23.07.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– तिमी समयमा आफ्नो घर फर्केर जानु छ , त्यसैले यादको वेगलाई बढाऊ , यस दु:खधामलाई भुलेर शान्तिधाम र सुखधामलाई याद गर।”

प्रश्न:–
कुनचाहिँ एउटा गहन रहस्य तिमीले मनुष्यहरूलाई सुनायौ भने उनीहरूको बुद्धिमा हलचल मच्चिन्छ?

उत्तर:–
उनीहरूलाई गहन रहस्य सुनाऊ– आत्मा यति सानो बिन्दु छ, त्यसमा सदाको लागि पार्ट भरिएको छ, जुन पार्ट आत्माले खेलिरहन्छ। कहिल्यै थाक्दैन। मोक्ष कसैलाई मिल्न सक्दैन। मनुष्यहरूले धेरै दु:खलाई देखेर भन्छन्– मोक्ष मिले राम्रो हुन्थ्यो, तर अविनाशी आत्मा पार्ट नखेली रहन सक्दैन। यो कुरा सुनेर उनीहरू भित्र हलचल मच्चिन्छ।

ओम् शान्ति ।
मीठा-प्यारा रुहानी बच्चाहरूलाई बाबा सम्झाउनु हुन्छ, यहाँ त छन् रुहानी बच्चाहरू। बाबा दिनहुँ सम्झाउनु हुन्छ– वास्तवमा यस दुनियाँमा गरिबहरूलाई कति दु:ख छ, अहिले बाढी आदि आउँदा गरिबहरूलाई कति दु:ख हुन्छ, उनीहरूको सामान आदिको के हालत हुन्छ। दु:ख त हुन्छ नि! अपार दु:ख छ। धनीहरूलाई सुख छ तर त्यो पनि अल्पकालको लागि। धनी व्यक्तिहरू पनि बिरामी हुन्छन्, मृत्यु पनि धेरै हुन्छ– आज फलानो मर्यो, आज यो भयो। आज राष्ट्रपति छ, भोलि गद्दी छोड्नुपर्छ। घेरेर उनलाई निकालिदिन्छन्। यो पनि दु:ख भयो। बाबाले भन्नुभएको छ– दु:खको पनि लिस्ट निकाल। यस दु:खधाममा कुन कुन प्रकारका दु:ख छन्। तिमी बच्चाहरूले सुखधामलाई पनि जानेका छौ, दुनियाँले केही पनि जानेका छैनन्। दु:खधाम र सुखधामको तुलना उनीहरूले गर्न सक्दैनन्। बाबा भन्नुहुन्छ– तिमीहरूले सबै कुरा जानेका छौ। मान्छन्– वास्तवमा यिनीहरूले सत्य बोल्छन्। यहाँ जसका ठुला ठुला भवन छन्, एरोप्लेन छन्, उनीहरूले सम्झन्छन्– कलियुग अझै ४० हजार वर्ष चल्छ। त्यसपछि सत्ययुग आउने छ। घोर अन्धकारमा छन् नि। अब उनीहरूलाई नजिक ल्याउनु छ। थोरै समय बाँकी छ। कहाँ उनीहरूले लाखौं वर्ष भन्छन्, कहाँ तिमीले ५ हजार वर्ष सिद्ध गरेर बताउँछौ। यो ५ हजार वर्षपछि चक्र दोहोरिन्छ। ड्रामा कुनै लाखौ वर्षको कहाँ हुन्छ र! तिमीले बुझिसकेका छौ– जे हुन्छ त्यो ५ हजार वर्षमा नै हुन्छ। त्यसैले यहाँ दु:खधाममा बिमारी आदि सबै हुन्छ। तिमीले त मुख्य थोरै कुरा लेख। स्वर्गमा दु:खको नामनिसान हुँदैन। अहिले बाबाले सम्झाउनु हुन्छ– मृत्यु सामुन्ने खडा छ, यो त्यही गीता अध्याय (एपिसोड) चलिरहेको छ। अवश्य पनि सङ्गममा नै सत्ययुगको स्थापना हुन्छ। बाबा भन्नुहुन्छ– मैले तिमीलाई राजाहरूको पनि राजा बनाउँछु। अवश्य पनि सत्ययुगको राजा नै बनाउनु हुन्छ नि। बाबाले राम्रोसँग सम्झाउनु हुन्छ।

अब हामी जान्छौं सुखधाम। बाबाले लिएर जानुपर्छ। जसले निरन्तर याद गर्छ उसले नै उच्च पद पाउने छ, त्यसको लागि बाबाले युक्तिहरू बताइरहनुहुन्छ। यादको वेगलाई बढाऊ। कुम्भको मेलामा पनि समयमा जानुपर्छ। तिमी पनि समयमा नै जानु छ। यस्तो होइन– छिटो छिटो गएर पुगिहाल्छौं। यो छिटो छिटो गर्नु आफ्नो हातमा हुँदैन। यो त ड्रामामा निश्चित हुन्छ । महिमा सारा ड्रामाको छ। यहाँ कति दु:ख दिने जीवजन्तु आदि छन्। सत्ययुगमा यी हुँदैनन्। मनमा विचार गर्नुपर्छ– त्यहाँ यो यो होला। सत्ययुग त याद आउँछ नि। सत्ययुगको स्थापना बाबाले गर्नुहुन्छ। पछि गएर सारा ज्ञानको सार बुद्धिमा आउने छ। जसरी बीज कति सानो, वृक्ष कति ठुलो हुन्छ। त्यो त हो जड चीज, यो हो चैतन्य। यसको बारेमा कसैलाई थाहा छैन, कल्पको अवधि लम्बाचौडा बनाइदिएका छन्। यहाँ नै धेरै सुख हुन्छ भने दु:ख पनि यहाँ नै हुन्छ। बिमारी आदि पनि यहाँ नै धेरै हुन्छन्। यहाँ लामखुट्टे सरह मनुष्यहरू मर्छन् किनकि आयु छोटो छ। यहाँका सफाई गर्नेहरू र बेलायतका सफाई गर्नेहरूमा कति फरक छ। बेलायतबाट सारा आविष्कार यहाँ आउँछ। सत्ययुगको नाम नै स्वर्ग हो। त्यहाँ सबै सतोप्रधान हुन्छ। तिमीलाई सबै साक्षात्कार हुन्छ। यो हो सङ्गमयुग, बाबा बसेर सम्झाउनु हुन्छ, सम्झाइरहनु हुन्छ, नयाँ-नयाँ कुरा सुनाइरहनु हुन्छ। बाबा भन्नुहुन्छ– दिनप्रतिदिन गुह्य कुरा सुनाउँछु। बाबा यस्तो बिन्दु हुनुहुन्छ, उहाँमा सदाको सारा पार्ट भरिएको छ, यो कुरा पहिला कहाँ थाहा थियो र! तिमीले पार्ट खेल्दै आएका छौ, यो तिमीले कसैलाई बतायौ भने बुद्धिमा कति हलचल हुन्छ– यिनीहरूले के भन्छन्, यति सानो बिन्दुमा सारा पार्ट भरिएको छ, जुन खेलिरहन्छ, कहिल्यै थाक्दैन! कसैलाई पनि थाहा छैन। अहिले तिमी बच्चाहरूले बुझेका छौ– आधाकल्प हुन्छ सुख, आधाकल्प हुन्छ दु:ख। धेरै दु:ख देखेपछि नै मनुष्यहरूले भन्छन्– यस भन्दा त मोक्ष पाए हुन्थ्यो। जब तिमी सुखमा, शान्तिमा हुन्छौ तब कहाँ यस्तो भन्छौ र। यो सारा ज्ञान अहिले तिम्रो बुद्धिमा छ। जसरी बाबा बीज भएको कारणले उहाँमा सारा वृक्षको ज्ञान छ। वृक्षको नमुना रूप देखाइएको छ। ठुलो कहाँ देखाउन सकिन्छ र। बुद्धिमा सारा ज्ञान आइहाल्छ। त्यसैले तिमी बच्चाहरूको कति विशाल बुद्धि हुनुपर्छ। कति सम्झाउनु पर्छ, फलाना फलाना यति समयपछि फेरि पार्ट खेल्न आउँछन्, यो कति ठुलो विशाल ड्रामा हो। यो सारा ड्रामालाई त कहिल्यै कसैले देख्न पनि सक्दैन। असम्भव छ। दिव्य दृष्टिबाट त राम्रो कुरा देखिन्छ। गणेश, हनुमान् यी सबै हुन् भक्तिमार्गका। तर मनुष्यहरूको भावना बसेको हुन्छ त्यसैले छोड्न सक्दैनन्। अब तिमी बच्चाहरूले पुरुषार्थ गर्नु छ, कल्प पहिलाको जस्तै पद पाउनको लागि पढ्नु छ। तिमीलाई थाहा छ– पुनर्जन्म त हरेकले लिनु नै छ। सिँढी कसरी उत्रेका छौ, यो त बच्चाहरूले जानिसकेका छौ। जसले स्वयं जानेका छन् उनीहरूले अरूलाई पनि सम्झाउन थाल्छन्। कल्प पहिला पनि यस्तै गरेको हुनुपर्छ। यसरी नै म्युजियम बनाएर कल्प पहिला पनि बच्चाहरूलाई सिकाइएको होला। पुरुषार्थ गरिरहन्छन्, गरिरहने छन्। ड्रामामा निश्चित छ। यसरी त धेरै हुन्छन्। गल्ली गल्लीमा घर घरमा यो स्कुल हुने छ। हो केवल धारणा गर्ने कुरा। भन– हाम्रा दुई पिता हुनुहुन्छ, ठुलो को हुनुभयो? उहाँलाई नै पुकारिन्छ– भनिन्छ रहम गर्नुहोस्, कृपा गर्नुहोस्। बाबा भन्नुहुन्छ– माग्नाले केही पनि मिल्दैन। मैले त मार्ग बताइदिएको छु। म आउँछु नै मार्ग बताउन। सारा वृक्ष तिम्रो बुद्धिमा छ।

बाबाले कति मेहनत गरिरहनु हुन्छ। बाँकी धेरै कम समय बचेको छ। मलाई सेवाधारी बच्चाहरू चाहिन्छ। घरघरमा गीता पाठशाला हुनुपर्छ। अरू चित्र आदि नराख, केवल बाहिर लेख। चित्र त यो ब्याज नै काफी छ। पछि गएर यो ब्याज नै तिम्रो काममा आउने छ। इसाराको कुरा हो। थाहा हुन्छ बेहदका बाबाले अवश्य स्वर्ग नै रच्नुहुन्छ। त्यसैले बाबालाई याद गर्यौं भने नै स्वर्गमा जान्छौं। हामी पतित छौं, यादले नै पावन बन्छौं अरू कुनै उपाय छैन, यो त जान्दछौ। स्वर्ग हो पावन दुनियाँ, स्वर्गको मालिक बन्नको लागि पावन अवश्य बन्नुपर्छ। स्वर्गमा जानेले फेरि नर्कमा कसरी गोता खान्छ, त्यसैले भनिन्छ मनमनाभव। बेहदका पितालाई याद गर्यौ भने अन्त मति सो गति हुन्छ। स्वर्गमा जानेहरू विकारमा कहाँ जान्छन् र! भक्तहरू यति विकारमा जाँदैनन्। संन्यासीहरूले पवित्र बन भन्दैनन् किनकि स्वयंले नै विवाह गराउँछन्। उनीहरूले गृहस्थीहरूलाई भन्छन्– महिना महिनामा विकारमा जान सक्छौ। ब्रह्मचारीहरूलाई यसरी भन्दैनन् तिमीहरूले विवाह गर्नु छैन। भन्ने छैनन्। तिम्रो पासमा त गन्धर्वी विवाह गर्छन् फेरि पनि दोस्रो दिन खेल खलास गरिदिन्छन्। मायाले धेरै आकर्षित गर्छ। फेरि पनि पवित्र बन्ने पुरुषार्थ यस समयमा नै हुन्छ, त्यसपछि हुन्छ प्रारब्ध। त्यहाँ त रावण राज्य नै हुँदैन। विकारी ख्याल नै आउँदैन। विकारी रावणले बनाउँछ। निर्विकारी शिवबाबाले बनाउनु हुन्छ, यो पनि याद गर्नु छ। घरघरमा क्लास भयो भने सबै सम्झाउनेवाला बन्छन्। घरघरमा गीता पाठशाला बनाएर घरभेटीलाई सुधार्नु छ। यसरी वृद्धि भइरहन्छ। साधारण र गरिब, उनीहरू मानौँ साथी ठहरिए। ठुलाबडा मानिसहरूलाई सानासाना मानिसहरूको सत्सङ्गमा आउन पनि लाज लाग्छ किनकि जादु छ भनेर सुनेका छन् नि, भाइ-बहिनी बनाउँछन् रे। अरे, यो त राम्रो हो नि। गृहस्थीमा कति झन्झट हुन्छ। फेरि कति दु:खी हुन्छन्। यो हो नै दु:खको दुनियाँ। अपार दु:ख छ फेरि त्यहाँ सुख पनि अपार हुन्छ। तिमीले लिस्ट बनाउने कोसिस गर। २५-३० मुख्य मुख्य दु:खको लिस्ट निकाल।

बेहदका बाबासँग वर्सा पाउनको लागि कति मेहनत गर्नुपर्छ। बाबाले यस रथद्वारा हामीलाई सम्झाउनु हुन्छ, यी दादा पनि विद्यार्थी हुन्। देहधारी सबै विद्यार्थी हुन्। पढाउने शिक्षक विदेही हुनुहुन्छ। तिमीलाई पनि विदेही बनाउनु हुन्छ। त्यसैले बाबा भन्नुहुन्छ– देहको भान छोड्दै जाऊ। यी भवन आदि केही पनि रहने छैनन्। त्यहाँ सबैकुरा नयाँ मिल्नेछ, पछि गएर तिमीलाई धेरै साक्षात्कार हुनेछ। उतातिर अणु बमद्वारा धेरै विनाश हुन्छ, यो त जानेका छौ। यहाँको लागि हुन्छ रगतका नदीहरू, यसमा समय लाग्छ। यहाँको मृत्यु धेरै कष्टकर छ। यो अविनाशी खण्ड हो, नक्सामा यो खण्ड त एक कुना जस्तै देख्छौ। ड्रामा अनुसार यहाँ त्यसको असर नै आउँदैन। यहाँ रगतका नदीहरू बग्ने छन्। अहिले तयारी गरिरहेका छन्। हुन सक्छ पछि गएर यिनलाई बमहरू पनि लोनमा दिन्छन्। तर ती बमहरू जुन फ्याँक्ने बित्तिकै दुनियाँ खतम हुन्छ, त्यस्ता बमहरूलाई कहाँ लोनमा दिन्छन् र! साधारण क्वालिटीका दिन्छन्। कामको चीज कहाँ कसैलाई दिइन्छ र! विनाश त कल्प पहिला जस्तै हुनु नै छ। नयाँ कुरा होइन। अनेक धर्मको विनाश, एक धर्मको स्थापना। भारतखण्ड कहिल्यै विनाश हुँदैन। केही त बच्नु नै छ। सबै मरे भने त प्रलय भइहाल्यो नि। दिनप्रतिदिन तिम्रो बुद्धि विशाल हुँदै जान्छ। तिमीले पढाइको धेरै कदर गर्छौ। अहिले त्यति कदर कहाँ छ र त्यसैले त कम पास हुन्छन्। बुद्धिमा आउँदैन, कति सजाय खानु पर्नेछ फेरि आउन पनि ढिला आउने छन्। गिरे भने गरेको कमाइ चट हुन्छ। कालाको कालै रहन्छन्। फेरि उनीहरू उठ्न सक्दैनन्। कति जान्छन्, कति जानेवाला पनि छन्। स्वयंले पनि बुझ्न सक्छन् यस हालतमा शरीर छुट्यो भने हाम्रो के गति होला। समझको कुरा हो नि। बाबा भन्नुहुन्छ– तिमी बच्चाहरू हौ शान्ति स्थापना गर्नेवाला, तिमीहरूमा नै अशान्ति भयो भने पद भ्रष्ट हुन्छ। कसैलाई पनि दु:ख दिनु पर्ने आवश्यकता छैन। बाबाले कति प्यारले सबैलाई बच्चे बच्चे भनेर कुरा गर्नुहुन्छ। बेहदका बाबा हुनुहुन्छ नि। उहाँमा सारा दुनियाँको ज्ञान छ तब त सम्झाउनु हुन्छ। यस दुनियाँमा कति प्रकारका दु:ख छन्। धेरै दु:खका कुरा तिमीले लेख्न सक्छौ। जब तिमीले यो सिद्ध गरेर बताउने छौ तब बुझ्नेछन् यो कुरा त बिल्कुल ठीक हो। यो घोर दु:खलाई त केवल बाबा बाहेक अरू कसैले हटाउन सक्दैन। दु:खको लिस्ट भयो भने केही न केही बुद्धिमा बस्छ। अरूले त सुनेको नसुने जस्तो गर्नेछन्, उनीहरूको लागि नै गायन छ, भेड क्या जाने साज से... बाबा सम्झाउनु हुन्छ– तिमी बच्चाहरूलाई यस्तो फूल समान बन्नु छ। कुनै अशान्ति, गन्दगी हुनु हुँदैन। अशान्ति फैलाउनेहरू देह अभिमानी हुन्, उनीहरूबाट टाढा रहनु छ। छुनु पनि छैन। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) जसरी पढाउनेवाला टिचर विदेही हुनुहुन्छ, उहाँलाई देहको भान छैन, त्यसैगरी विदेही बन्नु छ। शरीरको भानलाई छोड्दै जानु छ। विकारी दृष्टिलाई परिवर्तन गरेर पवित्र दृष्टि बनाउनु छ।

२) आफ्नो बुद्धिलाई विशाल बनाउनु छ। सजायबाट छुट्नको लागि बाबाको र पढाइको कदर राख्नु छ। कहिल्यै पनि दु:ख दिनु छैन। अशान्ति फैलाउनु छैन।

वरदान:–
ब्राह्मण जीवनको नेचुरल नेचरद्वारा पत्थरलाई पानी बनाउने मास्टर प्रेमको सागर भव

जसरी दुनियाँकाले भन्छन्– प्यारले पत्थरलाई पनि पानी बनाइदिन्छ, त्यसैगरी तिमी ब्राह्मणहरूको नेचुरल नेचर (स्वाभाविक स्वभाव) मास्टर प्रेमको सागर हो। तिमीसँग आत्मिक प्यार, परमात्म प्यारको यस्तो शक्ति छ जसबाट भिन्न भिन्न स्वभावलाई परिवर्तन गर्न सक्छौ। जसरी प्यारका सागरले आफ्नो प्यार स्वरूपको अनादि स्वभावद्वारा तिमी बच्चाहरूलाई आफ्नो बनाउनुभयो त्यसैगरी तिमीले पनि मास्टर प्यारका सागर बनेर विश्वका आत्माहरूलाई सच्चा, निःस्वार्थ आत्मिक प्यार दियौ भने उनीहरूको स्वभाव परिवर्तन हुन्छ।

स्लोगन:–
आफ्ना विशेषताहरूलाई स्मृतिमा राखेर त्यसलाई सेवामा लगायौ भने उड्ती कलामा उडिरहनेछौ।