19.07.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– तिमी डबल शिरताज राजा बन्नु छ भने खुब सेवा गर , प्रजा बनाऊ। सङ्गममा तिमीले सेवा नै गर्नु छ , यसैमा कल्याण छ।”

प्रश्न:–
पुरानो दुनियाँको विनाश हुनु भन्दा पहिला हरेकले कुनचाहिँ शृङ्गार गर्नु छ?

उत्तर:–
तिमी बच्चाहरूले योगबलद्वारा आफ्नो शृङ्गार गर, यस योगबलबाट नै सारा विश्व पावन बन्छ। तिमी अब वानप्रस्थमा जानु छ, त्यसैले यस शरीरको शृङ्गार गर्नु पर्ने आवश्यकता छैन। यो त कौडी समान (वर्थ नट पेनी) हो, यसबाट ममत्व निकालिदेऊ। विनाश भन्दा पहिला बाबा समान दयालु बनेर आफ्नो र अरूको शृङ्गार गर। अन्धाहरूको लट्ठी बन।

ओम् शान्ति ।
अब यो त बच्चाहरूले राम्रोसँग बुझेका छौ– बाबा आउनु हुन्छ पावन बन्ने मार्ग बताउन। उहाँलाई बोलाइन्छ नै यही एक कुराको लागि, आएर हामीलाई पतितबाट पावन बनाउनुहोस् किनकि पावन दुनियाँ बितिसक्यो, अहिले दुनियाँ पतित छ। पावन दुनियाँ कहिले थियो, कति समय भयो, यो कसैले जानेका छैनन्। तिमी बच्चाहरूलाई थाहा छ– बाबा फेरि यस तनमा आउनु भएको छ। तिमीले नै बोलाएका हौ– बाबा आएर हामी पतितहरूलाई मार्ग बताउनुहोस्, हामी कसरी पावन बनौं? यो त जानेका छौ– हामी पावन दुनियाँमा थियौं, अहिले दुनियाँ पतित छ। अब यो दुनियाँ परिवर्तन भइरहेको छ। नयाँ दुनियाँको अवधि कति, पुरानो दुनियाँको अवधि कति– यो कसैले जानेका छैनन्। पक्का घर बनायौ भने भन्छौ यसको अवधि यति वर्षको होला। कच्चा घर बनायौ भने भन्छौ यसको अवधि यति वर्षको होला। यो कति वर्षसम्म चल्न सक्छ, यो जान्न सकिन्छ। यो जुन सारा दुनियाँ छ यसको अवधि कति छ भन्ने कुरा मनुष्यहरूलाई थाहै छैन। त्यसैले अवश्य बाबाले आएर बताउनु पर्छ। बाबा भन्नुहुन्छ– अब यो पुरानो पतित दुनियाँ पूरा हुने छ। नयाँ पावन दुनियाँको स्थापना भइरहेको छ। नयाँ दुनियाँमा धेरै कम मनुष्य थिए। नयाँ दुनियाँ हो सत्ययुग जसलाई सुखधाम भनिन्छ। यो हो दु:खधाम, यसको अन्त्य अवश्य आउने छ। फेरि सुखधामको इतिहास अवश्य दोहोरिने छ। सबैलाई यो सम्झाउनु छ। बाबा निर्देशन दिनु हुन्छ– आफूलाई आत्मा सम्झेर बाबालाई याद गर अनि फेरि अरूलाई पनि यो मार्ग बताऊ। लौकिक पितालाई त सबैले चिनेका छन्, पारलौकिक पितालाई त कसैले चिनेका छैनन्। सर्वव्यापी भनिदिन्छन्। कछुवा माछा अवतार अथवा ८४ लाख योनिमा लैजान्छन्। दुनियाँमा कसैले पनि बाबालाई चिनेका छैनन्। बाबालाई जानेपछि मात्र बुझ्छन् । यदि ढुङ्गा माटोमा भए त वर्साको कुरा नै हराउँछ। देवताहरूको पनि पूजा गर्छन्, तर कसैको कर्तव्य जानेका छैनन्। यी कुरामा बिल्कुलै अन्जान छन्। त्यसैले सबैभन्दा पहिला मूल कुरा सम्झाउनु पर्छ। केवल चित्रबाट कसैले बुझ्न सक्दैनन्। विचरा मनुष्यहरूले न बाबालाई चिनेका छन्, न रचनालाई चिनेका छन्– सुरुदेखि लिएर यो रचना कसरी रचियो, देवताहरूको राज्य कहिले थियो, जसलाई पुज्छन्, केही पनि थाहा छैन। सम्झन्छन् सूर्यवंशी राजधानी लाखौं वर्ष चल्यो, फेरि चन्द्रवंशी लाखौं वर्ष चल्यो, यसलाई भनिन्छ अज्ञान। अहिले तिमी बच्चाहरूलाई बाबाले सम्झाउनु भएको छ, तिमीले फेरि दोहोर्याउँछौ। बाबाले पनि दोहोर्याउनु हुन्छ नि। यसरी सम्झाऊ, सन्देश देऊ, नत्र राजधानी कसरी स्थापना हुन सक्छ? यहाँ बसेर मात्रै हुँदैन। हो, घरमा बस्ने पनि चाहिन्छ। त्यो त ड्रामा अनुसार बसेका छन्। यज्ञको सम्हाल गर्ने पनि चाहिन्छ। बाबाको पासमा कति बच्चाहरू आउँछन् मिल्नको लागि किनकि शिवबाबासँग नै वर्सा लिनु छ। लौकिक पिताको पासमा बच्चा आयो भने उसले सम्झन्छ– मलाई पिताबाट वर्सा लिनु छ। बच्चीहरू त गएर हाफ पार्टनर बन्छन्। सत्ययुगमा कहिल्यै पनि सम्पत्ति आदिमा झगडा हुँदैन। यहाँ झगडा हुन्छ काम विकारमाथि। त्यहाँ त यी ५ भूत हुँदैनन्, त्यसैले दु:खको नाम निसान हुँदैन। सबै नष्टोमोहा हुन्छन्। यो त सम्झन्छन् स्वर्ग थियो, जुन बितिसकेको छ। चित्र पनि छन् तर यो ख्याल तिमी बच्चाहरूलाई अहिले आउँछ। तिमीलाई थाहा छ– यो चक्र हरेक ५ हजार वर्षपछि दोहोरिन्छ। शास्त्रहरूमा यो कतै लेखिएको छैन– सूर्यवंशी चन्द्रवंशीको वंशावली २५०० वर्ष चल्यो। अखबारमा छापिएको थियो– बडौदाको राजभवनमा रामायण सुनिरहेका छन्। कुनैपनि आपद् आयो भने मनुष्यहरू भगवानलाई राजी गर्नको लागि भक्तिमा लाग्छन्। यसरी भगवान राजी हुनुहुन्न। यो त ड्रामामा निश्चित छ। भक्तिबाट कहिल्यै भगवान राजी हुनुहुन्न। तिमी बच्चाहरूलाई थाहा छ– आधा कल्प भक्ति चल्छ, आफै दु:ख लिइरहन्छन्। भक्ति गर्दा गर्दा सबै पैसा खलास गरिदिन्छन्। यी कुरालाई कसै कसैले मात्र बुझ्छन्। जुन बच्चाहरू सेवामा छन्, उनीहरूले समाचार पनि दिइरहन्छन्। यो ईश्वरीय परिवार हो भन्ने कुरा सम्झाइन्छ। ईश्वर त दाता हुनुहुन्छ, उहाँ लिनेवाला हुनुहुन्न। उहाँलाई त कसैले पनि दिँदैनन्, उल्टै सबै बर्बाद गरिरहन्छन्।

बाबा तिमी बच्चाहरूसँग सोध्नुहुन्छ– तिमीलाई कति अथाह पैसा दिएँ, तिमीलाई स्वर्गको मालिक बनाएँ फेरि त्यो सबै कहाँ गयो? यति कङ्गाल कसरी बन्यौ? अहिले म फेरि आएको छु, तिमी कति पदमापदम भाग्यवान् बनिरहेका छौ। मनुष्यहरू त कसैले पनि यी कुरालाई जानेका छैनन्। तिमीलाई थाहा छ– अब यस पुरानो दुनियाँमा यहाँ रहनु छैन। यो त खलास हुन्छ। मनुष्यहरूको पासमा जति अथाह पैसा छ, त्यो कसैको हातमा पर्नेवाला छैन। विनाश भएपछि सबै खलास हुन्छ। कति माइलमा ठुला ठुला घर आदि बनेका छन्। अथाह सम्पत्ति छ, सबै खतम हुन्छ किनकि तिमीलाई थाहा छ– जब हाम्रो राज्य थियो अरू कुनै छँदै थिएन। त्यहाँ अथाह धन थियो। तिमीले पछि गएर देख्दै जान्छौ के के हुन्छ। उनीहरूसँग कति सुन, कति चाँदी, नोट आदि छन्, त्यो सबै बजेट निकाल्छन्, घोषणा गर्छन् यति बजेट छ, यति खर्च हुन्छ। बारुद (हतियार)माथि कति खर्च छ। अहिले बारुदमाथि यति खर्च गर्छन्। त्यसबाट आमदानी त केही पनि छैन। यो राख्ने कुरा त होइन। राख्नु पर्ने हुन्छ सुन र चाँदी। सत्ययुगी दुनियाँमा सुनका सिक्का हुन्छन्। त्रेतामा चाँदीका हुन्छन्। त्यहाँ त अपार धन हुन्छ, फेरि कम हुँदै हुँदै अहिले हेर के निस्केको छ! कागजका नोट। बेलायतमा पनि कागजका नोट निस्केका छन्। कागज त कामको चीज होइन। बाँकी के रहने छ? यी ठुला ठुला भवन आदि सबै खतम हुन्छन्। त्यसैले बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! यो जे जति देख्छौ, यस्तो सम्झ यो छँदै छैन। यो त सबै खलास हुनु छ। तिम्रो शरीर पनि पुरानो कौडी समान छ, चाहे कोही जतिसुकै सुन्दर होस्। यो दुनियाँ नै बाकी थोरै समयको छ। के ठेगान छ र। बस्दा बस्दै मनुष्यलाई के हुन्छ। हर्टफेल हुन्छन्। मनुष्यको केही भरोसा छैन। सत्ययुगमा यस्तो कहाँ हुन्छ र! त्यहाँ त योगबलले काया कल्पतरु समान हुन्छ। अब तिमी बच्चाहरूलाई बाबा मिल्नुभएको छ, भन्नुहुन्छ– यस दुनियाँमा तिमीलाई रहनु छैन। यो छि: छि: दुनियाँ हो। अब त योगबलबाट आफ्नो शृङ्गार गर्नु छ। त्यहाँ त बच्चाहरू पनि योगबलले पैदा हुन्छन्। विकारको कुरा नै त्यहाँ हुँदैन। योगबलद्वारा तिमीले सारा विश्वलाई पावन बनाउँछौ भने बाँकी कुनचाहिँ ठुलो कुरा रह्यो र। यी कुरालाई पनि तिनीहरूले नै बुझ्छन्, जो यस घरानाका हुन्छन्। बाँकी सबैलाई त शान्तिधाममा जानु छ, त्यो त हो घर। तर मनुष्यहरूले त्यसलाई घर पनि सम्झदैनन्। उनीहरूले त भन्छन् एक आत्मा जान्छ, अर्को आउँदै जान्छ। सृष्टिको वृद्धि भइरहन्छ। रचयिता र रचनालाई तिमीले जानेका छौ, त्यसैले तिमीले अरूलाई सम्झाउने कोसिस गर्छौ– बाबाका विद्यार्थी बनुन्, सबै कुरा जानुन्, खुसी होऊन्। हामी त अब अमरलोकमा जान्छौं। आधाकल्प त झुटा कथाहरू सुनेका छौ। अब त धेरै खुसी हुनुपर्छ– हामी अमरलोकमा जान्छौं। यस मृत्युलोकको अब अन्त्य हुन्छ। हामीले यहाँबाट खुसीको खजाना भरेर जान्छौं। त्यसैले यो कमाइ गर्न, झोली भर्न राम्रोसँग लाग्नुपर्छ। समय व्यर्थ गुमाउनु हुँदैन। अब त हामीले अरूको सेवा गर्नु छ, झोली भर्नु छ। बाबा सिकाउनु हुन्छ दयालु कसरी बन्ने? अन्धाहरूको लट्ठी बन। यो प्रश्न त कोही संन्यासी, विद्वान आदिले सोध्न सक्दैनन्। उनीहरूलाई के थाहा स्वर्ग कहाँ हुन्छ, नर्क कहाँ हुन्छ। चाहे जतिसुकै ठुलो ठुलो पदवाला हुन्, हवाईजहाजका कमाण्डर चीफ हुन् लडाइँका कमाण्डर चीफ हुन्, स्टीमरका हुन् तर तिम्रो अगाडि यी सबै के हुन्! तिमीलाई थाहा छ बाँकी थोरै समय छ। स्वर्गको बारेमा त कसैलाई थाहै छैन। यस समयमा त सबैतिर मारामार चलिरहेको छ, फेरि उनीहरूलाई एरोप्लेन अथवा सेना (लस्कर) आदिको आवश्यकता रहने छैन। यी सबै खलास हुन्छन्। बाँकी थोरै मनुष्य रहन्छन्। यी बत्तीहरू, एरोप्लेन आदि रहन्छन् तर दुनियाँ कति सानो हुन्छ, भारतवर्ष मात्रै रहने छ। जस्तै मोडेल सानो बनाउँछन् नि। अरू कसैको बुद्धिमा आउने छैन– मृत्यु आखिर कसरी आउने छ। तिमीलाई त थाहा छ– मृत्यु सामुन्ने खडा छ। उनीहरूले भन्छन्– हामीले यहाँ बसेरै बम छोड्छौं। जहाँ खस्छ सबै खतम हुन्छन्। कुनै सेना आदिको आवश्यकता छैन। एक एक एरोप्लेनमा पनि करोडौं खर्च हुन्छ। सबैको पासमा कति सुन हुन्छ। टनका टन सुन छ, त्यो सबै समुद्रमा जान्छ।

यो सारा रावण राज्य एउटा टापु (आइल्याण्ड) हो। यहाँ अनगिन्ती मनुष्य छन्। तिमीहरू सबैले आफ्नो राज्य स्थापना गरिरहेका छौ। त्यसैले सेवामा बिजी रहनु पर्छ। कतै बाढी आदि आयो भने हेर कसरी बिजी हुन्छन्। सबैलाई खाना आदि पुर्याउने सेवामा लागिहाल्छन्। पानी परेमा पहिला नै दौडन सुरु गर्छन्। त्यसैले विचार गर सबै कसरी खतम हुन्छन्। सृष्टिको चारैतिर सागर छ। विनाश हुँदा जलमग्न हुन्छ, पानी नै पानी। बुद्धिमा हुन्छ हाम्रो राज्य हुँदा यी मुम्बई कराची आदि त थिएनन्। भारतवर्ष कति सानो हुन्छ, त्यो पनि मीठो पानीको किनारमा। त्यहाँ कुवा आदिको आवश्यकता हुँदैन। पिउने पानी धेरै स्वच्छ हुन्छ। नदीहरूमा त खेल खेल्छन्। फोहरको कुनै कुरा हुँदैन। नाम नै छ स्वर्ग, अमरलोक। नाम सुन्नासाथ छिटो छिटो बाबाबाट पूरा पढेर वर्सा लिऔं, पढेर फेरि पढाऔं, सबैलाई सन्देश दिऊँ भन्ने दिल हुन्छ। कल्प पहिला जसले वर्सा लिएको छ उसले नै लिन्छ। पुरुषार्थ गरिरहन्छन् किनकि विचराहरूले बाबालाई चिनेका छैनन्। बाबा भन्नुहुन्छ– पवित्र बन। जसलाई हत्केलामा स्वर्ग मिल्छ उनीहरू किन पवित्र रहने छैनन्। भन– हामी किन एक जन्म पवित्र नबन्ने, जबकि हामीलाई विश्वको बादसाही मिल्छ। भगवानुवाच– तिमी यस अन्तिम जन्ममा पवित्र बन्यौ भने पवित्र दुनियाँको मालिक बन्छौ, २१ जन्मको लागि। केवल यो एक जन्म मेरो श्रीमतमा चल। रक्षाबन्धन पनि यसको निसानी हो। त्यसैले किन हामी पवित्र रहन सक्दैनौं। बेहदका बाबाले ग्यारेन्टी दिनुहुन्छ। बाबाले भारतवर्षलाई स्वर्गको वर्सा दिनु भएको थियो, जसलाई सुखधाम भनिन्छ। अपार सुख थियो, यो हो दु:खधाम। कुनै एउटा ठुलो व्यक्तिलाई तिमीले यसरी सम्झायौ भने सबैले सुनिरहन्छन्। योगमा रहेर बतायौ भने उनीहरूले समय आदि नै भुल्छन्। कसैले केही भन्न सक्ने छैन। १५-२० मिनेटको सट्टा घन्टौं पनि सुनिरहन्छन्। तर त्यो तागत हुनुपर्छ। देह अभिमान हुनु हुँदैन। यहाँ त सेवा नै सेवा गर्नु छ, तब नै कल्याण हुन्छ। राजा बन्नु छ भने प्रजा कहाँ बनाएका छौ? बाबाले त्यत्तिकै शिरमा कहाँ ताज राखिदिनु हुन्छ र! के प्रजा डबल शिरताज बन्छन् र? तिम्रो लक्ष्य-उद्देश्य नै छ डबल शिरताज बन्ने। बाबाले त बच्चाहरूलाई उल्लास दिलाउनु हुन्छ। जन्मजन्मान्तरको पाप शिरमाथि छ, त्यो योगबलले नै काटिन सक्छ। बाँकी यस जन्ममा के के गरेका छौ, त्यो त तिमीले बुझ्न सक्छौ नि। पाप काट्नको लागि योग आदि सिकाइन्छ। बाँकी यस जन्मको त कुनै कुरा छैन। तमोप्रधानबाट सतोप्रधान बन्ने युक्ति बाबा बसेर बताउनु हुन्छ, बाँकी कृपा आदि त गएर साधुहरूसँग माग। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) अमरलोकमा जानको लागि सङ्गममा खुसीको खजाना भर्नु छ। समय व्यर्थ गुमाउनु छैन। आफ्नो झोली भरेर, दयालु बनेर अन्धाहरूको लट्ठी बन्नु छ।

२) हत्केलामा स्वर्ग लिनको लागि पवित्र अवश्य बन्नु छ। स्वयंलाई सतोप्रधान बनाउने युक्ति रचेर आफूमाथि आफैले कृपा गर्नु छ। योगबल जम्मा गर्नु छ।

वरदान:–
हजुरलाई सधैं साथ राखेर कम्बाइन्ड स्वरूपको अनुभव गर्ने विशेष पार्टधारी भव

बच्चाहरूले जब दिलबाट भन्छन्– बाबा, त्यसपछि दिलाराम हाजिर हुनुहुन्छ, त्यसैले भनिन्छ हजुर हाजिर हुनुहुन्छ। विशेष आत्माहरू त छन् नै कम्बाइन्ड। मानिसहरूले भन्छन् जहाँ हेर्छु त्यहाँ तिमी नै तिमी छौ अनि बच्चाहरूले भन्छन् हामी जे गरे पनि, जहाँ गए पनि बाबा साथैमा हुनुहुन्छ। भनिन्छ– गर्नेगराउनेवाला, त्यसैले गर्नेवाला र गराउनेवाला कम्बाइन्ड भए। यस स्मृतिमा रहेर पार्ट खेल्नेहरू विशेष पार्टधारी बन्छन्।

स्लोगन:–
स्वयंलाई यस पुरानो दुनियाँमा गेस्ट (अतिथि) सम्झेर रह्यौ भने पुराना संस्कार र सङ्कल्पहरूलाई गेट आउट गर्न सक्नेछौ।