24.06.25    Avyakt Bapdada     Nepali Murli      Om Shanti     Madhuban


गीतः– मेरा छोटा-सा देखो ये संसार है...

यो गीत कुन समयको लागि गाइएको हो किनकि यो सङ्गम समयमा नै हामी ब्राह्मण कुलको यो सानो संसार छ। यो हाम्रो कुनचाहिँ परिवार हो, त्यो नम्बरवार बताउँछु। हामी परमपिता परमात्मा शिवका नातिनातिना हौँ, ब्रह्मा सरस्वतीका मुख सन्तान हौँ र विष्णु शङ्कर हाम्रा काका हुनुहुन्छ र हामी आपसमा सबै भाइ-बहिनी ठहरियौँ। यो हो आफ्नो सानो संसार... यसभन्दा अगाडि अरू सम्बन्ध रचिएको नै छैन, यस समयको यति नै सम्बन्ध भनिन्छ। हेर हाम्रो सम्बन्ध कति ठुलो अथोरिटीसँग छ! हाम्रो ग्रेन्ड पप्पा (हजुरबुबा) हुनुहुन्छ शिव, उहाँको नाम कति महान् छ, उहाँ सारा मनुष्य सृष्टिको बीजरूप हुनुहुन्छ। सर्व आत्माहरूको कल्याणकारी हुनुभएको कारण उहाँलाई भनिन्छ हर हर भोलानाथ शिव महादेव। उहाँ सारा सृष्टिको दुःखहर्ता, सुखकर्ता हुनुहुन्छ, उहाँद्वारा हामीलाई सुख-शान्ति-पवित्रताको विशेष हक मिल्छ, शान्तिमा फेरि कुनै कर्मबन्धनको हिसाबकिताब हुँदैन। तर यी दुवै वस्तु पवित्रताको आधारमा नै प्राप्त हुन्छ। जबसम्म पिताको पालनाको पूर्ण वर्सा लिइँदैन, पिताबाट सर्टिफिकेट मिल्दैन, तबसम्म त्यो वर्सा मिल्न सक्दैन। हेर, ब्रह्मामाथि कति ठुलो जिम्मेवारी छ– म्लेच्छ ५ विकारहरूमा मैलिएका अपवित्र आत्माहरूलाई पवित्र फूल बनाउनुहुन्छ, यो जुन अलौकिक कार्यको इनाम फेरि सत्ययुगको पहिलो नम्बर श्रीकृष्ण पद मिल्छ। अब हेर ती पितासँग तिम्रो कस्तो सम्बन्ध छ! त्यसैले कति बेफिक्र र खुसी हुनुपर्छ। अब हरेकले आफ्नो दिललाई सोध्नुछ– के म पूर्ण रीतिले उहाँले भने जस्तो भइसकेको छु?

सोच्नुपर्छ–परमात्मा बाबा आउनुभएको छ भने उहाँबाट हामीले कम्प्लिट वर्सा लिऔँ। स्टुडेन्टको काम हो सम्पूर्ण पुरुषार्थ गरेर स्कलरसिप (छात्रवृत्ति) लिनु, त्यसैले हामीले पहिलो नम्बरको लटरी (चिट्ठा) किन नजितौँ ! त्यो हो विजय मालामा उनिनु। बाँकी कोही छन् जसले दुबैतिरका लड्डु समातेर बसेका छन्, यहाँको पनि हदको सुख लिऊँ र त्यहाँ पनि वैकुण्ठमा केही न केही सुख लिन्छौँ, यस्ता विचार भएकालाई मध्यम र कनिष्ठ पुरुषार्थी भनिन्छ, न कि सर्वोत्तम पुरुषार्थी। बाबा दिन आनाकानी गर्नुहुन्न भने लिनेले किन आनाकानी गर्छन्? त्यसैले त गुरुनानकले भने– परमात्मा त दाता हुनुहुन्छ, समर्थ हुनुहुन्छ तर आत्माहरूको लिने तागत पनि छैन, उखान छ– देंदा दे, लेंदा थक पावे। (दिनेवालाले दिन्छन् तर लिनेवाला थाक्छन्) तिम्रो दिलमा आउँदो हो– हामीले किन चाहँदैनौँ होला र– हामीले पनि यो पद प्राप्त गरौँ तर हेर, बाबाले कति मेहनत गर्नुहुन्छ, फेरि पनि मायाले कति विघ्न पार्छ, किन? अब मायाको राज्य समाप्त हुन लागेको छ। अहिले मायाले सारा सार निकालिदिएको छ त्यसपछि नै परमात्मा आउनुहुन्छ। उहाँमा सबै सार समाहित भएको छ, उहाँबाट सबै सम्बन्धको रस मिल्छ त्यसैले नै त्वमेव माताश्च पिता... आदि यो महिमा उहाँ परमात्माको गाइएको हो, त्यसैले बलिहारी यस समयको छ, जसमा यस्तो सम्बन्ध भएको छ।

त्यसैले परमात्मासँग यति सम्पूर्ण सम्बन्ध जोड्नुछ– जसबाट २१ जन्मको लागि सुख प्राप्त हुन्छ, यो हो पुरुषार्थको सिद्धि। तर २१ जन्मको नाम सुनेर शिथिल नहुनु। यस्तो नसोच्नु– २१ जन्मको लागि यति धेरै यस समयमा पुरुषार्थ पनि गर्ने, फेरि पनि २१ जन्मपछि गिर्नु नै छ भने के सिद्धि भयो र? तर ड्रामा भित्र आत्माहरूको जति सर्वोत्तम सिद्धि मुकरर (निश्चित) छ त्यो त मिल्छ नि! बाबा आएर हामीलाई सम्पूर्ण स्टेजमा पुर्याउनुहुन्छ, तर हामी बच्चाहरूले बाबालाई बिर्सियौँ भने अवश्य गिर्छौँ, यसमा बाबाको कुनै दोष छैन। अब कमी भयो भने हामी बच्चाहरूको, सत्ययुग त्रेताको सारा सुख यस जन्मको पुरुषार्थमाथि आधारित छ भने किन सम्पूर्ण पुरुषार्थ गरेर आफ्नो सर्वोत्तम पार्ट नखेलौँ! किन पुरुषार्थ गरेर त्यो वर्सा नलिऔँ। मनुष्यले सदा सुखको लागि नै पुरुषार्थ गर्छ, सुख दुःखबाट न्यारा हुनको लागि कसैले पुरुषार्थ गर्दैन, त्यो त ड्रामाको अन्त्यमा परमात्मा आएर सबै आत्माहरूलाई सजाय दिएर, पवित्र बनाएर पार्टबाट मुक्त गर्नुहुनेछ। यो त परमात्माको कार्य हो, उहाँ आफ्नो निश्चित समयमा स्वयं आएर बताउनुहुन्छ। तर जब आत्माहरूलाई फेरि पनि पार्टमा आउनैपर्छ भने किन सर्वोत्तम पार्ट नखैलौँ।

मनुष्य सृष्टिलाई सुखदायक बनाउने बाबालाई थाहा छ– मनुष्य सृष्टि सुखदायक कसरी बन्छ? जबसम्म आत्माहरू स्वच्छ बनेका हुँदैनन् तबसम्म संसार सुखदायक हुन सक्दैन त्यसैले उहाँ आएर सबैभन्दा पहिला आत्माहरूलाई नै स्वच्छ बनाउनुहुन्छ। अहिले आत्मालाई इम्प्युरिटी (अपवित्रता) लागेको छ। पहिला त्यो इम्प्युरिटीलाई निकाल्नुछ। फेरि आत्माको बलले हरेक चीजबाट त्यसको तमोप्रधानता परिवर्तन भएर सतोप्रधानता हुनेछ, जसलाई भनिन्छ– सबै गोल्डेन एज (सत्ययुग) मा आउँछन्, त्यसैले यी तत्त्व आदि सबै गोल्डेन एज स्टेज (सत्ययुगी स्थिति) मा आउँछन्। तर पहिला आत्माको स्टेज परिवर्तन हुन्छ। त्यसैले आत्माहरूलाई परिवर्तन गर्ने अर्थात् आत्माहरूलाई पवित्र बनाउने अथोरिटी फेरि उहाँ नै हुनुभयो। तिमीले देख्छौ नि– अहिले दुनियाँ परिवर्तन हुँदै गइरहेको छ। पहिला त आफूलाई परिवर्तन गर्नुछ, हामीले आफूलाई परिवर्तन गरिसकेपछि त्यसको आधारमा दुनियाँ परिवर्तन हुनेछ। यदि अहिलेसम्म हामीमा फरक आएको छैन, आफूलाई नै परिवर्तन गरेका छैनौँ भने फेरि दुनियाँ कसरी परिवर्तन हुन्छ? त्यसैले आफ्नो जाँच दिनहुँ गर। जसरी पोतामेल राख्नेले राती आफ्नो खाता हेर्छन् नि– आज कतिजम्मा भयो? सबैले आफ्नो हिसाब राख्छन्। त्यसैले यो आफ्नो पोतामेल पनि राख्नुछ– सारा दिनमा मेरो कति फाइदा भयो, कति नोक्सान भयो? यदि नोक्सानमा केही ज्यादा भयो भने फेरि अर्को दिनको लागि फेरि होसियार रहनुछ। यसैगरी आफैमा अटेन्सन राख्नाले फेरि हामी फाइदामा जाँदाजाँदै आफ्नो जुन पोजिसन छ त्यसै अवस्था पुग्नेछौँ। त्यसैले यस्तो जाँच गरेर आफूलाई परिवर्तन भएको महसुस गर्नुछ। यस्तो होइन– हामी त देवता बन्नेछौँ, त्यो त पछि बन्छौँ, अहिले जस्ता छौँ त्यस्तै ठीक छौँ...। होइन। अहिलेदेखि नै ती दैवी संस्कार बनाउनुछ। अहिलेसम्म जुन ५ विकारहरूको वश भएर संस्कारहरू चल्दै थिए, अब हेर्नुछ– ती विकारहरूबाट म छुट्दै गइरहेको छु? ममा जुन क्रोध आदि थियो त्यो निस्कँदै गइरहेको छ? जुन लोभ वा मोह आदि थिए ती सबै विकारी संस्कार परिवर्तन हुँदै गइरहेका छन्? यदि परिवर्तन हुँदै गइरहेका छन्, छुट्दै गइरहेका छन् भने मानौँ म परिवर्तन हुँदै गइरहेको छु। यदि छुट्दैनन् भने सम्झ– अझै म परिवर्तन भएको छैनौँ। त्यसैले परिवर्तन भएको फरक महसुस हुनुपर्छ, आफूमा परिवर्तन आउनुपर्छ। यस्तो होइन– सारा दिन विकारी खातामा नै चलिरहने, तर सम्झने– मैले कुनै राम्रो दान-पुण्य गरेँ, पुग्यो। होइन। हाम्रो जुन कर्मको खाता चल्छ, त्यसैमा हामी सम्हालिनुछ। हामीले जे-जति गर्छौँ त्यसमा कुनै विकारको वश भएर आफ्नो विकर्मको खाता त बनाउँदैनौँ? यसमा आफूलाई सम्हाल्नुछ। यसको सारा पोतामेल राख्नुछ र सुत्नुभन्दा पहिला १०-१५ मिनेट आफूलाई हेर्नुपर्छ– मेरो सारा दिन कसरी बित्यो? कतिले त नोट पनि गर्छन् किनकि शिरमा जुन पछिल्ला पापहरूको बोझ छ त्यसलाई पनि मेटाउनुछ, त्यसको लागि बाबाको आदेश छ– मलाई याद गर, त्यसमा पनि मैले कति समय यादमा दिएँ? किनकि यो चार्ट राख्नाले अर्को दिनको लागि सावधान रहनेछौँ। यसरी सावधान रहँदा रहँदै फेरि सावधान हुनेछौँ फेरि हाम्रो कर्म राम्रो हुँदै जानेछ र फेरि यस्तो कुनै पाप हुनेछैन। त्यसैले पापहरूबाट नै त बच्नुछ नि। अच्छा- मीठी माँका मीठा-प्यारा बच्चाहरूप्रति यादप्यार एवं गुडमर्निङ्ग। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

सन्देशीको तनद्वारा सरस्वती माँसँग अव्यक्त प्रभुको मिलन एवं संवाद

छोरी श्री राधे हेर, तिम्रो पासमा को आएर पधार्नुभएको छ? कति ठुलो तागतले तिमीसँग बातचित गरिरहेको छ। मेरो आगमनको रहस्यबाट तिमीले आफूलाई पनि जान्न सक्छ्यौ। आउनेवालाको पोजिसनसँग आफ्नो पोजिसन अथवा पदलाई पनि जान्न सक्छ्यौ। हे राधे छोरी, तिमीले मेरो जलवा (प्रभाव) हेर्न चाहन्छ्यौ! मैले चाहेँ भने एक सेकेन्डमा विनाश गराउन सक्छु। तर गर्दिनँ किनकि विराट फिल्म अनुसार जुन जुन कर्तव्य जस जसद्वारा जसरी प्ले हुनुछ, त्यो अवश्य त्यसरी नै प्ले हुनेछ। अनादि काइदा कानुन जान्ने अव्यक्त प्रभु नै आएर अनादि काइदाको पहिचान दिनुहुन्छ। यो सारा सृष्टिको अनादि खेल स्टेजमा प्ले हुन्छ, त्यसैले प्राक्टिकल प्ले हुनमा समय लाग्छ, यदि यति वर्षको खेल एक सेकेन्डमा पूरा गरिदिएँ भने बाँकी खेल के चल्छ! त्यसैले जुन जुन तकलिफ जसरी-जसरी हेर्नु अथवा सहन गर्नुछ, त्यो त्यसैगरी त्यसै अनौठो रहस्यले रिपीट हुन्छ। यो अटपटे रिपीटिसन हो जसलाई हे प्यारी मम्मा राधे तिमी र म हेरेर कति हर्षित हुन्छौँ।

यस विराट ड्रामाका सबै पार्ट टेस्ट लिनेवाला बनेका छन्। यो खेल चलाउनेवालाले यदि चाहनुभयो भने एक सेकेन्डमा यो ड्रामालाई ड्रप गरेर (रोकेर) फेरि नयाँ क्रमबाट सुरु गरिदिन सक्नुहुन्छ, तर गर्नुहुन्न किनकि ईश्वरले पनि यस साधारण रीतिले कर्तव्य चलाउनुपर्छ। स्वयं सर्वशक्तिमान् निराकार ईश्वर साकारमा हुनुहुन्छ तर साधारण भेषमा! यही त भुलभुलैयाको खेल हो, जसलाई जसले जान्दछ उही जानी जाननहार हुन्छ।

छोरी श्री राधे, प्रिय वत्सहरूले यो सहन गर्ने मार्ग पनि अवश्य तय गर्नुछ। यद्यपि मैले चाहेँ भने आफ्ना वत्सहरूप्रति यसको सहज मार्ग पनि बनाउन सक्छु किनकि साक्षात्कार गराउने चाबी मेरो हातमा छ। यदि कुनै पनि धनवान भक्तलाई कुनै देवताको साक्षात्कार गराइदिऊँ भने, उसले आफ्नो सारा धन लिएर यज्ञमा आएर स्वाहा गरिदिन्छ, किनकि ईश्वर त सबै धनवानहरूका धनवान हुनुहुन्छ। तर म तिम्रो पिताले चाहेँ भने– म आफ्ना बेगर (भिखारी) प्रिय वत्सहरूलाई प्रिन्स र प्रिन्सेस बनाऊँ, त्यसैले तिमीले यो सबै सहन गरेपछि नै प्रिन्स र प्रिन्सेस बन्नेछौ। म तिम्रो पितालाई थाहा छ– वत्सहरूले यो सहन गर्ने मार्ग अवश्य तय गर्नुछ किनकि सहन गर्नु, यो ईश्वरीय र दैवी गुण हो, जसमा नै खुसी समाहित छ। यो गुणबाट ईश्वरीय सुख महसुस हुन्छ। सहन गर्दा पनि तिमीले कति मौज मनाउँछौ, यही गोपनीय ज्ञान हो। यस्तो अनासक्त योगीले नै स्थायी सुख प्राप्त गर्छ।

अहिले त परीक्षाहरूको समय नजिक आइपुगेको छ, हरेक वत्सले आउने परीक्षाहरूलाई इनएडभान्स (पहिल्यै) सामुन्ने राखेर त्यो अभ्यासमा चल्दै जानुछ। हुन त कुनै पनि वत्सलाई खानपान इत्यादि नमिल्न सक्छ, तर आफू बेपरवाह बादसाह भएर उपस्थित हुनुछ। यस्तो आफ्नो सुन्दर अवस्था धेरै समयदेखि लिएर धारण गर्नुछ, यदि कसैले सम्झन्छ– त्यो समयमा आफै जानेछु, यो सम्झेर बस्नु आफूलाई धोका दिनु हो त्यसैले पहिलादेखि नै सावधान भएर रहनुछ।

मेरा अति प्रिय वत्सहरू यादमा त बस्छन् तर अहिलेसम्म त्यो लाइटको तेज मेरो वतनसम्म पुग्दैन। हरेक बच्चा जब लाइट स्वरूप भएर उपस्थित हुनेछन् तब उनीहरूको योगको तेज मेरो वतनमा आउनेछ अनि मात्रै ती हरेकको सम्पूर्ण लाइट उनीहरूमा प्रवेश हुनेछ। त्यस समयमा नै फेरि शक्तिहरूको महिमा निस्कनेछ। त्यसैले हरेक आफ्नो निश्चयमा स्थेरियम (स्थिर) रहनुछ, जसलाई मैले नै ओराल्न खोजेँ भने पनि ओर्लन नसकुन्।

हे शिरोमणि शक्ति राधे, शक्तिहरूलाई ज्ञान नेष्ठा (योग) बलमा र मुखबाट ज्ञान मुरली बजाउनमा तयार रहनुपर्छ। तिमीले आफ्नो एकरस ईश्वरीय दृष्टिले हरेकलाई निहाल गरेर आफ्नो मधुर वीणाबाट पहिचान दिनुछ– म को हुँ र मेरा पिता को हुनुहुन्छ! कसरी ब्रह्मामा भगवान् प्रत्यक्ष हुनुभएको छ, जसले यस अन्त्यको समयमा डेभिल वर्ल्ड (आसुरी दुनियाँ) लाई खतम गरेर आफ्नो निज देश डिटी वर्ल्ड (दैवी दुनियाँ) मा लैजाँदै हुनुहुन्छ।

हे राधे छोरी, जब हरेकको अवस्था दीपक ललाट समान स्थेरियम रहनेछ तब सूक्ष्म अन्तःप्रेरणाहरूलाई समातेर आफ्नो कार्य सम्पूर्ण रीतिले सिद्ध गर्न सक्नेछन्। जति ज्ञान अनुसारको अवस्था हुनेछ, त्यति नै प्रेरणाहरूलाई समात्न सक्नेछन्। जति त्यो अवस्थामा लगातार रहनेछन् त्यति सम्पूर्ण प्रेरणाहरू टच हुन सक्नेछन्।

ओहो! छोरी राधे, मेरो स्वरूप त हेर, के वत्सहरूले मेरो स्वरूपलाई देख्न सक्दैनन्– कसरी अखण्ड ज्योति तत्त्वबाट आएर म साक्षात् प्रवेश भएर कुरा गर्छु, मबाटै यी सबै साक्षात्कार हुन्छन् किनकि म नै सबैको मूल समूह हुँ। हेर, प्रकृतिको बीचमा चम्किन्छ ज्ञान लाइट। वत्सहरूले केवल यो विचार गर्नुछ– आहा! जसलाई सारा सृष्टिले पुकारिरहेको छ उहाँ स्वयं सर्वशक्तिमान् ईश्वर यज्ञमा हामी वत्सहरूको सम्मुख आएर पधार्नु (आगमन) भएको छ। उहाँको शीतल गोदमा बस्नाले हृदय शान्त हुन्छ। यदि रचनाका रचयिता मिल्नुभयो भने फेरि उहाँलाई छोडेर उहाँको रचनामा किन जाऊँ! हाइएस्टमा हाइएस्ट अथोरिटी, सर्व शक्तिका स्वयं मालिक जसबाट सर्व शक्तिहरू प्रकट भएका छन्, उहाँको पहिचान भएपछि यो गोद छोड्नु असम्भव हुनेछ। जब द क्रिएटर (रचयिता) को पहिचान भएपछि त बुझ्छन्– उहाँ को हुनुहुन्छ! बुझ्यौ, शिरोमणि राधे। अच्छा!

वरदान:–  
सदैव अतीन्द्रिय सुखको झुलामा झुल्ने सङ्गमयुगका सर्व अलौकिक प्राप्तिहरूबाट सम्पन्न भव

जुन बच्चाहरू अलौकिक प्राप्तिहरूबाट सदैव सम्पन्न छन्, उनीहरू अतीन्द्रिय सुखको झुलामा झुलिरहन्छन्। जसरी जुन अति प्यारो बच्चा छ, उसलाई झुलामा झुलाइन्छ। त्यसैगरी सर्व प्राप्ति सम्पन्न ब्राह्मणहरूको झुला अतीन्द्रिय सुखको झुला हो। यही झुलामा सदैव झुलिराख। कहिल्यै पनि देह अभिमानमा आउनुछैन। जसले झुलाबाट ओर्लिएर धरतीमा पाउ राख्छन्, उनीहरू मैला हुन्छन्। उच्चभन्दा उच्च बाबाका स्वच्छ बच्चाहरू सदैव अतीन्द्रिय सुखको झुलामा झुल्छन्, माटोमा पाउ राख्न सक्दैनन्।

स्लोगन:–
“म त्यागी हुँ” यस अभिमानको त्याग नै सच्चा त्याग हो।