21.07.24    Avyakt Bapdada     Nepali Murli    16.12.20     Om Shanti     Madhuban


साक्षात ब्रह्माबाबा समान कर्मयोगी फरिश्ता बन तब साक्षात्कार सुरु हुनेछ


आज ब्राह्मण संसारका रचयिता बापदादा आफ्नो ब्राह्मण संसारलाई देखेर हर्षित भइरहनु भएको छ। कति सानो प्यारो संसार छ। हरेक ब्राह्मणको मस्तकमा भाग्यको सितारा चम्किरहेको छ। नम्बरवार भएर पनि हरेकको सितारामा भगवानलाई चिन्ने र बन्ने श्रेष्ठ भाग्यको चमक छ। जुन बाबालाई ऋषि, मुनि, तपस्वीहरूले नेती नेती भन्दै आए, उहाँ बाबालाई ब्राह्मण संसारका भोलाभाला आत्माहरूले चिने, पाए। यो भाग्य कुन आत्माहरूलाई प्राप्त हुन्छ? जो साधारण आत्माहरू छन्। बाबा पनि साधारण तनमा आउनुहुन्छ, त्यस्तै बच्चाहरूमा पनि साधारण आत्माले नै चिन्छन्। आजको यस सभामा हेर, को बसेका छौ? कुनै अरब खरबपति बसेका छौ? साधारण आत्माहरूको नै गायन छ। बाबालाई गरिबनिवाज भनेर गायन गरिएको छ। अरब खरबपति निवाज गाएन गरिएको छैन। बुद्धिमानहरूका बुद्धिले के अरब खरबपतिको बुद्धिलाई पल्टाउन सक्नुहुन्न? के ठुलो कुरा हो! तर ड्रामाको धेरै राम्रो कल्याणकारी नियम बनेको छ, परमात्म कार्यमा बुँद बुँदले तलाउ भरिनु छ। अनेक आत्माहरूको भविष्य बन्नु छ। १०-२० को होइन, अनेक आत्माहरूको सफल हुनु छ त्यसैले गायन छ बुँद बुँदबाट तलाउ। तिमीहरू सबैले जति तन-मन-धन सफल गरिरहन्छौ, त्यति नै सफलताको सितारा बनेका छौ। सबै सफलताको सितारा बनेका छौ? बनेका छौ कि अझै बन्नु छ, सोचिरहेका छौ? सोच्नु पर्दैन– हेरौंला, गर्नु त छ नै... यो सोच्नु पनि समय गुमाउनु हो। भविष्य र वर्तमानको प्राप्ति गुमाउनु हो।

बापदादाको पासमा कुनै कुनै बच्चाहरूको एक सङ्कल्प पुग्छ। बाहिरका त बिचरा हुन् तर ब्राह्मण आत्माहरू बिचरा होइन, विचारवान हुन्, समझदार हुन्। तर कहिलेकाहीँ कुनै कुनै बच्चाहरूमा एउटा कमजोर सङ्कल्प उठ्छ, बताउँ। बताउँ? सबैले हात उठाइरहेका छन्, धेरै राम्रो। कहिलेकाहीँ सोच्छन्– के विनाश हुन्छ कि हुँदैन! ९९ को चक्कर पनि पूरा भयो, २००० पनि पूरा हुनु नै छ। अझै कहिलेसम्म? बापदादा सोच्नुहुन्छ– एउटा हाँसोको कुरा छ– विनाशको बारेमा सोच्नु अर्थात् बाबालाई बिदाई दिनु किनकि विनाश भएपछि बाबा त परमधाममा जानुहुन्छ नि! के सङ्गमसँग थाकिसकेका हौ र? हीरा तुल्य भन्छौ अनि गोल्डेनलाई धेरै याद गर्छौ, हुनु त छ तर प्रतीक्षा किन गर्छौ? कति बच्चाहरूले सोच्छन्– सफल त गर्ने हो तर भोलि पर्सि नै विनाश भयो भने हाम्रो त काममा आएन, हाम्रो त सेवामा लागेन। अब गरुँ, सोचिरहेका छन्। हिसाबले गरुँ, थोरै थोरै गरुँ। यी सङ्कल्प बाबाको पासमा पुग्छन्। तर मानौँ आज तिमी बच्चाहरूले आफ्नो तन सेवामा समर्पण गर्यौ, मन विश्व परिवर्तनको भाइब्रेशनमा निरन्तर लगायौ, धन जति पनि छ, हुन त प्राप्तिको अगाडि केही होइन तर जति पनि छ, आज तिमीले गर्यौ तर भोलि विनाश भयो भने तिम्रो सफल भयो वा व्यर्थ गयो? सोच– सेवामा त लागेन, त्यसोभए सफल भयो त? तिमीले कसको लागि सफल गर्यौ? बापदादाको लागि सफल गर्यौ नि? बापदादा त अविनाशी हुनुहुन्छ। त्यो त विनाश हुँदैन। अविनाशी खातामा, अविनाशी बापदादाको पासमा तिमीले आज जम्मा गर्यौ, एक घण्टा पहिला जम्मा गर्यौ भने पनि अविनाशी बापदादाको पासमा तिम्रो खातामा एकको पदमगुणा जम्मा भयो। बाबा बाँधिनु भएको छ, एकको पदम दिनको लागि। बाबाले त जानुहुन्न नि! पुरानो सृष्टि विनाश हुन्छ नि! त्यसैले तिमीहरूले त दिलदेखि गरेको छौ, तर मजबुरीले गरेको भए, देखासिकीमा गरेको भए, उसलाई पूरा मिल्दैन। मिल्छ अवश्य किनकि दातालाई दिएका हौ तर पूरा मिल्दैन त्यसैले यो नसोच ठीकै छ अहिले विनाश त २००१ सम्म पनि देखिँदैन, अहिले त प्रोग्राम बनिरहेका छन्, भवन बनिरहेका छन्। ठुला ठुला प्लान बनिरहेका छन्, त्यसैले २००१ सम्म त विनाश हुने देखिँदैन, देखिएको छैन। कहिल्यै पनि यी कुरालाई आफ्नो आधार बनाएर अल्छी नबन्नु। अचानक हुनु छ। आज यहाँ बसेका छौ, घण्टापछि पनि हुन सक्छ। हुँदैन, नडराऊ, थाहा छैन एक घण्टा पछि के हुनेछ! सम्भव छ। यति एभररेडी रहनु नै छ। शिवरात्रिसम्म गर्नु छ, यो नसोच। समयको प्रतीक्षा नगर। समय तिम्रो रचना हो, तिमी मास्टर रचयिता हौ। रचयिता रचनाको अधीन हुँदैन। समय रचना तिम्रो अर्डरमा चल्नेवाला छ। तिमीले समयको प्रतीक्षा नगर, तर अहिले समयले तिम्रो प्रतीक्षा गरिरहेको छ। कति बच्चाहरूले सोच्छन्, ६ महिनाको लागि बापदादाले भन्नुभएको छ भने ६ महिनामा त होला नै। अवश्य हुन्छ होला नि! तर बापदादाले भन्नुहुन्छ– यो हदको कुरालाई आधार नबनाऊ, एभररेडी बन। निराधार, एक सेकेन्डमा जीवनमुक्ति। च्यालेन्ज गर्छौ एक सेकेन्डमा जीवनमुक्तिको वर्सा लिने। के तिमीले एक सेकेन्डमा स्वयंलाई जीवनमुक्त बनाउन सक्दैनौ? त्यसैले प्रतीक्षा होइन, सम्पन्न बन्ने प्रबन्ध गर।

बापदादालाई बच्चाहरूको खेल देखेर हाँसो पनि लाग्छ। कुनचाहिँ खेलमा हाँसो लाग्छ? बताउँ? आज मुरली चलाइरहेको छैन, समाचार सुनाइरहेको छु। अहिलेसम्म कति बच्चाहरूलाई खेलौनासँग खेल्न धेरै मन पर्छ। सानो सानो कुराको खेलौनासँग खेल्नु, सानो कुरालाई अपनाउनु, यसरी समय गुमाउँछन्। यी साइडसीनहरू (यात्रामा देखिने दृश्यहरू) हुन्। भिन्न भिन्न संस्कारका कुरा वा चालचलन, यो सम्पूर्ण लक्ष्यको बीचमा साइडसीनहरू हुन्। यसमा रोकिनु अर्थात् सोच्नु, प्रभावमा आउनु, समय गुमाउनु, रुचिले सुन्नु, सुनाउनु, वायुमण्डल बनाउनु... यो हो रोकिनु, यसबाट सम्पूर्णताको लक्ष्यदेखि टाढा हुन्छौ। मेहनत धेरै, चाहना धेरै ‘बाबा समान बन्नु नै छ’ शुभ सङ्कल्प, शुभ इच्छा छ तर मेहनत गर्दा पनि रोकावट आउँछ। दुई कान छन्, दुई आँखा छन्, मुख छ भने देखिन्छ पनि, सुनिन्छ पनि, बोलिन्छ पनि, तर बाबाको धेरै पुरानो स्लोगन सदा याद राख– देखेर पनि नदेख, सुनेर पनि नसुन। सुनेर पनि नसोच, सुनेर भित्र नराख, नफैलाऊ। यो पुरानो स्लोगन याद राख्न आवश्यक छ किनकि दिनप्रतिदिन जति पनि सबैको जसरी पुरानो शरीरको हिसाब चुक्ता भइरहेको छ, त्यसैगरी पुरानो संस्कार पनि, पुरानो बिमारीहरू पनि सबैको निस्किएर खतम हुनु छ, त्यसैले नडराऊ– अहिले त थाहा छैन अझै अरू कुराहरू बढिरहेका छन्, पहिला त थिएन। जे थिएन, त्यो पनि अहिले निस्किरहेको छ, निस्किनु छ। यो तिम्रो समाहित गर्ने शक्ति, सहन शक्ति, समेट्ने शक्ति, निर्णय गर्ने शक्तिको पेपर हो। के १० वर्ष पहिलाका पेपर आउँछन् र? बी. ए.को क्लासको पेपर, एम.ए.को क्लासमा आउँछ र? त्यसैले यो के भइरहेको छ भनेर नआत्तिऊ। यो भइरहेको छ, यो भइरहेको छ... खेल हेर। पेपर त पास गर, पास विद अनर बन।

बापदादाले पहिला पनि सुनाउनु भएको छ– पास हुने सबैभन्दा सहज साधन हो, बापदादाको पासमा बस, जुन तिम्रो कामको दृश्य छैन, त्यसलाई पास हुन देऊ, पासमा बस, पास गर, पास होऊ। के मुस्किल छ? टिचरहरूले सुनाऊ, मधुबन निवासीले सुनाऊ। मधुबन निवासीले हात उठाऊ। होसियार छन् मधुबन निवासी, अगाडि आउँछन्, ठीकै छ आऊ। बापदादालाई खुसी छ। आफ्नो हक लिन्छौ हैन? राम्रो छ, बापदादा नाराज हुनुहुन्न, ठीकै छ अगाडि बस। मधुबनमा बसेका छौ त्यसैले केही त खातिरी हुनुपर्छ नि! तर पास शब्द याद राख्नु। मधुबनमा नयाँ नयाँ कुरा हुन्छन् नि, डाँका पनि आउँछन्। कति नयाँ नयाँ कुरा हुन्छन्, अहिले बाबाले सबैको अगाडि के सुनाउने, अलिकति गुप्त राख्नुहुन्छ तर मधुबनकाले जान्दछन्। मनोरञ्जन गर, अलमलमा नपर। कि त अलमिलनु छ वा मनोरञ्जन सम्झेर मौजमा पास गर्नु छ। अलमिलन राम्रो हो कि पास गरेर मौजमा रहनु राम्रो हो? पास गर्नु छ नि! पास हुनु छ नि! त्यसोभए पास गर। यो के ठुलो कुरा हो र? कुनै ठुलो कुरा होइन। कुरालाई ठुलो बनाउने कि सानो बनाउने, यो आफ्नो बुद्धिमाथि निर्भर छ। जसले कुरालाई ठुलो बनाइदिन्छन्, उनको लागि अज्ञानकालमा पनि भन्छन्– यसले डोरीलाई पनि सर्प बनाउँछ। सिन्धी भाषामा भन्छन्– “नोरी को नाग” बनाउँछ। यस्तो खेल नगर। अब यो खेल खतम।

आज विशेष समाचार त सुनाइयो नि, बापदादाले अब एक सहज पुरुषार्थ सुनाउनुहुन्छ, मुस्किल छैन। सबैको यो सङ्कल्प त छ नै– बाबा समान बन्नु नै छ। बन्नु नै छ, पक्का हो नि! विदेशीहरू बन्नु नै छ हैन? टिचरहरू बन्नु छ हैन? यतिका टिचरहरू आएका छौ! वाह! कमाल छ टिचरहरूको। बापदादाले आज टिचरहरूको खुसखबरी सुन्नुभयो। कुनचाहिँ खुसखबरी छ, बताऊ। टिचरहरूलाई आज गोल्डेन मेडल (ब्याज) मिलेको छ। जसलाई गोल्डेन मेडल मिलेको छ, हात उठाऊ। पाण्डवहरूलाई पनि मिलेको छ? बाबाका साथीहरू त रहनु भएन। पाण्डवहरू ब्रह्माबाबाका साथी हुन्। (उनीहरूलाई छुट्टै प्रकारको गोल्डेन मिलेको छ) पाण्डवहरूलाई रोयल गोल्ड मेडल छ। गोल्डेन मेडल लिनेहरूलाई बापदादाको अरब-खरब बधाई छ, बधाई छ, बधाई छ।

बापदादालाई जसले देश-विदेशमा सुनिरहेका छौ र गोल्डेन मेडल मिलिसकेको छ, तिमीहरू सबैले पनि सम्झ मलाई पनि बापदादाले बधाई दिनुभयो, चाहे पाण्डव हौ, चाहे शक्ति हौ, कुनै पनि कार्यको निमित्त बन्नेलाई खासगरी यी दादीहरूले परिवारमा रहनेलाई पनि कुनै विशेषताको आधारमा गोल्डेन मेडल दिन्छन्। त्यसैले जसलाई पनि जुन पनि विशेषताको आधारमा चाहे सरेण्डरको आधारमा, चाहे कुनै पनि सेवामा विशेष अगाडि बढ्नेहरूलाई दादीहरूद्वारा पनि गोल्डेन मेडल मिलेको छ, त्यसैले टाढा बसेर सुन्नेहरूलाई पनि धेरै बधाई छ। तिमीहरू सबै टाढा बसेर मुरली सुन्नेहरूको लागि, गोल्डेन मेडलहरूको लागि एक हातको ताली बजाऊ, उनीहरूले तिम्रो ताली देखिरहेका छन्। उनीहरू पनि हाँसिरहेका छन्, खुसी भइरहेका छन्।

बापदादाले सहज पुरुषार्थ सुनाइरहनु भएको थियो– अब समय त अचानक हुनु छ, एक घण्टा पहिला पनि बापदादाले एनाउन्स गर्नुहुन्न, गर्नुहुन्न, गर्नुहुन्न। नम्बर कसरी बन्ने छन्? यदि अचानक हुँदैन भने पेपर कसरी भयो? पास विद अनरको सर्टिफिकेट, फाइनल सर्टिफिकेट त अचानकमा नै हुनु छ त्यसैले दादीहरूको एक सङ्कल्प बापदादाको पास पुगेको छ। दादीहरूले चाहन्छन्– अब बापदादाले साक्षात्कारको चाबी खोल्नु भए हुन्छ, यो यिनीहरूको सङ्कल्प छ। तिमीहरू सबैले पनि चाहन्छौ? बापदादाले चाबी खोल्ने कि तिमीहरू निमित्त बन्नेछौ? अच्छा, बापदादाले चाबी खोल्ने, ठीक छ। बापदादाले हुन्छ भनिदिनुहुन्छ, (ताली बजाइदिए) पहिला पूरा सुन। बापदादालाई चाबी खोल्न कति समय लाग्छ, तर गराउनु हुन्छ कोद्वारा? प्रत्यक्ष कसलाई गर्नु छ? बच्चाहरूलाई कि बाबालाई? बाबालाई पनि बच्चाहरूद्वारा गर्नु छ किनकि यदि ज्योतिबिन्दुको साक्षात्कार भए पनि कति त बिचरा..., बिचराहरू छन् नि! उनले बुझ्दैनन्– यो के हो। अन्त्यमा शक्ति र पाण्डव बच्चाहरूद्वारा बाबालाई प्रत्यक्ष हुनु छ। त्यसैले बापदादाले यही भनिरहनु भएको छ– जब सबै बच्चाहरूको एउटै सङ्कल्प छ– बाबा समान बन्नु नै छ, यसमा त दुई मत छैन नि! एकै मत छ नि। त्यसोभए ब्रह्मा बाबालाई फलो गर। अशरीरी, बिन्दु स्वत: हुन्छौ। ब्रह्माबाबासँग त सबैको प्यार छ नि! सबैभन्दा धेरै देखिएको छ, त्यसो त सबैको छ तर विदेशीहरूको ब्रह्माबाबासँग धेरै प्यार छ। यस नेत्रद्वारा देखेका छैनन् तर अनुभवको नेत्रद्वारा धेरैजसो विदेशीहरूले ब्रह्माबाबालाई देखेका छन् र धेरै प्यार छ। यसो त भारतका गोपिका, गोपहरूको पनि छ फेरि पनि बापदादाले विदेशीहरूका कहिलेकाहीँ अनुभवका कहानीहरू सुन्नुहुन्छ, भारतवासीले अलिकति गुप्त राख्छन्। उनीहरूले ब्रह्माबाबाप्रति सुनाउँछन् त्यसैले उनीहरूको कहानी बापदादाले पनि सुन्नुहुन्छ र अरूलाई पनि सुनाउनु हुन्छ, बधाई छ विदेशीहरूलाई। लण्डन, अमेरिका, अस्ट्रेलिया, अफ्रिका, एशिया, रशिया, जर्मनी... मतलब चारैतिरका विदेशीलाई जो टाढा बसेर पनि सुनिरहेका छन्, उनीहरूलाई पनि बापदादाले बधाई दिनुहुन्छ, खासगरी ब्रह्माबाबाले बधाई दिइरहनु भएको छ। भारतवासी थोरै गुप्त छन्, त्यति प्रसिद्ध गर्न सक्दैनन्, गुप्त राख्छन्। अब प्रत्यक्ष गर। बाँकी भारतमा पनि धेरै राम्रा-राम्रा आत्माहरू छन्। यस्ता गोपिकाहरू छन्, यदि उनीहरूको अनुभव आजकालका प्रधानमन्त्री, राष्ट्रपतिले सुने भने उनको आँखाबाट पनि आँसु आउँछ। यस्ता अनुभव छन् तर गुप्त राख्छन्, त्यति खोल्दैनन्, चान्स पनि कम मिल्छ। त्यसैले बापदादाले यो भनिरहनु भएको छ– ब्रह्माबाबासँग सबैको प्यार त छ, त्यसैले त आफूलाई के भन्छौ? ब्रह्माकुमारी कि शिवकुमारी? ब्रह्माकुमारी कहलाउँछौ नि, त्यसैले ब्रह्माबाबासँग प्यार त छँदैछ नि। केही छैन अशरीरी बन्नमा अलिकति मेहनत पनि गर्नु पर्छ तर ब्रह्माबाबा अहिले कुन रूपमा हुनुहुन्छ? कुन रूपमा हुनुहुन्छ? भन? (फरिश्ता रूपमा हुनुहुन्छ)। त्यसोभए ब्रह्मासँग प्यार अर्थात् फरिश्ता रूपसँग प्यार। ठीक छ बिन्दु बन्न मुस्किल लाग्छ, फरिश्ता बन्न त त्यो भन्दा सहज छ नि! सुनाऊ, बिन्दु रूप भन्दा फरिश्ता रूप त सहज छ नि! तिमीले एकाउन्टको काम गर्दै बिन्दु बन्न सक्छौ? फरिश्ता त बन्न सक्छौ नि! बिन्दु रूपमा कर्म गर्दैगर्दा कहिलेकाहीँ व्यक्त शरीरमा आउनु पर्छ तर बापदादाले देख्नुभयो– विज्ञानले एक लाइटको आधारमा रोबोट (यन्त्रमानव) बनाएका छन्, सुनेका छौ नि! ठीकै छ देखेका छैनौ भने पनि सुनेका त छौ! माताहरूले सुनेका छौ? तिमीहरूलाई चित्र देखाइदिने छन्। त्यो विद्युतको आधारमा रोबोट बनाएका छन् र त्यसले सबै काम गर्छ। र, फास्ट गतिले गर्छ, विद्युतको आधारमा। साइन्सको प्रत्यक्ष प्रमाण हो। बापदादाले भन्नुहुन्छ के साइलेन्सको शक्तिद्वारा, साइलेन्सको लाइटद्वारा तिमीले कर्म गर्न सक्दैनौ? गर्न सक्दैनौ? इन्जिनियर र वैज्ञानिकहरू बसेका छौ नि! त्यसैगरी तिमीहरूले पनि एक रुहानी रोबोटको स्थिति तयार गर। जसलाई भनिन्छ रुहानी कर्मयोगी, फरिश्ता कर्मयोगी। पहिला तिमी तयार हुनुछ। इन्जिनियर हौ, वैज्ञानिक हौ त्यसैले पहिला तिमीले अनुभव गर्नुछ। गर्नेछौ? गर्न सक्छौ? अच्छा, यस्तो प्लान बनाऊ। बापदादा यस्तो रुहानी हिँड्दा डुल्दा कर्मयोगी फरिश्ता देख्न चाहनुहुन्छ। अमृतबेला उठ, बापदादासँग मिलन मनाऊ, रूहरिहान गर, वरदान देऊ। जे गर्नु छ त्यो गर। तर बापदादासँग दिनहुँ अमृतबेला कर्मयोगी फरिश्ता भवको वरदान लिएर फेरि कामकाजमा आऊ। यो हुन सक्छ?

यस नयाँ वर्षमा लक्ष्य राख– संस्कार परिवर्तन, स्वयंको पनि र सहयोगद्वारा अरूको पनि। कुनै कमजोर छ भने सहयोग देऊ, न वर्णन गर, न वातावरण बनाऊ। सहयोग देऊ। यस वर्षको टपिक संस्कार परिवर्तन। फरिश्ता संस्कार, ब्रह्माबाबा समान संस्कार। सहज पुरुषार्थ छ कि मुस्किल छ? थोरै मुस्किल छ? कहिल्यै पनि कुनै कुरा मुस्किल हुँदैन, आफ्नो कमजोरीले मुस्किल बनाउँछ, त्यसैले बापदादा भन्नुहुन्छ– हे मास्टर सर्वशक्तिमान प्यारा बच्चाहरू! अब शक्तिको वायुमण्डल फैलाऊ। अहिले वायुमण्डललाई तिम्रो धेरै धेरै धेरै आवश्यकता छ। जसरी आजकाल विश्वमा प्रदुषणको समस्या छ, त्यसैगरी विश्वमा एक घडी मनमा शान्ति सुखको वायुमण्डलको आवश्यकता छ किनकि मनको प्रदुषण धेरै छ, वायुको प्रदुषण भन्दा पनि बढी छ। अच्छा!

चारैतिरका बापदादा समान बन्नु नै छ, यस्तो लक्ष्य राख्ने, निश्चय बुद्धि विजयी आत्माहरूलाई, सदा पुरानो संसार र पुरानो संस्कारलाई दृढ सङ्कल्पद्वारा परिवर्तन गर्ने मास्टर सर्वशक्तिमान आत्माहरूलाई, सदा कुनै पनि कारणले, परिस्थितिले स्वभाव संस्कारले, कमजोर साथीहरूलाई, आत्माहरूलाई सहयोग दिने, कारण देख्ने होइन, निवारण गर्ने– यस्ता हिम्मतवान आत्माहरूलाई, सदा ब्रह्माबाबाको स्नेहको रिटर्न दिने कर्मयोगी फरिश्ता आत्माहरूलाई बापदादाको याद-प्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

वरदान:–
शुभचिन्तक स्थितिद्वारा सर्वको सहयोग प्राप्त गर्ने सर्वको स्नेही भव

शुभचिन्तक आत्माहरूप्रति हरेकको दिलमा स्नेह उत्पन्न हुन्छ र त्यो स्नेहले नै सहयोगी बनाइदिन्छ। जहाँ स्नेह हुन्छ, त्यहाँ समय, सम्पत्ति, सहयोग सदा समर्पण गर्नको लागि तयार हुन्छन्। त्यसैले शुभचिन्तकले स्नेही बनाउँछ र स्नेहले सबै प्रकारको सहयोगमा सपर्पित गराउँछ। त्यसैले सदा शुभचिन्तनद्वारा सम्पन्न रहेर शुभचिन्तक बनेर सर्वलाई स्नेही, सहयोगी बनाऊ।

स्लोगन:–
यस समयमा दाता बन्यौ भने तिम्रो राज्यमा जन्म जन्म हर आत्मा भरपुर रहन्छन्।


सूचना:– आज अन्तर्राष्ट्रिय योग दिवस हो, सबै ब्रह्मा वत्सहरूले सङ्गठित रूपमा साँझ ६.३०देखि ७.३० बजेसम्म विशेष आफ्नो मास्टर सर्वशक्तिमान स्वरूपमा स्थितिमा स्थित भएर मनसा सेवा गर्नु हुनेछ।