26.02.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– सुख दिने एक बाबालाई याद गर , यो थोरै समयमा योगबल जम्मा गर ेमा अन्त्य मा धेरै काम आउ ने छ।”

प्रश्न:–
तिमी बेहदका वैरागी बच्चाहरू हौ, तिमीहरूलाई सदा कुन कुराको स्मृति रहनुपर्छ?

उत्तर:–
यो हाम्रो विकारी चोला हो, यसलाई छोडेर फर्केर घर जानुछ– यो स्मृति सदा रहनुछ। बाबा र वर्सा याद रहोस्, अरू केही पनि याद नआओस्। यो हो बेहदको वैराग्य। कर्म गर्दा यादमा रहने यस्तो पुरुषार्थ गर्नुछ जसबाट पापहरूको बोझ शिरबाट उत्रिन्छ। आत्मा तमोप्रधानबाट सतोप्रधान बन्छ।

ओम् शान्ति ।
बाबाले बच्चाहरूलाई दिनहुँ धेरै सहज कुरा सम्झाउनुहुन्छ। यो हो ईश्वरीय पाठशाला। अवश्य गीतामा पनि भनिन्छ– भगवानुवाच। भगवान बाबा सबैको एक हुनुहुन्छ। सबै भगवान हुन सक्दैनन्। हो, सबै बच्चा हुन सक्छन् एक बाबाका। यो अवश्य बुद्धिमा आउनुपर्छ– बाबाले स्वर्ग नयाँ दुनियाँको स्थापना गर्नुहुन्छ। उहाँ बाबाबाट हामीलाई स्वर्गको वर्सा अवश्य मिलेको होला। भारतमा नै शिवजयन्तीको गायन गरिन्छ। तर शिवजयन्ती कसरी हुन्छ, यो त बाबाले नै आएर सम्झाउनुहुन्छ। बाबा आउनुहुन्छ कल्पको सङ्गमयुगमा। बच्चाहरूलाई फेरि पतितबाट पावन बनाउन अर्थात् वर्सा दिन। यस समयमा सबैलाई रावणको श्राप छ त्यसैले सबै दुःखी छन्। अहिले यो कलियुगी पुरानो दुनियाँ हो। यो सदैव याद राख– हामी ब्रह्मामुख वंशावली ब्राह्मण हौँ। जसले पनि आफूलाई ब्रह्माकुमार कुमारी सम्झन्छन्, उनीहरूले अवश्य यो बुझ्नुपर्छ– कल्प कल्प दादाबाट ब्रह्माद्वारा वर्सा लिन्छौँ। यति धेरै बच्चाहरू अरू कसैका हुन सक्दैनन्। उहाँ हुनुहुन्छ सबैका बाबा। ब्रह्मा पनि बच्चा हुन्। सबै बच्चाहरूलाई वर्सा दादाबाट मिल्छ। उहाँको वर्सा हो सत्ययुगको राजधानी। उहाँ बेहदका बाबा स्वर्गका रचयिता हुनुहुन्छ भने अवश्य हामीलाई स्वर्गको राज्य भाग्य प्राप्त हुनुपर्छ। यो बिर्सिएका छन्, हामीलाई स्वर्गको बादसाही मिलेको थियो। निराकार बाबाले कसरी बादसाही दिनुहुन्छ, अवश्य ब्रह्माद्वारा दिनुहुन्छ। भारतवर्षमा यिनको राज्य थियो। अहिले कल्पको सङ्गम हो। सङ्गममा नै ब्रह्मा छन् त्यसैले त बि. के. कहलाउँछन्। अन्धश्रद्धाको कुनै कुरा हुन सक्दैन। यो गोद लिइएको (एडप्सन) हो। हामी ब्रह्माकुमार कुमारी हौँ। ब्रह्मा शिवबाबाका बच्चा हुन्, हामीलाई शिवबाबाबाट फेरि स्वर्गको बादसाही मिलिरहेको छ। पहिला पनि मिलेको थियो, जुन बादसाही मिलेको ५ हजार वर्ष भयो। हामी देवीदेवता धर्मका थियौँ। अन्त्यसम्म वृद्धि हुँदै जान्छ। जसरी क्राइस्ट आए, क्रिस्चियन धर्म अहिलेसम्म छ। वृद्धि हुँदै जान्छ। उनीहरूलाई थाहा छ– क्राइस्टद्वारा हामी क्रिस्चियन बन्यौँ। आजभन्दा २ हजार वर्ष पहिला क्राइस्ट आएका थिए। अहिले वृद्धि भइरहेको छ। पहिला सुरुमा सतोप्रधान फेरि रजो, तमोमा आउनुछ। तिमी सत्ययुगमा सतोप्रधान थियौ फेरि रजो, तमोमा आएका छौ। तमोप्रधान सृष्टिबाट फेरि सतोप्रधान अवश्य हुन्छ। नयाँ दुनियाँमा आदि सनातन देवीदेवता धर्म थियो। मुख्य धर्म छन् चार। तिम्रो धर्म आधाकल्प चल्छ। यहाँ पनि तिमी त्यही आदि सनातन देवीदेवता धर्मका हौ। तर विकारी हुनाले तिमीले आफूलाई देवीदेवता कहलाउँदैनौ। तिमी थियौ आदि सनातन देवीदेवता धर्मका तर वामममार्गमा जानाले तिमी पतित बन्यौ, त्यसैले आफूलाई हिन्दु भनिदिन्छौ। अब तिमी ब्राह्मण बनेका छौ। उच्चभन्दा उच्च शिवबाबा हुनुहुन्छ। फेरि हौ तिमी ब्राह्मण। तिमी ब्राह्मणहरूको वर्ण उच्चभन्दा उच्च हो। ब्रह्माका बच्चा बनेका छौ। तर वर्सा ब्रह्माबाट मिल्दैन। शिवबाबाले ब्रह्माद्वारा स्वर्गको स्थापना गरिरहनुभएको छ। तिम्रो आत्माले अहिले बाबालाई चिनिसकेको छ। बाबा भन्नुहुन्छ– मद्वारा मलाई चिनेकाले तिमीले सारा सृष्टि चक्रको आदि, मध्य, अन्त्यको ज्ञान बुझेका छौ। त्यो ज्ञान मसँग नै छ। म ज्ञानको सागर, आनन्दको सागर, पवित्रताको सागर हुँ। २१ जन्म तिमी पवित्र बन्छौ फेरि विषय सागरमा पर्छौ। अहिले ज्ञानको सागर बाबाले तिमीलाई पतितबाट पावन बनाउनुहुन्छ। कुनै गङ्गाको पानीले पावन बनाउन सक्दैन। स्नान गर्न जान्छन् तर त्यो पानी कुनै पतित-पावन होइन। यी नदीहरू त सत्ययुगमा पनि हुन्छन्, कलियुगमा पनि छन्। पानीमा फरक हुँदैन। भन्छन् पनि– “सबैका सदगतिदाता एक राम।” उहाँ नै ज्ञानको सागर पतित-पावन हुनुहुन्छ।

बाबा आएर ज्ञान सम्झाउनुहुन्छ जसबाट तिमी स्वर्गका मालिक बन्छौ। सत्ययुग त्रेतामा भक्ति शास्त्र आदि केही हुँदैनन्। तिमीले बाबाबाटसदा सुखको वर्सा लिन्छौ। यस्तो होइन– त्यहाँ तिमीले गङ्गा स्नान गर्नुछ वा कुनै यात्रा गर्नुछ। तिम्रो यो हो रुहानी यात्रा जुन कुनै मनुष्यले सिकाउन सक्दैनन्। बाबा हुनुहुन्छ सबै आत्माहरूका बाबा, जिस्मानी बाबा त अनेक छन्। रुहानी बाबा एक हुनुहुन्छ। यो पक्का पक्का याद गरिराख। बाबाले पनि सोध्नुहुन्छ– तिम्रा कति पिता छन् भनेर, यसैमा अलमलिन्छन्– यो के सोध्नुहुन्छ? पिता त सबैका एउटै हुन्छन्। दुई तीन बाबा कसरी हुन्छन्। बाबा सम्झाउनुहुन्छ– उहाँ परमात्मा बाबालाई याद गर्छौ दुःखमा। दुःखमा सदैव भन्छौ– हे परमपिता परमात्मा हामीलाई दुःखबाट छुटाउनुहोस्! त्यसैले दुई बाबा हुनुभयो नि। एक जिस्मानी बाबा, अर्का रुहानी बाबा। जसको महिमा गाउँछौ– हजुर नै मातापिता हामी बालक हजुरका... हजुरको कृपाले सुख धेरै। लौकिक आमाबुबाबाट सुख धेरै मिल्दैन। दुःख परेपछि मात्र उहाँ बाबालाई याद गर्छन्। यहाँ बाबाले नै यस्तो प्रश्न सोध्नुहुन्छ, अरू कसैले त सोध्न सक्दैनन्।

भक्तिमार्गमा तिमीले गाउँछौ– बाबा हजुर आउनुभयो भने हामीले हजुरबाहेक अरू कसैका कुरा सुन्दैनौँ। अरू सबैले त दुःख दिन्छन्, सुख दिने त एक हजुर मात्रै हुनुहुन्छ। त्यसैले बाबा आएर याद दिलाउनुहुन्छ– तिमीले के भन्थ्यौ। तिमीलाई थाहा छ, तिमी नै ब्रह्माकुमार कुमारी कहलाउँछौ। मनुष्यको यस्तो पत्थरबुद्धि छ, उनीहरूले यो पनि बुझ्दैनन्– बि. के. हरू को हुन्! मम्मा बाबा को हुन्! यिनी कुनै साधुसन्त होइनन्। साधु संन्यासीलाई गुरु भनिन्छ, मातापिता भनिँदैन। यहाँ बाबा त आएर दैवी धर्मको राज्य स्थापना गर्नुहुन्छ। जहाँ यी लक्ष्मी नारायण राजारानीले राज्य गर्थे। पहिला पवित्र थिए फेरि अपवित्र बन्छन्। जो पूज्य थिए, उनीहरूले फेरि ८४ जन्म लिन्छन्। पहिला बेहदका बाबाबाट २१ जन्म सुखको वर्सा मिल्छ। कुमारी ती हुन् जसले २१ कुलको उद्धार गर्छिन्। यही तिम्रो गायन हो। तिमी कुमारीहरू हौ, गृहस्थी होइनौ। ठुला भए पनि मरजीवा बनेर, सबै बाबाका बच्चा बनेका छौ। प्रजापिता ब्रह्माका धेरै बच्चाहरू छन् र वृद्धि हुँदै जान्छन्। फेरि यी सबै देवता बन्नेछन्। यो शिव बाबाको यज्ञ हो। यसलाई भनिन्छ राजस्व यज्ञ, स्वराज्य पाउने यज्ञ। आत्माहरूलाई बाबाबाट स्वर्गको राज्यको वर्सा मिल्छ। यस राजस्व अश्वमेध ज्ञान यज्ञमा के गर्नुछ? शरीरसहित जे जति छ, त्यो बलिहार गर्नुछ अथवा स्वाहा गर्नुछ। यस यज्ञबाट त तिमीले फेरि राज्य पाउनेछौ। बाबाले याद दिलाउनुहुन्छ– भक्तिमार्गमा तिमीले गाउँथ्यौ– हे बाबा! हजुर जुनबेला आउनुहुन्छ त्यतिबेला हामी बलिहार जानेछौँ, कुर्बान जानेछौँ। अब तिमीहरू सबैले आफूलाई ब्र.कु. कुमारीहरू त सम्झन्छौ। बस्न आफ्नो गृहस्थ व्यवहारमा बसे पनि पावन रहनुपर्छ, कमल पुष्पसमान। आफूलाई आत्मा सम्झ। हामी बाबाका बच्चा हौँ। तिमी आत्माहरू हौ आशिक। बाबा भन्नुहुन्छ– म हुँ एक माशुक। तिमीले म माशुकलाई बोलाइरहन्छौ। तिमी आधाकल्पका आशिक हौ जसलाई परमपिता परमात्मा भनिन्छ, उहाँ निराकार हुनुहुन्छ। आत्मा पनि निराकार छ जसले यस शरीरद्वारा पार्ट खेल्छ। भक्तिमार्गमा पनि तिमीले पार्ट खेल्नुछ। भक्ति हो नै रात, अन्धकारमा मनुष्यले ठक्कर खान्छन्। द्वापरदेखि तिमीले ठक्कर खाँदै आएका छौ। यस समयमा घोर दुःखी भएका छौ। अब पुरानो दुनियाँको अन्त्य हुन्छ। यो पैसा आदि सबै माटोमा मिल्नुछ। चाहे कोही करोडपति हुन्, राजा हुन्, बच्चा जन्मियो भने सम्झन्छन्– यो धन हाम्रो बच्चाको लागि हो। हाम्रा छोरा-नातिले खानेछन्। बाबा भन्नुहुन्छ– केही पनि खाँदैनन्। यो दुनियाँ नै खतम हुनेछ। थोरै समय बाँकी छ। धेरै विघ्न पर्छन्। आपसमा लड्नेछन्। पछि गएर यसरी लड्नेन्– जसबाट रगतका नदीहरू बग्नेछन्। तिम्रो त कसैसँग लडाइँ छैन। तिमी योगबलमा रहन्छौ। तिमी यादमा रह्यौ भने कोही पनि तिम्रो अगाडि नराम्रो विचारले आयो भने पनि उसलाई भयङ्कर साक्षात्कार हुन्छ र तुरुन्त भाग्छ। तिमीले शिवबाबालाई याद गर्छौ अनि ऊ भाग्छ। जो पक्का बच्चाहरू छन्, उनीहरू यही पुरुषार्थमा रहन्छन्– मेरो त एक शिवबाबा हुनुहुन्छ, अरू कोही छैन। बाबा सम्झाउनुहुन्छ– हातले काम गर... बच्चाहरूले घरलाई पनि सम्हाल्नुछ। तिमी आत्माहरूले बाबालाई याद गरेमा पापहरूको बोझ पनि उत्रिन्छ। केवल मलाई याद गरेमा तिमी तमोप्रधानबाट सतोप्रधान बन्छौ, तर नम्बरवार पुरुषार्थ अनुसार। फेरि तिमी सबैले यो शरीर छोड्नेछौ, बाबाले सबै आत्माहरूलाई लामखुट्टेसमान लैजानुहुन्छ। बाँकी सारा दुनियाँले सजाय खानुपर्छ। भारतवर्षमा थोरै बाँकी रहन्छन्। त्यसैको लागि यो महाभारत लडाइँ भएको हो। यहाँ त धेरै वृद्धि हुनेछ। प्रदर्शनी, प्रोजेक्टर आदिद्वारा कतिले सुन्छन्। तिनीहरू प्रजा बन्दै जान्छन्। राजा त एउटा हुन्छन् बाँकी हुन्छन् प्रजा। मन्त्री पनि प्रजाको लाइनमा आउँछन्। प्रजा धेरै हुन्छन्। एक राजाका लाखौँको सङ्ख्यामा प्रजा हुन्छन्। त्यसैले राजारानीले मेहनत गर्नुपर्छ नि।

बाबा भन्नुहुन्छ– सबैथोक गर्दा निरन्तर मलाई याद गर। जसरी आशिक माशुक हुन्छन्, उनीहरूको जिस्मानी प्रेम हुन्छ। तिमी बच्चाहरू यस समयमा आशिक हौ। तिम्रो माशुक आउनुभएको छ। तिमीलाई पढाइरहनुभएको छ। पढ्दापढ्दै तिमी देवता बन्नेछौ। यादले विकर्म विनाश हुन्छन् र तिमी सदा निरोगी पनि बन्नेछौ। फेरि ८४ को चक्रलाई पनि याद राख्नुछ। सत्ययुगमा यति जन्म, त्रेतामा यति जन्म। हामी देवीदेवता धर्मकाले पूरा ८४ को चक्कर लगायौँ। पछि गएर तिमी धेरै वृद्धि हुन्छौ। तिम्रा सेवाकेन्द्रहरू हजारौँको सङ्ख्यामा हुन्छन्। गल्ली गल्लीमा सम्झाइरहनेछौ– केवल बाबालाई र वर्सालाई याद गर। अब जाऊ घर फर्केर। यो त विकारी चोला हो। यो हो बेहदको वैराग्य। संन्यासीहरूले त केवल हदको घरबार छोडिदिन्छन्। उनीहरू हुन् हठयोगी। उनीहरूले राजयोग सिकाउन सक्दैनन्। भन्छन्– यो भक्ति पनि अनादि हो। बाबा भन्नुहुन्छ– यो भक्ति त द्वापरदेखि सुरुहुन्छ। ८४ सिँढी ओर्लियौ अब तिमी तमोप्रधान बनेका छौ। तिमी सो देवीदेवता थियौ। क्रिस्चियनले भन्छन्– हामी सो क्रिस्चियन थियौँ। तिमीलाई थाहा छ– हामी सत्ययुगमा थियौँ। बाबाले देवीदेवता धर्म स्थापना गर्नुभयो। यी जो लक्ष्मीनारायण थिए उनीहरू अब ब्राह्मण बनेका छन्। सत्ययुगमा एक राजा रानी थिए, एक भाषा थियो। यो पनि बच्चाहरूले साक्षात्कार गरेका छौ। तिमी हौ सबै आदि सनातन धर्मका। तिमीले नै ८४ जन्म लिन्छौ। उनीहरूले जुन भन्छन्– आत्मा निर्लेप छ वा ईश्वर सर्वव्यापी हुनुहुन्छ, यो गलत हो। सबैमा आत्मा छ, फेरि कसरी भन्छौ– हामीमा परमात्मा हुनुहुन्छ। त्यसो भए त सबै पिताहरू भयौ। कति तमोप्रधान बनेका छन्। पहिला जे सुन्थे त्यही मान्थे। अब बाबा आएर सत्य सुनाउनुहुन्छ। तिमीलाई ज्ञानको तेस्रो नेत्र दिनुहुन्छ जसबाट तिमीले सृष्टिको आदि, मध्य, अन्त्यलाई जान्दछौ। अमरकथा पनि यही हो। बाँकी सूक्ष्मवतनमा कथा आदि हुँदैनन्। त्यो सबै भक्तिमार्गको कलमी हो। तिमीले अमरकथा सुनिरहेका छौ, अमर बन्नको लागि। त्यहाँ तिमी गएर खुसीले एक शरीर छोडेर अर्को लिनेछौ। यहाँ त कोही मरेछ भने रुन्छन् कराउँछन्। त्यहाँ बिमारी आदि हुँदैन। सदा सदैव स्वस्थ हुन्छन्। आयु पनि लामो हुन्छ। त्यहाँ पतितपना हुँदैन। अब यो पक्का निश्चय गर्नुछ– हामीले ८४ को चक्कर पूरा गरेका छौँ। अब हामीलाई लिन बाबा आउनुभएको छ। बाबाले तिमीलाई पावन बन्ने युक्तिहरू पनि बताउनुहुन्छ। केवल म बाबालाई र वर्सालाई याद गर। सत्ययुगमा १६ कला सम्पूर्ण फेरि कला कम हुँदै जान्छन्। अब तिमीमा कुनै कला छैन। बाबाले नै दुःखबाट छुटाएर सुखमा लैजानुहुन्छ त्यसैले उहाँलाई मुक्तिदाता भनिन्छ। सबैलाई आफूसँगै लैजानुहुन्छ। तिम्रा गुरुले तिमीलाई कहाँ साथै लैजान्छन् र? ती गुरु गए भने चेला गद्दीमा बस्छन् त्यसपछि फेरि चेलाहरूमा धेरै अस्त-व्यस्त हुन्छ। गद्दीको लागि आपसमा लड्छन्। बाबा भन्नुहुन्छ– मैले तिमी आत्माहरूलाई साथै लैजान्छु। तिमी सम्पूर्ण बनेनौ भने सजाय खान्छौ र पद भ्रष्ट हुन्छ। यहाँ राजधानी स्थापना भइरहेको छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) यादको यस्तो अभ्यास गर्नुछ जसले नराम्रो विचारको आत्मा अगाडि आउनासाथ परिवर्तन हुन्छ। मेरो त एक शिवबाबा, अर्को कोही छैन... यो पुरुषार्थमा रहनुछ।

२) स्वराज्य पाउनको लागि शरीरसहित जे जति पनि छ, त्यो सपर्पण गर्नुछ। यो रुद्र यज्ञमा सबै थोक स्वाहा गरिसकेपछि राज्य पद मिल्नेछ।

वरदान:–
सहन शक्तिको विशेषताद्वारा अरूको संस्कारलाई परिवर्तन गर्ने दृढ सङ्कल्पधारी भव

जसरी ब्रह्माबाबाले ज्ञानी र अज्ञानी आत्माहरूद्वारा गरिएका अपमान सहन गरेर तिनीहरूलाई परिवर्तन गर्नुभयो त्यसैगरी फलो फादर गर, यसको लागि आफ्ना सङ्कल्पहरूमा केवल दृढता धारण गर। यो नसोच– कहाँसम्म हुन्छ। केवल पहिला अलिकति लाग्छ– कसरी हुन्छ होला, कहाँसम्म सहन गरूँला। तर यदि तिम्रो लागि कसैले केही भन्छन् पनि भने तिमी चुप होऊ, सहन गर त्यसपछि ऊ पनि परिवर्तन हुन्छ। केवल निराश नहोऊ।

स्लोगन:–
सङ्गममा सहन गर्नु, झुक्नु, यही सबैभन्दा ठुलो महानता हो।

अव्यक्त इसारा:– एकता र विश्वासको विशेषताद्वारा सफलतासम्पन्न बन

बापदादा चाहनुहुन्छ– बच्चाहरूको पहिला साथीहरूमा, सेवामा, वायुमण्डलमा एकता होस्, फेरि एक बल एक भरोसा, एकमत होस् त्यसपछि सेवामा सफलता मिल्छ। जसरी नरिवल फोडेर, रिबन काटेर उद्घाटन गर्छौ, त्यसैगरी एकमत, एकबल, एक भरोसा र एकताको रिबन काट र फेरि सबैको सन्तुष्टता, प्रसन्नताको नरिवल फोड। यो पानी धरतीमा लगाऊ, त्यसपछि हेर कति सफलता हुन्छ।