24.10.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– बाबा आउनुभएको छ तिमीलाई घरको मार्ग बताउन , तिमी आत्म अभिमानी भएर बस्यौ भने यो मार्ग सहजै देखि नेछ ।”

प्रश्न:–
सङ्गममा कुन यस्तो ज्ञान मिलेको छ जसबाट सत्ययुगी देवताहरूलाई मोहजित भनियो?

उत्तर:–
सङ्गममा तिमीलाई बाबाले अमरकथा सुनाएर अमर आत्माको ज्ञान दिनुभयो। ज्ञान मिल्यो– यो अविनाशी बनिबनाउ ड्रामा हो, हरेक आत्माले आ-आफ्नो पार्ट खेल्छ। त्यस आत्माले एक शरीर छोडेर अर्को लिन्छ, यसमा रुने कुरा छैन। यही ज्ञान हुने भएकाले सत्ययुगी देवताहरूलाई मोहजित भनिन्छ। त्यहाँ मृत्युको नाम हुँदैन। खुसीले पुरानो शरीर छोडेर नयाँ लिन्छन्।

गीत:–
नयन हीन को राह दिखाओ...

ओम् शान्ति ।
मीठा-प्यारा रुहानी बच्चाहरूप्रति रुहानी बाबा भन्नुहुन्छ– मैले मार्ग त देखाउँछु तर पहिला आफूलाई आत्मा निश्चय गरेर बस। देहीअभिमानी भएर बस्यौ भने फेरि तिमीले मार्ग धेरै सहजै देख्नेछौ। भक्तिमार्गमा आधाकल्प ठक्कर खायौ। भक्तिमार्गको सामग्री अथाह छ। अब बाबाले सम्झाउनुभएको छ– बेहदका बाबा एउटै हुनुहुन्छ। बाबा भन्नुहुन्छ– तिमीलाई बाटो बताइरहेको छु। दुनियाँलाई यो पनि थाहा छैन– कुन बाटो बताउनुहुन्छ! मुक्ति-जीवनमुक्ति, गति-सदगतिको। मुक्ति भनिन्छ शान्तिधामलाई। आत्माले शरीरबिना केही पनि बोल्न सक्दैन। कर्मेन्द्रियहरूद्वारा नै आवाज निस्कन्छ, मुखबाट निस्कन्छ। मुख नभए आवाज कहाँबाट आउँछ। आत्मालाई यी कर्मेन्द्रियहरू मिलेका छन् कर्म गर्नको लागि। रावण राज्यमा तिमीले विकर्म गर्छौ। यी विकर्मबाट फोहोरी कर्म हुन्छन्। सत्ययुगमा रावण नै हुँदैन त्यसपछी कर्म अकर्म हुन्छन्। त्यहाँ ५ विकार हुँदैनन्। त्यसलाई भनिन्छ– स्वर्ग। भारतवर्षवासी स्वर्गवासी थिए, अहिले फेरि भनिन्छ नर्कवासी। विषय वैतरणी नदीमा गोता खाइरहन्छन्। सबैले एकअर्कालाई दु:ख दिइरहन्छन्। अब भन्छन्– बाबा यस्तो ठाउँमा लैजानुहोस् जहाँ दु:खको नाम नहोस्। त्यो भारतवर्ष स्वर्ग हुँदा त दु:खको नामै थिएन। स्वर्गबाट नर्कमा आएका छन्, अब फेरि स्वर्गमा जानुछ। यो खेल हो। बाबाले नै बच्चाहरूलाई बसेर सम्झाउनुहुन्छ। सच्चा सच्चा सतसङ्ग यो हो। तिमीले यहाँ सत् बाबालाई याद गर्छौ, उहाँ नै उच्चभन्दा उच्च भगवान हुनुहुन्छ। उहाँ हुनुहुन्छ रचयिता, उहाँबाट वर्सा मिल्छ। बाबाले नै बच्चाहरूलाई वर्सा दिनुहुन्छ। हदका पिता हुँदाहुँदै पनि फेरि याद गर्छन्– हे भगवान्, हे परमपिता परमात्मा रहम गर्नुहोस्! भक्तिमार्गमा धक्का खाँदाखाँदै हैरान भएका छन्। भन्छन्– हे बाबा, हामीलाई सुखशान्तिको वर्सा दिनुहोस्! यो वर्सा त बाबाले नै दिन सक्नुहुन्छ, त्यो पनि २१ जन्मको लागि। हिसाब गर्नुपर्छ। सत्ययुगमा यिनीहरूको राज्य हुँदा अवश्य थोरै मानिसहरू थिए होलान्। एक धर्म थियो, एउटै राज्य थियो। त्यसलाई भनिन्छ स्वर्ग, सुखधाम। नयाँ दुनियाँलाई भनिन्छ सतोप्रधान, पुरानोलाई भनिन्छ तमोप्रधान । हरेक चीज पहिला सतोप्रधान फेरि सतो-रजो-तमोमा आउँछ। सानो बच्चालाई सतोप्रधान भनिन्छ। सानो बच्चालाई महात्माभन्दा पनि उच्च भनिन्छ। महात्माहरू त जन्म लिएर फेरि ठुलो भएपछि विकारको अनुभव गरेर घरबार छोडेर भाग्छन्। सानो बच्चालाई त विकारको विषयमा थाहा हुँदैन। बिल्कुल निर्दोष हुन्छन् त्यसैले महात्माभन्दा पनि उच्च भनिन्छ। देवताहरूको महिमा गाउँछन्– सर्वगुण सम्पन्न... साधुहरूको यो महिमा कहिल्यै गर्दैनन्। बाबाले हिंसा र अहिंसाको अर्थ सम्झाउनुभएको छ। कसैलाई मार्नु यसलाई हिंसा भनिन्छ। सबैभन्दा ठुलो हिंसा हो काम कटारी चलाउनु। देवताहरू हिंसक हुँदैनन्। देवताहरूले काम कटारी चलाउँदैनन्। बाबा भन्नुहुन्छ– अब म आएको छु तिमीलाई मनुष्यबाट देवता बनाउन। देवता हुन्छन् सत्ययुगमा। यहाँ कसैले पनि आफूलाई देवता भन्न सक्दैनन्। सम्झन्छन्– हामी नीच पापी विकारी हौँ। फेरि आफूलाई देवता कसरी भन्छन् त्यसैले हिन्दु धर्म भनिदिएका छन्। वास्तवमा आदि सनातन देवी-देवता धर्म थियो। हिन्दु धर्म नाम त हिन्दुस्तानबाट निकालिएको हो। उनीहरूले फेरि हिन्दु धर्म भनिदिएका छन्। तिमीहरूले भन्छौ– हामी देवता धर्मका हौँ तैपनि हिन्दुमा चिन्ह लगाइदिन्छन्। भन्छन्– हामीसँग कोलम नै हिन्दु धर्मको छ। पतित हुनाले आफूलाई देवता भन्न सक्दैनन्।

अहिले तिमीलाई थाहा छ– हामी पूज्य देवता थियौ, अब पुजारी बनेका छौँ। पूजा पनि पहिला केवल शिवको गर्छन् फेरि व्यभिचारी पुजारी बने। बाबा एक हुनुहुन्छ, उहाँबाट वर्सा मिल्छ। बाँकी त अनेक प्रकारका देवीहरू आदि छन्। उनीहरूबाट कुनै वर्सा मिल्दैन। यी ब्रह्माबाट पनि तिमीलाई वर्सा मिल्दैन। एक हुनुहुन्छ निराकारी बाबा, अर्का हुनुहुन्छ साकारी बाबा। साकारी बाबा हुँदाहुँदै पनि हे भगवान, हे परमपिता भनिरहन्छन्। लौकिक पितालाई यसरी भन्दैनन्। त्यसैले वर्सा बाबाबाट मिल्छ। पति र पत्नी हाफ पार्टनर हुन्छन्, त्यसैले उनीहरूलाई आधा हिस्सा मिल्नुपर्छ। पहिला आधा उनको निकालेर बाँकी आधा बच्चाहरूलाई दिनुपर्छ। तर आजकाल त बच्चाहरूलाई नै सारा धन दिन्छन्। कसै कसैको धेरै मोह हुन्छ, सम्झन्छन्– हाम्रो मृत्युपछि बच्चा नै हकदार हुन्छ। आजकालका बच्चाहरूले त पिताको मृत्यु भएपछि आमालाई सोध्दा पनि सोध्दैनन्। कोही कोही मातृस्नेही हुन्छन्। कोही फेरि मातृद्रोही हुन्छन्। आजकाल धेरैजसो मातृद्रोही हुन्छन्। सबै पैसा उडाइदिन्छन्। धर्मपुत्र धर्मपुत्रीहरू पनि कोही कोही यस्ता निस्कन्छन् जसले धेरै हैरान पार्छन्। अहिले बच्चाहरूले गीत सुन्यौ, भन्छौ– बाबा हामीलाई सुखको मार्ग बताउनुहोस्– जहाँ चैन हुन्छ। रावण राज्यमा त सुख हुन सक्दैन। भक्तिमार्गमा त यति पनि बुझ्दैनन्– शिव अलग हुनुहुन्छ, शङ्कर अलग हुन्। बस् शिर निहुराउँदै जान्छन्, शास्त्र पढ्दै जान्छन्। अच्छा, यसबाट के मिल्छ, केही पनि थाहा छैन। सबैको लागि शान्ति र सुखदाता त एक बाबा नै हुनुहुन्छ। सत्ययुगमा सुख पनि छ भने शान्ति पनि छ। भारतवर्षमा सुख शान्ति थियो, अहिले छैन त्यसैले भक्ति गर्दागर्दा यताउता भौँतारिइरहन्छन्। अहिले तिमीलाई थाहा छ– शान्तिधाम, सुखधाममा लैजाने एक बाबा मात्रै हुनुहुन्छ। बाबा हामी केवल हजुरलाई नै याद गर्छौं, हजुरबाट नै वर्सा लिन्छौँ। बाबा भन्नुहुन्छ– देहसहित देहका सबै सम्बन्धहरूलाई भुल्नुछ। एक बाबालाई याद गर्नुछ। आत्मालाई यहाँ नै पवित्र बन्नुछ। याद गर्दैनौ भने फेरि सजायँ खानुपर्छ। पद पनि भ्रष्ट हुन्छ त्यसैले बाबा भन्नुहुन्छ– याद गर्ने मेहनत गर। आत्माहरूलाई सम्झाउनुहुन्छ। अरू कुनै पनि सतसङ्ग आदि यस्तो हुँदैन जहाँ यस्तो भनिन्छ– हे रुहानी बच्चाहरू! यो हो रुहानी ज्ञान, जुन रुहानी बाबाबाट नै बच्चाहरूलाई मिल्छ। रुह अर्थात् निराकार। शिव पनि निराकार हुनुहुन्छ नि। तिम्रो आत्मा पनि बिन्दु धेरै सानो हो। त्यसलाई दिव्य दृष्टिले सिवाय कसैले देख्न सक्दैन। दिव्य दृष्टि बाबाले नै दिनुहुन्छ। भक्त बसेर हनुमान, गणेश आदिको पूजा गर्छन्, तर उनीहरूको साक्षात्कार कसरी हुन्छ। बाबा भन्नुहुन्छ– दिव्य दृष्टिदाता त म नै हुँ। जसले धेरै भक्ति गर्छन्, त्यसपछि फेरि मैले नै उनीहरूलाई साक्षात्कार गराउँछु तर यसबाट फाइदा केही पनि हुँदैन। केवल खुसी हुन्छन्। पाप त फेरि पनि गर्छन्, मिल्ने केही पनि होइन। पढाइबिना केही बन्न कहाँ सक्छन् र। देवताहरू सर्वगुण सम्पन्न हुन्छन्। तिमी पनि त्यस्तै बन न। बाँकी त त्यो हो सबै भक्तिमार्गको साक्षात्कार। साँच्चिकै श्रीकृष्णसँग झुल, स्वर्गमा उहाँसँगै बस। त्यो त पढाइमाथि आधारित हुन्छ। जति श्रीमतमा चल्छौ त्यति उच्च पद पाउँछौ। श्रीमत भगवानको गायन गरिएको छ। श्रीकृष्णको श्रीमत भनिँदैन। परमपिता परमात्माको श्रीमतबाट श्रीकृष्णको आत्माले यो पद पाएको हो। तिम्रो आत्मा पनि देवता धर्ममा थियो अर्थात् श्रीकृष्णको घरानामा थियो। भारतवर्ष वासीहरूलाई यो थाहा छैन– राधा-कृष्णको आपसमा के सम्बन्ध थियो। दुवै अलग-अलग राज्यका थिए। फेरि स्वयंवरपछि लक्ष्मी-नारायण बन्नुहुन्छ। यी सबै कुरा बाबाले नै आएर सम्झाउनुहुन्छ। अब तिमीले पढ्छौ नै स्वर्गको राजकुमार-राजकुमारी बन्नको लागि। राजकुमार-राजकुमारीको स्वयंवर भइसकेपछि फेरि नाम परिवर्तन हुन्छ। त्यसैले बाबाले बच्चाहरूलाई यस्ता देवता बनाउनुहुन्छ। बाबाको श्रीमतमा चल्यौ भने मात्र। तिमी हौ मुख वंशावली, उनीहरू हुन् कोख वंशावली। ती ब्राह्मणहरूले लगनगाँठो बाँध्छन् काम चितामा बसाउनको लागि। अहिले तिमी सच्चा सच्चा ब्राह्मणीहरूले काम चिताबाट उतारेर ज्ञान चितामा बसाउन लगनगाँठो बाँध्छौ। त्यसैले त्यस विकारी लगन गाँठोलाई छोड्नुपर्छ। यहाँका बच्चाहरूले त लडाइँ झगडा गरेर सारा पैसा पनि बर्बाद गर्छन्। आजकाल दुनियाँमा विकार धेरै छ। सबैभन्दा विकारी बिमारी हो सिनेमा। राम्रा बच्चाहरू पनि सिनेमा जाँदा बिग्रन्छन् त्यसैले बी.के. लाई सिनेमा जान मनाही छ। हो, जो मजबुत छन्, उनीहरूलाई बाबा भन्नुहुन्छ– त्यहाँ पनि तिमीले सेवा गर। उनीहरूलाई सम्झाऊ– यो त हो हदको सिनेमा। एक बेहदको सिनेमा पनि छ। बेहदको सिनेमाबाट नै फेरि यी हदका झुटा सिनेमा निस्किएका हुन्।

अहिले तिमी बच्चाहरूलाई बाबाले सम्झाउनुभएको छ– मूलवतन त्यहाँ सबै आत्माहरू रहन्छन् फेरि बीचमा छ सूक्ष्मवतन। यो हो साकार वतन। खेल सारा यहाँ चल्छ। यो चक्र घुमि नै रहन्छ। तिमी ब्राह्मण बच्चाहरू नै स्वदर्शन चक्रधारी बन्नुछ। देवताहरू होइन। तर ब्राह्मणहरूलाई यो अलङ्कार दिँदैनन् किनकि पुरुषार्थी छन्। आज राम्रोसँग चलिरहेका छन्, भोलि गिर्छन् त्यसैले देवताहरूलाई त्यो अलङ्कार दिन्छन्। श्रीकृष्णको लागि देखाउँछन्– स्वदर्शन चक्रबाट अकासुर-बकासुर आदिलाई मार्नुभयो। तर उहाँलाई त अहिंसा परमोधर्म भनिन्छ फेरि हिंसा कसरी गर्नुहुन्छ! यो सबै हो भक्तिमार्गको सामग्री। जहाँ गए पनि शिव लिङ्ग नै हुन्छ। केवल नाम कति भिन्न भिन्न राखिदिएका छन्। कति माटाका देवीहरू बनाउँछन्। श्रृङ्गार गर्छन्, हजारौं रुपैयाँ खर्च गर्छन्। उत्पत्ति गरेर फेरि पूजा गर्छन्, पालना गरेर फेरि लगेर डुबाउँछन्। कति खर्च गर्छन् पुतलीहरूको पूजामा। मिल्न त केही पनि मिल्दैन। बाबा सम्झाउनुहुन्छ– यो सबै पैसा बर्बाद गर्ने भक्ति हो, सिँढी ओर्लंदै आएका छन्। बाबा आउनुहुन्छ त्यसपछि सबैको चढ्तीकला हुन्छ। बाबाले सबैलाई शान्तिधाम-सुखधाममा लैजानुहुन्छ। पैसा बर्बाद गर्ने कुरा हुँदैन। फेरि भक्तिमार्गमा तिमीले पैसा बर्बाद गर्दा गर्दा विपन्न बनेका छौ। सम्पन्न, विपन्न बन्ने कथा बाबा बसेर सम्झाउनुहुन्छ। तिमी यी लक्ष्मी-नारायणको राजवंशमा थियौ नि। अहिले बाबाले तिमीलाई नरबाट नारायण बन्ने शिक्षा दिनुहुन्छ। ती मानिसहरूले तीजरीको कथा, अमर कथा सुनाउँछन्। हो सबै झुटो। तीजरीको कथा त यो हो, जसबाट आत्माको ज्ञानको तेस्रो नेत्र खुल्छ। सारा चक्र बुद्धिमा आउँछ। तिमीलाई ज्ञानको तेस्रो नेत्र मिलिरहेको छ, अमरकथा पनि सुनिरहेका छौ। अमर बाबाले तिमीलाई कथा सुनाइरहनुभएको छ– अमरपुरीको मालिक बनाउनुहुन्छ। त्यहाँ तिम्रो कहिल्यै मृत्यु हुँदैन। यहाँ त मानिसहरूलाई कालको कति डर हुन्छ। त्यहाँ डराउने, रुने कुरा हुँदैन। खुसीले पुरानो शरीर छोडेर नयाँ लिन्छन्। यहाँ कति मानिसहरू रुन्छन्। यो हो नै रुने दुनियाँ। बाबा भन्नुहुन्छ– यो त बनिबनाउ ड्रामा हो। हरेकले आआफ्नो पार्ट खेलिरहन्छन्। यी देवताहरू मोहजित छन् नि। यहाँ त दुनियाँमा अनेक गुरु छन् जसबाट अनेक मत मिल्छन्। हरेकको मत आफ्नो हुन्छ। एक सन्तोषी देवी पनि छन् जसको पूजा हुन्छ। अब सन्तोषी देवीहरू त सत्ययुगमा हुन सक्छन्, यहाँ कसरी हुन सक्छन्। सत्ययुगमा देवताहरू सदैव सन्तुष्ट हुन्छन्। यहाँ त केही न केही आश हुन्छ। त्यहाँ कुनै आश हुँदैन। बाबाले सबैलाई सन्तुष्ट पारिदिनुहुन्छ। तिमी पदमपति बन्छौ। कुनै अप्राप्त वस्तु हुँदैन जसको प्राप्तिको चिन्ता हुन्छ। त्यहाँ चिन्ता हुँदैहुँदैन। बाबा भन्नुहुन्छ– सबैको सदगतिदाता त म मात्रै हुँ। तिमी बच्चाहरूलाई २१ जन्मको लागि खुसी नै खुसी दिन्छु। यस्तो बाबालाई याद पनि गर्नुपर्छ। यादबाट नै तिम्रा पाप भस्म हुन्छन् र तिमी सतोप्रधान बन्छौ। यी बुझ्ने कुरा हुन्। जति धेरै अरूलाई सम्झाउँछौ त्यति प्रजा बन्दै जान्छन् र उच्च पद पाउँछौ। यो कुनै साधु आदिको कथा होइन। भगवान बसेर यिनको मुखद्वारा सम्झाउनुहुन्छ। अहिले तिमी सन्तुष्ट देवी-देवता बनिरहेका छौ। अब तिमीले सदैव पवित्र रहने व्रत पनि लिनुपर्छ किनकि पावन दुनियाँमा जानुछ त्यसैले पतित बन्नुछैन। बाबाले यो व्रत सिकाउनुभएको छ। मानिसहरूले फेरि अनेक प्रकारका व्रत बनाएका छन्। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) एक बाबाको मतमा चलेर सदा सन्तुष्ट रहेर सन्तोषी देवी बन्नुछ। यहाँ कुनै पनि आश राख्नुछैन। बाबाबाट सबै प्राप्ति गरेर पदमपति बन्नुछ।

२) सबैभन्दा विकारी बनाउने सिनेमा हो। तिमीलाई सिनेमा हेर्न मनाही छ। तिमी बहादुर हौ त्यसैले हद र बेहदको सिनेमाको रहस्य बुझेर अरूलाई सम्झाउनुछ। सेवा गर्नुछ।

वरदान:–
पुरुषार्थ र सेवामा विधिपूर्वक उन्नति गर्ने तीव्र पुरुषार्थी भव

ब्राह्मण अर्थात् विधिपूर्वक जीवन भएका। विधिपूर्वक गरिएको कुनै पनि कार्य सफल हुन्छ । यदि कुनै पनि कुरामा स्वयंको पुरुषार्थ वा सेवामा वृद्धि हुँदैन भने अवश्य कुनै विधिको कमी छ त्यसैले चेक गर– अमृतवेलादेखि रातीसम्म मनसा-वाचा-कर्मणा वा सम्पर्क विधिपूर्वक रह्यो अर्थात् उन्नति भयो? यदि उन्नति भएन भने कारणलाई सोचेर निवारण गर त्यसपछि तिमी निराश हुँदैनौ। जीवन विधिपूर्वक छ भने अवश्य उन्नति हुन्छ र तीव्र पुरुषार्थी बन्छौ।

स्लोगन:–
स्वच्छता र सत्यतामा सम्पन्न बन्नु नै सच्चा पवित्रता हो।

अव्यक्त इसारा:– स्वयं र सबैप्रति मनसाद्वारा योगका शक्तिहरूको प्रयोग गर

कहीँ वाणीद्वारा कुनै कार्य सिद्ध भएन भने भन्छौ– यिनीहरूले वाणीबाट बुझ्दैनन्, शुभभावनाबाट परिवर्तन हुन्छन्। जहाँ वाणीले कार्य सफल हुन सक्दैन, त्यहाँ साइलेन्सको शक्तिको साधन शुभ सङ्कल्प, शुभभावना, नयनहरूको भाषाद्वारा रहम र स्नेहको अनुभूतिले कार्य सिद्ध हुन सक्छ।