22.06.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– यहाँ तिमी परिवर्तन हुनको लागि आएका हौ , तिमीले आसुरी अवगुणलाई परिवर्तन गरेर दैवी गुण धारण गर्नु छ । यो देवता बन्ने पढाइ हो।”

प्रश्न:–
तिमी बच्चाहरूले कुनचाहिँ पढाइ बाबाद्वारा नै पढ्छौ, अरू कसैले पढाउन सक्दैन?

उत्तर:–
मनुष्यबाट देवता बन्ने पढाइ, अपवित्रबाट पवित्र बनेर नयाँ दुनियाँमा जाने पढाइ एक बाबा बाहेक अरू कसैले पढाउन सक्दैन। बाबाले नै सहज ज्ञान र राजयोगको पढाइद्वारा पवित्र प्रवृत्ति मार्ग स्थापना गर्नुहुन्छ।

ओम् शान्ति ।
बाबा बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ। वास्तवमा पिता दुई हुनुहुन्छ, एक हदको, अर्को बेहदको। ती पनि पिता हुन् भने यहाँ पनि पिता हुनुहुन्छ। बेहदका पिता आएर पढाउनु हुन्छ। बच्चाहरूलाई थाहा छ– हामीले नयाँ दुनियाँ सत्युगको लागि पढिरहेका छौं। यस्तो पढाइ कहीँ पनि मिल्न सक्दैन। तिमी बच्चाहरूले सतसङ्ग त धेरै गरेका छौ। तिमी भक्त थियौ नि। अवश्य गुरु बनाएका छौ, शास्त्र अध्ययन गरेका छौ। तर अहिले बाबाले आएर जगाउनु भएको छ। बाबा भन्नुहुन्छ– अब यो पुरानो दुनियाँ परिवर्तन हुनु छ। अहिले मैले तिमीलाई नयाँ दुनियाँको लागि पढाउँछु, म तिम्रो शिक्षक हुँ। कुनै पनि गुरुलाई शिक्षक भनिदैन। स्कुलमा शिक्षकले पढाउँछन्, जसबाट उच्च पद मिल्छ। तर उनीहरूले पढाउँछन् यहाँको लागि। अहिले तिमीलाई थाहा छ– हामीले जुन पढाइ पढ्छौं त्यो हो नयाँ दुनियाँको लागि। स्वर्णिमयुगी दुनियाँ भनिन्छ। यो त जान्दछौ– यस समयमा आसुरी अवगुणलाई परिवर्तन गरेर दैवीगुण धारण गर्नु छ। यहाँ तिमी परिवर्तन हुनको लागि आएका हौ। चरित्रको महिमा गरिन्छ। देवताहरूको अगाडि गएर भन्छन्– हजुर यस्तो हुनुहुन्छ, हामी यस्ता छौं। तिमीलाई अहिले लक्ष्य उद्देश्य मिलेको छ। भविष्यको लागि बाबाले नयाँ दुनियाँ पनि स्थापना गर्नुहुन्छ र तिमीलाई पढाउनु पनि हुन्छ। त्यहाँ त विकारको कुरा हुँदैन। तिमीले रावणमाथि विजय पाउँछौ, रावण राज्यमा सबै विकारी छन्। यथा राजा रानी तथा प्रजा। अहिले त पञ्चायती राज्य छ। त्यस भन्दा पहिला राजा-रानीको राज्य थियो, तर ती पनि पतित थिए। ती पतित राजाहरूको पासमा मन्दिर पनि हुन्छन्। निर्विकारी देवताहरूको पूजा गर्थे। जान्दछन्– ती देवताहरू यहाँ थिए र गएका हुन्। अहिले उनको राज्य छैन। बाबाले आत्माहरूलाई पावन बनाउनु हुन्छ र तिमी देवता शरीरवाला थियौ, यो पनि याद दिलाउनु हुन्छ। तिम्रा आत्मा र शरीर दुवै पवित्र थिए। अब फेरि बाबा आएर पतितबाट पावन बनाउनु हुन्छ, त्यसैले नै तिमी यहाँ आएका हौ।

बाबाले आदेश दिनुहुन्छ– प्यारा बच्चाहरू! काम महाशत्रु हो। यसले तिमीलाई आदि-मध्य-अन्त्य दु:ख दिन्छ। अब तिमी गृहस्थ व्यवहारमा रहेर पावन बन्नु छ। यस्तो होइन, देवी-देवताहरूले आपसमा प्यार गर्दैनन् तर त्यहाँ विकारी दृष्टि हुँदैन, निर्विकारी भएर रहन्छन्। बाबा पनि भन्नुहुन्छ– गृहस्थ व्यवहारमा रहेर कमल फूल समान बन। आफ्नो भविष्य यस्तो बनाउनु छ मानौं तिमी पवित्र जोडी थियौ। हरेक आत्मा भिन्न नाम रूप लिएर पार्ट खेल्दै आउँछ। अहिले तिम्रो यो अन्तिम पार्ट हो। पवित्रताको लागि धेरै अलमलिन्छन्– के गर्ने, कसरी कम्प्यानियन (साथी) भएर रहने। कम्प्यानियनको अर्थ के हो? वेलायतमा बुढो भएपछि फेरि कम्प्यानियन राख्नको लागि विवाह गर्छन्, सम्हाल्नको लागि। यस्ता धेरै हुन्छन् जो ब्रह्मचारी भएर रहन मन पराउँछन्। संन्यासीहरूको त कुरा बेग्लै छ, गृहस्थमा रहनेहरू पनि धेरै हुन्छन् जसले विवाह गर्न मन पराउँदैनन्। विवाह गर्नु फेरि बालबच्चा आदि सम्हाल्नु, यस्तो जाल नै किन फैलाउने जसमा स्वयं नै फसिन्छ। यस्ता यहाँ पनि धेरै आउँछन्। ब्रह्मचारी रहेको ४० वर्ष भइसक्यो, अब के विवाह गर्ने। स्वतन्त्र रहन मन पराउँछन्। त्यसैले बाबा तिनलाई देखेर खुसी हुनुहुन्छ। यी त छन् नै बन्धनमुक्त, बाँकी रह्यो शरीरको बन्धन, त्यसमा देह सहित सबैलाई भुल्नु छ, केवल एक बाबालाई याद गर्नु छ। कुनै पनि देहधारी क्राइस्ट आदिलाई याद गर्नु छैन। निराकार शिव त देहधारी हुनुहुन्न। उहाँको नाम शिव हो। शिवका मन्दिर पनि छन्। आत्मालाई ८४ जन्मको पार्ट मिलेको छ। यो हो अविनाशी ड्रामा, यसमा केही पनि परिवर्तन हुन सक्दैन।

तिमीलाई थाहा छ– सुरु सुरुमा जुन हाम्रो धर्म, कर्म श्रेष्ठ थियो त्यो अहिले भ्रष्ट बनेको छ। यस्तो होइन, देवता धर्म नै खतम भएको छ। गायन पनि गर्छन् देवताहरू सर्वगुण सम्पन्न थिए। लक्ष्मी-नारायण दुवै पवित्र थिए। पवित्र प्रवृत्ति मार्ग थियो। अहिले अपवित्र प्रवृत्ति मार्ग छ। ८४ जन्ममा भिन्न भिन्न नाम रूप परिवर्तन हुँदै आएका हौ। बाबाले बताउनु भएको छ– प्यारा बच्चाहरू! तिमीले आफ्नो जन्मलाई जान्दैनौ, मैले तिमीलाई ८४ जन्मको कहानी सुनाउँछु। त्यसैले अवश्य पहिलो जन्मदेखि नै सम्झाउनु पर्छ। तिमी पवित्र थियौ, अहिले विकारी बनेका छौ। त्यसैले देवताहरूको अगाडि गएर शिर झुकाउँछौ। क्रिश्चियनले क्राइस्टको अगाडि, बुद्धिस्टले बुद्धको अगाडि, सिक्खले गुरुनानकको दरबारको अगाडि गएर शिर झुकाउँछन्, यसबाट थाहा हुन्छ यो कुन पन्थको हो। तिम्रो लागि त भनिदिन्छन् यो हिन्दु हो। आदि सनातन देवी-देवता धर्म कहाँ गयो, यो कसैलाई थाहा छैन। प्राय: लोप भएको छ। यहाँ चित्र त अथाह बनेका छन्। मनुष्यहरूका पनि अनेक मत छन्। शिवका पनि अनेक नाम राखिदिएका छन्। वास्तवमा उहाँको नाम एक शिव नै हो। यस्तो पनि होइन, उहाँले पुनर्जन्म लिनुभयो अनि नाम परिवर्तन हुँदैगयो। होइन। मनुष्यहरूका अनेक मत छन्, त्यसैले अनेक नाम राख्छन्। श्रीनाथ द्वारमा गयौ भने त्यहाँ पनि ती नै लक्ष्मी-नारायण नै बसेका छन्, जगन्नाथको मन्दिरमा पनि मूर्ति उही नै हो। नाम भिन्न भिन्न राखेका छन्। तिमी सूर्यवंशी भएको बेला पूजा आदि गर्दैनथ्यौ। तिमीले सारा विश्वमा राज्य गर्थ्यौ, सुखी थियौ। श्रीमतमा श्रेष्ठ राज्य स्थापना गरेका थियौ। त्यसलाई भनिन्छ सुखधाम। अरू कसैले यस्तो भन्न सक्दैन– हामीलाई बाबाले पढाउनु हुन्छ, मनुष्यबाट देवता बनाउनु हुन्छ। निसानी पनि छ, अवश्य उनीहरूकै राज्य थियो। त्यहाँ किल्ला आदि हुँदैनन्। किल्ला आदि बनाउँछन् सुरक्षाको लागि। यी देवी-देवताको राज्यमा किल्ला आदि थिएनन्। आक्रमण गर्ने अरू कोही हुँदैनन्। अहिले तिमीलाई थाहा छ– हामी उही देवी-देवता धर्ममा परिवर्तन (ट्रान्सफर) भइरहेका छौं। त्यसको लागि तिमीले राजयोगको पढाइ पढिरहेका छौ। रजाइँ पाउनु छ। भगवानुवाच– मैले तिमीलाई राजाहरूको राजा बनाउँछु। अहिले त कुनै राजा-रानी छैनन्। कति लडाइँझगडा भइरहन्छन्। यो हो कलियुग, आइरन एजेड वर्ल्ड। तिमी गोल्डन एजमा थियौ। अहिले फेरि पुरुषोत्तम सङ्गमयुगमा खडा छौ। बाबा तिमीलाई पहिलो नम्बरमा लैजान आउनु भएको छ, सबैको कल्याण गर्नुहुन्छ। तिमीलाई थाहा छ– हाम्रो पनि कल्याण हुन्छ। सुरु सुरुमा हामी अवश्य सत्ययुगमा आउँछौं। बाँकी जुन जुन धर्मका छन् ती सबै शान्तिधाममा जान्छन्। बाबा भन्नुहुन्छ– सबैलाई पवित्र पनि बन्नु छ। तिमीहरू हौ नै पवित्र देशका निवासी, जसलाई निर्वाणधाम भनिन्छ। वाणी भन्दा पर केवल अशरीरी आत्माहरू रहन्छन्। बाबाले तिमीलाई अब वाणी भन्दा पर लैजानुहुन्छ। यस्तो त कसैले भन्न सक्दैन मैले तिमीलाई निर्वाणधाम, शान्तिधाममा लैजान्छु। उनीहरूले त भन्छन् हामी ब्रह्ममा लीन हुनेछौं। तिमी बच्चाहरूलाई थाहा छ– अहिले यो दुनियाँ तमोप्रधान छ, यसमा तिमीलाई स्वाद आउनेछैन। त्यसैले नयाँ दुनियाँको स्थापना र पुरानो दुनियाँको विनाश गर्नको लागि भगवानलाई यहाँ आउनु पर्छ। शिवजयन्ती पनि यहाँ मनाउँछन्। त्यसैले आएर के गर्नुहुन्छ? कसैले बताओस्। जयन्ती मनाउँछन् भने अवश्य आउनु हुन्छ नि। रथमा विराजमान हुनुहुन्छ। उनीहरूले फेरि घोडा गाडीको रथ देखाएका छन्। बाबा बसेर बताउनु हुन्छ, म कुन रथमा चढ्छु। बच्चाहरूलाई बताउँछु। यो ज्ञान फेरि प्राय: लोप हुन्छ। यिनको ८४ जन्मको अन्त्यमा बाबा आउनु पर्छ। यो ज्ञान कसैले दिन सक्दैन। ज्ञान हो दिन, भक्ति हो रात। तल उत्रिदै जान्छन्। भक्तिको कति आडम्बर छ, कति कुम्भको मेला, फलाना मेला लागि नै रहन्छन्। अहिले तिमी पवित्र बनेर नयाँ दुनियाँमा जानु छ, यो अरू कसैले भन्न सक्दैन। बाबाले नै बताउनु हुन्छ– अहिले सङ्गमयुग हो। तिमीलाई पढाइ पनि उही मिल्छ जुन कल्प पहिला मिलेको थियो, मनुष्यबाट देवता बनेका थियौ। गायन पनि छ– मनुष्यबाट देवता बने... अवश्य बाबाले नै बनाउनु हुन्छ नि। तिमीलाई थाहा छ– हामी अपवित्र गृहस्थ धर्मका थियौं, अब बाबा आएर पवित्र प्रवृत्ति मार्गको बनाउनु हुन्छ। तिमीले धेरै उच्च पद पाउँछौ। उच्च भन्दा उच्च बाबाले कति उच्च बनाउनु हुन्छ। बाबाको छ श्री-श्री अर्थात् श्रेष्ठ भन्दा श्रेष्ठ मत। हामी श्रेष्ठ बन्छौं। श्री-श्रीको अर्थ कसैलाई थाहा छैन। एक शिवबाबाको नै यो टाइटल हो तर उनीहरूले फेरि आफैलाई श्री-श्री भनिदिन्छन्। माला जप्छन्। माला हुन्छ १०८ को, उनीहरूले १६१०८ को बनाएका छन्। त्यसमा ८ त आउने नै छन्। ४ जोडी र एक बाबा। आठ रत्न र नवौँ हुँ म। उनीहरूलाई रत्न भनिन्छ। उनलाई यस्तो बनाउनेवाला हुनुहुन्छ बाबा। तिमी बाबाद्वारा पारसबुद्धि बन्छौ। रङ्गुनमा एउटा तलाऊ छ, भन्छन् त्यसमा स्नान गर्नाले परी बनिन्छ। वास्तवमा यो हो ज्ञान स्नान, जसबाट तिमी देवता बन्छौ। बाँकी ती सबै भक्तिमार्गका कुरा हुन्। पानीमा स्नान गर्नाले परी बनिन्छ, यस्तो कुरा त कहिल्यै पनि हुन सक्दैन। यो सबै हो भक्तिमार्ग। के के कुरा बनाएका छन्। केही पनि बुझ्दैनन्। अहिले तिमीले बुझ्छौ– तिम्रै यादगार दिलवाडा, गुरु शिखर आदि खडा छन्। बाबा धेरै उच्च रहनुहुन्छ नि। तिमीलाई थाहा छ– बाबा र हामी आत्माहरू जहाँ रहन्छौं, त्यो हो मूलवतन। सूक्ष्मवतन त केवल साक्षात्कार मात्र हो। त्यो कुनै दुनियाँ होइन। सूक्ष्मवतन वा मूलवतनको लागि यो भन्न सकिदैन– विश्वको इतिहास दोहोरिन्छ। विश्व त एउटै छ। भन्ने गर्छन्– यस विश्वको इतिहास दोहोरिन्छ।

मनुष्यहरूले भन्छन् विश्वमा शान्ति होस्। आत्माको स्वधर्म नै शान्ति हो भन्ने कुरा जान्दैनन्। बाँकी जङ्गलमा कहाँ शान्ति मिल्न सक्छ र। तिमी बच्चाहरूलाई सुख र अरू सबैलाई शान्ति मिल्छ। जति पनि आउँछन् पहिला शान्तिधाममा गएर सुखधाममा आउँछन्। कतिले भन्छन्– हामीले ज्ञान लिँदैनौं र पछि आउँछौं, त्यसैले बाँकी समय मुक्तिधाममा रहनेछौं। यो त राम्रो हो, धेरै समय मुक्तिमा रहनेछौ। यहाँ केवल एक दुई जन्म पद पाउनेछौ। त्यो त के भयो र? जसरी लामखुट्टे निस्कन्छन् अनि मर्छन्। त्यसैले एक जन्ममा यहाँ के सुख मिल्छ र। त्यो त केही कामको भएन, मानौं पार्ट नै छैन। तिम्रो पार्ट त धेरै उच्च छ। तिम्रो जस्तो सुख अरू कसैले देख्न सक्दैन। त्यसैले पुरुषार्थ गर्नु पर्छ। गरि पनि रहन्छन्। कल्प पहिला पनि तिमीले पुरुषार्थ गरेका थियौ। आफ्नो पुरुषार्थ अनुसार प्रारब्ध पाएका हौ। पुरुषार्थ बिना त प्रारब्ध पाउन सकिँदैन। पुरुषार्थ अवश्य गर्नुपर्छ। बाबा भन्नुहुन्छ– ड्रामा यस्तो पनि बनेको छ। तिम्रो पनि पुरुषार्थ चल्नेछ। यसरी त चल्न सक्दैन। तिमीले पुरुषार्थ त अवश्य गर्नु छ। पुरुषार्थ बिना कहाँ के हुन्छ र। खोकी त्यसै कहाँ ठीक हुन्छ र? औषधी लिने पुरुषार्थ गर्नुपर्छ। कोही कोहीले त्यत्तिकै पनि जे ड्रामामा होला भनी बस्छन्। यस्तो उल्टो ज्ञान बुद्धिमा बसाउनु हुँदैन। यसरी पनि मायाले विघ्न पार्छ। बच्चाहरूले पढाइ नै छोडिदिन्छन्। यसलाई भनिन्छ– मायासँग हार। लडाइँ हो नि। ऊ पनि जबरजस्त छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) श्रेष्ठ राज्य स्थापना गर्नको लागि श्रीमतमा चलेर बाबाको सहयोगी बन्नु छ। जसरी देवताहरू निर्विकारी हुन्छन्, त्यसैगरी गृहस्थमा रहेर निर्विकारी बन्नु छ। पवित्र प्रवृत्ति बनाउनु छ।

२) ड्रामाको प्वइन्टलाई उल्टो रूपबाट प्रयोग गर्नु छैन। ड्रामा भनेर त्यसै बस्नु छैन। पढाइमा पूरा ध्यान दिनु छ। पुरुषार्थद्वारा आफ्नो प्रारब्ध श्रेष्ठ बनाउनु छ।

वरदान:–
कमल पुष्पको सिम्बोल बुद्धिमा राखेर आफूलाई स्याम्पल सम्झने न्यारा र प्यारा भव

प्रवृत्तिमा रहनेहरूको सिम्बोल (प्रतीक) हो “कमल पुष्प”। त्यसैले कमल बन, व्यवहारमा ल्याऊ। यदि ल्याएनौ भने कमल बन्न सक्दैनौ। त्यसैले कमल पुष्पको सिम्बोल बुद्धिमा राखेर स्वयंलाई स्याम्पल (नमुना) सम्झेर चल। सेवा गर्दा न्यारा प्यारा बन। केवल प्यारा बन्नु छैन, न्यारा बनेर प्यारा बन्नु छ किनकि प्यार कहिलेकाहीँ लगावको रूपमा परिवर्तन हुन्छ, त्यसैले कुनै पनि सेवा गर्दा न्यारा र प्यारा बन।

स्लोगन:–
स्नेहको छत्रछायाँ भित्र माया आउन सक्दैन।