27.01.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– कदम-कदम श्रीमतमा चल , नत्र मायाले टाट पल्टाउँछ , यी आँखाहरूले धेरै धोका दिन्छन् , यिनीहरूको धेरै-धेरै सम्भाल गर।”

प्रश्न:–
कुन बच्चाहरूबाट मायाले धेरै विकर्म गराउँछ? यज्ञमा विघ्न रूप को हुन्?

उत्तर:–
जसलाई आफ्नो अहंकार रहन्छ उनीहरूबाट मायाले धेरै विकर्म गराउँछ। यस्ता मिथ्या अहंकार भएकाहरूले मुरली पनि पढ्दैनन्। यस्तो गल्ती गर्नाले मायाले थप्पड लगाएर कौडीको लायक बनाइदिन्छ। यज्ञमा विघ्न रूप उनीहरू हुन् जसको बुद्धिमा परचिन्तनको कुरा रहन्छ, यो धेरै खराब बानी हो।

ओम् शान्ति ।
रुहानी बच्चाहरूलाई बाबाले सम्झाउनुभएको छ, यहाँ तिमी बच्चाहरूलाई यो ख्यालले अवश्य बस्नु छ– उहाँ बाबा पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ, सुप्रिम गुरु पनि हुनुहुन्छ र यो पनि महसुस गर्छौ– बाबालाई याद गर्दा-गर्दै पवित्र बनेर पवित्रधाममा पुग्छौँ। बाबाले सम्झाउनुभएको छ– पवित्रधामबाट नै तिमी तल उत्रिएका हौ। पहिला तिमी सतोप्रधान थियौ फेरि सतो-रजो-तमोमा आयौ। अहिले तिमीले बुझेका छौ हामी तल गिरेका छौँ। चाहे तिमी सङ्गमयुगमा छौ तर ज्ञानबाट तिमीले यो बुझेका छौ– हामीले किनारा गरेका छौँ। फेरि यदि हामी शिवबाबाको यादमा रहन्छौँ भने शिवालय टाढा छैन। शिवबाबालाई याद नै गर्दैनौ भने शिवालय धेरै टाढा छ। सजाय खानुपर्छ नि त्यसैले धेरै टाढा हुन्छ। त्यसैले बाबाले बच्चाहरूलाई धेरै मेहनत दिनुहुन्न। एक त बारम्बार भन्नुहुन्छ– मनसा-वाचा-कर्मणा पवित्र बन्नु छ। यी आँखाहरूले पनि धेरै धोका दिन्छन्। धेरै सम्हालिएर चल्नु छ।

बाबाले सम्झाउनुभएको छ– ध्यान र योग बिल्कुल अलग छ। योग अर्थात् याद। आँखा खुल्ला राखेर पनि याद गर्न सक्छौ। ध्यानलाई योग भनिँदैन। ध्यानमा जान्छन् भने त्यसलाई न ज्ञान, न योग भनिन्छ। ध्यानमा जानेहरूमाथि मायाले पनि धेरै आक्रमण गर्छ, त्यसैले यसमा धेरै होसियार रहनु छ। बाबाको काइदा अनुसार याद चाहिन्छ। काइदाको विरुद्ध कुनै काम गर्यौ भने एकदम मायाले गिराउँछ। ध्यानको त कहिल्यै इच्छा पनि राख्नु हुँदैन, इच्छा मात्रम् अविद्या। तिमीलाई कुनै पनि इच्छा राख्नु छैन। बाबाले तिम्रो सबै कामनाहरू नमागीकनै पूरा गरिदिनुहुन्छ, यदि बाबाको आज्ञामा चल्छौ भने। यदि बाबाको आज्ञाको उल्लङ्घन गरेर उल्टो बाटो लियौ भने हुन सक्छ स्वर्गमा जानुको सट्टा नर्कमा गिर्छौ। गायन पनि छ गजलाई ग्राहले खायो। धेरैलाई ज्ञान दिने, भोग लगाउने आज छैनन् किनकि काइदाको उल्लङ्घन गर्छन् भने पूरा मायावी बन्छन्। देवता बन्दा-बन्दै दैत्य बन्छन् त्यसैले यो मार्गमा होसियारी धेरै चाहिन्छ। आफूमाथि नियन्त्रण राख्नु छ। बाबाले त बच्चाहरूलाई सावधान गर्नुहुन्छ। श्रीमतको उल्लङ्घन गर्नु हुँदैन। आसुरी मतमा चल्नाले नै तिम्रो गिरती कला भएको छ। कहाँबाट एकदम कहाँ पुगेका छन्। एकदम तल पुगेका छन्। अब पनि श्रीमतमा चलेनौ, बेपरवाह बन्यौ भने पद भ्रष्ट बन्छौ। बाबाले हिजो पनि सम्झाउनुभयो जो केही श्रीमतको आधार बिना गर्छन् भने धेरै डिससर्भिस गर्छन्। बिना श्रीमत गर्यौ भने गिर्दै जान्छौ। बाबाले सुरुदेखि माताहरूलाई निमित्त राख्नुभएको छ किनकि कलश पनि माताहरूलाई मिल्छ। वन्दे मातरम् गाइएको छ। बाबाले पनि माताहरूको एउटा कमिटी बनाउनुभयो। उनीहरूको जिम्मामा सबै कुरा गरिदिनुभयो। बच्चीहरू विश्वासपात्र हुन्छन्। पुरुष अक्सर गरेर टाट पल्टाउँछन्। त्यसैले बाबाले पनि कलश माताहरूमाथि राख्नुहुन्छ। यो ज्ञानमार्गमा माताहरूले पनि टाट पल्टाउन सक्छन्। पद्मापद्म भाग्यशाली जो बन्नेछन्, उनीहरू पनि मायाबाट हारेर टाट पल्टाउन सक्छन्। यसमा स्त्री-पुरुष दुवैले टाट पल्टाउन सक्छन्। त्यसमा केवल पुरुषले टाट पल्टाउँछन्। यहाँ त हेर कति हारेर गए, अर्थात् टाट पल्टाए नि। बाबा बसेर सम्झाउनुहुन्छ– यहाँका मानिसहरूले पूरा टाट पल्टाएका छन्। माया कति जबरदस्त छ। बुझ्न सक्दैनन् हामी के थियौँ? कहाँबाट एकदम तल आएर गिरेका छौँ! यहाँ पनि माथि चढ्दा-चढ्दै फेरि श्रीमतलाई भुलेर आफ्नो मतमा चल्छन् भने टाट पल्टाउँछन्। फेरि बताऊ उनीहरूको के हाल हुन्छ। उनीहरू त टाट पल्टाउँछन् फेरि ५-७ वर्षपछि खडा हुन्छन्। यिनीहरू त ८४ जन्मको लागि टाट पल्टाउँछन्। फेरि उच्च पद पाउन सक्दैनन्, टाट पल्टाइरहन्छन्। कति महारथीहरूले धेरैलाई उठाउँथे, आज छैनन्। टाट पल्टेको अवस्थामा छन्। यहाँ उच्च पद त उच्च छ, तर फेरि होसियार रहेनौ भने माथिबाट एकदम तल खस्छौ। मायाले हडप्छ। बच्चाहरूलाई धेरै होसियार हुनु छ। आफ्नो मतमा कमिटी आदि बनाउनु, त्यसमा केही अर्थ छैन। बाबासँग बुद्धियोग राख, जसबाट नै सतोप्रधान बन्नु छ। बाबाको बनेर फेरि बाबासँग योग लगाउँदैनौ, श्रीमतको उल्लङ्घन गर्छौ भने एकदम गिर्छौ। सम्बन्ध नै टुट्छ। सम्बन्ध टुट्यो भने जाँच गर्नु पर्छ मायाले हामीलाई यति किन हैरान गर्छ। कोसिस गरेर बाबासँग सम्बन्ध जोड्नुपर्छ। नत्र ब्याट्री चार्ज कसरी हुन्छ। विकर्म गर्नाले ब्याट्री डिस्चार्ज हुन्छ। माथि चढ्दा-चढ्दै गिर्छौ। थाहा छ यस्ता कयौँ छन्। सुरुमा कति धेरै आएर बाबाका बने। भट्टीमा आए फेरि आज कहाँ छन्? गिरे किनकि पुरानो दुनियाँ याद आयो। अहिले बाबा भन्नुहुन्छ म तिमीलाई बेहदको वैराग्य दिलाइरहेको छु। यो पुरानो पतित दुनियाँसँग दिल लगाउनु छैन। दिल लगाऊ स्वर्गसँग, मेहनत छ। यदि यी लक्ष्मी-नारायण बन्न चाहन्छौ भने मेहनत गर्नुपर्छ। बुद्धियोग एक बाबासँग हुनुपर्छ। पुरानो दुनियाँबाट वैराग्य। अच्छा, पुरानो दुनियाँलाई भुलौँ यो त ठीक छ। तर याद कसलाई गर्ने? शान्तिधाम-सुखधामलाई। जति हुन सक्छ उठ्दा-बस्दा, हिँड्दा-डुल्दा बाबालाई याद गर। बेहद सुखको स्वर्गलाई याद गर। यो त बिल्कुल सहज छ। यदि यी दुवै आशाहरूबाट उल्टो चल्छौ भने पद भ्रष्ट हुन्छौ। तिमी यहाँ आएका नै हौ नरबाट नारायण बन्नको लागि। सबैलाई भन्छौ तमोप्रधानबाट सतोप्रधान बन्नु छ किनकि फिर्ति यात्रा हुन्छ। विश्वको इतिहास-भूगोल दोहोरिन्छ अर्थात् नर्कबाट स्वर्ग, फेरि स्वर्गबाट नर्क। यो चक्र घुमिरहन्छ। बाबाले भन्नुभएको छ यहाँ स्वदर्शन चक्रधारी भएर बस। यही यादमा रहनु छ, हामीले कति पटक यो चक्र लगायौँ। हामी स्वदर्शन चक्रधारी हौँ, अहिले फेरि देवता बन्छौँ। दुनियाँमा कसैलाई पनि यो रहस्य थाहा छैन। यो ज्ञान देवताहरूलाई त सुनाउनु छैन। उनीहरू त हुन्छन् नै पवित्र। उनीहरूमा ज्ञान छैन जो शङ्ख बजाऊन्। पवित्र पनि हुन्छन् त्यसैले उनीहरूलाई निसानी दिने दरकार नै छैन। निसानी तब हुन्छ जब दुवै सँगै चतुर्भुज हुन्छन्। तिमीलाई पनि दिइँदैन किनकि तिमी आज देवता भोलि फेरि तल गिर्छौ। मायाले गिराउँछ नि। बाबाले देवता बनाउनुहुन्छ, मायाले फेरि दैत्य बनाइदिन्छ। अनेक प्रकारले मायाले परीक्षा लिन्छ। बाबाले जब सम्झाउनुहुन्छ तब थाहा हुन्छ। साँच्चै हाम्रो अवस्था गिरेको छ। कति बिचराहरूले आफ्नो सबै कुरा शिवबाबाको ढुकुटीमा जम्मा गराएर फेरि पनि कहिलेकाहीँ मायाबाट हार खान्छन्। शिवबाबाको बन्यौ फेरि किन भुल्छौ, यसमा योगको यात्रा मुख्य छ। योगबाट नै पवित्र बन्नु छ। नलेजको साथ-साथै पवित्रता पनि चाहिन्छ। तिमीले बोलाउँछौ पनि बाबा हामीलाई आएर पावन बनाउनुहोस्, ताकि हामी स्वर्गमा जान सकौँ। यादको यात्रा हो नै पावन बनेर उच्च पद पाउनको लागि। जो गए फेरि पनि केही न केही सुनेका छन् भने शिवालयमा आउँछन् अवश्य। फेरि पद चाहे जस्तो पनि पाऊन् तर आउँछन् अवश्य। एक पटक पनि याद गर्यो भने स्वर्गमा आउँछन्, बाँकी उच्च पद होइन। स्वर्गको नाम सुनेर खुसी हुनु हुँदैन। फेल भएर कौडीको पद पाउनु, यसमा खुसी हुनु हुँदैन। चाहे स्वर्ग हो तर त्यसमा पद त धेरै छन् नि। महसुस त हुन्छ नि– म नोकर हुँ, मेहतर हुँ। पछाडिमा तिमीलाई सबै साक्षात्कार हुन्छ– हामी के बन्छौँ, मबाट के विकर्म भयो र यस्तो हालत भयो? म महारानी किन बनिनँ? कदम-कदममा होसियारीले चल्नाले तिमी पद्मपति बन्न सक्छौ। होसियारी छैन भने पद्मपति बन्न सक्दैनौ। मन्दिरहरूमा देवताहरूलाई पद्मपतिको निसानी देखाउँछन्। फरक त बुझ्न सक्छौ नि। दर्जाको पनि धेरै फरक छ। अहिले पनि हेर दर्जा कति छन्। कति ठाँट रहन्छ। हो त अल्पकालको सुख। त्यसैले अब बाबा भन्नुहुन्छ– यो उच्च पद पाउनु छ, जसको लागि सबैले हात उठाउँछन् भने यति पुरुषार्थ गर्नु छ। हात उठाउनेहरू पनि स्वयं खत्तम हुन्छन्। भन्छन् यी देवता बन्नेवाला थिए। पुरुषार्थ गर्दागर्दै खत्तम भए। हात उठाउन सहज छ। धेरैलाई सम्झाउन पनि सहज छ, महारथीहरू सम्झाउँदा-सम्झाउँदै पनि गायब हुन्छन्। अरूको कल्याण गरेर स्वयं आफ्नो अकल्याण गर्छन्, त्यसैले बाबा सम्झाउनुहुन्छ होसियार रहनु छ। अन्तर्मुखी भएर बाबालाई याद गर्नु छ। कुन प्रकारले? बाबा हाम्रो बाबा पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ, सद्गुरु पनि हुनुहुन्छ, हामी गइरहेका छौँ– आफ्नो स्विट होममा। यो सबै ज्ञान भित्र हुनुपर्छ। बाबामा ज्ञान र योग दुवै छ। तिमीमा पनि हुनुपर्छ। थाहा छ शिवबाबाले पढाउनुहुन्छ त्यसैले ज्ञान पनि भयो, याद पनि भयो। ज्ञान र योग दुवै सँगै चल्छ। यस्तो होइन, योगमा बसेर शिवबाबालाई याद गरिरहने, नलेज चाहिँ भुल्ने। बाबाले योग सिकाउनुहुन्छ भने नलेज भुल्नुहुन्छ र! सारा नलेज उहाँमा रहन्छ। तिमी बच्चाहरूमा यो नलेज हुनुपर्छ। पढ्नुपर्छ। जस्तो कर्म म गर्छु, मलाई देखेर अरूले पनि गर्छन्। म मुरली पढ्दिनँ भने अरूले पनि पढ्दैनन्। म जसरी दुर्गतिमा जान्छु त्यसरी अरू पनि दुर्गतिमा जान्छन्। म निमित्त बन्छु अरूलाई गिराउने। कयौँ बच्चाहरू मुरली पढ्दैनन्, मिथ्या अहंकार आउँछ। मायाले झट्ट आक्रमण गर्छ। कदम-कदममा श्रीमत चाहिन्छ। नत्र केही न केही विकर्म बन्छ। धेरै बच्चाहरूले भुल गर्छन् फेरि सत्यानाश हुन्छ। गल्ती हुनाले मायाले थप्पड लगाएर कौडीको लायक बनाइदिन्छ, यसमा बडो समझ चाहिन्छ। अहंकार आउनाले मायाले धेरै विकर्म गराउँछ। जब कुनै कमिटी आदि बनाउँछौ भने त्यसमा हेड एक-दुई फिमेल अवश्य हुनुपर्छ, जसको रायमा काम होस्। कलश त लक्ष्मीमाथि राखिन्छ नि। गायन पनि छ अमृत पिलाउँथिन् तब असुर पनि बसेर पिउँथे। फेरि कहाँ यज्ञमा विघ्न पार्छन्, अनेक प्रकारका विघ्न पार्नेहरू छन्। सारा दिन बुद्धिमा परचिन्तनको कुरा रहन्छ, यो धेरै खराब हो। कुनै पनि कुरा छ भने बाबालाई रिपोर्ट गर। सुधार्नेवाला त एकै बाबा हुनुहुन्छ। तिमीले आफ्नो हातमा कानुन नउठाऊ। तिमी बाबाको यादमा बस। सबैलाई बाबाको परिचय देऊ तब यस्तो बन्न सक्छौ। माया धेरै कडा छ, कसैलाई पनि छोड्दैन। सदैव बाबालाई समाचार लेख्नुपर्छ। निर्देशन लिइरहनुपर्छ। हुन त हरेक निर्देशन मिलिरहन्छ। बच्चाहरूले बुझ्छन् बाबाले त आफैँ यो कुरामा सम्झाइदिनुभयो त्यसैले अन्तर्यामी हुनुहुन्छ। बाबा भन्नुहुन्छ– होइन, म त नलेज पढाउँछु। यसमा अन्तर्यामीको त कुरा नै छैन। हो, यो थाहा छ यी सबै मेरा बच्चाहरू हुन्। हरेक भित्रको आत्मा मेरो बच्चा हो। बाँकी यस्तो होइन बाबा सबैमा विराजमान हुनुहुन्छ। मानिसहरू उल्टो बुझ्छन्।

बाबा भन्नुहुन्छ– मलाई थाहा छ सबैको तख्तमा आत्मा विराजमान छ। यो त कति सहज कुरा हो। फेरि पनि भुल गरेर परमात्मा सर्वव्यापी भनिदिन्छन्। यो हो एउटै भुल, जसकारण नै यति तल गिरेका छन्। विश्वको मालिक बनाउनेवालालाई तिमी गाली दिन्छौ त्यसैले बाबा भन्नुहुन्छ यदा यदाहि... बाबा यहाँ आउनुहुन्छ भने बच्चाहरूले राम्रोसँग विचार सागर मन्थन गर्नु छ। नलेजमा धेरै-धेरै मन्थन गर्नुपर्छ, समय दिनुपर्छ तब तिमी आफ्नो कल्याण गर्न सक्छौ, यसमा पैसा आदिको पनि कुरा छैन। भोकले त कोही मर्न सक्दैन। जति जसले बाबासँग जम्मा गर्छ, त्यति भाग्य बन्छ। बाबाले सम्झाउनुभएको छ ज्ञान र भक्तिको पछि हो वैराग्य। वैराग्य अर्थात् सबै कुरा भुल्नुपर्छ। आफूलाई डिट्याच गरिदिनुपर्छ, शरीरबाट हामी आत्मा अब गइरहेका छौँ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) आफूमाथि धेरै नियन्त्रण राख्नु छ। श्रीमतमा कहिल्यै बेपरवाह बन्नु हुँदैन। धेरै-धेरै होसियार रहनु छ, कहिल्यै कुनै काइदाको उल्लङ्घन नहोस्।

२) अन्तर्मुखी भएर एक बाबासँग बुद्धिको सम्बन्ध जोड्नु छ। यो पतित पुरानो दुनियाँबाट बेहदको वैराग्य राख्नु छ। बुद्धिमा रहोस्– जो कर्म म गर्छु, मलाई देखेर सबैले गर्छन्।

वरदान:–
ज्ञानको पोइन्ट हरू लाई हरेक दिन रिभाइज गरेर समाधान स्वरूप बन्ने बेगमपुरका बादशाह भव

ज्ञानका पोइन्टहरू जो डायरीहरूमा अथवा बुद्धिमा रहन्छन् तिनलाई हरेक दिन रिभाइज गर र तिनलाई अनुभवमा ल्यायौ भने कुनै पनि प्रकारको समस्याको सहजै समाधान गर्न सक्छौ। कहिल्यै पनि व्यर्थ सङ्कल्पहरूको ह्यामरले समस्याको पत्थरलाई तोड्नमा समय नगुमाऊ। “ड्रामा’ शब्दको स्मृतिले हाइ जम्प दिएर अगाडि बढ। फेरि यी पुराना संस्कार तिम्रो दास बन्छन्, तर पहिला बादशाह बन, तख्तनशीन बन।

स्लोगन:–
हरेकलाई सम्मान दिनु नै सम्मान प्राप्त गर्नु हो।

अव्यक्त इसारा:– यस अव्य क्त महिना मा बन्धनमुक्त रहेर जीवनमुक्त स्थितिको अनुभव गर

जीवन-बन्धको साथमा नै जीवन-मुक्तको अनुभव हुन्छ, त्यहाँ त जीवन-बन्धको कुरा नै हुँदैन। त्यहाँ त केवल त्यही प्रारब्धमा हुन्छौ, मुक्तिधामको मुक्तिको अनुभव जो अहिले गर्न सक्छौ त्यो त्यहाँ गर्न सक्दैनौ त्यसैले सङ्गमयुगमा मुक्ति-जीवनमुक्तिको अनुभव गर। वर्साको अधिकारी त बनेका छौ अब त्यसलाई जीवनमा धारण गरेर पूरा लाभ उठाऊ।