23.02.25 Avyakt Bapdada Nepali Murli 17.02.2004 Om Shanti Madhuban
“ सबैलाई सहयोग गर र
सहयोगी बनाऊ , सदा अखण्ड भण्डार चलिरहोस्”
आज बापदादा स्वयं
आफ्नो साथमा बच्चाहरूको हीरातुल्य जन्मदिन शिवजयन्ती मनाउन आउनुभएको छ। तिमीहरू सबै
बच्चाहरू आफ्नो पारलौकिक, अलौकिक बाबाको बर्थ डे मनाउन आएका छौ, बाबा फेरि तिम्रो
बर्थ डे मनाउन आउनुभएको छ। बाबा बच्चाहरूको भाग्य देखेर हर्षित हुनुहुन्छ, वाह मेरा
श्रेष्ठ भाग्यवान् बच्चाहरू वाह! जो बाबाको साथसाथै अवतरित भएका छौ विश्वको
अन्धकारलाई मेटाउनका लागि। सारा कल्पमा यस्तो बर्थ डे कसैको पनि हुनसक्दैन, जुन तिमी
बच्चाहरूले परमात्म बाबाको साथमा मनाइरहेका छौ। यो अलौकिक अति न्यारा, अति प्यारा
जन्मदिनलाई भक्त आत्माहरूले पनि मनाउँछन् तर तिमी बच्चाहरूले मिलन मनाउँछौ र भक्त
आत्माहरूले केवल महिमा गाइरहन्छन्। महिमा पनि गाउँछन्, पुकार्छन् पनि, बापदादा
भक्तहरूको महिमा र पुकार सुनेर उनीहरूलाई पनि नम्बरवार भावनाको फल दिनुहुन्छ नै। तर
भक्त र बच्चा दुवैमा महान् अन्तर छ। तिमीले गरेको श्रेष्ठ कर्म, श्रेष्ठ भाग्यको
यादगार धेरै राम्रो मनाउँछन्, त्यसैले बापदादा भक्तहरूको भक्ति लीला देखेर
उनीहरूलाई पनि बधाई दिनुहुन्छ किनकि यादगार सबै राम्रोसँग कपी गरेका छन्। उनीहरू पनि
यसै दिन व्रत बस्छन्, उनीहरू व्रत बस्छन् थोरै समयको लागि, अल्पकालको खानपान र
शुद्धिको लागि। तिमीले व्रत लिन्छौ सम्पूर्ण पवित्रताको, जसमा आहार-व्यवहार, वचन,
कर्म, पुरै जन्मको लागि व्रत लिन्छौ। जबसम्म सङ्गमको जीवनमा जिउनुछ तबसम्म
मन-वचन-कर्ममा पवित्र बन्नु नै छ। न केवल बन्नुछ तर बनाउनु पनि छ। हेर भक्तहरूको
बुद्धि पनि कम छैन, यादगारको कपी धेरै राम्रो गरेका छन्। तिमीहरूले सबै व्यर्थलाई
समर्पण गरेर समर्थ बनेका छौ अर्थात् आफ्नो अपवित्र जीवनलाई समर्पण गर्यौ, तिम्रो
समर्पणताको यादगार उनीहरूले बलि चढाउँछन् तर स्वयंलाई बलि चढाउँदैनन्, बोकालाई बलि
चढाउँछन्। हेर कति राम्रो कपी गरेका छन्, बोकालाई किन बलि चढाउँछन्? यसको पनि कपी
धेरै सुन्दर गरेका छन्, बोकाले के गर्छ? म्याँ-म्याँ-म्याँ गर्छ नि! अनि तिमीले के
समर्पण गर्यौ? म, म, म। देहभानको मैपन, किनकि यो मैपनमा नै देह अभिमान आउँछ, जुन
देह अभिमान सबै विकारहरूको बीज हो।
बापदादाले पहिले पनि
सुनाउनुभएको छ– सर्व समर्पित हुनुमा यो देह भानको मैपनले नै अवरोध गर्छ। कमन मैपन,
म देह हुँ, वा देहको सम्बन्धको मैपन, देहको पदार्थहरूको समर्पण यो त सहज छ। यो त
गरिसकेका छौ नि? कि छैन, यो पनि भएको छैन! जति अगाडि बढ्छौ त्यति मैपन पनि अति
सूक्ष्म मसिनो हुँदै जान्छ। यो मोटो मैपन त खतम हुन सहज छ। तर मसिनो मैपन हो– जो
परमात्म जन्मसिद्ध अधिकारद्वारा विशेषताहरू प्राप्त हुन्छन्, बुद्धिको वरदान,
ज्ञानस्वरूप बन्ने वरदान, सेवाको वरदान वा विशेषताहरू, वा प्रभु देन भन, त्यसको यदि
मैपन आयो भने यसलाई भनिन्छ मसिनो मैपन। मैले जे गर्छु, मैले जे भन्छु त्यही ठीक छ,
त्यही हुनुपर्छ, यो रोयल मैपन उड्ती कलामा जानको लागि बोझ बनिदिन्छ। त्यसैले बाबा
भन्नुहुन्छ– यो मैपनको पनि समर्पण, प्रभु देनमा मैपन हुँदैन, न म न मेरो। प्रभु देन,
प्रभु वरदान, प्रभु विशेषता हो। तिमीहरू सबैको समर्पणता कति मसिनो छ, चेक गरेका छौ?
साधारण मैपन वा रोयल मैपन दुवै समर्पण गरेका छौ? समर्पण गरेका छौ वा गरिरहेका छौ?
गर्नु त पर्छ नै। तिमीहरूले आपसमा ठट्टामा भन्छौ नि, मर्नु त पर्छ नै। तर यो मर्नु
भगवानको काखमा जिउनु हो। यो मर्नु, मर्नु होइन। २१ जन्म देव आत्माहरूको काखमा
जन्मिनु हो, त्यसैले खुसी खुसीले समर्पित हुन्छौ नि! चिच्याएर त हुँदैनौ? हुँदैनौ।
भक्तिमा पनि चिच्याएको बलि स्वीकार हुँदैन। त्यसैले जो खुसीले समर्पित हुन्छन्, हदको
म र मेरोमा, उनीहरू जन्म जन्मको लागि उत्तराधिकारी बन्छन्।
अब चेक गर्नु– कुनै
पनि व्यर्थ सङ्कल्प, व्यर्थ बोली, व्यर्थ चालचलन परिवर्तन गर्नमा खुसीले परिवर्तन
गर्छौ वा मजबुरीले?
प्रेममा परिवर्तन
हुन्छौ वा मेहनतले परिवर्तन हुन्छौ? तिमीहरू सबै बच्चाहरूले जन्म लिनेबित्तिकै आफ्नो
जीवनको अकुपेसन यही बनाएका छौ– विश्व परिवर्तन गर्ने, विश्व परिवर्तक। यो तिमीहरू
सबैको, ब्राह्मण जन्मको कर्तव्य हो नि! छ पक्का? त्यसोभए हात हल्लाऊ। झण्डा
हल्लाइरहेका छन्, धेरै राम्रो। (सबैको हातमा शिवबाबाका झण्डाहरू छन् जो सबैले
हल्लाइरहेका छन्) आज झण्डाहरूको दिन हो नि, धेरै राम्रो। तर यत्तिकै झण्डा हल्लाउनु
छैन। यसरी झण्डा हल्लाउन त धेरै सहज छ, मनलाई हल्लाउनु छ। मनलाई परिवर्तन गर्नु छ।
हिम्मतवान् हौ नि। हिम्मत छ? धेरै हिम्मत छ, राम्रो।
बापदादाले एउटा खुसीको
खबर देख्नुभयो, कुन, थाहा छ? बापदादाले यस वर्षको लागि विशेष गिफ्ट दिनुभएको थियो–
“यस वर्ष यदि अलिकति पनि हिम्मत राख्यौ, कुनै पनि कार्यमा, चाहे स्व-परिवर्तनमा,
चाहे कार्यमा, चाहे विश्व सेवामा, यदि हिम्मतले गर्यौ भने यस वर्षलाई वरदान मिलेको
छ एक्स्ट्रा मद्दत मिल्ने।” बापदादाले खुसीको खबर वा नजारा के देख्नुभयो! यस पटकको
शिवजयन्तीको सेवामा चारैतिर धेरै-धेरै-धेरै राम्रो हिम्मत र उमङ्ग-उत्साहले अगाडि
बढिरहेका छन्। (सबैले ताली बजाए) हो ताली बजाए पनि हुन्छ। सदा यसरी ताली बजाइरहने
वा शिवरात्रिमा मात्र? सदा बजाइरहनु। राम्रो। चारैतिरबाट त मधुबनमा समाचार लेख्छन्
र बापदादाले त वतनमा नै देख्नुहुन्छ। उमङ्ग राम्रो छ र प्लान पनि राम्रो बनाएका छन्।
यसरी नै सेवामा उमङ्ग र उत्साहले विश्वका आत्माहरूमा उमङ्ग-उत्साह बढाउनेछ। हेर
निमित्त दादीको कलमले कमाल त गरेको छ नि! रिजल्ट राम्रो छ। त्यसैले बापदादा अहिले
एक-एक सेन्टरको नाम त लिनुहुन्न तर विशेष सबैतिरको सेवाको रिजल्टको, बापदादा हरेक
सेवाधारी बच्चाको विशेषता र नाम लिएर पदमद्मगुणा बधाई दिनुहुन्छ। देख्नु पनि भएको
छ, बच्चाहरू आ-आफ्नो स्थानमा देखेर खुसी भइरहेका छन्। विदेशमा पनि खुसी भइरहेका छन्
किनकि तिमीहरू सबै त विश्वका आत्माहरूको लागि तिनै इष्ट देवी र देवता हौ नि। बापदादा
जब बच्चाहरूको सभालाई हेर्नुहुन्छ तब तीन रूपबाट हेर्नुहुन्छ:–
१- वर्तमान स्वराज्य
अधिकारी, अहिले पनि राजा हौ। लौकिकमा पनि पिताले बच्चाहरूलाई भन्छन्– मेरा राजा
बच्चाहरू, राजा बच्चा। चाहे गरिब नै किन नहुन् तर पनि भन्छन् राजा बच्चा। तर बाबा
वर्तमान सङ्गममा पनि हरेक बच्चालाई स्वराज्य अधिकारी राजा बच्चा देख्नुहुन्छ। राजा
हौ नि! स्वराज्य अधिकारी। वर्तमान स्वराज्य अधिकारी। २- भविष्यमा विश्व राज्य
अधिकारी र ३- द्वापरदेखि कलियुगको अन्त्यसम्म पूज्य, पूजनको अधिकारी– बापदादाले
बच्चालाई यी तीनै रूपमा हरेक देख्नुहुन्छ। साधारण देख्नुहुन्न। तिमी जस्तो भए पनि
बापदादाले हरेक बच्चालाई स्वराज्य अधिकारी राजा बच्चा देख्नुहुन्छ। राजयोगी हौ नि!
यसमा कोही प्रजा योगी छौ र? प्रजा योगी छौ? छैनौ। सबै राजयोगी हौ। त्यसोभए राजयोगी
अर्थात् राजा। यस्ता स्वराज्य अधिकारी बच्चाहरूको बर्थ डे मनाउन स्वयं बाबा आउनुभएको
छ। हेर, तिमी डबल विदेशी त विदेशबाट आएका छौ, बर्थ डे मनाउन। हात उठाऊ डबल विदेशीहरू।
सबैभन्दा धेरै टाढाको देश कुन छ? अमेरिका वा त्योभन्दा पनि टाढा छ? अनि बापदादा
कहाँबाट आउनुभएको छ? बापदादा त परमधामबाट आउनुभएको छ। बच्चाहरूसँग स्नेह छ नि!
जन्मदिन कति श्रेष्ठ छ, जसमा भगवानलाई पनि आउनुपर्छ। हो, यो (सबै भाषाहरूको बर्थ
डेको एउटा ब्यानर बनाइएको छ, त्यो देखाइरहेका छन् ) राम्रो बनाएका छौ, सबै भाषाहरूमा
लेखिएको छ। बापदादा सबै देशका सबै भाषा भएका बच्चाहरूलाई बर्थ डेको बधाई दिनुहुन्छ।
हेर, बाबाको शिवजयन्ती
मनाउँछन् तर बाबा के हुनुहुन्छ? बिन्दु। बिन्दुको जयन्ती, अवतरण मनाइरहेका छन्।
सबैभन्दा हीरातुल्य जयन्ती कसको हो? बिन्दुको, बिन्दीको। बिन्दुको कति महिमा छ!
त्यसैले बापदादा सदा भन्नुहुन्छ– तीन बिन्दु सदा याद राख– आठ नम्बर, सात नम्बर त
फेरि पनि गडबड गरेर लेख्नुपर्छ तर बिन्दु कति सजिलो छ। तीन बिन्दु– सदा याद राख।
तीनै बिन्दुलाई राम्रोसँग चिन्छौ नि। तिमी पनि बिन्दु, बाबा पनि बिन्दु, बिन्दुको
बच्चा बिन्दु हौ। अनि जब कर्ममा आउँछौ तब यो सृष्टि मञ्चमा कर्म गर्नको लागि आएका
छौ, यो सृष्टि मञ्च ड्रामा हो। ड्रामामा जे पनि कर्म गर्यौ, बित्यो, त्यसलाई
फुलस्टप लगाऊ। त्यसैले फुलस्टप पनि के हो? बिन्दु। यसरी सदा तीन बिन्दु याद राख।
सारा कमाल हेर, आजकालको दुनियाँमा सबैभन्दा ज्यादा महत्त्व केको छ? पैसाको। पैसाको
महत्त्व छ नि! आमा-बुवा पनि केही होइनन्, पैसा नै सबथोक हो। त्यसमा पनि हेर यदि एकको
अगाडि, एक बिन्दु लगाइदियो भने के बन्नपुग्छ! दस बन्छ नि। दोस्रो बिन्दु लगाऊ, १००
बन्छ। तेस्रो लगाऊ १००० बन्छ, त्यसैले बिन्दुको कमाल छ नि। पैसामा पनि बिन्दुको
कमाल छ र श्रेष्ठ आत्मा बन्नमा पनि बिन्दुको कमाल छ। अनि करनकरावनहार पनि बिन्दु
हुनुहुन्छ। यसरी सबैतिर केको महत्त्व भयो! बिन्दुको। बस्, बिन्दु याद राख। विस्तारमा
नजाऊ, बिन्दु त याद गर्न सक्छौ। बिन्दु बन, बिन्दुलाई याद गर र बिन्दु लगाऊ, बस्।
यो हो पुरुषार्थ। मेहनत छ? वा सहज छ? जसले सहज छ भन्ने सम्झन्छौ, उनीहरूले हात उठाऊ।
सहज छ भने बिन्दु लगाउनुपर्छ। कुनै समस्या आयो बिन्दु लगाउँछौ वा (प्रश्न चिन्ह)
क्वेस्चन मार्क? क्वेस्चन मार्क लगाउनु छैन, बिन्दु लगाउनुपर्छ। क्वेस्चन मार्क कति
टेढो हुन्छ। हेर, लेख क्वेस्चन मार्क, कति टेढो छ र बिन्दु कति सहज छ। त्यसोभए
बिन्दु बन्न आउँछ? आउँछ? सबै होसियार छन्।
बापदादाले विशेष
सेवाको उमङ्ग-उत्साहको बधाई त दिनुभयो, धेरै राम्रो गरिरहेका छौ, गरिरहनेछौ तर
अगाडिको लागि हर समय, हर दिन– वर्ल्ड सर्भेन्ट (विश्व सेवाधारी) हुँ, यो याद राख्नु।
तिमीलाई याद छ– ब्रह्माबाबाले के साइन गर्नुहुन्थ्यो? वर्ल्ड सर्भेन्ट। वर्ल्ड
सर्भेन्ट हौ, केवल शिवरात्रिको सेवाबाट वर्ल्डको सेवा समाप्त हुँदैन। लक्ष्य राख– म
वर्ल्ड सर्भेन्ट हुँ, वर्ल्डको सेवा हर श्वासमा, हर सेकेन्डमा गर्नुपर्छ। जोसुकै आए
पनि , जोसँग पनि सम्पर्क हुन्छ, उसलाई दाता बनेर केही न केही दिनु नै छ। खाली हात
कोही नजाओस्। अखण्ड भण्डार हर समय खुला रहोस्। कमसेकम हरेक प्रति शुभभाव र शुभभावना,
यो अवश्य देऊ। शुभभावले हेर, सुन, सम्बन्धमा आऊ र शुभभावनाले त्यो आत्मालाई सहयोग
गर। अहिले सबै आत्माहरूलाई तिम्रो सहयोगको धेरै धेरै आवश्यकता छ। त्यसैले सहयोग गर
र सहयोगी बनाऊ। कुनै न कुनै सहयोग चाहे मनसाको, चाहे बोलीबाट कुनै सहयोग देऊ, चाहे
सम्बन्ध-सम्पर्कबाट सहयोग देऊ। यो शिवरात्रि जन्म उत्सवको विशेष स्लोगन याद राख–
“सहयोग गर र सहयोगी बनाऊ”। कमसेकम जो पनि सम्पर्क-सम्बन्धमा आउँछ उसलाई सहयोग गर,
सहयोगी बनाऊ। कोही न कोही त सम्बन्धमा आउँछ नै, उसलाई अरू कुनै खातिरी नगरे पनि
हरेकलाई दिलखुश (मनखुसी हुने वा खुसी) मिठाई अवश्य खुवाऊ। यो जुन यहाँ भण्डारमा
बन्छ त्यो होइन। दिलखुश गरिदेऊ। दिलखुश गर्नु अर्थात् दिलखुश मिठाई खुवाउनु।
खुवाउनेछौ! त्यसमा त कुनै मेहनत छैन। न टाइम एक्स्ट्रा दिनु छ, न मेहनत छ।
शुभभावनाले दिलखुश मिठाई खुवाऊ। तिमी पनि खुसी, ऊ पनि खुसी अरू के चाहियो! खुसी
रहनेछौ र खुसी दिनेछौ, कहिल्यै पनि तिमीहरू सबैको अनुहार ज्यादा गम्भीर हुनुहुँदैन।
टु मच गम्भीर पनि राम्रो लाग्दैन। मुस्कान त हुनुपर्छ नि। गम्भीर बन्नु राम्रो हो,
तर टु मच गम्भीर हुन्छौ नि, ऊ यस्तो हुन्छ मानौँ थाहा छैन कहाँ गायब छ। हेरिरहेका
पनि हुन्छन् तर गायब। बोलिरहेका पनि हुन्छन् तर गायब रूपमा बोलिरहेका हुन्छन्। त्यो
अनुहार राम्रो लाग्दैन। अनुहार सदा मुस्कुराइरहेको हुनुपर्छ। अनुहार सिरियस
बनाउनुहुँदैन। के गरौँ, कसरी गरौँ भनेर सिरियस हुन्छौ। धेरै मेहनत छ, धेरै काम छ...
सिरियस हुन्छौ तर जति धेरै काम त्यति नै ज्यादा मुस्कुराउनु। मुस्कुराउन आउँछ नि?
आउँछ? तिम्रो जड चित्र हेर कहिल्यै यस्तो सिरियस देखाउँछन् र! यदि सिरियस देखाए भने
भन्छन् आर्टिस्ट ठीक छैन। त्यस्तै यदि तिमी पनि सिरियस रहन्छौ भने भन्नेछन् यसलाई
जिउने आर्ट आउँदैन। त्यसैले के गर्नेछौ? टिचरहरूले के गर्नेछौ? धेरै टिचरहरू छन्,
टिचरहरूलाई बधाई छ। सेवाको बधाई छ। अच्छा।
एक सेकेन्डमा आफ्नो
पूर्वज र पूज्य स्वरूप इमर्ज गर्नसक्छौ? त्यही देवी र देवताहरूको स्वरूपको स्मृतिमा
आफूलाई देख्नसक्छौ? कुनै पनि देवी वा देवता। म पूर्वज हुँ, सङ्गमयुगमा पूर्वज छन् र
द्वापरदेखि पूज्य हुन्छन्। सत्ययुग, त्रेतामा राज्य अधिकारी हुन्छन्। अब एक
सेकेन्डमा सबै सङ्कल्प समाप्त गरेर आफ्नो पूर्वज र पूज्य स्वरूपमा स्थित होऊ। अच्छा!
चारैतिरका अलौकिक
दिव्य अवतरण भएका बच्चाहरूलाई बाबाको जन्मदिन र बच्चाहरूको जन्मदिनको आशीर्वाद एवं
यादप्यार, दिलाराम बाबाको दिलमा राइट ह्यान्ड सेवाधारी बच्चाहरू सदा समाहित छन्।
त्यसैले यस्ता दिल तख्तनसिन श्रेष्ठ आत्माहरूलाई, सदा बिन्दुको महत्त्वलाई जान्ने
श्रेष्ठ बिन्दु स्वरूप बच्चाहरूलाई, सदा आफ्नो स्वमानमा स्थित रहेर सबैलाई रूहानी
सम्मान दिने स्वमानधारी आत्माहरूलाई, सदा दाताका बच्चा मास्टर दाता बनेर हरेकलाई
आफ्नो अखण्ड भण्डारबाट केही न केही दिने मास्टर दाता बच्चाहरूलाई बापदादाको धेरै
धेरै पदमगुणा, कोहिनुर हीराभन्दा पनि ज्यादा प्रभु नुर बच्चाहरूलाई यादप्यार एवं
नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
वरदान:–
हर शक्तिलाई
अर्डर प्रमाण चलाउने मास्टर रचयिता भव
कर्म सुरु गर्नुभन्दा
पहिले जस्तो कर्म त्यस्तै शक्तिको आह्वान गर। मालिक बनेर अर्डर गर किनकि यी
सर्वशक्तिहरू तिम्रा भुजासमान हुन्, तिम्रा भुजाहरूले तिम्रो अर्डर बिना केही गर्न
सक्दैनन्। अर्डर गर सहन शक्ति, कार्य सफल गरेपछि हेर सफलता मिलिहाल्छ। तर अर्डर
गर्नुको सट्टा डराउँछौ– गर्न सक्छु वा गर्न सक्दिन। यस प्रकारको डर छ भने अर्डर
चल्नसक्दैन त्यसैले मास्टर रचयिता बनेर हर शक्तिलाई अर्डर प्रमाण चलाउनको लागि
निर्भय बन।
स्लोगन:–
सहारादाता
बाबालाई प्रत्यक्ष गरेर सबैलाई किनारा लगाऊ।