22.06.25    Avyakt Bapdada     Nepali Murli    15.12.2005     Om Shanti     Madhuban


अब स्नेह र सहयोगको रूपरेखा स्टेजमा ल्याऊ , हरेकलाई गुण र शक्तिहरूको गिफ्ट देऊ


आज परमात्मा बाबा आफ्ना चारैतिरका परमात्म प्यारका अधिकारी बच्चाहरूलाई देखिरहनुभएको छ। यो परमात्म प्यार विश्वमा करोडौँमा कुनैलाई प्राप्त हुन्छ। यो परमात्म प्यार निःस्वार्थ प्यार हो किनकि एक परमात्मा पिता नै निराकार, निरहङ्कारी हुनुहुन्छ। मनुष्य आत्मा शरीरधारी हुनाले कुनै न कुनै स्वार्थमा आइहाल्छन्। परमात्मा बाबाले नै आफ्ना बच्चाहरूलाई यस्तो निःस्वार्थ प्यार दिनुहुन्छ। परमात्म प्यार ब्राह्मण जीवनको विशेष आधार हो। ब्राह्मण जीवनको जीवनदान हो। यदि ब्राह्मण जीवनमा परमात्म प्यारको अनुभव कम छ भने, प्यार बिना जीवन रमणीय हुँदैन, सुख्खा जीवन हुन्छ। परमात्म प्यारले नै जीवनमा सदैव साथ पनि दिन्छ र साथी बनेर सदैव सहयोगी हुन्छ। जहाँ प्यार हुन्छ, साथ हुन्छ, त्यहाँ सबै कुरा धेरै सहज र सरल हुन्छ। मेहनतको अनुभव हुँदैन। यस्तो अनुभव छ नि! परमात्मका प्यारा कुनै पनि व्यक्ति वा साधनहरूको आकर्षणमा आउन सक्दैनन् किनकि परमात्म आकर्षण, परमात्म प्यारले यस्तो अनुभव गराउँछ जो सदैव प्यारको कारण लभलीन रहन्छन्, जसलाई मानिसहरूले परमात्मामा लीन हुनु सम्झेका छन्। परमात्मामा लीन हुँदैनन् तर परमात्म प्यारमा लभलीन हुन्छन्। बापदादाले चारैतिरका बच्चाहरूलाई देख्नुहुन्छ– परमात्म प्यारा त सबै बनेका छन् तर एक छन् लभली बच्चाहरू, अर्का छन् लभलीन बच्चाहरू। त्यसैले आफूसँग सोध– लभली त सबै छन्, तर लभलीन कहाँसम्म रहन्छु? लभलीन बच्चाहरूको निसानी हो– उनीहरू सदैव परमात्म आदेशमा सहज चल्छन्। आदेशमा पनि रहन्छन् र देहभानबाट कुर्बान पनि हुन्छन् किनकि प्यारमा कुर्बान हुन मुस्किल हुँदैन। सबैभन्दा पहिलो आदेश हो– योगी भव, पवित्र भव। बाबाको बच्चाहरूसँग प्यार हुनाले बाबा बच्चाहरूलाई मेहनत गरेको देख्न सक्नुहुन्न किनकि बाबालाई थाहा छ– ६३ जन्म धेरै मेहनत गर्यौ, अहिले यो अलौकिक जन्म मेहनतबाट मुक्त भई अतीन्द्रिय सुखको मौज मनाउने हो। त्यसोभए मौज मनाइरहेका छौ कि मेहनत गर्नुपर्छ? प्यारमा आदेशमा चल्न मेहनत लाग्दैन। यदि मेहनत गर्नुपर्छ भने प्यारको परसेन्टेज कम छ। कतै न कतै प्यारमा केही न केही लिकेज छ। दुई कुराको लिकेजले मेहनत गराउँछ– एक पुरानो संसारको आकर्षण, संसारमा सम्बन्ध, पदार्थ सबै आउँछ। र, अर्को– पुरानो संस्कारको आकर्षण। यो पुरानो संसार र पुरानो संस्कारले आफूतिर आकर्षित गरिदिन्छन् अनि परमात्म प्यारमा परसेन्टेज हुन्छ। चेक गर– यी दुवै लिकेजबाट मुक्त छु? याद गर– तिमी आत्माका अनादि संस्कार र आदि संस्कार के थिए र अहिले अन्त्यको ब्राह्मण जीवनका संस्कार के छन्? अनादि पनि छन्, आदि पनि छन् र अन्त्यमा श्रेष्ठ संस्कार पनि छन्। यी पुराना संस्कार मध्येका हुन्, न अनादि हुन्, न आदि हुन्, न अन्त्यका हुन्। तर सबैको लक्ष्य के हो? कुनै पनि बच्चालाई सोध्यौ भने एउटै उत्तर दिन्छन्– लक्ष्य हो बाबासमान बन्ने। यही हो नि! हो भने हात उठाऊ। यही लक्ष्य पक्का छ? वा बीच बीचमा परिवर्तन हुन्छ?

त्यसैले बाबा बच्चाहरूसँग सोध्नुहुन्छ– बाबा र दादा दुवैका समान संस्कार कुन हुन्? सदैव बाबा हरेक आत्माप्रति उदारचित रहनुभएको छ। हरेक आत्माप्रति स्नेह र सम्मान स्वरूपमा सहयोगी रहनुभएको छ। यसरी तिमी स्वयंले पनि आफूलाई हरेक आत्माप्रति सहयोगी अनुभव गर्छौ? सहयोग दियो भने सहयोगी बन्ने होइन। स्नेह दियो भने स्नेही बन्ने होइन। जसरी ब्रह्माबाबा हरेक बच्चाप्रति सहयोगी बन्नुभयो, स्नेही बन्नुभयो, त्यसरी नै सबैको सदैव स्नेही र सहयोगी, यसलाई भनिन्छ समान बन्नु। यदि कुनै पनि बच्चालाई संस्कार परिवर्तन गर्नमा मेहनत गर्नुपर्छ भने त्यसको कारण के हो? ब्रह्माबाबाले आफूमाथि अटेन्सन (ध्यान) राख्नुभयो तर मेहनत गर्नुभएन। संस्कार परिवर्तनमा मेहनतको कारण हो– लभली बनेका छन्, लभलीन बनेका छैनन्।

बापदादा त हरेक बच्चालाई लभली बच्चा सम्झनुहुन्छ, चिन्नु पनि हुन्छ, हरेकको जन्मपत्री जान्नुहुन्छ, तैपनि के भन्नुहुन्छ? सबै लभली छन्। बापदादाले सदा हरेक बच्चालाई एउटै पढाइ, एउटै पालना, एउटै वरदान दिनुहुन्छ। चाहे जान्नु पनि हुन्छ– यो लास्ट नम्बर हो, तैपनि बापदादाले कुनै पनि बच्चाको अवगुण, कमजोरी सङ्कल्पमा पनि राख्नुहुन्न। यो बच्चा लाडला (प्यारो) छ, सिकिलधे छ, मीठो प्यारो छ... यही दृष्टि र वृत्तिले हेर्नुहुन्छ किनकि बापदादालाई थाहा छ– यही वृत्ति र श्रेष्ठ दृष्टिले कमजोर पनि महावीर बन्छ। यसरी नै आफ्नो श्रेष्ठ वृत्ति र शुभभावना, शुभकामनाद्वारा कसैलाई पनि परिवर्तन गर्न सक्छौ। तिमीले प्रकृतिलाई पनि परिवर्तन गरेर देखाउनेछौँ भनेर च्यालेन्ज गरेका छौ भने के आत्माहरूलाई परिवर्तन गर्न सक्दैनौ! प्रकृतिजीत बन्छौ भने आत्मा, आत्माको श्रेष्ठ भावनाले, कल्याणको कामनाले परिवर्तन गर्न सक्दैनौ!

अब नयाँ वर्ष सुरु हुन लागेको छ नि, त्यसैले नयाँ वर्षमा सबै बेहदका ब्राह्मण परिवारको बीच एकअर्काप्रति आफ्नो शुभभावना, श्रेष्ठकामनाद्वारा हरेकलाई परिवर्तन गर्नमा एक अर्काको सहयोगी बन, चाहे कोही कमजोर छ, थाहा छ उसको संस्कारमा यो कमजोरी छ तर तिमी स्नेह र सहयोगको शक्तिद्वारा सहयोगी बन। एकअर्कासँग सहयोगको हात मिलाऊ। यो सहयोगको हात मिलाउने दृश्य यस्तो बन्नेछ–स्नेहको र सहयोगको हातमा हात मिलाएको जस्तो एक सुन्दर माला बन्नेछ। शिक्षा नदेऊ, स्नेह भरिएको सहयोग देऊ। न्यारा नबन, किनारा नगर, सहारा बन किनकि तिम्रो यादगार विजयमाला हो। हरेक दाना, दानाको साथी सहयोगी हुन्छ, त्यसैले त मालाको चित्र बनेको हुन्छ।

त्यसैले सबैले बापदादालाई सोध्छन्– नयाँ वर्षमा के गर्नुछ? सन्देश दिने कार्य त धेरै गर्यौ, गरिरहेका छौ, गरि नै रहनेछौ। अब सन्देशवाहकहरूको सहयोग र स्नेहको रूपरेखा स्टेजमा ल्याऊ। महादानी बन, आफ्ना गुणहरूको सहयोगी बन, बनाऊ। यसरी आफ्ना गुणहरूलाई, हुन त ती सबै परमात्म गुण हुन् तर जुन गुण तिमीले आफ्नो बनाएका छौ, ती गुणको शक्तिद्वारा उनीहरूको कमजोरी हटाऊ। यो सेवा गर्न सक्छौ? गर्न सक्छौ वा मुस्किल छ? टिचरहरूले बताऊ, गर्न सक्छौ? गर्न सक्छौ वा गर्नैपर्छ? गर्नैपर्छ। कोही कमजोर नरहोस्, किनकि करोडौँमा कोही छन् नि! चाहे लास्ट दाना नै होस्, हो त करोडौँमा कोही। तिम्रो टाइटल (उपाधि) नै छ– मास्टर सर्वशक्तिमान्। अनि सर्वशक्तिमान्को कर्तव्य के हो? शक्तिको लेनदेन गर्नु। बाबाद्वारा मिलेका गुण आपसमा लेनदेन गर। एक अर्कामा यही सहयोगको गिफ्ट देऊ। नयाँ वर्षमा एकअर्कालाई गिफ्ट दिन्छन् नि! त्यसैले यस वर्ष एकअर्कामा गुणहरूको गिफ्ट देऊ। यदि कल्याणको भावना राख्यौ भने जसरी भाषण गरेर वाणीद्वारा सन्देश दिन्छौ नि, त्यसरी नै आफ्नो कल्याणको भावनाद्वारा, कल्याणको वृत्तिद्वारा, कल्याणको वायुमण्डलद्वारा यी गुणहरूको गिफ्ट देऊ, शक्तिहरूको गिफ्ट देऊ। कमजोरलाई सहयोग दिनु, यो समयमा गिफ्ट दिनु हो, गिरेकालाई नखसाल, चढाऊ, माथि चढाऊ। यो यस्तो छ, यो यस्तो छ..., होइन। यो प्रभु प्यारको पात्र हो, करोडौँमा कुनै आत्मा हो, विशेष आत्मा हो, विजयी बन्ने आत्मा हो, यो दृष्टि राख। अहिले वृत्ति, दृष्टि, वायुमण्डल चेन्ज गर। केही नवीनता ल्याउनुपर्छ नि! कमजोरी देखेर पनि नहेर, उमङ्ग देऊ, सहयोग देऊ। यस्तो ब्राह्मण सङ्गठन तयार गर्यौ भने बापदादाले विजयको ताली बजाउनुहुनेछ। तिमीले पनि बारम्बार ताली बजाउँछौ नि, बापदादाले पनि अभिनन्दन छ, बधाई छ, ग्रिटिङ्ग्स (अभिवादन) छ, त्यसको ताली बजाउनुहुनेछ। तिमीले पनि बापदादाको साथै ताली बजाउनेछौ नि। अहिले ताली बजायौ भने राम्रो गर्यौ तर विश्वको अगाडि ताली बजुन्। सबैको मुखबाट यो आवाज निस्कियोस्– हाम्रो इष्ट आउनुभयो। हाम्रो पूज्य आउनुभयो। लक्ष्य पक्का छ नि! पक्का छ लक्ष्य, गर्नैपर्छ? वा हेरौँला, प्लान (योजना) बनाउनेछौ! गर्नैपर्छ, प्लान त के, गर्नैपर्छ। अहिले सबैले प्रतीक्षा गरिरहेका छन्, अब यिनीहरूको प्रतीक्षा समाप्त गर। प्रत्यक्ष हुने तयारी गर। हेर, प्रकृति पनि अहिले कति हैरान भइरहेको छ। त्यसैले प्रकृतिलाई पनि शान्त बनाइदेऊ। तिमी प्रत्यक्ष भयौ भने विश्व शान्ति स्वतः हुनेछ। अच्छा।

आजकाल विश्वमा दुई कुरा विशेष चल्छन्– एक एक्सरसाइज (व्यायाम) र दोस्रो भोजनमाथि सावधानी (अटेन्सन)। के तिमीले पनि यी दुवै कुरा गर्छौ? तिम्रो एक्सरसाइज कुन हो? शारीरिक एक्सरसाइज त सबैले गर्छन् तर मनको एक्सरसाइज अहिलेको अहिल्यै ब्राह्मण, ब्राह्मण सो फरिस्ता र फरिस्ता सो देवता। सदा यो मनसा ड्रिलको अभ्यास गरिराख। त्यस्तै शुद्ध भोजन, मनको शुद्ध सङ्कल्प। यदि व्यर्थ सङ्कल्प, नेगेटिव (नकारात्मक) सङ्कल्प चल्छ भने यो मनको अशुद्ध भोजन हो। त्यसैले मनमा सदा शुद्ध सङ्कल्प रहोस्, दुवै गर्न आउँछ नि! जति समय चाहन्छौ त्यति समय शुद्ध सङ्कल्प स्वरूप बन। अच्छा!

चारैतिरका परमात्म प्यारका अधिकारी विशेष आत्माहरूलाई, सदैव एकअर्काको सहयोगी बन्ने बाबाका स्नेही र सहयोगी आत्माहरूलाई, सदैव विजयी हौँ र विजयको झण्डा विश्वमा फैलाउनुछ, यो लक्ष्यलाई यथार्थमा ल्याउने विजयी बच्चाहरूलाई, सदैव यो पुरानो संसार र संस्कारको आकर्षणबाट पर रहने बाबासमान बच्चाहरूलाई दिलाराम बाबाको दिलदेखि यादप्यार एवं नमस्ते।

दादीजीसँग: – धेरै राम्रो पार्ट खेलिरहेकी छौ। तिमीलाई देखेर सबैलाई फरिस्ता लाइफ याद आउँछ। न्यारा र प्यारा।

गुजरातका मुख्य १३ बहिनीहरूसँग: – राम्रा राम्रा महावीर हौ। महावीरहरूको काम हो विजयी बनेर विजयी बनाउनु। सबैले राम्रो सेवा गरिरहेका छौ र पछी पनि सेवा भइरहनेछ। बापदादा बच्चाहरूको उमङ्ग-उत्साह देखेर खुसी हुनुहुन्छ। राम्रो, गुजरातमा सेवा फैलाइरहेका छौ र अझै अगाडि फैलाउँदै जानेछौ। बापदादालाई सबै बच्चाहरू आशाका दीपक लागिरहेका छन्। राम्रो छ। सङ्गठन पनि राम्रो छ। एकएकको विशेषता छ। अच्छा। खुसी नै खुसी बाँड्नु। (सरला दीदीले सोधिरहनुभएको छ, दादीले मालामा कसलाई राख्नुभएको छ?) तिमीले के सम्झन्छ्यौ? म त हुन्छु नै, यस्तो सम्झन्छ्यौ? जे जति सकिन्छ एक-अर्कालाई सहयोग देऊ र जे जति कमजोरी बाँकी छ, त्यो खतम हुन्छ। सबै बाबा समान बन्ने नै छौ। (के नवीनता गरौँ?) सुनाएँ नि– एक एक सेन्टरले कम्तीमा एक वारिस त तयार गरोस्। त्यसैले यस वर्ष त्यो लिएर आउनु, २१ वारिस त लिएर आउनु। यो सेवा सुरु गर। पहिलो नम्बरमा आऊ। सबैले हुन्छ भनिरहेका छन्। वारिसको क्वालिफिकेसन (योग्यता) थाहा छ नि। यी सबैलाई बाबाकै बनाउनेछौ नि, आफ्नो त बनाउने छैनौ। अच्छा। ओम् शान्ति।

गुजरातकै सेवा हो , गुजरातवाला नै मिलन मनाउन आएका छन्: – जति पनि गुजरातवाला छन्, चाहे मिलन मनाउन मात्र आएका छन्, चाहे सेवामा आएका छन्, उनीहरूले हात उठाऊ। धेरै छन्, धेरै राम्रो। राम्रो चान्स (अवसर) लिएका छन्। गुजरातलाई बापदादा भन्नुहुन्छ, सिन्धीमा उखान छ जो चुल पर वह दिल पर (जसले अथक बनेर भान्सामा सेवा गर्छ ऊ भगवानको दिलमा चढ्छ)। त्यसैले सबैभन्दा नजिकमा नजिक गुजरात छ। जो नजिक हुन्छ नि, त्यसलाई भनिन्छ शडपंद पर (एकदम नजिक) छ, बोलाउनासाथ आइपुग्ने। त्यसैले गुजरातवाला यस्ता एभररेडी (सधैं तयार) छौ नि– जहिले बोलाए पनि आउनेछौ? यस्ता छौ? परिवारलाई हेर्ने छैनौ, के गर्नेछौ, आउनेछौ? एभररेडी छौ। राम्रो छ, गुजरात साकार ब्रह्माको प्रेरणाद्वारा स्थापना भएको हो। गुजरातले गुजरातलाई निमन्त्रणा दिएको होइन, ब्रह्माबाबाले गुजरात खोल्नुभएको हो। त्यसैले गुजरातमाथि विशेष ब्रह्माबाबाको नजर परेको छ। र, गुजरातले पुरुषार्थ पनि गरेको छ, सेन्टर राम्रा खुलेका छन्। कति सेन्टर छन्? (३०० सेवाकेन्द्र, उपसेवाकेन्द्र छन् र ३ हजार गीता पाठशाला छन्) ठीक छ, सबैभन्दा धेरै सेन्टर कुन जोनका छन्? (मुम्बई-महाराष्ट्रका) ठीक छ– महाराष्ट्रवाला आएका छन्? (आज आएका छैनन्) गुजरातकाले सेवा त राम्रो गरिरहेका छन्, गुजरातको विस्तार पनि राम्रो छ। अब के गर्नुछ? विस्तार त छ, विस्तार त राम्रो गरेका छौ, अब गुजरातले नम्बरवन वारिस तयार गरून्। कम्तीमा जो ठुला सेवाकेन्द्र छन्, जो पुराना वारिस छन्, उनीहरू त छन् नै तर नयाँले कुनै वारिस निकाल। एक एक त निकाल, किनकि मालामा दाना उही बन्छन् जो वारिस क्वालिटी (गुणस्तर) का हुन्छन्। माला त तयार गर्नु छ नि! १६१०८ को पनि माला बनेको छ। अहिले यदि बापदादाले १०८ को माला बनाऊ भन्नुभयो भने बनाउन सक्छौ? बन्न सक्छ? दादीहरू बताऊ, १०८ को माला बन्न सक्छ? (दादीजीले भन्नुभयो– बन्न सक्छ) तयार छन्? १०८ को माला तयार भएको छ? (हजुर बाबा, तयार छ) ठीक छ, लेखेर देखाउनु। तयार छ भने धेरै राम्रो, बधाई छ। अच्छा, १६ हजारको माला, आधासम्म बनेको छ? (आधा त के, त्योभन्दा पनि धेरै बनेको छ) राम्रो छ नि। हेर, गुप्त रूपमा बनेको छ र तिम्रो दादीले देखिसक्नुभएको छ। राम्रो छ। अब तिमीसँग सबैले सोध्नेछन्– मेरो मालामा नाम छ? राम्रो छ। यस्तो शुभभावना, शुभ उम्मीदले नै तयार गरिदिन्छ। अहिले सबैले सुन्यौ नि, आफूलाई चेक गर्नु– म त्यो मालामा एभररेडी छु? अच्छा। अरू के गर्नुछ?

हर्ट पेसेन्टको क्याड ग्रुप आएको छ:– राम्रो छ, यो पनि आवाज फैलाउने धेरै राम्रो साधन हो किनकि बिना खर्च मेडिटेसनद्वारा ठीक हुनु– यो यथार्थ प्रमाण देख्छन् नि, त्यसैले सबैलाई धेरै राम्रो लाग्छ। अब बिस्तारै बिस्तारै यसको वृद्धि गर्दै जाऊ। सुनिएको छ सेवा गरिरहेका छन् र सफलता पनि मिलिरहेको छ र अझै मिल्दै जानेछ, बाँकी बापदादाले यस कार्यको लागि निमित्त बन्नेहरूलाई बधाई दिइरहनुभएको छ। अफिसियल गभर्मेन्ट (सरकार) सम्म रिजल्ट पुगिरहेको छ र अझै फैलाउँदै गयौ भने मेडिटेसनको महत्त्व बढ्दै जान्छ। बाँकी बापदादालाई यो विधि मनपर्छ। अच्छा।

वरदान:–
मनको मौनद्वारा सेवाको नयाँ इन्भेन्सन गर्ने सिद्धिस्वरूप भव

जसरी पहिला सुरुमा मौन व्रत लिएका थियौ, सबै फ्री भएका थियौ, टाइम बचेको थियो, त्यसरी नै अब मनलाई मौन राख, जसबाट व्यर्थ सङ्कल्प आउँदै नआओस्। जसरी मुखबाट आवाज ननिस्कियोस्, त्यसरी नै व्यर्थ सङ्कल्प पनि नआओस्– यो हो मनको मौन। त्यसोभएमा समय बच्छ। यो मनको मौनद्वारा सेवाको यस्तो नयाँ इन्भेन्सन (आविष्कार) हुन्छ जसबाट साधना कम र सिद्धि ज्यादा हुन्छ। जसरी विज्ञानका साधनले सेकेन्डमा विधिलाई प्राप्त गराउँछन्, त्यसरी नै यो साइलेन्स (मौन) को साधनद्वारा सेकेन्डमा विधि प्राप्त हुन्छ।

स्लोगन:–
जो स्वयं समर्पित स्थितिमा रहन्छन्, उनीहरूको अगाडि सबैको सहयोग पनि समर्पित हुन्छ