार गराइदिनुभएको छ। हीरा जुहारतका महल मिल्नेछन्। यस्तो सुखधाममा जानको लागि कति मेहनत गर्नुपर्छ। थाक्नुहुँदैन। दिनरात धेरै कमाइ गर्नुछ, त्यसैले बाबा भन्नुहुन्छ– निद्रालाई जित्ने बच्चाहरू! म एकलाई याद गर र विचार सागर मन्थन गर। ड्रामाको रहस्यलाई बुद्धिमा राखेमा बुद्धि एकदम शीतल हुन्छ। जो महारथी बच्चाहरू होलान्, उनीहरू कहिल्यै विचलित हुने छैनन्। शिवबाबाको याद गरेमा उहाँले पनि सम्हाल्नुहुनेछ।

बाबाले तिमी बच्चाहरूलाई दुःखबाट छुटाएर शान्तिको दान दिनुहुन्छ। तिमीले पनि शान्तिको दान दिनुछ। तिम्रो यो बेहदको शान्ति अर्थात् योगबलले अरूलाई पनि एकदम शान्त पारिदिनेछ। बाबाको यादमा रहेर फेरि तिमीले हेर– यो आत्मा हाम्रो कुलको हो वा होइन! यदि हो भने एकदम शान्त हुनेछ। जो यस कुलका हुन्, उनीहरूलाई नै यी कुराहरूमा रस बस्नेछ। बच्चाहरूले याद गरे भने बाबाले पनि प्यार गर्नुहुन्छ। आत्मालाई प्यार गरिन्छ। यो पनि थाहा छ– जसले धेरै भक्ति गरेका छन्, उनीहरूले नै धेरै पढ्छन्। उनीहरूको अनुहारबाट थाहा हुँदै जान्छ– बाबामा कति लभ छ। आत्माले बाबालाई देख्छ। बाबाले हामी आत्माहरूलाई पढाइरहनुभएको छ। बाबाले पनि बुझ्नुहुन्छ– मैले यति सानो बिन्दु आत्मालाई पढाउँछु। अन्त्यमा गएर तिम्रो यो अवस्था हुनेछ। बुझ्नेछौ– हामीले भाइ भाइलाई पढाउँछौँ। अनुहार बहिनीको भए पनि दृष्टि आत्मातर्फ जाओस्। शरीरमा दृष्टि बिल्कुल नजाओस्, यसमा धेरै मेहनत छ। यी धेरै सूक्ष्म कुरा हुन्। यो धेरै उच्च पढाइ हो। तौल गरेमा यो पढाइको तराजु धेरै भारी हुनेछ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)

अव्यक्त महावाक्य: –

महावीर बच्चाहरूको सङ्गठ नको विशेषता - एकरस , स्थिर स्थिति ( ० ९-१२- १९ ७५ )

महावीर अर्थात् विशेष आत्मा। यस्ता महावीर, विशेष आत्माहरूको सङ्गठनको विशेषता वर्तमान समयमा यही हुनुपर्छ– एउटै समयमा सबैको एकरस, स्थिर (एकटिक) स्थिति होस् अर्थात् जति समय, जुन स्थितिमा बस्न चाहन्छन्, त्यति समय, त्यस स्थितिमा सङ्गठित रूपमा स्थित हुन्, सङ्गठित रूपमा सबैको सङ्कल्परूपी औँला एउटै होस्। सङ्गठनमा यो प्राक्टिस नभएसम्म सिद्धि हुनेछैन। सङ्गठनमा अहिले आदेश भयो– पाँच मिनेटको लागि व्यर्थ सङ्कल्प बिल्कुल समाप्त गरेर बीजरूप पावरफुल स्थितिमा एकरस भएर स्थित होऊ, त्यसपछि तिम्रो त्यस्तो अभ्यास हुन्छ? यस्तो होइन– कोही मनन गर्ने स्थितिमा हुन्, कसैले रुहरिहान गरिरहेका हुन्छन् र कोही अव्यक्त स्थितिमा हुन्छन्। आदेश छ बीजरूप हुने र गरिरहेका छन् रुहरिहान भने आदेश मानेनन् नि! यो अभ्यास त्यतिबेला हुनेछ जुनबेला पहिला व्यर्थ सङ्कल्पहरूको समाप्ति गर्नेछौ। हलचल हुन्छ नै व्यर्थ सङ्कल्पहरूको। यी व्यर्थ सङ्कल्पहरूको समाप्तिको लागि, आफ्नो सङ्गठनलाई शक्तिशाली वा एकमत बनाउनको लागि कुनचाहिँ शक्ति चाहिन्छ?

यसको लागि एक त विश्वास (फेथ), अर्को– समाहित गर्ने शक्ति चाहिन्छ। सङ्गठनलाई जोड्ने सूत्र हो– विश्वास। कसैले जेजति गरोस् मानौँ गलत गरे पनि सङ्गठन अनुसार वा आफ्नो संस्कार अनुसार वा समयमा अनुसार उसले जे गर्छ, त्यसको पनि अवश्य कुनै तात्पर्य हुन्छ। सङ्गठित रूपमा जहाँ सेवा छ, त्यहाँ उसको संस्कारलाई पनि रहमदिलको दृष्टिले हेरेर संस्कारलाई अगाडि नल्याई यसमा पनि कुनै कल्याण होला यो सोच राखेर, त्यसलाई साथमा मिलाएर जानुमा नै कल्याण छ। सङ्गठनमा एकअर्काप्रति यस्तो विश्वास भएमा मात्रै सफलता हुन सक्छ। पहिल्यैदेखि व्यर्थ सङ्कल्प चलाउनुहुँदैन। जसरी कसैले आफ्नो गल्तीलाई महसुस पनि गर्छन् तर त्यसलाई कहिल्यै फैलाउँदैनन् बरु त्यसलाई समाहित गर्छन्। अर्काले त्यसलाई फैलायो भने पनि राम्रो लाग्दैन। यसप्रकार अर्काको गल्तीलाई पनि आफ्नो गल्ती सम्झेर फैलाउनुहुँदैन। व्यर्थ सङ्कल्प चलाउनुहुँदैन बरु उनीहरूलाई पनि समाहित गरिदिनुपर्छ। एकअर्कामा यति विश्वास हुनुपर्छ! स्नेहको शक्तिले ठीक पारिदिनुपर्छ। जसरी लौकिक रीतिले पनि घरको कुरा बाहिर गर्दैनन्, नत्र यसबाट घरलाई नै नोक्सान हुन्छ। त्यसैगरी सङ्गठनमा साथीले जे जति गरे पनि त्यसमा अवश्य रहस्य होला, यदि उसले गलतै गरेको हो भने पनि त्यसलाई परिवर्तन गरिदिनुपर्छ। यी दुवै प्रकारका विश्वास राखेर एकअर्काको सम्पर्कमा चलेमा सङ्गठनको सफलता हुन सक्छ, यसमा धेरै समाहित गर्ने शक्ति चाहिन्छ। व्यर्थ सङ्कल्पहरूलाई समाहित गर्नुछ। बितेका संस्कारहरूलाई कहिल्यै पनि वर्तमान समयसँग तुलना नगर अर्थात् बितेकोलाई वर्तमानमा नल्याऊ। बितेको कुरालाई वर्तमानमा मिसायौ भने नै सङ्कल्पहरूको लर्को लामो हुन्छ र जहिलेसम्म यो व्यर्थ सङ्कल्पहरूको लर्को लाग्छ, त्यतिबेलासम्म सङ्गठित रूपमा एकनासको स्थिति हुन सक्दैन।

अर्काको गल्ती पनि आफ्नो गल्ती सम्झनु– यो हो सङ्गठनलाई मजबुत बनाउनु। यो पनि एकअर्कामा विश्वास भएमा मात्र हुनेछ। परिवर्तन गर्ने विश्वास वा कल्याण गर्ने विश्वास, यसमा समाहित गर्ने शक्ति अवश्य चाहिन्छ। देख्यौ र सुन्यौ, त्यसलाई बिल्कुल समाहित गरिदेऊ, यही आत्मिक दृष्टि र कल्याणको भावना होस्। अज्ञानीहरूको लागि अपकारीहरूमाथि उपकार गर्नुछ भन्छौ भने सङ्गठनमा पनि एकअर्काप्रति रहमको भावना होस्। अहिले रहमको भावना कम हुन्छ किनकि आत्मिक स्थितिको अभ्यास कम छ।

यस्तो पावरफुल सङ्गठन भएमा मात्रै सिद्धि हुनेछ। अहिले तिमीले सिद्धिको आह्वान गर्छौ, तर फेरि पछि तिम्रो अगाडि सिद्धि स्वयं झुक्नेछ। जसरी सत्ययुगमा प्रकृति दासी बन्छ, त्यसरी नै सिद्धि तिम्रो अगाडि स्वयं झुक्नेछ। सिद्धिले तिमीहरूको आह्वान गर्नेछ। श्रेष्ठ ज्ञान छ, स्टेज पनि पावरफुल छ भने सिद्धि के ठुलो कुरा हो र? सदाकाल एकनास स्थितिमा रहनेहरूलाई सिद्धि प्राप्त नहुने, यो हुन सक्दैन तर यसको लागि सङ्गठनको शक्ति चाहिन्छ। एकले केही भन्यो अर्कोले स्वीकार गरिदियो। सामना गर्ने शक्ति ब्राह्मण परिवारको अगाडि प्रयोग गर्नुछैन। त्यसलाई मायाको अगाडि प्रयोग गर्नुछ। परिवारसँग सामना गर्ने शक्ति प्रयोग गरेमा सङ्गठन पावरफुल हुँदैन। कुनै पनि कुरा जँचेन भने पनि एकअर्काको आदर गर्नुपर्छ। त्यस समयमा कसैको सङ्कल्प वा बोलीलाई काट्नुहुँदैन, त्यसैले अब समाहित गर्ने शक्तिलाई धारण गर।

सङ्गठित रूपमा तिमी ब्राह्मण बच्चाहरूको आपसमा सम्पर्कको भाषा पनि अव्यक्त भावको हुनुपर्छ। मानौँ फरिस्ता अथवा आत्माहरूले आत्माहरूसँग कुरा गरिरहेका छन्। कसैको सुनेको गल्तीलाई सङ्कल्पमा पनि न त आफैले स्वीकार गर्नु छ न त अरूलाई स्वीकार गराउनु नै छ। यस्तो स्थिति भएपछि मात्रै बाबाको जुन सङ्गठन होस् भन्ने शुभकामना छ, त्यो यथार्थमा हुनेछ। यसको लागि आपसमा विशेष पुरुषार्थ अथवा विशेष अनुभवहरूको लेनदेन गर। सङ्गठितरूपमा विशेष योगका प्रोग्राम चलिरहे भने विनाश ज्वालालाई पनि पङ्खा लाग्नेछ। योग अग्निबाट विनाशको अग्नि बल्नेछ। अच्छा। ओम् शान्ति।

वरदान:–
व्यक्तमा रहेर अव्यक्त फरि स्ता रूपको साक्षात्कार गराउने स ्वे त वस्त्रधारी र स ्वेत लाइटधारी भव

जसरी अहिले चारैतिर यो आवाज फैलिरहेको छ– यी स्वेत वस्त्रधारी को हुन् र कहाँबाट आए! त्यसरी नै अब चारैतिर फरिस्तारूपको साक्षात्कार गराऊ– यसलाई भनिन्छ डबल सेवाकोरूप। जसरी बादल चारैतिर छाउँछ, त्यसैगरी चारैतिर फरिस्तारूपले प्रकट होऊ, जहाँ पनि हेर्दा फरिस्ता नै देखियुन्। तर यो त्यतिबेला हुनेछ जुनबेला शरीरबाट अलग भएर अन्तःवाहक शरीरबाट चक्कर लगाउने अभ्यासी हुनेछौ। मनसा पावरफुल हुनेछ।

स्लोगन:–
सर्वगुण वा सर्वशक्तिहरूको अधिकारी बन्नको लागि आज्ञाकारी बन।

अव्यक्त इसारा:– यस अव्यक्त मासमा बन्धनमुक्त रहेर जीवनमुक्त स्थितिको अनुभव गर

जसरी बाबा सदा स्वतन्त्र हुनुहुन्छ त्यसैगरी बाबासमान बन। बापदादाले अब बच्चाहरूलाई परतन्त्र देख्न सक्नुहुन्न। यदि स्वयंलाई स्वतन्त्र गर्न सक्दैनौ, स्वयं नै आफ्नो कमजोरीहरूमा गिरिरहन्छौ भने विश्व परिवर्तक कसरी बन्नेछौ! अब यो स्मृतिलाई बढाऊ– म मास्टर सर्वशक्तिमान हुँ, यसबाट सहजै सबै पिँजडाहरूबाट मुक्त उड्ने पंछी बन्नेछौ।