22.07.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– देहीअभिमानी बन्यौ भने शीतल हुन्छौ , विकारको दुर्गन्ध निस्किन्छ , अन्तर्मुखी हुन्छौ , फूल बन्छौ।”

प्रश्न:–
बापदादाले सबै बच्चाहरूलाई कुनचाहिँ दुइटा वरदान दिनुहुन्छ? त्यसलाई स्वरूपमा ल्याउने विधि के हो?

उत्तर:–
बाबाले सबै बच्चाहरूलाई शान्ति र सुखको वरदान दिनुहुन्छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमीले शान्तिमा रहने अभ्यास गर। कसैले उल्टोसुल्टो बोल्यो भने तिमीले जवाफ नदेऊ। तिमी शान्त रहनु छ। फाल्तु परचिन्तनका कुरा गर्नु हुँदैन। कसैलाई पनि दु:ख दिनु हुँदैन। मुखबाट केही नबोली मौनमा रह्यौ भने यी दुवै वरदान स्वरूपमा आउने छन्।

ओम् शान्ति ।
मीठा प्यारा बच्चाहरू! कहिले सम्मुख हुन्छन्, कहिले टाढा जान्छन्। सम्मुख उनै रहन्छन् जसले याद गर्छन् किनकि यादको यात्रामा नै सबै कुरा समाहित हुन्छ। गायन पनि छ नि– नजरबाट निहाल (तृप्त)। आत्माको नजर जान्छ परमपितामा, अरू उनलाई केही पनि राम्रो लाग्दैन। उहाँलाई याद गर्नाले विकर्म विनाश हुन्छ। त्यसैले आफूमाथि कति धेरै खबरदारी राख्नुपर्छ। याद गरिएन भने मायाले सम्झन्छ– यिनीहरूको योग टुटेको छ अनि उसले आफूतिर खिच्छ। केही न केही उल्टो कर्म गराइदिन्छ। यसरी बाबाको निन्दा गराइदिन्छ। भक्तिमार्गमा गायन छ– बाबा, मेरो त एक हजुर दोस्रो न कोही। तब बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! लक्ष्य धेरै उच्च छ। काम गर्दा पनि बाबालाई याद गर्नु– यो हो उच्च भन्दा उच्च लक्ष्य। यसमा धेरै राम्रो अभ्यास चाहिन्छ। नत्र उल्टो काम गर्ने निन्दक बन्न पुग्छन्। सम्झ, कसैमा क्रोध आयो, आपसमा लडाइँ झगडा गरे भने निन्दा गराए नि, यसमा धेरै सावधानी राख्नु छ। आफु गृहस्थ व्यवहारमा रहेर पनि बुद्धि बाबामा लगाउनु छ। यस्तो पनि होइन, कोही सम्पूर्ण भइसकेको छ। होइन। देहीअभिमानी बन्ने कोसिस गर्नुपर्छ। देह अभिमानमा आउनाले केही न केही उल्टो कर्म गर्छन् अर्थात् बाबाको निन्दा गराउँछन्। बाबा भन्नुहुन्छ– यस्ता सद्गुरुको निन्दा गराउनेले लक्ष्मी-नारायण बन्ने पद पाउन सक्दैन। त्यसैले पूरा पुरुषार्थ गरिरहनु पर्छ, यसबाट तिमी धेरै शीतल बन्छौ। पाँच विकारको कुरा सबै निस्केर जान्छ। बाबाबाट धेरै तागत मिल्छ। कामकाज पनि गर्नु छ। बाबाले कर्म नगर, यस्तो भन्नुहुन्न। त्यहाँ त तिम्रो कर्म, अकर्म हुन्छ। कलियुगमा जुन कर्म हुन्छन्, ती विकर्म हुन्छन्। अहिले सङ्गमयुगमा तिमीले सिक्नुपर्छ। त्यहाँ सिक्नु पर्ने कुरा नै हुँदैन। यहाँको शिक्षा नै त्यहाँ साथै जान्छ। बाबा बच्चाहरूलाई सम्झाउनु हुन्छ– बहिर्मुखता राम्रो हुँदैन। अन्तर्मुखी भव। अब त्यो समय पनि आउने छ, जब तिमी बच्चाहरू अन्तर्मुखी रहन्छौ। केवल बाबा बाहेक अरू केही पनि याद आउने छैन। तिमी आउँदा पनि यस्तै थियौ, अरू कसैको याद थिएन। गर्भबाट बाहिर निस्किएपछि मात्रै यी मेरा माता-पिता हुन्, यी फलाना हुन् भन्ने थाहा भयो। अब फेरि जाने पनि यसरी नै हो। हामी एक बाबाका हौं, उहाँ बाहेक अरू कोही बुद्धिमा नआओस्। समय बाँकी छ तर पुरुषार्थ त पूरा गर्नु छ। शरीरको त कुनै भरोसा छैन। कोसिस गरिरहनु पर्छ, घरमा पनि धेरै शान्ति हुनुपर्छ, क्लेश नहोस्। नत्र सबैले भन्छन् यिनमा कति अशान्ति छ। तिमी बच्चाहरू त बिल्कुल शान्त रहनु पर्छ। तिमीले शान्तिको वर्सा लिइरहेका छौ नि। अहिले तिमी रहन्छौ काँडाको बीचमा। फूलको बीचमा छैनौ। काँडाको बीचमा रहेर फूल बन्नु छ। काँडाको काँडा नै रहनु छैन। जति तिमीले बाबालाई याद गर्छौ त्यति शान्त रहन्छौ। कसैले उल्टोसुल्टो बोले पनि तिमी शान्तिमा रहने गर। आत्मा हो नै शान्त। आत्माको स्वधर्म हो शान्ति। तिमीलाई थाहा छ– अब हामी त्यो घरमा जानु छ। बाबा पनि हुनुहुन्छ शान्तिका सागर। उहाँ भन्नुहुन्छ– तिमी पनि शान्तिका सागर बन्नुपर्छ। फाल्तु परचिन्तनका कुराले धेरै नोक्सान पार्छ। बाबा निर्देशन दिनुहुन्छ– यस्तो कुरा गर्नु हुँदैन, यसबाट तिमीले बाबाको निन्दा गराउँछौ। शान्तिमा कुनै निन्दा वा विकर्म हुँदैन। बाबालाई याद गरिरहनाले अझै विकर्म विनाश हुन्छ। न स्वयं अशान्त हुनु छ, न अरूलाई पार्नु छ। कसैलाई दु:ख दिएमा आत्मा दु:खी हुन्छ। धेरै छन् जसले रिपोर्ट लेख्छन्– बाबा, यिनी घरमा आएपछि उपद्रव मच्चाउँछन्। बाबा लेख्नुहुन्छ– तिमी आफ्नो शान्ति स्वधर्ममा रहनु छ। हातमताईको कहानी पनि छ नि, उनलाई भने तिमीले मुखमा मुहलरा राख्यौ भने आवाज नै निस्किदैन। बोल्न सक्दैनौ।

तिमी बच्चाहरू शान्तिमा रहनु छ। मनुष्यले शान्तिको लागि धेरै धक्का खान्छन्। तिमी बच्चाहरूलाई थाहा छ– हाम्रा मीठा बाबा शान्तिका सागर हुनुहुन्छ। शान्ति गराउँदा गराउँदा विश्वमा शान्ति स्थापना गराउनु हुन्छ। आफ्नो भविष्य पदलाई पनि याद गर। त्यहाँ हुन्छ नै एक धर्म, अर्को कुनै धर्म हुँदैन। त्यसलाई नै विश्वमा शान्ति भनिन्छ। फेरि जब अरू अरू धर्म आउँछन् तब हङ्गामा हुन्छ। अहिले कति शान्ति हुन्छ। सम्झन्छौ– हाम्रो घर त्यही हो। हाम्रो स्वधर्म हो शान्ति। यस्तो त भनिँदैन शरीरको स्वधर्म शान्त हो। शरीर त विनाशी चीज हो, आत्मा अविनाशी चीज हो। जति समय आत्माहरू त्यहाँ रहन्छन् त्यतिसम्म कति शान्त हुन्छ। यहाँ त सारा दुनियाँमा अशान्ति छ, त्यसैले शान्ति मागिरहन्छन्। तर कोही सदा शान्तमा रहन चाहन्छन्, यो त हुन सक्दैन। हुन त ६३ जन्म त्यहाँ रहन्छन् फेरि पनि आउनु अवश्य पर्छ। आफ्नो दु:ख सुखको पार्ट खेलेर फेरि जान्छन्। ड्रामालाई राम्रोसँग ध्यानमा राख्नुपर्छ।

तिमी बच्चाहरूको पनि ध्यानमा रहोस्, बाबाले हामीलाई सुख र शान्तिको वरदान दिनुहुन्छ। ब्रह्माको आत्माले पनि सबै सुन्छ। सबै भन्दा नजिकबाट त यिनको कानले सुन्छ। यिनको मुख कान भन्दा पनि नजिक छ। तिम्रो फेरि यति टाढा छ। यिनले छिटो सुन्छन्। सबै कुरा धेरै सम्झिन सक्छन्। बाबा भन्नुहुन्छ– मीठा प्यारा बच्चाहरू! मीठा, प्यारा त सबैलाई भन्नुहुन्छ किनकि बच्चाहरू त सबै हुन्। जति पनि जीव आत्मा छन् ती सबै बाबाका बच्चाहरू अविनाशी छन्। शरीर त विनाशी छ। बाबा अविनाशी हुनुहुन्छ। बच्चा आत्माहरू पनि अविनाशी छन्। बाबाले त बच्चाहरूसँग कुराकानी गर्नुहुन्छ– यसलाई भनिन्छ रुहानी ज्ञान। परम आत्मा बसेर आत्माहरूलाई सम्झाउनु हुन्छ। बाबाको प्यार त छ नै। जति पनि सबै आत्माहरू छन्, छन त तमोप्रधान छन्। जानेका छौ– यी सबै जब घरमा थिए तब सतोप्रधान थिए। सबैलाई कल्प कल्प म आएर शान्तिको मार्ग बताउँछु। वर दिनु पर्ने कुरा होइन। यस्तो भन्नुहुन्न धनवान भव, आयुष्मान भव। सत्ययुगमा तिमी यस्तै थियौ, कुनै आशीर्वाद दिइँदैन। कृपा वा आशीर्वाद माग्नु हुँदैन। बाबा, पिता पनि हुनुहुन्छ, शिक्षक पनि हुनुहुन्छ– यही कुरा याद गर्नु छ। ओहो! शिवबाबा, बाबा पनि हुनुहुन्छ, शिक्षक पनि हुनुहुन्छ, ज्ञानका सागर पनि हुनुहुन्छ। बाबा नै बसेर आफ्नो र रचनाको आदि-मध्य-अन्त्यको ज्ञान सुनाउनु हुन्छ, जसबाट तिमी चक्रवर्ती महाराजा बन्छौ। यो सारा अलराउण्ड चक्र हो नि। बाबा सम्झाउनु हुन्छ यस समयमा सारा दुनियाँ रावण राज्यमा छ। रावण केवल लङ्कामा छैन। यो हो बेहदको लङ्का। चारैतिर पानी छ। सारा लङ्का रावणको थियो, अब फेरि रामको बन्छ। लङ्का त सुनको थियो। त्यहाँ सत्ययुगमा सुन धेरै हुन्छ। एक उदाहरण पनि बताउँछन्। ध्यानमा गयो, त्यहाँ एक सुनको इँटा देख्यो। जसरी यहाँ माटोको इँटा हुन्छ, त्यहाँ सुनको हुन्छ। यो ख्याल गर्यो सुन लिएर जाऊँ। कस्तो कस्तो नाटक बनाएका छन्। भारतखण्ड त प्रसिद्ध छ। अरू खण्डमा यति हीरा जुहारत हुँदैन। बाबा भन्नुहुन्छ– म गाइड बनेर सबैलाई फर्काएर लैजान्छु । हिँड बच्चाहरू! अब घर जानु छ। आत्माहरू पतित छन्, पावन नबनी घरमा जान सक्दैनन्। पतितलाई पावन बनाउने एक बाबा नै हुनुहुन्छ। त्यसैले सबै यहाँ नै छन्। फर्केर कोही पनि जान सक्दैनन्। नियमले नै भन्दैन। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! मायाले तिमीलाई अझ जोडले देह अभिमानमा ल्याउने छ। बाबालाई याद गर्न दिँदैन। तिमी सावधान रहनु छ। यसमा नै युद्ध छ। आँखाले धेरै धोका दिन्छन्। यी आँखालाई नियन्त्रणमा राख्नु छ। देखिएको छ भाइ-बहिनीमा पनि दृष्टि ठीक हुँदैन, त्यसैले अब सम्झाइन्छ– भाइ भाइ सम्झ। यो त सबैले भन्छन् हामी सबै भाइ भाइ हौं। तर केही पनि बुझ्दैनन्। जसरी भ्यागुताले ट्यार्र-ट्यार्र गर्छन्, अर्थ केही पनि बुझ्दैनन्। अहिले तिमीले हरेक कुराको यथार्थ अर्थ बुझेका छौ।

बाबा बसेर मीठा प्यारा बच्चाहरूलाई सम्झाउनु हुन्छ– तिमी भक्तिमार्गमा पनि प्रेमी थियौ, प्रेमीकालाई याद गर्थ्यौ। दु:खमा तुरुन्तै उहाँलाई याद गर्छन्– हाय राम! हे भगवान दया गर! स्वर्गमा त यस्तो कहिल्यै भनिदैन। त्यहाँ रावण राज्य नै हुँदैन। तिमीलाई रामराज्यमा लिएर जानुहुन्छ भने उहाँको मतमा चल्नुपर्छ नि। अहिले तिमीलाई मिल्छ ईश्वरीय मत, फेरि मिल्छ दैवी मत। यस कल्याणकारी सङ्गमयुगलाई कसैले पनि जानेका छैनन् किनकि सबैलाई बताइएको छ, कलियुग अझै सानो बच्चा छ। लाखौं वर्ष बाँकी छ। बाबा भन्नुहुन्छ– यो हो भक्तिको घोर अन्धकार। ज्ञान हो उज्यालो। ड्रामा अनुसार भक्तिको पनि पार्ट छ, यो फेरि पनि हुन्छ। अब तिमीले जान्दछौ– भगवान मिलिसकेपछि भट्किनु पर्ने आवश्यकता छैन। तिमीले भन्छौ, हामी जान्छौं बाबाको पास अथवा बापदादाको पास। यी कुरालाई अरूले त बुझ्न सक्दैनन्। तिमीहरूमा पनि जसलाई पूरा निश्चय हुँदैन, तिनलाई मायाले एकदम निलिदिन्छ। हात्तीलाई गोहीले एकदम निलिदिन्छ। आश्चर्यवत् सुनन्ती... पुराना त गइसके, उनको पनि गायन छ, राम्रा राम्रा महारथीहरूलाई मायाले हराइदिन्छ। बाबालाई लेख्छन्– बाबा, हजुरले आफ्नो मायालाई नपठाउनुहोस्। अरे, यो मेरो कहाँ हो र! रावणले आफ्नो राज्य गर्छ, हामीले आफ्नो राज्य स्थापना गरिरहेका छौं। यो परम्परादेखि चल्दै आएको छ। रावण नै तिम्रो सबै भन्दा ठुलो दुस्मन हो। जानेका छौ– रावण दुस्मन हो, त्यसैले उसलाई हर वर्ष जलाउँछन्। मैसुरमा त विजयादशमी धेरै मनाउँछन्, तर केही पनि बुझ्दैनन्। तिम्रो नाम हो शिवशक्ति सेना। उनीहरूले फेरि नाम बाँदर सेना राखेका छन्। तिमीलाई थाहा छ– अवश्य हामी बाँदर जस्तै थियौं, अहिले शिव बाबासँग शक्ति लिइरहेका छौं, रावण माथि विजय प्राप्त गर्न। बाबाले नै आएर राजयोग सिकाउनु हुन्छ। यसमा अनेक कथाहरू पनि बनाएका छन्। अमर कथा पनि भनिन्छ। तिमीलाई थाहा छ– बाबाले हामीलाई अमर कथा सुनाउनु हुन्छ। तर कुनै पहाड आदिमा सुनाउनुहुन्न। भन्छन्– शङ्करले पार्वतीलाई अमरकथा सुनाए। शिव शङ्करका चित्र पनि राख्छन्। दुवैलाई मिसाइदिएका छन्। यो सबै हो भक्तिमार्ग। दिनप्रतिदिन सबै तमोप्रधान हुँदै गएका छन्। सतोप्रधानबाट सतो भएपछि दुई कला कम हुन्छन्। त्रेतालाई पनि वास्तवमा स्वर्ग भनिँदैन। बाबा आउनु हुन्छ तिमी बच्चाहरूलाई स्वर्गवासी बनाउन। बाबालाई थाहा छ– ब्राह्मण कुल र सूर्यवंशी-चन्द्रवंशी कुल दुवै स्थापना भइरहेका छन्। रामचन्द्रलाई क्षत्रियको निसानी दिइएको छ। तिमीहरू सबै क्षत्रिय हौ नि, तिमीहरूले माया माथि विजय प्राप्त गर्छौ। थोरै नम्बरबाट पास हुनेलाई चन्द्रवंशी भनिन्छ, त्यसैले रामलाई बाण आदि देखाइएको छ। हिँसा त त्रेतामा पनि हुँदैन। गायन पनि छ– राम राजा, राम प्रजा... तर यो क्षत्रियपनको निसानी दिइएको छ। त्यसैले मनुष्य अलमलमा पर्छन्। यी हतियार आदि हुँदैनन्। शक्तिहरूको लागि पनि अस्त्र-शस्त्र आदि देखाउँछन्। तर केही पनि बुझ्दैनन्। तिमी बच्चाहरूले अहिले बुझिसकेको छौ– बाबा ज्ञानको सागर, हुनुहुन्छ। त्यसैले बाबाले नै आदि, मध्य, अन्त्यको रहस्य सम्झाउनु हुन्छ। बेहदका बाबाको बच्चाहरूमा जुन प्रेम छ, त्यो हदको पिताको हुन सक्दैन। २१ जन्मको लागि बच्चाहरूलाई सुखी बनाइदिनुहुन्छ। त्यसैले बाबा प्रिय हुनुहुन्छ नि! बाबा कति प्रिय हुनुहुन्छ, उहाँले तिम्रा सबै दु:ख हटाइदिनुहुन्छ। जसबाट सुखको वर्सा मिल्छ। त्यहाँ दु:खको नामनिसान हुँदैन। अब यो बुद्धिमा रहनु पर्छ। यो भुल्नु हुँदैन। कति सहज छ, केवल मुरली पढेर सुनाउनु छ, फेरि पनि भन्छन्– ब्राह्मणी चाहिन्छ। ब्राह्मणी विना धारणा हुँदैन। अरे, सत्य-नारायणको कथा त साना बच्चाहरूले पनि याद गरेर सुनाउँछन्। मैले तिमीलाई दिनदिनै सम्झाउँछु– केवल बाबालाई याद गर। यो ज्ञान त ७ दिनमा नै बुद्धिमा बस्नुपर्छ। तर तिमी बच्चाहरूले भुल्छौ, बाबाले त आश्चर्य मान्नुहुन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) बाबासँग आशीर्वाद वा कृपा माग्नु छैन। बाबा, शिक्षक, गुरुलाई याद गरेर आफूमाथि आफैले कृपा गर्नु छ। मायासँग सावधान रहनु छ। आँखाले धोका दिन्छ, त्यसैले यसलाई आफ्नो नियन्त्रणमा राख्नुपर्छ।

२) फाल्तु परचिन्तनका कुराले धेरै नोक्सान पार्छ त्यसैले जति हुन सक्छ शान्त रहनु छ, मौनमा रहनु छ। कहिल्यै पनि उल्टोसुल्टो बोल्नु हुँदैन। न स्वयं अशान्त हुनु छ, न कसैलाई अशान्त पार्नु छ।

वरदान:–
बाबाको मदतबाट सूलीलाई पनि काँडा बनाउने सदा निश्चिन्त र ट्रष्टी भव

पहिलाको हिसाब सूली (कडा सजाय) भए पनि बाबाको मदतबाट त्यो काँडा बन्न पुग्छ। परिस्थितिहरू अवश्य आउँछन् किनकि सबै कुरा यहाँ नै चुक्ता गर्नु छ तर बाबाको मदतले ती सामान्य बन्न पुग्छन्, ठुलो कुरालाई सानो कुरा बनाइदिन्छ, किनकि ठुलो बाबा साथमा हुनुहुन्छ। यही निश्चयको आधारमा सदा निश्चिन्त रहने गर अनि ट्रष्टी (निमित्त) बन, मेरोलाई तेरोमा परिवर्तन गरेर हल्का बन अनि सबै बोझ एक सेकेन्डमा समाप्त हुन्छ।

स्लोगन:–
शुभभावनाको भण्डारद्वारा निगेटिभलाई पोजिटिभमा परिवर्तन गर।