26.06.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– सदा यही नसा रहोस् हाम्रो पदमापदम भाग्य छ , जसले गर्दा हामी पतित-पावन बाबाका बच्चा बनेका छौं , उहाँबाट हामीलाई बेहद सुखको वर्सा मिल्छ।”

प्रश्न:–
तिमी बच्चाहरूको कुनै पनि धर्मसँग घृणा हुन सक्दैन, किन?

उत्तर:–
किनकि तिमीले बीज र वृक्षलाई जानेका छौ। तिमीलाई थाहा छ– यो मनुष्य सृष्टि रूपी बेहदको वृक्ष हो, यसमा हरेकको आ-आफ्नो पार्ट छ। नाटकमा कहिल्यै पनि कलाकारहरूले एक-अर्कालाई घृणा गर्दैनन्। तिमीलाई थाहा छ– हामीले यस नाटकमा हीरो-हीरोइनको पार्ट खेल्यौं। हामीले जुन सुख देख्यौं, त्यो अरू कसैले देख्न सक्दैन। सारा विश्व माथि राज्य गर्ने हामी हौं भन्ने तिमीलाई अथाह खुसी छ।

ओम् शान्ति ।
ओम् शान्ति भन्नासाथ बच्चाहरूलाई जुन ज्ञान मिलेको छ, त्यो सारा बुद्धिमा आउनु पर्छ। बाबाको बुद्धिमा पनि कुनचाहिँ ज्ञान छ? यो मनुष्य सृष्टिरूपी वृक्ष हो, जसलाई कल्पवृक्ष पनि भनिन्छ, त्यसको उत्पत्ति, पालना अनि विनाश कसरी हुन्छ, यो कुरा सारा बुद्धिमा आउनु पर्छ। जसरी त्यो जड वृक्ष हुन्छ, यो हो चैतन्य। बीज पनि चैतन्य छ। उहाँको महिमाको गायन छ, उहाँ सत्य हुनुहुन्छ, चैतन्य हुनुहुन्छ अर्थात् वृक्षको आदि-मध्य-अन्त्यको रहस्य सम्झाइरहनु भएको छ। कसैले पनि उहाँको कर्तव्यलाई जान्दैनन्। प्रजापिता ब्रह्माको कर्तव्यलाई त जान्नु पर्छ नि। ब्रह्मालाई कसैले याद गर्दैनन्, चिनेकै छैनन्। अजमेरमा ब्रह्माको मन्दिर छ। त्रिमूर्ति चित्र छपाउँछन्, त्यसमा ब्रह्मा, विष्णु, शङ्कर हुन्छन्। ब्रह्मा देवताय नम: भन्छन्। तिमी बच्चाहरूले जानेका छौ– यस समयमा ब्रह्मालाई देवता भनिदैन। सम्पूर्ण बनिसकेपछि मात्र देवता भनिन्छ। सम्पूर्ण बनेपछि जान्छन् सूक्ष्म वतनमा।

बाबा भन्नुहुन्छ– तिम्रो पिताको नाम के हो? कोसँग सोध्नु हुन्छ? आत्मासँग। आत्माले भन्छ हाम्रो बाबा। जसलाई थाहा छैन कसले भन्यो, उसले त प्रश्न सोध्न सक्दैन। अब बच्चाहरूले त बुझिसकेका छौ– अवश्य दुई पिता सबैका छन्। ज्ञान त एउटै बाबाले दिनु हुन्छ। अब तिमी बच्चाहरूले बुझेका छौ– यो शिवबाबाको रथ हो। बाबा यस रथद्वारा हामीलाई ज्ञान सुनाउनु हुन्छ। एक त यो हो जिस्मानी ब्रह्माबाबाको रथ। अर्को फेरि यो होरुहानी बाबाको रथ। उहाँ रुहानी बाबाको महिमा छ सुखका सागर, शान्तिका सागर...। पहिला त यो बुद्धिमा रहन्छ उहाँ बेहदका बाबा हुनुहुन्छ, जसबाट बेहदको वर्सा मिल्छ। पावन दुनियाँको मालिक बन्छौं। पतित-पावन आउनुहोस् भनेर निराकारलाई बोलाउने गर्छन्। आत्माले नै बोलाउँछ। जब आत्मा पावन हुन्छ तब पुकार्दैन। पतित छ त्यसैले पुकार्छ। अब तिमी आत्माहरूले जानेका छौ– उहाँ पतित-पावन बाबा यस तनमा आउनु भएको छ। यो भुल्नु हुँदैन, हामी उहाँका बनेका छौं। यो सौभाग्य त के पदम भाग्यको कुरा हो। फेरि उहाँ बाबालाई किन भुल्छौ? यस समयमा बाबा आउनु भएको छ– यो नयाँ कुरा हो। शिवजयन्ती पनि हरेक वर्ष मनाइन्छ। त्यसैले अवश्य उहाँ एकपटक नै आउनु हुन्छ। लक्ष्मी-नारायण सत्ययुगमा थिए। यस समयमा छैनन्। त्यसैले सम्झाउनु पर्छ उनीहरूले पुनर्जन्म लिएको हुनुपर्छ। १६ कलाबाट १२-१४ कलामा आएको हुनुपर्छ। यो तिमी बाहेक अरू कसैलाई थाहा छैन। सत्ययुग भनिन्छ नयाँ दुनियाँलाई। त्यहाँ सबै कुरा नयाँ नै नयाँ हुन्छ। देवता धर्मको नामको पनि गायन छ। तिनै देवताहरू वाममार्गमा गएपछि उनीहरूलाई नयाँ पनि भन्न सकिँदैन, अनि देवता पनि भन्न सकिँदैन। कसैले पनि हामी तिनीहरूका वंशावलीका हौं भन्दैनन्। यदि आफूलाई त्यस वंशावलीका सम्झने भए फेरि उनको महिमा, आफ्नो निन्दा किन गर्छन्? जब महिमा गर्ने गर्छन् भने अवश्य उनलाई पवित्र, आफूलाई अपवित्र पतित सम्झन्छन्। पावनबाट पतित बन्छन्, पुनर्जन्म लिन्छन्। सुरु सुरुमा जो पावन थिए उनै फेरि पतित बनेका छन्। तिमीलाई थाहा छ– पावनबाट अब पतित बनेका छौं। तिमीले स्कुलमा पढ्छौ। त्यसमा नम्बरवार फस्ट, सेकेण्ड, थर्ड क्लास त हुन्छन् नि।

अहिले बच्चाहरूले बुझेका छौ– हामीलाई बाबाले पढाउनु हुन्छ, तब त आउनु हुन्छ। नत्र यहाँ आउने के आवश्यकता छ? उहाँ कुनै गुरु, महात्मा, महापुरुष आदि कुनै हुनुहुन्न। यो त साधारण मनुष्य तन हो त्यो पनि धेरै पुरानो। धेरै जन्मको अन्त्यमा प्रवेश गर्छु। यिनको त अरू कुनै महिमा छैन। केवल यिनमा प्रवेश गर्छु तब यिनको नाम हुन्छ। नत्र प्रजापिता ब्रह्मा कहाँबाट आए। मनुष्य त अवश्य अलमलमा पर्छन्। बाबाले तिमीलाई सम्झाउनु भएको छ, त्यसैले त तिमीले फेरि अरूलाई सम्झाउँछौ। ब्रह्माका पिता को हुनुहुन्छ? ब्रह्मा, विष्णु, शङ्कर– यिनीहरूका रचयिता शिवबाबा हुनुहुन्छ। बुद्धि माथितिर जान्छ। परमपिता परमात्मा जो परमधाममा रहनु हुन्छ, उहाँका यी रचना हुन्। ब्रह्मा, विष्णु, शङ्करको कर्तव्य अलग-अलग छ। कोही आपसमा ३-४ जना रहेछन् भने सबैको कर्तव्य आ-आफ्नो हुन्छ। पार्ट हरेकको आ-आफ्नो हुन्छ। यति करोडौँ आत्माहरू छन्– एकको पार्ट अर्कोसँग मिल्दैन। यी बुझ्नु पर्ने आश्चर्यजनक कुरा हुन्। कति धेरै मनुष्य छन्। अब चक्र पूरा हुन्छ। अन्तिम समय हो नि। सबै फर्केर जान्छन्, फेरि चक्र दोहरिने छ। बाबाले यी सबै कुरा भिन्न-भिन्न प्रकारले सम्झाइरहनु हुन्छ, यो कुनै नयाँ कुरा होइन। भन्नुहुन्छ– कल्प पहिला पनि सम्झाएको थिएँ। बाबा अति प्रिय हुनुहुन्छ, यस्ता बाबालाई त धेरै प्यारले याद गर्नुपर्छ। तिमी पनि बाबाका प्यारा बच्चा हौ नि। बाबालाई याद गर्दै आएका छौ। पहिला सबैले एकको पूजा गर्थे। भेदभावको कुरा नै थिएन। अहिले त कति भेदभाव छ। यो रामको भक्त हो, यो कृष्णको भक्त हो। रामको भक्तले धुप बाल्दा कृष्णको भक्तले नाक बन्द गर्छ। यस्तो केही कुरा शास्त्रमा पनि छ। उसले भन्छ हाम्रो भगवान ठुलो, अर्कोले भन्छ हाम्रो ठुलो, भगवान दुई सम्झन्छन्। त्यसैले गलत हुनाको कारण सबैले असत्य काम नै गर्छन्।

बाबा सम्झाउनु हुन्छ– प्यारा बच्चाहरू! भक्ति भक्ति हो, ज्ञान ज्ञान हो। ज्ञानका सागर एउटै बाबा हुनुहुन्छ। बाँकी ती सबै हुन् भक्तिका सागर। ज्ञानबाट सद्गति हुन्छ। अहिले तिमी बच्चाहरू ज्ञानवान् बनेका छौ। बाबाले तिमीलाई आफ्नो र सारा चक्रको पनि परिचय दिनु भएको छ, जुन अरू कसैले दिन सक्दैन, त्यसैले बाबा भन्नुहुन्छ– तिमी बच्चाहरू हौ स्वदर्शन चक्रधारी। परमपिता परमात्मा त एउटै हुनुहुन्छ। बाँकी सबै बच्चाहरू हुन्। आफूलाई कसैले परमपिता भन्न सक्दैन। जो राम्रो समझदार मनुष्य छन्, उनले बुझ्छन् यो ड्रामा कति महान् छ। यसमा सबै कलाकारहरूले अविनाशी पार्ट खेल्छन्। अरू साना नाटक त विनाशी हुन्छन्, यो हो अनादि अविनाशी। कहिल्यै बन्द हुँदैन। यति सानो आत्मालाई यति ठुलो पार्ट मिलेको छ– शरीर लिने, छोडने र पार्ट खेल्ने। यी कुरा कुनै शास्त्रमा छैन। यदि यिनलाई कुनै गुरुले सुनाएको भए उनका अरू पनि अनुयायी हुन्थे, केवल एक अनुयायी के काम! अनुयायी त त्यो हो जसले पूरा अनुसरण गर्छ। यिनको ड्रेस आदि त त्यो छैन। कसले भन्छन् शिष्य हुन्। यहाँ त बाबा बसेर पढाउनु हुन्छ। जसरी बरियाँत हुन्छ त्यसैगरी बाबाको नै अनुसरण गर्नु छ। शिवको पनि बरियाँत भनिन्छ। बाबा भन्नुहुन्छ– यो हाम्रो बरियाँत हो। तिमीहरू सबै भक्तिनी हौ, म हुँ भगवान। तिमीहरू सबै प्रियतमा हौ, बाबा आउनु भएको छ तिमीलाई शृङ्गार गरेर लैजानको लागि। कति खुसी हुनुपर्छ! अब तिमीले सृष्टिको आदि-मध्य-अन्त्यलाई जानेका छौ। तिमी बाबालाई याद गर्दागर्दै पवित्र बन्छौ अनि पवित्र रजाइँ मिल्छ। बाबा सम्झाउनु हुन्छ म आउँछु नै अन्त्यमा। मलाई बोलाउँछन् नै पावन दुनियाँको स्थापना र पतित दुनियाँको विनाश गराउन आउनुहोस् भनेर त्यसैले महाकाल पनि भन्छन्। महाकालको पनि मन्दिर हुन्छ। कालको मन्दिर त देखेका छौ नि। शिवलाई काल भनिन्छ। बोलाउँछन् आएर पावन बनाउनुहोस्। आत्माहरूलाई लिएर जानु हुन्छ। बेहदका बाबा कति धेरै आत्माहरूलाई लिनको लागि आउनु भएको छ। काल-काल महाकाल, सबै आत्माहरूलाई पवित्र सुन्दर फूल बनाएर लैजानु हुन्छ। फूल बन्यौ भने त फेरि बाबाले लिएर गोदमा जानु हुन्छ। यदि पवित्र बनेनौ भने सजाय खानुपर्छ, फरक त हुन्छ नि। पाप बाँकी रह्यो भने फेरि सजाय खानुपर्छ। पद पनि त्यस्तै मिल्छ त्यसैले बाबा सम्झाउनु हुन्छ– प्यारा बच्चाहरू! धेरै धेरै प्यारा बन, कृष्ण सबैलाई प्यारो लाग्छ नि। कति प्रेमले कृष्णलाई झुलामा झुलाउँछन्, ध्यानमा जाँदा कृष्णलाई सानो देखेर छिटै गोदमा उठाएर प्यार गर्छन्। वैकुण्ठमा जान्छन्। त्यहाँ कृष्णलाई चैतन्य रूपमा देख्छन्। अहिले तिमी बच्चाहरूले जानेका छौ– साँच्चै वैकुण्ठ आइरहेको छ। हामी भविष्यमा यो बन्ने छौं। श्रीकृष्णलाई कलङ्क लगाउँछन्, त्यो सबै गलत हो। तिमी बच्चाहरूलाई पहिला नसा चढ्नुपर्छ। सुरुमा धेरै साक्षात्कार भएको थियो फेरि अन्त्यमा पनि धेरै हुन्छ, ज्ञान कति रमणिक छ। कति खुसी हुन्छ। भक्तिमा त केही पनि खुसी हुँदैन। ज्ञानमा कति सुख हुन्छ भक्तहरूलाई यो कहाँ थाहा छ, तुलना गर्न सकिँदैन। तिमी बच्चाहरूलाई पहिला यो नसा चढ्नुपर्छ। यो ज्ञान बाबा सिवाय कुनै ऋषिमुनि आदिले दिन सक्दैनन्। लौकिक गुरुले त कसैलाई पनि मुक्ति,जीवनमुक्तिको बाटो बताउन सक्दैनन्। तिमीले बुझेका छौ– कुनै पनि मनुष्य गुरु हुन सक्दैन, जसले भन्छन्- हे आत्माहरू, बच्चाहरू! मैले तिमीलाई सम्झाउँछु। बाबाको “बच्चे-बच्चे” भन्ने अभ्यास छ। जान्नु हुन्छ यी मेरा रचना हुन्। उहाँ बाबाले पनि भन्नुहुन्छ– म सबैको रचयिता हुँ। तिमीहरू सबै भाइ-भाइ हौ। उहाँलाई यो पार्ट मिलेको छ, कस्तो मिलेको छ त्यो बसेर सम्झाउनु हुन्छ। आत्मामा नै सारा पार्ट भरिएको छ। जति पनि मनुष्य आउँछन्, ८४ जन्ममा कहिल्यै उस्तै चेहरा हुन सक्दैन। अलि अलि परिवर्तन अवश्य हुन्छ। तत्त्व पनि सतो, रजो, तमो हुँदै जान्छ। हरेक जन्मको चेहरा एक अर्कोसँग मिल्दैन। यो पनि बुझ्नुपर्ने कुरा हो। बाबाले दिनहुँ सम्झाउनु हुन्छ– प्यारा बच्चाहरू! बाबामा कहिल्यै संशय नल्याऊ। संशय र निश्चय– दुई शब्द हुन्छ नि। बाबा मतलब बाबा। यसमा संशय त हुन सक्दैन। बच्चाले भन्न सक्दैन, मैले बाबालाई याद गर्न सक्दिन। तिमीले घरी घरी भन्छौ योग लाग्दैन। योग शब्द ठीक छैन। तिमी त राजऋषि हौ। ‘ऋषि’ शब्द पवित्रताको प्रतिक हो। तिमी राजऋषि हौ भने अवश्य पवित्र हुन्छौ। सानो कुरामा फेल भए भने रजाइँ मिल्न सक्दैन। प्रजामा जान्छन्। कति घाटा पर्छ। नम्बरवार पद त हुन्छ नि। एकको पद अर्कोसँग मिल्दैन। यो बेहदको बनिबनाऊ ड्रामा हो। बाबा बाहेक अरू कसैले सम्झाउन सक्दैन। तिमी बच्चाहरूलाई कति खुसी हुनुपर्छ। जसरी बाबाको बुद्धिमा सारा ज्ञान छ त्यसैगरी तिम्रो बुद्धिमा पनि छ। बीज र वृक्षलाई बुझ्नुपर्छ। मनुष्य सृष्टिको वृक्ष हुन्छ, यसको साथै वरको वृक्षको उदाहरण बिलकुल ठीक छ। बुद्धिले पनि भन्छ हाम्रो आदि सनातन देवी-देवता धर्मको जुन मूल जरा थियो त्यो प्राय: लोप भएको छ। बाँकी सबै धर्मका हाँगाबिङ्गा आदि सबुत छन्। ड्रामा अनुसार यो सबै हुनु नै छ, यसमा घृणा आउँदैन। नाटकमा कलाकारहरूलाई कहिल्यै घृणा आउँछ र! बाबा भन्नुहुन्छ– तिमी पतित बनेका छौ फेरि पावन बन्नु छ। तिमीले जति सुख देख्छौ त्यति अरू कसैले देख्दैनन्। तिमी हीरो हीरोइन हौ, विश्व माथि राज्य गर्नेवाला हौ त्यसैले अथाह खुसी हुनुपर्छ। भगवानले पढाउनु हुन्छ! कति नियमित पढ्नुपर्छ, यति खुसी हुनुपर्छ। बेहदका बाबाले हामीलाई पढाउनु हुन्छ। राजयोग पनि बाबाले नै सिकाउनु हुन्छ। कोही शरीरधारीले त सिकाउन सक्दैन। बाबाले आत्माहरूलाई सिकाउनु भएको छ, आत्माले नै धारण गर्छ। बाबा एकैपटक मात्र पार्ट खेल्न आउनु हुन्छ। आत्माले नै पार्ट खेलेर एक शरीर छोडेर अर्को लिन्छ। आत्माहरूलाई बाबाले पढाउनु हुन्छ। देवताहरूलाई पढाउनु हुन्न। त्यहाँ त देवताहरूले नै पढाउँछन्। सङ्गमयुगमा बाबाले नै पढाउनु हुन्छ, पुरुषोत्तम बनाउनको लागि। तिमीले नै पढ्छौ। यो सङ्गयुग एउटै छ, जसमा तिमी पुरुषोत्तम बन्छौ। सत्य बनाउनेवाला, सत्ययुगको स्थापना गर्नेवाला एउटै सच्चा बाबा हुनुहुन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) सङ्गमयुगमा डाइरेक्ट भगवानसँग पढाइ पढेर, ज्ञानवान् आस्तिक बन्नु र बनाउनु छ। कहिल्यै पनि बाबा र पढाइमा संशय ल्याउनु छैन।

२) बाबा समान प्यारो बन्नु छ। भगवानले हाम्रो शृङ्गार गरिरहनु भएको छ, यसै खुसीमा रहनु छ। हरेकको यस ड्रामामा एक्युरेट पार्ट छ त्यसैले कुनै पनि कलाकारसँग घृणा गर्नु छैन।

वरदान:–
सेवाको प्रवृत्तिमा रहँदा रहँदै बीच बीचमा एकान्तवासी बन्ने अन्तर्मुखी भव

साइलेन्सको शक्तिको प्रयोग गर्नको लागि अन्तर्मुखी र एकान्तवासी बन्न आवश्यक छ। कति बच्चाहरूले भन्छन्– अन्तर्मुखी स्थितिको अनुभव गर्न वा एकान्तवासी बन्नको लागि समय नै मिल्दैन। किनकि सेवाको प्रवृत्ति, वाणीको शक्तिको प्रवृत्ति धेरै बढेको छ तर यसको लागि एकैचोटि आधा घण्टा वा एक घण्टा निकाल्नुको सट्टा बीच बीचमा अलिकति पनि समय निकाल्यौ भने शक्तिशाली स्थिति बन्छ।

स्लोगन:–
ब्राह्मण जीवनमा युद्ध गर्नुको सट्टा मौज मनायौ भने मुस्किल पनि सहज हुन्छ।