24.06.26    Avyakt Bapdada     Nepali Murli    Om Shanti     Madhuban


“यस कर्मक्षेत्रमा कर्म अनादि चीज हो, तिमीले कर्म छोड्नुछैन तर कर्मयोगी बन्नुछ”
( जगदम्बा माँको स्मृति दिवसमा सुनाउनको लागि , उहाँद्वारा उच्चारण गरिएका मधुर महावाक्य )


यो सृष्टि कर्मको खेत हो, जहाँ हरेक मनुष्य आत्माले आआफ्नो पार्ट खेलिरहेको छ, यसमा परमात्माको पनि पार्ट छ तर उहाँ आत्माहरूजस्तै जन्ममरणमा आउनुहुन्न। आत्माहरूजस्तै उहाँको कर्मको खाता उल्टो बन्दैन। उहाँ बाबा भन्नुहुन्छ– म केवल तिमी आत्माहरूलाई मुक्त गर्न आउँछु त्यसैले मलाई मुक्तिदाता, बन्धनबाट छुटाउने गति सद्गतिदाता भन्छन्।

आत्मामा मायाको जुन बन्धन चढेको छ, त्यसलाई उतारेर पवित्र बनाउनुहुन्छ र भन्नुहुन्छ– मेरो काम हो आत्माहरूलाई सर्व बन्धनहरूबाट छुटाएर फर्काएर लैजानु, त्यसैले सृष्टिका जुन अनादि नियम र काइदाहरू छन् तिनलाई पनि बुझ्नुछ, फेरि यो मनुष्य सृष्टिको वृद्धि कुन तरिकाले हुन्छ, फेरि त्यो टाइम पनि आउँछ जुनबेला यो कम हुन्छ। यस्तो होइन, बढ्यो भने बढ्दैजान्छ, होइन। कम पनि हुन्छ। त्यसैले सृष्टिमा हरेक चीजको नियम छ। हाम्रो शरीरको पनि नियम छ, पहिला बाल, फेरि किशोर, फेरि युवा, फेरि वृद्ध। त्यसैले वृद्ध पनि तुरुन्तै हुँदैन, वृद्ध हुँदाहुँदा जीर्ण हुन्छन्, त्यसैले हरेक कुराको बढ्नु र त्यसको अन्त्य हुनु, यो पनि नियम हो। यसैगरी सृष्टिका पुस्ताहरूको पनि नियम छ। एक जीवनका पनि स्टेजहरू हुन्छन् भने फेरि जन्महरूका पनि स्टेजहरू हुन्छन्, फेरि पुस्ताहरू पनि जुन चल्यो त्यसका पनि स्टेजहरू हुन्छन्, त्यसैगरी सबै धर्महरूका पनि स्टेजहरू हुन्छन्। पहिलो जुन धर्म स्थापना हुन्छ त्यो सबैभन्दा शक्तिशाली थियो, पछि बिस्तारै-बिस्तारै जुन धर्महरू आउँछन्, तिनको शक्ति कम हुँदै जान्छ। त्यसैले धर्महरू विभाजन हुने, धर्महरू कायम रहने, हरेक कुरा नियमहरूबाट चल्छ, यी सबै कुरालाई पनि बुझ्नुछ।

यही हिसाबले बाबा पनि भन्नुहुन्छ– मेरो पनि यसमा पार्ट छ। म पनि एक आत्मा हुँ, म भगवान कुनै अर्को चीज होइन। म पनि आत्मा नै हुँ तर मेरो काम धेरै श्रेष्ठ र उच्च छ त्यसैले मलाई भगवान भन्छन्। तिमी जस्तो आत्मा हौ म पनि त्यस्तै नै हुँ। जस्तो तिम्रो बच्चा हुन्छ त्यो पनि त मानिस हो, तिमी पनि त मानिस हौ, त्यसमा त कुनै फरक छैन नि। त्यसैले म पनि आत्मा नै हुँ, आत्मा, आत्मामा कुनै फरक छैन तर कर्तव्यमा धेरै ठुलो फरक छ त्यसैले भन्छन् मेरो जुन कर्तव्य छ त्यो सबैभन्दा भिन्न छ। म कुनै हदको एक धर्मको स्थापक होइन, म त दुनियाँको रचयिता हुँ, उनीहरू भए धर्मका रचयिता। जसरी ती आत्माहरूले आफ्नो काम आफ्नो समयमा गर्छन्, त्यसरी नै म पनि आफ्नो समयमा आउँछु। मेरो कर्तव्य विशाल छ, मेरो कर्तव्य महान छ र सबैभन्दा निराला छ त्यसैले भन्छन् हजुरको काम निराला। उहाँलाई सर्वशक्तिमान पनि भन्छन्, सबैभन्दा शक्तिशाली काम हो आत्माहरूलाई मायाको बन्धनहरूबाट छुटाउनु र नयाँ दुनियाँको कलमी (स्यापलिङ) लगाउनु त्यसैले उहाँलाई अङ्ग्रेजीमा भन्छन् हेभनली गड फादर। जसरी क्राइस्टलाई भनिन्छ क्रिस्चियानिटीका फादर, उनलाई हेभनली गड फादर भनिँदैन। स्वर्गको स्थापक परमात्मा हुनुहुन्छ। त्यसैले स्वर्ग विश्व भयो नि, स्वर्ग कुनै एक धर्म होइन। त्यसैले उहाँ विश्वको स्थापक हुनुभयो र त्यस विश्वमा एक धर्म, एक राज्य हुन्छ, तत्त्व आदि सबै परिवर्तन हुन्छन् त्यसैले उहाँलाई भन्छन् हेभनली गड फादर।

दोस्रो, गड इज ट्रुथ (भगवान सत्य हुनुहुन्छ) भन्छन्, त्यसोभए सत्य के चीज हो, केमा सत्य हुनुहुन्छ? यो पनि बुझ्ने कुरा हो। धेरैले ठान्छन्, जसले सत्य बोल्छ उही भगवान हो। भगवान कुनै अरू चीज होइन, बस् सत्य बोल्नुपर्छ। तर होइन, गड इज ट्रुथको मतलब नै हो– भगवानले नै आएर सबै कुराको सच्चाइ बताउनुभएको छ, गड इज ट्रुथ अर्थात् भगवानले नै सत्य बताउनुहुन्छ, उहाँमा नै सच्चाइ छ, त्यसैले त उहाँलाई नलेजफुल भन्छन्। ज्ञानको सागर , आनन्दको सागर, गड नोज, (ईश्वरले जान्नुहुन्छ)... त्यसैले अवश्य विशेष केही जान्ने कुरा छ नि! त्यसोभए त्यो कुन जानकारी हो? यो होइन, यसले चोरी गरेको छ, गड नोज। जान्न त उहाँले सबै थोक जान्नुहुन्छ तर उहाँको महिमा जुन छ नि, त्यो यसैमा छ– हाम्रो दुनियाँ जुन तल गिरेको छ त्यो उच्च कसरी चढ्छ, यस चक्रका कुरालाई उहाँले जान्नुहुन्छ त्यसैले भन्छन् गड नोज। परमात्माको महिमा त्यस तरिकाले आउँछ जुन मानिसभन्दा भिन्न छ किनकि उहाँलाई चिन्नु सबैभन्दा भिन्न छ। मानिसलाई चिन्नु हद हो, भन्छन् पनि मानिस अल्पज्ञ छ र परमात्माको लागि भन्छन् उहाँ सर्वज्ञ हुनुहुन्छ, जसलाई अङ्ग्रेजीमा नलेजफुल भन्छन् अर्थात् सर्वको ज्ञाता अथवा जान्ने हुनुहुन्छ। त्यसैले जो सर्वज्ञ हुनुहुन्छ उहाँले नै सत्यलाई जान्न सक्नुहुन्छ, यथार्थ कुराको ज्ञान जसको पासमा हुन्छ, अवश्य उहाँले सबैलाई दिनुहुन्छ नि! यदि आफैले जान्नुभयो, अरूलाई दिनुभएन भने त्यसबाट हामीलाई के फाइदा! जान्न देऊ। तर होइन। उहाँको जानकारीबाट हामीलाई कुनै फाइदा मिलेको छ, तब त हामी उहाँका विशेषताहरू गाउँछौँ। उहाँको पछि लाग्छौँ। कहिले केही पनि हुन्छ भने भन्छौँ हे भगवान! अब हजुरले यो गर्नुहोस्! कल्याण गर्नुहोस्, दया गर्नुहोस्, मेरो दुःख दूर गर्नुहोस्, त्यसैले हामी उहाँसँग माग्छौँ नि। उहाँसँग केही सम्बन्ध छ नि त्यसैले त्यस तरिकाले याद गर्छौँ, जसरी उहाँले हामीमाथि कुनै उपकार गर्नुभएको छ। यदि कहिल्यै गर्नुभएकै थिएन भने हामी किन उहाँको लागि टाउको दुखाउँथ्यौँ। जब कसैले सङ्कटको समयमा मदत गर्छ तब दिलमा आउँछ– यसले ठुलो सङ्कटको समयमा मलाई मदत गरेको थियो। समयमा मेरो रक्षा गरेको थियो, त्यसैले उनीप्रति दिलमा प्रेम रहन्छ। त्यसैले परमात्माप्रति पनि यस्तै प्रेम आउँछ– उहाँले हाम्रो समयमा मदत गर्नुभएको छ। तर यस्तो होइन, कहिले कुनै मानिसको राम्रो भयो भने भनून् यो भगवानले गर्नुभयो... बस् भगवानले यस्तै गर्नुहुन्छ। तर उहाँको ठुलो काम छ, विश्वको काम छ, दुनियाँको सम्बन्धको कुरा छ। बाँकी यस्तो होइन, कसैलाई थोरै पैसा मिल्यो, यो भगवानले गर्नुभयो, यो त हामी पनि राम्रो कर्म गर्छौँ, त्यसैले त्यस कर्मको फल मिल्छ। राम्रो नराम्रो कर्महरूको हिसाब चल्छ, त्यसको पनि हामीले पाइरहन्छौँ तर परमात्माले आएर जुन कर्म सिकाउनुभयो त्यसको जुन फल छ, त्यो अलग छ। अल्पकालको सुख त बुद्धिको आधारमा पनि मिल्छ। तर उहाँले जुन ज्ञान दिनुभयो त्यसबाट हामी सदा सुख पाउँछौँ। त्यसैले परमात्माको काम भिन्न भयो नि, त्यसैले भन्नुहुन्छ– म नै आएर कर्मको जुन यथार्थ ज्ञान छ त्यो सिकाउँछु, जसलाई भनिएको छ कर्मयोग श्रेष्ठ छ। यसमा कर्मलाई, घर गृहस्थलाई छोड्ने कुरा छैन। केवल तिमीले आफ्नो कर्महरूलाई पवित्र कसरी बनाउँछौ, त्यसको ज्ञान म बताउँछु। त्यसैले कर्मलाई पवित्र बनाउनुछ, कर्म छोड्नुछैन। कर्म त अनादि चीज हो। यो कर्मक्षेत्र पनि अनादि हो। मानिस छ भने कर्म पनि छ, तर त्यस कर्मलाई तिमीले श्रेष्ठ कसरी बनाउँछौ त्यो आएर सिकाउँछु जसबाट फेरि तिम्रो कर्मको खाता अकर्म रहन्छ। अकर्मको मतलब हो कुनै नराम्रो खाता बन्दैन।

बाबा भन्नुहुन्छ– म यस सानो सङ्गमयुगमा तिम्रो देश, यस साकारी दुनियाँमा तिम्रै लागि आएको छु, त्यसैले कम्तीमा जति टाइम छ त्यति टाइम त केही हाम्रो ख्याल गर। बाबाको बनेका छौ भने कम्तीमा यति टाइम त शुद्ध रहनु। फेरि त तिम्रो यस्तो प्रारब्ध बन्छ जसले गर्दा तिमीले त्यस दुनियाँमा मेहनत गर्नुपर्दैन। अहिले थोरै मेहनतको कुरा छ, अहिले तिमीले जसरी भए पनि, जसरी पनि पवित्र रहने प्रतिज्ञा गर। आफ्नो दृढता राख, आफ्नो धारणाहरूमा रहने पूरा प्रयत्न गर। बाबा तिमीलाई साफ-साफ बताउनुहुन्छ तिमी केवल यति थोरै टाइमको लागि यो मेहनत गर। म तिमीलाई अरू कुनै मेहनत गराउँदिनँ, तिमीलाई जति मिल्छ त्यसको तुलनामा कुनै मेहनत नै छैन।

यस्तो होइन केवल भन्दै गर– म यो गर्छु, त्यो गर्छु..., दुनियाँले के भन्ला, उनीहरूले के भन्लान्.. अरे दुनियाँले के भन्ला... छोडिदेऊ यसलाई। अहिले यो दुनियाँ नै जान्छ। अब त मृत्यु सामुन्ने खडा छ। तिमीले यति लम्बा-चौडा जुन बनाएर बसेका छौ यो सबै व्यर्थ गरिरहेका छौ। अहिले बाबा भन्नुहुन्छ त्यस व्यर्थलाई बचाऊ। यस शरीर निर्वाहको लागि जति चाहिन्छ त्यति बरु गर, जति तिम्रो रचनासँग हिसाबकिताब छ, त्यति गर, म कहाँ सम्हाल्छु र? यसलाई तिमीले नै सम्हाल्नुछ। जुन जरुरी छ त्यो त तिमीलाई स्वतन्त्र गर्छु, तर अहिले यो जुन अतिरिक्त रचिरहेका छौ त्यसको लागि मनाही गर्छु किनकि अहिले त्यो त गिर्नु नै छ किन आफ्नो फालतु समय गुमाइरहेका छौ। यी फालतुका झन्झटहरूबाट नै तिमी दुःखी भएका छौ, ती झन्झटहरूबाट तिमी कसरी छुट्छौ, त्यही त तिमीलाई बताउँछु। तैपनि बसेर अनेक बहाना बनाउनु, यो कहाँको रीति हो? फेरि बाबा पनि भन्नुहुन्छ– हेरिराख्नु, अहिले यदि मलाई सिधा औँला दिँदैनौ, हात दिँदैनौ भने, फेरि म यसरी नाक समातेर लैजान्छु। नाक समात्नुभयो भने फेरि निसास्सिन्छ, फेरि दुःख हुन्छ, सजाय खानुपर्छ नि! त्यसैले भन्नुहुन्छ अहिले हातमा हात दिएर सिधा चल्ने टाइम आएको छ। यदि सिधा तरिकाले चल्दैनौ भने फेरि मेरो हातमा तिम्रो नाक पनि त आउँछ, फेरि हेरिराख्नु। फेरि त्यस समय केही हुन सक्दैन, न केही गर्न सक्छौ त्यसैले बाबा भन्नुहुन्छ बच्चाहरू, अब तिमी मेरो भएर, मेरो पासमा आएर, मेरा कुरालाई सुनेर, यदि तैपनि केही गरेनौ भने उनीहरूको लागि धेरै कडा सजाय छ, त्यसैले जुन बिचराहरूलाई थाहा छैन उनीहरूको त कुरा अलग छ। बाँकी जसलाई थाहा छ, जसले बसेर, सुनेर फेरि यिनै कुरामा लापरबाही गरे भने उनीहरूको त कल्याण छैन। जसरी १० गुणा फाइदा, त्यसरी १० गुणा नोक्सान हुन्छ। तब भन्नुहुन्छ आफ्नो नोक्सानलाई, घाटालाई.. राम्रोसँग बुझ। राम्रोसँग केही त आफ्नो बुद्धि खोल। अहिले बाबासँग बुद्धियोग लगायौ भने शक्ति मिल्छ। त्यसैले यी सबै कुरालाई बुझ, नभुल।

अहिले यो जुन समय चलिरहेको छ, यसलाई चिन, अलिकति आँखा खोल, बुद्धि खोल र समयको पूरा फाइदा लेऊ। आफ्नो पूरा भाग्य जगाऊ। भन्छन् पनि जस्तो सङ्गत त्यस्तै रङ्गत हुन्छ, त्यसैले जसमा अहिले यो धारणा पूरा हुँदैन भने मायाको सङ्गतको रङ्ग लाग्छ, तब त भन्छन् हियर नो इभिल, सी नो इभिल, टक नो इभिल... कति यस्ता खराबीहरू छन् जसले यहाँ पनि कतिलाई छोड्दैनन्, फेरि एक-अर्काको सङ्गदोषमा आउँछन्। त्यसैले भन्नुहुन्छ यस्तो सङ्गदोषबाट बचेर रहनु। यस्तो नसम्झ– सङ्गदोष बाहिर छ, यहाँ छैन। होइन, यहाँ पनि ती घुमिरहन्छन्, किनकि उनीहरूको राज्य छ नि, त्यसैले बाबा भन्नुहुन्छ राम्रोसँग कवच लगाएर रहनु। कवच भयो भने त्यसको गोली लाग्दैन। योगको नै कवच छ, ज्ञानको तरबार छ। यी सबै अस्त्र-शस्त्रलाई आफ्नो पासमा राम्रोसँग सम्हालेर राख।

भन्छन् पनि जसले गर्छ उसले पाउँछ, यो त भविष्य प्रारब्ध बनाउने कुरा हुन्। यहाँ त प्रारब्ध भोग्नुछैन नि, यहाँ त कुनै गुरु बनेर बस्नुछैन। यसमा कसैले गलत नबुझोस्, त्यसैले यो सबै सम्झाइन्छ। त्यसैले यी सबै कुरा ध्यानमा राखेर आफूलाई सुरक्षित राख्नुछ। यहाँ कुनै खर्च आदिको कुरा हुनुहुँदैन। अहिले यो सबै खर्च अरूको कल्याणार्थ नै प्रयोग गर्नुछ। एक एक पैसा पनि सबै यसै कार्यमा लगाउनुछ। अच्छा।

यस्ता बापदादा र आमाका मीठा-प्यारा धेरै राम्रा, होसियार रहने बच्चाहरूप्रति याद-प्यार एवं गुडमर्निङ। अच्छा।

प्रश्न :– मम्मा, हामी हिँड्दाडुल्दा योगको उच्च अवस्थामा कसरी स्थित हुन सक्छौँ?

उत्तर :– वास्तवमा आफ्नो यो जीवन स्वाभाविक योगको हुनुपर्छ किनकि योग हो निश्चय। त्यसैले हरदम निश्चयलाई कायम राखेर व्यावहारिक रूपमा त्यो स्वरूप बन्नुछ। निश्चय रूप बनेर कर्मेन्द्रियहरूद्वारा कर्म गर, चाहे स्थूल कर्मेन्द्रियहरूले कुनै पनि कार्य गरिरहुन् तर आफूलाई त्यसै सुखस्वरूप अवस्थामा लवलीन राख्नुछ। तिम्रो अनुहार सदा सुखस्वरूप रमणीक देखियोस्। कुनै पनि अशुद्ध सङ्कल्प विकल्प नरहुन्। ईश्वरीय आनन्दमा आन्तरिक मगन अवस्थामा रह्यौ भने फेरि कुनै पनि अशुद्ध सङ्कल्प विकल्पको उत्पत्ति हुँदैन। शुद्ध पवित्र धर्तीमा जुन पनि सङ्कल्प उत्पन्न हुन्छ त्यो लोक सङ्ग्रहप्रति अथवा आफ्नो उन्नतिप्रति हुन्छ। यो अति मीठो सुन्दर अवस्था हो जसले समयमा मदत गर्छ। यस्तो ईश्वरीय अलौकिक मीठो पवित्र जीवन बनाउने अहिले नै स्वर्णिम अवसर तिमीलाई मिलेको छ। त्यसैले यस्तो अवस्था बनाउनको लागि थोरै मेहनत गर। जब हामी योगमा बस्छौँ तब भित्र मन्त्र पूजा जप आदि केही पनि गर्दैनौँ, जसरी भक्तिमार्गमा कोही-कोही भित्र-भित्रै प्रार्थना गर्छन्, माला जप्छन्, मूर्तिको सामुन्ने राखेर फूल चढाउँछन्, त्यो सबै थोक भित्र-भित्रै गर्छन् जसलाई मन्सा पूजा भनिन्छ। तर हाम्रो योगमा हामी केवल आफ्नो स्व स्वरूपमा स्थित भएर सुख स्वरूप बन्छौँ। आफ्नो मनसहित सबै कर्मेन्द्रियहरूलाई नियन्त्रण गरेर एकाग्रचित्त बनी ईश्वरीय सुख स्वरूप हुन्छौँ यसको लागि योगको टाइम व्यक्तिगत निश्चित छ। जहाँ एक टाइममा बसेर अभ्यास गर्छौँ। केवल व्यक्त कुराबाट नाता तोडेर अव्यक्त सम्बन्धसँग नाता जोडेर राख्नुछ तब याद सहज हुन्छ। अच्छा, ओम् शान्ति।

वरदान:–
बापदादाको साथद्वारा मायालाई टाढाबाट नै मूर्छित गर्ने मायाजित , जगतजित भव

जसरी बाबाको स्नेही बनेका छौ त्यसरी बाबालाई साथी बनायौ भने माया टाढाबाट नै मूर्छित हुन्छ। सुरु सुरुको जुन वाचा छ हजुरसँगै खाऊँ, हजुरसँगै बसूँ, हजुरसँगै रुहलाई रिझाऊँ... यही वाचा अनुसार सारा दिनचर्यामा हरेक कार्य बाबाको साथमा गर्यौ भने मायाले बाधा हाल्न सक्दैन, त्यसको विनाश हुन्छ। त्यसैले साथीलाई सदा साथमा राख, साथको शक्तिबाट वा मिलनमा मगन रहनाले मायाजित, जगतजित बन्छौ।

स्लोगन:–
आफ्नो उच्च वृत्तिबाट प्रवृत्तिका परिस्थितिहरूलाई परिवर्तन गर।

अव्यक्त इसारा :– सदा हर्षित रहनको लागि आफ्नो स्वभावलाई सरल बनाऊ , सहनशील बन

अव्यक्त स्थिति रूपी दर्पणलाई साफ र स्पष्ट गर्नको लागि सरलता, श्रेष्ठता र सहनशीलता यी तीन कुरामा ध्यान देऊ। यदि तीनमध्ये एउटा पनि कुराको कमी छ भने दर्पणमा पनि कमीको दाग देखिन्छ त्यसैले जुन पनि कार्य गर्छौ, त्यसमा साधारणता नदेखियोस्। साधारणपनलाई श्रेष्ठतामा बदली गर, हरेक कार्यमा सहनशीलता र वाणीमा सरलतालाई धारण गर तब सर्भिसमा सफलता देखिन्छ।