19.03.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमी यस पुरानो दुनियाँ , पुरानो शरीरबाट जीवन छँदै मरेर घर जानु छ , त्यसैले देह अभिमान छोडेर देहीअभिमानी बन।”

प्रश्न:–
राम्रा राम्रा पुरुषार्थी बच्चाहरूको निसानी के हुन्छ?

उत्तर:–
जो राम्रा पुरुषार्थी छन् उनीहरू बिहान सबेरै उठेर देहीअभिमानी रहने अभ्यास गर्छन्। उनीहरूले एक बाबालाई प्रेम गर्ने पुरुषार्थ गर्छन्। उनीहरूको लक्ष्य हुन्छ– अरू कुनै देहधारी याद नआओस्, निरन्तर बाबा र ८४ को चक्रको याद रहोस् । यसलाई पनि अहोसौभाग्य भनिन्छ।

ओम् शान्ति ।
अहिले तिमी बच्चाहरू जीवन छँदै मरेका छौ। कसरी मरेका छौ? देहको अभिमानलाई छोडिदियौ, त्यसैले बाँकी रह्यो आत्मा। शरीर त खतम हुन्छ। आत्मा मर्दैन। बाबा भन्नुहुन्छ– जीवन छँदै आफूलाई आत्मा सम्झियौ र परमपिता परमात्मासँग योग लगायौ भने आत्मा पवित्र बन्छ। जबसम्म आत्मा बिलकुल पवित्र बन्दैन, तबसम्म पवित्र शरीर मिल्न सक्दैन। जसरी सर्पको काँचुली आफै छुट्छ, त्यसबाट ममत्व टुट्छ, उसलाई थाहा हुन्छ– मलाई नयाँ काँचुली मिल्छ, पुरानो उत्रिन्छ; त्यसैगरी आत्मा पवित्र बन्यो भने फेरि यो पुरानो शरीर आफै छुट्नेछ। हरेकको आआफ्नो बुद्धि हुन्छ नि। अहिले तिमी बच्चाहरूले जान्दछौ– हामी जीवन छँदै यस पुरानो दुनियाँबाट, पुरानो शरीरबाट मरिसकेका छौं। फेरि तिमी आत्माहरू पनि शरीर छोडेर कहाँ जान्छौ? आफ्नो घर। सबैभन्दा पहिला त यो पक्का याद गर्नुछ– म आत्मा हुँ, शरीर होइन। आत्माले भन्छ– बाबा, हजुरको भइसकेँ, जीवन छँदै मरिसकेँ। अब आत्मालाई आदेश मिलेको छ– म बाबालाई याद गर्यौ भने तमोप्रधानबाट सतोप्रधान बन्छौ। यो यादको अभ्यास पक्का हुनुपर्छ। आत्माले भन्छ– बाबा, हजुर आउनुभएको छ, त्यसैले म हजुरको बन्छु। आत्मा पुरुष हो, न कि स्त्री। सदैव भन्छन्– हामी भाइ भाइ हौं; यस्तो कहाँ भन्छन् र! हामी सबै बहिनी-बहिनी हौं, सबै बच्चा हौं। सबै बच्चाहरूलाई वर्सा मिल्ने छ। यदि आफूलाई छोरी सम्झियो भने वर्सा कसरी मिल्छ? आत्माहरू सबै भाइ भाइ हुन्। बाबा सबैलाई भन्नुहुन्छ– हे रूहानी बच्चाहरू मलाई याद गर! आत्मा कति सानो छ। यी धेरै महीन बुझ्नुपर्ने कुरा हुन्। बच्चाहरूको याद टिक्दैन। संन्यासीहरूले दृष्टान्त दिन्छन्– म भैंसी हुँ, भैंसी हुँ... यसो भन्दाभन्दै फेरि भैंसीजस्तै बन्यो। तर वास्तवमा भैंसी कोही कहाँ बन्छन् र! बाबाले त भन्नुहुन्छ– आफूलाई आत्मा सम्झ। यो आत्मा र परमात्माको ज्ञान त कोहीसँग छैन त्यसैले यस्ता यस्ता कुरा भनिदिन्छन्। अब तिमी देहीअभिमानी बन्नु छ, हामी आत्मा हौं, यो पुरानो शरीर छोडेर हामीले गएर नयाँ लिनुछ। मानिसहरूले मुखबाट भन्छन् पनि– आत्मा तारा हो, भृकुटीको बीचमा रहन्छ। फेरि भन्छन्– अंगुष्ठ (बूढी औंलो) समान छ। तर कहाँ सितारा, कहाँ अंगुष्ठ! र फेरि बसेर माटोको शालिग्राम बनाउँछन्, यति ठुलो आत्मा त हुनसक्दैन। मानिसहरू देह अभिमानी छन् नि, त्यसैले बनाउँछन् पनि मोटो रूपमा। यी कुरा त धेरै सूक्ष्म महीनताका छन्। मनुष्यहरूले भक्ति पनि एकान्तमा, कोठामा बसेर गर्छन्। तिमीलाई त गृहस्थ व्यवहारमा, धन्दा आदिमा रहँदै बुद्धिमा यो पक्का गर्नुछ, म आत्मा हुँ। बाबा भन्नुहुन्छ– म तिम्रो बाबा पनि यति सानो बिन्दुछु। यस्तो होइन म ठुलोछु। ममा सारा ज्ञान छ। आत्मा र परमात्मा दुवै उस्तै छन्, केवल उहाँलाई सुप्रिम भनिन्छ। यो ड्रामामा निश्चित छ। बाबा भन्नुहुन्छ– म त अमर छु। म अमर नभएको भए तिमीहरूलाई पावन कसरी बनाउथेँ। तिमीलाई मीठे बच्चे कसरी भन्थेँ। आत्माले नै सबै कुरा गर्छ। बाबा आएर देहीअभिमानी बनाउनुहुन्छ, यसमा नै मेहनत छ। बाबा भन्नुहुन्छ– मलाई याद गर, अरू कसैलाई याद नगर। योगी त दुनियाँमा धेरै छन्। कन्याको विवाह भएपछि फेरि पतिसँग योग लाग्छ नि। पहिला कहाँ हुन्छ र! पतिलाई देखेपछि उसकै यादमा रहन्छिन्। अहिले बाबा भन्नुहुन्छ– म एकलाई याद गर। यो अभ्यास धेरै राम्रो हुनुपर्छ। जो राम्रा राम्रा पुरुषार्थी बच्चाहरू छन् उनीहरू बिहान सबेरै उठेर देहीअभिमानी रहने अभ्यास गर्छन्। भक्ति पनि सबेरै गर्छन् नि। आआफ्नो ईष्ट देवलाई याद गर्छन्। हनुमानको पनि कति पूजा गर्छन् तर केही पनि जानेका छैनन्। बाबा आएर सम्झाउनुहुन्छ– तिम्रो बुद्धि बाँदर समान भएको छ। अब फेरि तिमी देवता बन्छौ। अहिले यो हो पतित तमोप्रधान दुनियाँ। अहिले तिमी आएका छौ बेहदको बाबाको पासमा। म त पुनर्जन्मरहित छु। यो शरीर यी दादाको हो। मेरो कुनै शरीरको नाम छैन। मेरो नाम हो नै कल्याणकारी शिव। तिमी बच्चाहरूलाई थाहा छ– कल्याणकारी शिवबाबा आएर नर्कलाई स्वर्ग बनाउनुहुन्छ । कति कल्याण गर्नुहुन्छ। नर्कको एकदम विनाश गराइदिनुहुन्छ। प्रजापिता ब्रह्माद्वारा अहिले स्थापना भइरहेको छ। यो हो प्रजापिता ब्रह्मा मुखवंशावली। एक अर्कालाई सावधान गर्नुछ– मनमनाभव। बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने विकर्म विनाश हुन्छ। पतित-पावन त बाबा हुनुहुन्छ नि। उनीहरूले भुलवश भगवानुवाचको सट्टा श्रीकृष्ण भगवानुवाच लेखिदिएका छन्। भगवान त निराकार हुनुहुन्छ, उहाँलाई परमपिता परमात्मा भनिन्छ। उहाँको नाम हो शिव। शिवको पूजा पनि धेरै हुन्छ। शिव काशी, शिव काशी भनिरहन्छन्। भक्तिमार्गमा अनेक प्रकारका नाम राखिदिएका छन्। कमाइको लागि अनेक मन्दिर बनाएका छन्। असली नाम हो शिव। फेरि सोमनाथ नाम राखेका छन्, सोमनाथले सोमरस पिलाउनु हुन्छ, ज्ञान धन दिनुहुन्छ। पुजारी बनेपछि उहाँको मन्दिर बनाउन कति खर्च गर्छन् किनकि सोमरस दिनुभएको हो नि। सोमनाथको साथमा सोमनाथिनी पनि हुनपर्ने हो! यथा राजा-रानी तथा प्रजा सबै सोमनाथ सोमनाथिनी हुन्। तिमी सुनौलो दुनियाँमा जान्छौ। त्यहाँ सुनका इँटा हुन्छन्। नत्र त भित्ताहरू कसरी बन्छन्! धेरै सुन हुन्छ त्यसैले त्यसलाई सुनको दुनियाँ भनिन्छ। यो हो फलाम, पत्थरको दुनियाँ। स्वर्गको नाम सुनेर नै मुखमा पानी आउँछ। विष्णुका दुई रूप लक्ष्मी-नारायण अलग अलग हुन्छन् नि। तिमी विष्णुपुरीको मालिक बन्छौ। अहिले तिमी छौ रावणपुरीमा। अहिले बाबा भन्नुहुन्छ– केवल आफूलाई आत्मा सम्झिएर म बाबालाई याद गर। बाबा पनि परमधाममा रहनुहुन्छ, तिमी आत्माहरू पनि परमधाममा रहन्छौ। बाबा भन्नुहुन्छ– तिमीलाई कुनै मेहनत गराउन्नँ। छ धेरै सहज । बाँकी यो रावण दुस्मन तिम्रो अगाडि खडा छ। यसले विघ्न ल्याउँछ। ज्ञानमा विघ्न पर्दैन, विघ्न पर्छ यादमा। घरी घरी मायाले याद गर्नै भुलाइदिन्छ। देह अभिमानमा लिएर आउँछ। बाबालाई याद गर्न दिँदैन, यो युद्ध चल्छ। बाबा भन्नुहुन्छ– तिमी कर्मयोगी त हौ नै। ठीक छ, दिनमा याद गर्न सक्दैनौ भने रातमा याद गर। रातको अभ्यास दिनमा पनि काममा आउने छ।

निरन्तर स्मृति रहनुपर्छ– जुन बाबाले हामीलाई विश्वको मालिक बनाउनुहुन्छ , हामीले उहाँलाई याद गर्छौं! बाबाको याद र ८४ जन्मको चक्रको याद रह्यो भने अहोसौभाग्य। अरूलाई पनि सुनाउनुछ– प्यारा दाजुभाइ एवं दिदी-बहिनीहरू! अब कलियुग पूरा भएर सत्ययुग आउँदैछ। बाबा आउनुभएको छ, सत्ययुगको लागि राजयोग सिकाइरहनुभएको छ। कलियुगपछि सत्ययुग आउनेछ। एक बाबा सिवाय अरू कसैको याद गर्नुछैन। जो वानप्रस्थी हुन्छन् उनीहरू गएर संन्यासीको सङ्गत गर्छन्। वानप्रस्थ, त्यहाँ वाणीको काम छैन। आत्मा शान्त रहन्छ। लीन हुन त सक्दैन। ड्रामाबाट कुनै पनि कलाकार निस्कन सक्दैन। यो पनि बाबाले सम्झाउनुभएको छ– एक बाबा सिवाय अरू कसैलाई याद गर्नुछैन। देखेर पनि याद नगर। यो पुरानो दुनियाँ त विनाश हुनुछ, कब्रिस्तान (चिहान) हो नि। मुर्दालाई कहिल्यै याद गरिन्छ र! बाबा भन्नुहुन्छ– यी सबै मरिसकेका छन्। म आएकोछु, पतितलाई पावन बनाएर लिएर जान्छु। यहाँ यी सबै खतम भएर जान्छन्। आजकाल बम आदि जति पनि बनाउँछन्, ती धेरै छिटो छिटो बनाइरहन्छन्। भन्छन्– यहाँ बसेर जसलाई ताकेर छोड्छौं उसमाथि नै गिर्छ। यो निश्चित छ, फेरि विनाश हुनुछ। भगवान आएर नयाँ दुनियाँको लागि राजयोग सिकाइरहनुभएको छ। यो महाभारत लडाइँ हो, जुन शास्त्रमा गायन गरिएको छ। वास्तवमा भगवान आउनुभएको छ– स्थापना र विनाश गर्न। चित्र पनि स्पष्ट छ। तिमीले साक्षात्कार गरिरहेका छौ– म यस्तो बन्छु। यहाँको यो पढाइ पूरा हुन्छ। त्यहाँ त बेरिस्टर, डाक्टर आदिको आवश्यकता हुँदैन। तिमी त यहाँको वर्सा लिएर जान्छौ। सीप पनि सबै यहाँबाट लिएर जान्छौ। भवन आदि बनाउनेवाला फस्टक्लास भए भने त्यहाँ पनि बनाउने छन्। बजार आदि पनि त हुन्छ नि। काम त चल्छ। यहाँबाट सिकेको अक्कल लिएर जान्छन्। साइन्सद्वारा पनि राम्रो संस्कार सिक्छन्। त्यो सबै त्यहाँ काम आउनेछ। तिनीहरू प्रजामा जान्छन्। तिमी बच्चाहरूलाई त प्रजामा आउनुछैन। तिमी आएका छौ नै बाबा-मम्माको तख्तनसिन बन्न। बाबाले जुन श्रीमत दिनुहुन्छ, त्यसमा चल्नुछ। फस्टक्लास श्रीमत त एकले नै दिनुहुन्छ– मलाई याद गर। कसैको भाग्य अनायासै खुल्छ। कुनै कारण निमित्त बन्छ। बाबा कुमारीलाई पनि भन्नुहुन्छ– शादी त बर्बादी हो। यस दलदलमा नफस। के तिमीले बाबालाई मान्दिनौ! स्वर्गकी महारानी बन्दिनौ! आफैसँग प्रण गर्नुपर्छ– म त्यो दुनियाँमा कहिल्यै जान्न। त्यस दुनियाँलाई याद पनि गर्नेछैन। मसानघाटलाई कहिल्यै याद गर्छन् र! यहाँ त तिमीले भन्छौ– यो शरीर छुट्यो भने त म आफ्नो स्वर्ग जानेथिएँ। अब ८४ जन्म पूरा भए, अब हामी आफ्नो घर जान्छौं। अरूलाई पनि यही सुनाउनुछ। यो पनि जान्दछौ– बाबा बाहेक सत्ययुगको राज्यभाग्य अरू कसैले दिनसक्दैन।

यस रथको पनि कर्मभोग त हुन्छ नि। बापदादाको पनि आपसमा कुनै बेला रुहरिहान चल्छ– यी बाबा भन्छन्– बाबा, आशीर्वाद दिनुहोस्। खोकीको लागि कुनै औषधि गरिदिनुहोस् वा छु मन्त्रले उडाइदिनुहोस्। बाबा भन्नुहुन्छ– होइन, यो त भोग्नैपर्छ। यो तिम्रो रथ लिन्छु, त्यसको सट्टामा तिमीलाई दिन्छु नै, बाँकी यो त तिम्रो हिसाबकिताब हो। अन्त्यसम्म केही न केही भइरहन्छ। तिमीलाई आशीर्वाद दिएँ भने सबैलाई दिनुपर्छ। आज यी बच्ची यहाँ बसेकी छन्, भोलि ट्रेनमा एक्सिडेन्ट हुन्छ, मर्छिन्, बाबा भन्नुहुन्छ– ड्रामा। यस्तो कहाँ भन्नसकिन्छ– बाबाले पहिला किन भन्नुभएन। यस्तो काइदा छैन। म त आउँछु नै पतितबाट पावन बनाउन। यो बताउन कहाँ आएको हुँ र! यो हिसाबकिताब त तिमीले आफैले चुक्ता गर्नुछ। यसमा आशीर्वादको कुरा छैन। यसको लागि संन्यासीका पासमा जाऊ। बाबाले त कुरा नै एउटै बताउनुहुन्छ। मलाई बोलाएका हौ नै हामीलाई आएर नर्कबाट स्वर्गमा लिएर जानुहोस् भनेर। गाउँछन् पनि– पतित-पावन सीताराम। तर अर्थ उल्टो निकालिदिएका छन्। फेरि बसेर रामको महिमा गर्छन्– रघुपति राघव राजा राम....। बाबा भन्नुहुन्छ– त्यस भक्तिमार्गमा तिमीले कति पैसा गुमायौ। एउटा गीत पनि छ नि– क्या कौतुक देखा..... देवीहरूको मूर्ति बनाएर पूजा गरेर फेरि समुद्रमा डुबाइदिन्छन्। अहिले याद आउँछ– कति पैसा बर्बाद गर्छन्, फेरि पनि यो हुन्छ। सत्ययुगमा त यस्तो काम हुँदैहुँदैन। सेकेण्ड बाइ सेकेण्ड निश्चित छ। कल्पपछि फेरि त्यही कुरा रिपिट हुन्छ। ड्रामालाई धेरै राम्ररी बुझ्नुपर्छ। ठीक छ, धेरै याद गर्नसकेनौ भने बाबा भन्नुहुन्छ– केवल अल्फ र बे, बाबा र बादसाहीलाई याद गर। भित्र यही धुन लगाइदेऊ– हामी आत्माले कसरी ८४ को चक्कर लगाएर आएका हौं। चित्रमा सम्झाऊ, यो धेरै सहज छ। यो हो रूहानी बच्चाहरूसँग रुहरिहान । बाबाले बच्चाहरूसँग रुहरिहान गर्नुहुन्छ । अरू कसैसँग त गर्न सक्नुहुन्न। बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झ। आत्माले नै सबै कुरा गर्छ। बाबा याद दिलाउनुहुन्छ, तिमीले ८४ जन्म लिएका छौ। मानिस नै बनेका हौ। जसरी बाबाले आदेश दिनुहुन्छ– विकारमा जानु छैन, त्यस्तै यहाँ रुनुछैन। सत्ययुग त्रेतामा कहिल्यै कोही रुँदैन, साना बच्चाहरू पनि रुँदैनन्। रुने हुकुम छैन। त्यो हो नै हर्षित रहने दुनियाँ। त्यसको सारा अभ्यास यहाँ गर्नुछ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) बाबाबाट आशीर्वाद माग्नुको सट्टा यादको यात्राद्वारा आफ्नो सबै हिसाब चुक्ता गर्नुछ। पावन बन्ने पुरुषार्थ गर्नुछ। यस ड्रामालाई यथार्थसँग बुझ्नुछ।

२) यस पुरानो दुनियाँलाई देख्दादेख्दै पनि याद गर्नुछैन। कर्मयोगी बन्नुछ। सदा हर्षित रहने अभ्यास गर्नुछ। कहिल्यै पनि रुनुछैन।

वरदान:–
प्रवृत्तिमा रहँदा मेरोपनको त्याग गर्ने सच्चा ट्रस्टी , मायाजीत भव

जसरी फोहोरमा कीराहरू पैदा हुन्छन्, त्यसरी नै जब मेरोपन आउँछ अनि मायाको जन्म हुन्छ। मायाजीत बन्ने सहज तरिका हो– स्वयंलाई सदा ट्रस्टी सम्झनु। ब्रह्माकुमार मतलब ट्रस्टी, ट्रस्टीको कसैसँग पनि अट्याचमेन्ट (लगाव) हुँदैन किनकि उनीहरूमा मेरोपन हुँदैन। गृहस्थी सम्झिएमा माया आउँछ र ट्रस्टी सम्झिनाले माया भाग्छ, त्यसैले न्यारा भएर फेरि प्रवृत्तिको कार्यमा आयौ भने मायाप्रूफ हुनेछौ।

स्लोगन:–
जहाँ अभिमान हुन्छ, त्यहाँ अपमानको फिलिङ अवश्य आउँछ।