22.01.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“मीठे बच्चे– यो अनादि
बनिबनाउ ड्रामा हो , यो धेरै राम्रो बनेको छ। यसको भूत , वर्तमान र भविष्यलाई तिमी
बच्चाहरूले राम्रोसँग बुझेका छौ।”
प्रश्न:–
कुन आकर्षणको
आधारमा सबै आत्माहरू तिमीतिर खिचिएर आउँछन्?
उत्तर:–
पवित्रता र
योगको आकर्षणको आधारमा। यसबाट नै तिम्रो वृद्धि हुँदै जान्छ। पछि गएर बाबालाई
तुरुन्तै चिन्छन्। यति धेरैले वर्सा लिइरहेका छन् यो देख्नेछन् र देखेर धेरै आउने
छन्। जति पछि हुन्छ त्यति तिमीमा आकर्षण बढ्दै जान्छ।
ओम् शान्ति ।
रुहानी
बच्चाहरूलाई यो त थाहा छ– हामी आत्माहरू परमधामबाट आउँछौं, बुद्धिमा छ नि? जब सबैजसो
आत्माहरू आइसक्छन्, बाँकी थोरै मात्र रहन्छन्, तब बाबा आउनु हुन्छ। अहिले तिमी
बच्चाहरूले कसैलाई पनि सम्झाउन धेरै सहज छ। दूर देशका निवासी एकदम अन्तिममा आउनु
हुन्छ। बाँकी थोरै रहन्छन्। अहिलेसम्म पनि वृद्धि भइरहेको छ नि। यो पनि जानेका छौ–
बाबालाई कसैले पनि चिनेका छैनन् भने फेरि रचनाको आदि-मध्य-अन्त्यलाई कसरी जान्न
सक्छन्। यो बेहदको ड्रामा हो नि। ड्रामाका कलाकारहरूलाई थाहा हुनुपर्छ नि। जसरी हदका
कलाकारहरूलाई पनि थाहा हुन्छ– फलानाफलानालाई यो पार्ट मिलेको छ। जुन कुरा बित्यो,
त्यसैको फेरि सानो नाटक बनाउँछन्। भविष्यको त बनाउन सक्दैनन्। जुन कुरा बितिसक्यो,
त्यसैलाई लिएर केही कहानीहरू पनि बनाएर ड्रामा तयार गर्छन्, त्यही सबैलाई देखाउँछन्।
भविष्यको बारेमा त जान्दै जानेकै हुँदैनन्। अहिले तिमीले जानेका छौ– बाबा आउनु भएको
छ, स्थापना भइरहेको छ, हामीले वर्सा लिइरहेका छौं। जो जो आइरहन्छन्, तिनीहरूलाई
हामीले देवी-देवता पद पाउने मार्ग बताउँछौं। यी देवताहरू यति उच्च कसरी बने? यो पनि
कसैलाई थाहा छैन। वास्तवमा आदि सनातन त देवी-देवता धर्म नै हो। आफ्नो धर्मलाई
भुल्छन्, अनि भनिदिन्छन्– हाम्रो लागि त सबै धर्म एकै हुन्।
अहिले तिमी
बच्चाहरूलाई थाहा छ– बाबाले हामीलाई पढाइरहनु भएको छ। बाबाको निर्देशनबाटै चित्र आदि
बनाइन्छ। बाबाले दिव्य दृष्टिद्वारा चित्र बनाउन लगाउनुहुन्थ्यो। कसैले त आफ्नो
बुद्धिले पनि बनाउँछन्। बच्चाहरूलाई यो पनि सम्झाइएको छ, यो अवश्य लेख– पार्ट खेल्ने
त कलाहरू हुन्, तर रचयिता, निर्देशक आदिलाई कसैले चिनेका छैनन्। बाबाले अहिले नयाँ
धर्मको स्थापना गरिरहनु भएको छ। पुरानोबाट नयाँ दुनियाँ बन्नु छ। यो पनि बुद्धिमा
रहनु पर्छ। पुरानो दुनियाँमा नै बाबा आएर तिमीलाई ब्राह्मण बनाउनु हुन्छ। ब्राह्मण
नै फेरि देवता बन्छन्। युक्ति हेर कस्तो राम्रो छ। हुन त यो अनादि बनिबनाउ ड्रामा
हो। तर धेरै राम्रो बनेको छ। बाबा भन्नुहुन्छ– तिमीलाई नित्य गहन गहन कुरा
सुनाइरहन्छु। विनाश सुरु भइसकेपछि मात्र तिमी बच्चाहरूलाई पहिलाको सारा इतिहास थाहा
हुन्छ। फेरि सत्ययुगमा जान्छौ, त्यसपछि पहिलाको इतिहास केही पनि याद रहने छैन।
यथार्थमा कर्म गरिरहन्छौ। बितेका कुरा कसलाई सुनाउने? यी लक्ष्मी-नारायणहरूले
पहिलाको कुरा बिल्कुल जानेका हुँदैनन्। तिम्रो बुद्धिमा त भूत, वर्तमान, भविष्य सबै
छ– कसरी विनाश हुन्छ, कसरी रजाइँ हुन्छ, कसरी महल बनाउने छौं? बन्न त अवश्य बन्छ
नि। स्वर्गको दृश्य नै छुट्टै हुन्छ। जस्तो जस्तो पार्ट खेल्दै जान्छन्, त्यो थाहा
हुँदै जान्छ। यसलाई भनिन्छ– अनाहकमा रक्तपातको खेल। अनाहक नोक्सान भइरहन्छ नि।
भूकम्प जान्छ, कति नोक्सान हुन्छ। बम फ्याँक्छन्, यो अनाहकमा हो नि। कसैले केही कहाँ
गर्छ र। जो विशाल बुद्धिका छन्, तिनले सम्झन्छन्– वास्तवमा विनाश भएको थियो। अवश्य
मारामार भएको थियो। यस्तो खेल पनि बनाउँछन्। यो त बुझ्न पनि सक्छन्। कुनै बेला कसैको
बुद्धिमा टच हुन्छ। तिमी त प्राक्टिकलमा छौ। तिमी त्यस राजधानीको मालिक पनि बन्छौ।
तिमीले जानेका छौ– अब त्यस नयाँ दुनियाँमा अवश्य जानु पर्छ। जो ब्राह्मण बन्छन्
ब्रह्माद्वारा वा ब्रह्माकुमार-कुमारीहरूद्वारा ज्ञान लिन्छन् तिनीहरू त्यहाँ आउने
छन्। रहन्छन् त आफ्नै घर-गृहस्थमा नै। धेरैलाई त चिन्न पनि सकिँदैन। सेन्टरहरूमा कति
आउँछन्। यति सबै कहाँ याद रहन सक्छ र? कति ब्राह्मण छन्, वृद्धि हुदा हुँदा अनगिन्ती
हुन्छन्। एक्युरेट हिसाब निकाल्न सकिँदैन। मेरा प्रजा एक्युरेट कति छन्, यो राजालाई
कहाँ थाहा हुन्छ र। निकाल्न त जनगणना आदि निकाल्छन्, फेरि पनि फरक पर्छ। अहिले तिमी
पनि विद्यार्थी, यी पनि विद्यार्थी हुन्। सबै आत्मा भाइहरूले याद गर्नु छ– एक
बाबालाई। साना बच्चाहरूलाई पनि बाबा बाबा भन्न सिकाउनु पर्छ। यो पनि तिमीले जानेका
छौ– पछि गएर बाबालाई तुरुन्तै चिन्छन्। देख्छन्– यति धेरै सबैले वर्सा लिइरहेका छन्,
त्यसैले धेरै आउने छन्। अन्तिममा तिमीमा आकर्षण बढ्दै जान्छ। पछि गएर तिमीमा आकर्षण
बढ्दै जानेछ। पवित्र बनेपछि आकर्षण हुन्छ, जति योगमा रहन्छौ, त्यति आकर्षण हुन्छ,
अरूलाई पनि खिच्छौ। बाबाले पनि खिच्नुहुन्छ नि। धेरै वृद्धि भइरहन्छ। यसको लागि
युक्तिहरू पनि रचिएको छ। गीताका भगवान को हुनुहुन्छ? श्रीकृष्णलाई याद गर्न त धेरै
सहज छ। उनी त साकार रूप हुन् नि। निराकार बाबा भन्नुहुन्छ– म एकलाई याद गर। यसैमा
सारा आधारित छ, त्यसैले बाबाले भन्नुभएको थियो– यस कुरामा सबैसँग लेखाइराख। लिस्ट
बनायौ भने मानिसहरूलाई थाहा हुन्छ।
तिमी ब्राह्मणहरू
पक्का निश्चयबुद्धि भइसकेपछि वृक्ष वृद्धि हुँदै जान्छ। मायाको तुफान पनि
अन्त्यसम्म आउने छ। विजय प्राप्त भएपछि फेरि न पुरुषार्थ रहन्छ, न माया रहन्छ। यादमा
नै धेरैजसोले हार्छन्। जति तिमी योगमा मजबुत रहन्छौ, त्यति हार्नेछैनौ। यहाँ यो
राजधानी स्थापना भइरहेको छ। बच्चाहरूलाई निश्चय छ– हाम्रो राज्य हुन्छ, फेरि हामीले
हीरा-जुहारत कहाँबाट ल्याउने छौं! खानीहरू सबै कहाँबाट आउने छन्! यो सबै त अवश्य
थियो नि। यसमा अलमलिने कुरै छैन। जे हुनु छ त्यो यथार्थमा देख्छौ। स्वर्ग त अवश्य
बन्छ। जसले राम्रोसँग पढ्छन्, उनलाई निश्चय हुन्छ, हामी भविष्यमा राजकुमार बन्नेछौं।
हीरा-जुहारतका महल हुन्छन्। यो निश्चय पनि सेवाधारी बच्चाहरूलाई नै हुन्छ। जो सानो
पद पाउनेहरू छन्, तिनलाई त हामीले महल आदि कसरी बनाउँछौ होला, यस्तो यस्तो ख्याल
कहिल्यै आउँदा पनि आउँदैन। जसले धेरै सेवा गर्छन्, उनै महलमा जान्छन् नि।
दास-दासीहरू त तयारै मिल्छन्। सेवाधारी बच्चाहरूलाई नै यस्ता यस्ता ख्याल आउँछद्।
तिमी बच्चाहरूले पनि जानेका छौ– कस कसले राम्रो सेवा गर्छन्। नत्र हामीले त
पढेकाहरूको अगाडि भारी बोक्छौं। जस्तै यी बाबा छन्, बाबालाई ख्याल हुन्छ नि। वृद्ध
र बालक समान भए, त्यसैले यिनको क्रियाकलाप पनि बच्चाको जस्तै हुन्छ। बाबाको त एउटै
काम छ– बच्चाहरूलाई पढाउनु, सिकाउनु। विजयमालाको दाना बन्नु छ भने पुरुषार्थ पनि
धेरै हुनुपर्छ। धेरै मीठो बन्नु छ। श्रीमतमा चल्नुपर्ने हुन्छ, अनि मात्रै उच्च
बन्छौ। यो त बुझ्ने कुरा हो नि। बाबा भन्नुहुन्छ– मैले जे सुनाउँछु, त्यसमा जज गर।
पछि गएर अझै तिमीलाई साक्षात्कार भइरहन्छ। समीप आउँदै गएपछि याद आइरहन्छ। ५ हजार
वर्ष भएको छ, आफ्नो राजधानी फर्किदै छौं। ८४ जन्मको चक्कर लगाएर आएका छौं। जसरी
भास्कोडिगामाको लागि भन्छन्– विश्वको चक्कर लगाए। तिमीले यस विश्वमा ८४ को चक्कर
लगायौ। ती भास्कोडिगामा त एक जना गए नि। यहाँ पनि एक हुनुहुन्छ, जसले तिमीलाई ८४
जन्महरूको रहस्य सम्झाउनु हुन्छ। डिनायस्टी (घराना) चल्छ। आफूभित्र हेर्नु छ–
मभित्र कहीँ देह अभिमान त छैन? आत्तिन त आत्तिन्न? कहीँ रिसाउन त रिसाउन्नँ?
तिमी योगबलमा रहिरह्यौ,
शिवबाबालाई याद गरिरह्यौ भने तिमीलाई कसैले पनि थप्पड लगाउन सक्ने छैन। योगबल नै
कवच हो। कसैले केही पनि गर्न सक्नेछैन। यदि कसैले चोट खायो भने अवश्य देह अभिमान छ।
देही अभिमानीलाई चोट लाग्न सक्दैन। भुल आफ्नै हुन्छ। विवेकले यस्तो भन्छ–
देहीअभिमानीलाई कसैले केही पनि गर्न सक्दैन, त्यसैले देही अभिमानी बन्ने कोसिस गर्नु
छ। सबैलाई सन्देश पनि दिनु छ। भगवानुवाच, मनमनाभव। कुन भगवान? यो पनि तिमी
बच्चाहरूले सम्झाउनु छ। यही एक कुरामा तिम्रो विजय हुन्छ। सारा दुनियाँमा मानिसहरूको
बुद्धिमा श्रीकृष्ण भगवानुवाच छ। तिमीले सम्झाइसकेपछि मात्र भन्छन्– कुरा त सही हो।
तर तिमीले जस्तै बुझे भने मात्र भन्छन्– बाबाले जे सम्झाउनु हुन्छ, त्यो ठीक हो।
श्रीकृष्णले कहाँ भन्छन् र– म यस्तो हुँ, मलाई कसैले चिन्न सक्दैन। श्रीकृष्णलाई त
सबैले चिन्न सक्छन्। यस्तो पनि होइन, श्रीकृष्णको तनद्वारा भगवानले भन्नुहुन्छ।
होइन। श्रीकृष्ण त हुन्छन् नै सत्ययुगमा। त्यहाँ कसरी भगवान आउन सक्नुहुन्छ? भगवान
त आउनु हुन्छ नै पुरुषोत्तम सङ्गमयुगमा। तिमी बच्चाहरूले धेरैबाट लेखाउँदै जाऊ।
तिम्रो यस्तो किताब छापिएको होस्, जसमा सबैको लिखत होस्। जब देख्छन्– यसमा त यति
सबैले यसरी लेखेका छन्, अनि स्वयंले पनि लेख्छन्। फेरि तिमीसँग धेरैको लिखत हुनेछ–
गीताका भगवान को हुनुहुन्छ? त्यसमा पनि लेखिएको होस्– उच्च भन्दा उच्च बाबा नै
हुनुहुन्छ, श्रीकृष्ण त उच्च भन्दा उच्च हुँदै होइनन्। उनले भन्न सक्दैनन्– म एकलाई
याद गर। ब्रह्माभन्दा पनि उच्च भगवान हुनुहुन्छ नि। मुख्य कुरा नै यही हो, जसबाट
सबैको निर्धनता समाप्त हुन्छ।
बाबाले कुनै यस्तो
भन्नुहुन्न, यहाँ बस्नुपर्छ। पर्दैन, सद्गुरुलाई आफ्नो बनाएर फेरि आफ्नै घरमा गएर
बस। सुरुमा त तिम्रो तपस्या भट्ठी थियो। शास्त्रहरूमा पनि भट्ठीको कुरा छ, तर भट्ठी
केलाई भनिन्छ, यो कसैले जानेका छैनन्। भट्ठी हुन्छ इँटहरूको। त्यसमध्ये कुनै पाकेका,
कुनै काँचा निस्किन्छन्। यहाँ पनि हेर, सुन छँदैछैन। बाँकी कङ्कड पत्थर छ। पुरानो
चीजको मान धेरै हुन्छ। शिवबाबाको, देवताहरूको पनि मान छ नि। सत्ययुगमा त मानको कुरै
हुँदैन। त्यहाँ कहाँ पुरानो चीज खोज्छन् र। त्यहाँ पेट अघाएको हुन्छ। खोज्ने
आवश्यकता हुँदैन। तिमीलाई खन्न पर्दैन, द्वापरपछि खन्न सुरु गर्नेछन्। घर बनाउँदा
केही देखियो भने सम्झन्छन् तल केही छ। सत्ययुगमा तिमीलाई कुनै पर्बाह हुँदैन। त्यहाँ
त सुनै सुन हुन्छ। ईँटा पनि सुनको हुन्छ। कल्प पहिला जे भएको थियो, जे निश्चित छ,
त्यही साक्षात्कार हुन्छ। आत्माहरूलाई बोलाइन्छ, त्यो पनि ड्रामामा निश्चित छ। यसमा
अल्मलिनु पर्ने आवश्यकता छैन। हर सेकेण्ड पार्ट चल्छ, फेरि हराउँछ। यो पढाइ हो।
भक्तिमार्गमा त अनेक चित्र छन्। तिम्रा यी चित्र सबै अर्थ सहित छन्। अर्थ विनाका
कुनै चित्र छैनन्। जबसम्म तिमीले कसैलाई सम्झाउँदैनौ, तबसम्म कसैले बुझ्न सक्दैन।
सम्झाउनेवाला समझदार ज्ञानका सागर एउटै बाबा हुनुहुन्छ। अहिले तिमीलाई मिलेको छ
ईश्वरीय मत। तिमी ईश्वरीय घरानाका अथवा कुलका हौ। ईश्वर आएर नै कुल स्थापना
गर्नुहुन्छ। अहिले तिम्रो कुनै राज्य छैन। राजधानी थियो, अहिले छैन। देवी-देवताहरूको
धर्म पनि अवश्य हुन्छ। सूर्यवंशी-चन्द्रवंशी राज्य हुन्छ नि। गीताद्वारा ब्राह्मण
कुल पनि बन्छ, सूर्यवंशी-चन्द्रवंशी कुल पनि बन्छ। बाँकी अरू कुनै हुन सक्दैन। तिमी
बच्चाहरूले सृष्टिको आदि-मध्य-अन्त्यलाई जानिसकेका छौ। पहिला त सम्झिन्थ्यौ–
महाप्रलय हुन्छ। अन्तिममा देखाउँछन्– सागरमा पीपलको पातमाथि श्रीकृष्ण आउँछन्। पहिला
नम्बरमा त श्रीकृष्ण नै आउँछन् नि। बाँकी सागरको कुरा होइन, अहिले तिमी बच्चाहरूलाई
धेरै राम्रो समझ भएको छ। खुसी पनि उनलाई हुन्छ, जसले राम्रोसँग रुहानी पढाइ पढ्छन्।
जसले राम्रोसँग पढ्छन्, उनै पास विद् अनर हुन्छन्। यदि कसैसँग दिल लागेको छ भने
पढाइको समयमा पनि उही याद आइरहन्छ। बुद्धि त्यहाँ गइहाल्छ, त्यसैले पढाइ सदैव
ब्रह्मचर्यमा पढिन्छ। यहाँ तिमी बच्चाहरूलाई सम्झाइन्छ– एक बाबा सिवाय अरू कहीँ पनि
बुद्धि जानु हुँदैन। तर जान्दछु– धेरैलाई पुरानो दुनियाँ याद आइहाल्छ। फेरि यहाँ
बसेर पनि सुन्दै सुन्दैनन्। भक्तिमार्गमा पनि यस्तै हुन्छ। सतसङ्गमा बसे पनि बुद्धि
कहाँ कहाँ भागिरहन्छ। यो त धेरै जबरजस्त परीक्षा हो। कोही त यहाँ बसेर पनि मानौं
सुन्दैनन्। कुनै बच्चाहरूलाई त खुसी हुन्छ। सामुन्ने खुसीमा झुमिरहन्छन्। बुद्धि
बाबाको साथ भयो भने फेरि अन्त मति सो गति हुन्छ। यसको लागि धेरै राम्रो पुरुषार्थ
गर्नु छ। यहाँ त तिमीलाई धेरै धन मिल्छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) विजय मालाको दाना बन्नको लागि धेरै राम्रो पुरुषार्थ गर्नु छ, धेरै मीठो बन्नु
छ, श्रीमतमा चल्नु छ।
२) योग नै सुरक्षा
लागि कवच हो, त्यसैले योगबल जम्मा गर्नु छ। देहीअभिमानी बन्ने पूरा कोसिस गर्नु छ।
वरदान:–
‘विशेष’ शब्दको
स्मृतिद्वारा सम्पूर्णताको मञ्जिल प्राप्त गर्ने स्व-परिवर्तक भव
सदा यही स्मृतिमा
रहोस् कि हामी विशेष आत्मा हौँ, विशेष कार्यको निमित्त हौँ र विशेषता देखाउनेहरू
हौँ। यो विशेष शब्द विशेष याद राख– बोल्नु पनि विशेष, देख्नु पनि विशेष, गर्नु पनि
विशेष, सोच्नु पनि विशेष... हरेक कुरामा यो विशेष शब्द ल्याउनाले सहजै स्व-परिवर्तक
र विश्व-परिवर्तक बन्नेछौ र जुन सम्पूर्णता प्राप्त गर्ने लक्ष्य छ, त्यो मञ्जिललाई
पनि सहजै प्राप्त गर्नेछौ।
स्लोगन:–
विघ्नहरूबाट
आत्तिनुको सट्टा पेपर सम्झेर तिनलाई पार गर।