27.02.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– तिमी ले यो कब्रिस्तानलाई परिस्तान बनाइरहेका छौ , त्यसैले तिम ीलाई यो पुरानो दुनियाँ , कब्रिस्तानबाट पूरा पूरा वैराग्य हुनुपर्छ ।”

प्रश्न:–
बेहदका बाबा आफ्ना रुहानी बच्चाहरूका अनौठो सेवाधारी हुनुहुन्छ, कसरी?

उत्तर:–
बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! म तिम्रो धोबी हुँ, मैले तिमी बच्चाहरूको त के सारा दुनियाँको फोहोरी गन्दा वस्त्र सेकेन्डमा सफा गरिदिन्छु। आत्मारूपी वस्त्र स्वच्छ बनेपछि शरीर पनि शुद्ध मिल्छ। उहाँ यस्तो अनौठो सेवाधारी हुनुहुन्छ जसले मनमनाभवको छु मन्त्रले सबैलाई सेकेन्डमा सफा गरिदिनुहुन्छ।

ओम् शान्ति ।
ओम् शान्तिको अर्थ बाबाले बच्चाहरूलाई सम्झाउनुभएको छ। अहम् आत्माको स्वधर्म हो शान्ति। शान्तिधाम जानको लागि कुनै पुरुषार्थ गर्नुपर्दैन। आत्मा स्वयं शान्तस्वरूप, शान्तिधाम निवासी हो। हो, थोरै समय शान्त रहन सक्छ। आत्माले भन्छ– म कर्मेन्द्रियहरूको बोझले थाकेको छु, म आफ्नो स्वधर्ममा टिक्छु, शरीरबाट अलग हुन्छु। तर कर्म त गर्नु नै छ। शान्तिमा कहाँसम्म बसिरहन्छौ। आत्माले भन्छ– हामी शान्ति देशका निवासी हौँ। केवल यहाँ शरीरमा आउनाले म टकी (बोल्ने) बनेको हुँ। अहम् आत्मा अविनाशी छु, मेरो शरीर हो विनाशी। आत्मा पावन र पतित बन्छ। सत्ययुगमा ५ तत्त्व पनि सतोप्रधान हुन्छन्। यहाँ ५ तत्त्व पनि तमोप्रधान छन्। सुनमा अलाय परेपछि सुन पतित वा नक्कली बन्छ फेरि त्यसलाई सफा गर्नको लागि आगोमा राखिन्छ, यसको नाम नै हो योग अग्नि। दुनियाँमा त अनेक प्रकारका हठयोग आदि सिकाउँछन्। त्यसलाई योग अग्नि भनिँदैन। योग अग्नि यो हो जसबाट पाप डढ्छन्। आत्मालाई पतितबाट पावन बनाउने परमात्मा हुनुहुन्छ, उहाँलाई बोलाउँछन्– हे पतित-पावन आउनुहोस्! ड्रामा प्लान अनुसार सबै पतित तमोप्रधान बन्नु नै छ। यो वृक्ष हो, यसको बीजरूप बाबा माथि हुनुहुन्छ। बाबालाई बोलाउँदा बुद्धि माथि उहाँ बाबामा जान्छ, जसबाट तिमीले वर्सा लिइरहेका छौ, जो अब तल आउनुभएको छ। बाबा भन्नुहुन्छ– मलाई पनि आउनुपर्छ। जुन मनुष्य सृष्टिको अनेक भेराइटी धर्महरूको वृक्ष छ, त्यो अब तमोप्रधान पतित छ। जजर्र अवस्थामा पुगेको छ। बाबा बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ। सत्ययुगमा हुन्छन् देवताहरू, कलियुगमा हुन्छन् असुरहरू। बाँकी असुर र देवताहरूको लडाइँ भएको होइन। तिमीले यी ५आसुरी विकारहरूमाथि योगबलले विजय पाउँछौ। बाँकी कुनै हिंसक लडाइँको कुरा छैन। तिमीले कुनै पनि प्रकारले हिंसा गर्दैनौ। कहिल्यै कसैलाई हात पनि लगाउँदैनौ। तिमी डबल अहिंसक हौ। काम कटारी चलाउनु, यो त सबैभन्दा ठुलो पाप हो। बाबा भन्नुहुन्छ– यो काम कटारीले आदि-मध्य-अन्त्य दुःख दिन्छ। विकारमा जानुहुँदैन। देवताहरूको अगाडि महिमा गाउँछन् नि– हजुर सर्वगुण सम्पन्न...। आत्माले भन्छ– हामी पतित बनेका छौँ, त्यसैले त बोलाउँछौँ– हे पतित-पावन आउनुहोस्! पावन हुँदा त कसैलाई पनि बोलाउँदैनन्। त्यसलाई स्वर्ग भनिन्छ। यहाँ त साधुसन्त आदिले हे पतित-पावन सीताराम...! को कति धुन लगाउँछन्। बाबा भन्नुहुन्छ– यस समयमा सारा दुनियाँ पतित छ, यसमा पनि कसैको दोष छैन। यो ड्रामा बनिबनाऊ छ। म नआउँदासम्म, यिनीहरूले आफ्नो पार्ट खेल्नुछ। ज्ञान र भक्ति फेरि हुन्छ वैराग्य। पुरानो दुनियाँबाट वैराग्य। यो हो बेहदको वैराग्य। उनीहरूको हो हदको वैराग्य।

तिमीलाई थाहा छ– यो पुरानो दुनियाँ अब खतम हुनुछ। नयाँ घर बनाइयो भने पुरानो घरबाट वैराग्य हुन्छ नि। बेहदका बाबा भन्नुहुन्छ– अहिले तिमीलाई स्वर्गरूपी घर बनाएर दिन्छु। अहिले त हो नर्क। स्वर्ग हो नयाँ दुनियाँ। नर्क हो पुरानो दुनियाँ। अहिले पुरानो दुनियाँमा बसेर हामीले नयाँ दुनियाँ बनाइरहेका छौँ। पुरानो कब्रिस्तानमा हामीले परिस्तान बनाउँछौँ। यही जमुनाको किनार हुन्छ। यसमा महल बन्नेछन्। यही दिल्ली, जमुना नदी आदि हुन्छ। बाँकी यो जुन देखाउँछन्– पाण्डवहरूको किल्ला थियो, यी सबै हुन् दन्त्य कथाहरू। ड्रामा प्लान अनुसार अवश्य फेरि यो बन्नेछ। जसरी तिमीले यज्ञ, तप, दान आदि गर्दै आयौ, फेरि पनि गर्नुछ। पहिला तिमीले शिवको भक्ति गर्छौ, फर्स्टक्लास मन्दिर बनाउँछौ। त्यसलाई व्यभिचारी भक्ति भनिन्छ।

अहिले तिमी ज्ञानमार्गमा छौ। यो हो अव्यभिचारी ज्ञान। एक शिवबाबाबाट नै तिमीले ज्ञान सुन्छौ। जसको पहिला सुरुमा तिमीले भक्ति सुरु गरेका हौ, त्यस समयमा अरू कुनै धर्म हुँदैन। तिमी मात्रै हुन्छौ। तिमी धेरै सुखी हुन्छौ। देवता धर्म धेरै सुखदायक छ। नाम लिँदा पनि मुख मीठो हुन्छ। त्यसैले तिमीले एक बाबाबाट नै ज्ञान सुन्छौ। बाबा भन्नुहुन्छ– अरू कसैबाट नसुन। यो हो तिम्रो अव्यभिचारी ज्ञान। तिमी बेहदका बाबाका बनेका छौ। बाबाबाट नै वर्सा मिल्छ नम्बरवार पुरुषार्थ अनुसार। बाबा पनि केही समयको लागि साकारमा आउनुभएको छ। भन्नुहुन्छ– मैले नै तिमी बच्चाहरूलाई ज्ञान दिनुछ। मेरो स्थायी शरीर छैन, म यिनमा प्रवेश गर्छु। शिवजयन्तीबाट फेरि तुरुन्त गीता जयन्ती हुन्छ। त्यसबाट नै ज्ञान सुरु गरिदिन्छन्। यो रुहानी विद्या तिमीलाई सुप्रीम रुहले नै दिइरहनुभएको छ। पानीको कुरा छैन। पानीलाई कहाँ ज्ञान भनिन्छ र। पतितबाट पावन ज्ञानले बन्छौ, पानीले कहाँ पावन बन्छौ र। नदीहरू त सारा दुनियाँमा हुन्छन् नै। यहाँ त ज्ञान सागर बाबा आउनुहुन्छ, यिनमा प्रवेश गरेर ज्ञान सुनाउनुहुन्छ। यहाँ कोही मर्नेबेलामा मुखमा गङ्गा जल राखिदिन्छन्। उनीहरूले सम्झन्छन्– यो जलले पतितबाट पावन बनाउँछ जसबाट स्वर्गमा गइन्छ। यहाँ पनि गोमुखमा जान्छन्। वास्तवमा गोमुख तिमी चैतन्य आत्माहरू हौ। तिम्रो मुखबाट ज्ञान अमृत निस्किन्छ। गाईबाट दुध मिल्छ, पानीको त कुरै छैन। यो अहिले तिमीलाई थाहा भएको छ। तिमीलाई थाहा छ– ड्रामामा जे एक पटक भइसक्यो त्यो फेरि ५ हजार वर्षपछि हुबहु रिपिट हुन्छ। यो कुरा बाबा जो सबैका सदगतिदाता हुनुहुन्छ उहाँ बसेर सम्झाउनुहुन्छ। अहिले त सबै दुर्गतिमा परेका छन्। पहिला तिमीलाई थाहा थिएन– रावणलाई किन जलाउँछन्। अहिले तिमीले बुझेका छौ– बेहदको विजयादशमी हुनुछ। सारा सृष्टिमा रावण राज्य छ नि। जुन यो सारा पृथ्वी छ त्यो लङ्का हो। रावण कुनै हदमा हुँदैन। रावणको राज्य सारा सृष्टिमा छ। भक्ति पनि आधाकल्प चल्छ। पहिला हुन्छ अव्यभिचारी भक्ति फेरि व्यभिचारी भक्ति सुरुहुन्छ। विजयादशमी, रक्षाबन्धन आदि सबै अहिलेका चाडपर्व हुन्। शिवजयन्ती पछि हुन्छ श्रीकृष्ण जयन्ती। अब कृष्णपुरी स्थापना हुन्छ। आज कंसपुरीमा छौ, भोलि कृष्णपुरीमा हुनेछौ। श्रीकृष्ण कहाँ यहाँ हुन सक्छन् र। श्रीकृष्णले जन्म लिन्छन् नै सत्ययुगमा। उनी हुन् प्रथम राजकुमार। स्कुलमा पढ्न जान्छन्, ठुला भएपछि गद्दीका मालिक बन्छन्। बाँकी यो रासलीला आदि, त्यो त आपसमा खुसी मनाएका होलान्। बाँकी श्रीकृष्णले कसैलाई बसेर ज्ञान सुनाउने, यो कसरी हुन सक्छ। सारा महिमा एक शिवबाबाको हो जसले पतितहरूलाई पावन बनाउनुहुन्छ। तिमीले कुनै ठुला अफिसरहरूलाई सम्झायौ भने भन्छन्– तपाईंले ठीकै भन्नुहुन्छ। तर उनीहरूले अरू कसैलाई सुनाउन सक्दैनन्। उनीहरूको कुरा कसैले सुन्दैन। बि.के. बन्यो भने सबैले भन्छन्– यिनलाई त जादु लाग्यो। बि.के. को नाम सुन्यो, बस। यिनीहरूले जादु गर्छन् होला भन्ने सम्झन्छन्। कसैलाई अलिकति ज्ञान दियौ भने भनिदिन्छन्– यी बि.के.ले जादु लगाउँछन्। बस यिनले त आफ्नो दादाबाहेक अरू कसैलाई मान्दैनन्। भक्ति आदि केही गर्दैनन्। बाबाले त भन्नुहुन्छ– कसैलाई भक्ति नगर भनेर मनाही गर्नुछैन। आफै छुट्नेछ। तिमीले भक्ति छोड्छौ, विकार छोड्छौ, यसैमाथि हङ्गामा हुन्छ। बाबाले भन्नुभएको छ– मैले रुद्र ज्ञान यज्ञ रच्छु, यसमा आसुरी सम्प्रदायका विघ्न पर्छन्। यो हो शिवबाबाको बेहदको यज्ञ, जसमा मनुष्यबाट देवता बन्छन्। गायन गरिएको पनि छ– ज्ञान यज्ञबाट विनाश ज्वाला प्रज्वलित भयो। पुरानो दुनियाँ विनाश भइसकेपछि त तिमीले नयाँ दुनियाँमा राज्य गर्नेछौ। दुनियाँका मनुष्यले भन्छन्– हामीले भन्छौँ शान्ति होस् र यी बि.के. ले भन्छन्– विनाश होस्। बाबा सम्झाउनुहुन्छ– यो सारा पुरानो दुनियाँ यस ज्ञान यज्ञमा स्वाहा हुनेछ। यो पुरानो दुनियाँमा आगो लाग्नुछ। प्राकृतिक प्रकोप पनि आउनेछन्। विनाश त हुनु नै छ। तोरीजसरी सबै मनुष्य पिँनिएर खतम हुनेछन्। बाँकी आत्माहरू बाँच्छन्। यो त जो कोहीले पनि बुझ्न सक्छन्– आत्मा अविनाशी हो। अहिले यो बेहदको होलिका हुनुछ, जसमा शरीर सबै खतम हुन्छन्। बाँकी आत्माहरू पवित्र बनेर जान्छन्। आगोमा चीज शुद्ध हुन्छ नि। हवन गर्छन् शुद्धताको लागि। ती सबै हुन् जिस्मानी कुराहरू। अब त सारा दुनियाँ स्वाहा हुनुछ। विनाशभन्दा पहिला अवश्य स्थापना हुनुपर्छ। कसैलाई पनि सम्झाउँदा पहिला भन– स्थापना फेरि विनाश। ब्रह्माद्वारा स्थापना। प्रजापिता त प्रसिद्ध हुनुहुन्छ नि। आदिदेव र आदिदेवी। जगत अम्बाका पनि लाखौँ मन्दिर छन्। कति मेला लाग्छन्। तिमी हौ जगत अम्बाका बच्चा, ज्ञानज्ञानेश्वरी फेरि बन्छौ राजराजेश्वरी। तिमी धेरै धनवान बन्छौ फेरि भक्तिमार्गमा लक्ष्मीसँग दीपमालामा विनाशी धन माग्छौ। यहाँ त सबै थोक मिल्छ। आयुष्मान् भव, पुत्रवान् भव। तिमीलाई थाहा छ– हाम्रो आयु १५० वर्षको हुनेछ। बाबा भन्नुहुन्छ– जति योग लगाउँछौ त्यति आयु बढ्दै जान्छ। ईश्वरसँग योग लगाएर तिमी योगेश्वर बन्छौ। मनुष्य त हुन् भोगेश्वर। भनिन्छ पनि–विकारी, मुत पलीती, कपड धोए... बाबा भन्नुहुन्छ– मलाई धोबी पनि भन्छन्। म आएर सबै आत्माहरूलाई सफा गर्छु फेरि शरीर पनि नयाँ शुद्ध मिल्छ। बाबा भन्नुहुन्छ– मैले सेकेन्डमा सारा दुनियाँका कपडा सफा गरिदिन्छु। केवल मनमनाभव भएमा आत्मा र शरीर पवित्र बन्छन्। छु मन्त्र हुन्छ नि। सेकेन्डमा जीवनमुक्ति। यो कति सहज उपाय हो। बाबालाई याद गरेमा पावन बन्छौ। हिँड्दा डुल्दा केवल बाबालाई याद गर, तिमीलाई अरू कुनै अलिकति पनि तकलिफ दिन्नँ। केवल याद गर्नुछ। अहिले तिम्रो एक एक सेकेन्डमा चढ्तीकला हुन्छ।

बाबा भन्नुहुन्छ– म तिमी बच्चाहरूको सेवाधारी बनेर आएको छु। तिमीले बोलाएका हौ नै– हे पतित-पावन आउनुहोस्, आएर हामीलाई पावन बनाउनुहोस्! अच्छा, प्यारा बच्चाहरू! म आएको छु भने तिमीहरूको सेवाधारी भएँ नि। तिमी धेरै पतित बनिसकेपछि मात्रै जोडले चिच्याउँछौ। अब म आएको छु। म कल्प कल्प आएर तिमी बच्चाहरूलाई यो मन्त्र दिन्छु। मलाई याद गरेमा तिमी पावन बन्छौ। मनमनाभवको अर्थ पनि हो– मनमनाभव, मध्याजी भव अर्थात् बाबालाई याद गरेमा विष्णुपुरीका मालिक बन्नेछौ। तिमी आएका हौ नै विष्णुपुरीको राज्य लिन। रावणपुरीपछि हुन्छ विष्णुपुरी। कंसपुरीपछि कृष्णपुरी, कति सहजै सम्झाइन्छ। बाबा भन्नुहुन्छ– यो पुरानो दुनियाँबाट ममत्व मेटाइदेऊ। अहिले हामीले ८४ जन्म पूरा गरेका छौँ। हामी यो पुरानो चोला छोडेर नयाँ दुनियाँमा जान्छौँ। यादले नै तिम्रो पाप काटिँदै जान्छ। यति हिम्मत गर्नुपर्छ। उनीहरूले त ब्रह्मलाई याद गर्छन्। ब्रह्ममा लीन हुन्छौँ भन्ने सम्झन्छन्। तर ब्रह्म त हो निवासस्थान। ती मानिसहरू तपस्यामा बस्छन्। बस हामी ब्रह्ममा गएर लीन हुन्छौँ। तर फर्केर त कोही जान सक्दैनन्। ब्रह्मसँग योग लगाएर मात्र पावन बनिँदैन। एक जना पनि जान सक्दैनन्। पुनर्जन्म त लिनु नै छ। बाबा आएर सत्य बताउनुहुन्छ, सचखण्ड सच्चा बाबाले स्थापना गर्नुहुन्छ। रावण आएर झुटखण्ड बनाउँछ। अहिले यो हो सङ्गमयुग, यसमा तिमी उत्तमभन्दा उत्तम बन्छौ त्यसैले यसलाई पुरुषोत्तम भनिन्छ। तिमी कौडीबाट हीराजस्ता बन्छौ। यो हो बेहदको कुरा। उत्तमभन्दा उत्तम मनुष्य हुन् देवताहरू। त्यसैले अहिले तिमी पुरुषोत्तम सङ्गमयुगमा बसेका छौ। तिमीलाई पुरुषोत्तम बनाउने उच्चभन्दा उच्च बाबा हुनुहुन्छ। तिमीलाई उच्चभन्दा उच्च स्वर्गको वर्सा दिनुहुन्छ, फेरि तिमीले यो कुरा किन बिर्सन्छौ? बाबा भन्नुहुन्छ– मलाई याद गर। बच्चाहरूले भन्छन्– बाबा कृपा गर्नुहोस् त्यसपछि हामीले बिर्सँदैनौँ! यो कसरी हुन सक्छ! बाबाको डाइरेक्सनमा चल्नुछ नि। बाबा भन्नुहुन्छ– मलाई याद गरेमा तिमी पतितबाट पावन बन्छौ। बाबाको राय सल्लाहमा चल न। बाँकी के आशीर्वाद दिऊँ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) बाबाको हरेक डाइरेक्सनमा चलेर स्वयंलाई कौडीबाट हीराजस्तो बनाउनुछ। एक बाबाको यादमा रहेर स्वयंका वस्त्रहरूलाई स्वच्छ बनाउनुछ।

२) अब नयाँ घरमा जानुछ त्यसैले यो पुरानो घरबाट बेहदको वैराग्य राख्नुछ। नसा रहोस्– यो पुरानो कब्रिस्तानमा हामीले परिस्तान बनाउँछौँ।

वरदान:–
रहमको दृष्टिद्वारा घृणा को दृष्टिलाई समाप्त गर्ने ज्ञानस्वरूप भव

जुन बच्चाहरू एक अर्काको संस्कारलाई जानेर संस्कार परिवर्तनको लगनमा रहन्छन्, कहिल्यै यो सोच्दैनन्– यिनी त छन् नै यस्तै, उनीहरूलाई भनिन्छ ज्ञानस्वरूप। उनीहरूले स्वयंलाई हेर्छन् र निर्विघ्न रहन्छन्। उनीहरूको संस्कार बाबासमान रहमदिल हुन्छ। रहमको दृष्टिले घृणाको दृष्टिलाई समाप्त गरिदिन्छ। यस्ता रहमदिल बच्चाहरू कहिल्यै आपसमा झगडा गर्दैनन्। उनीहरू सपुत बनेर सबुत दिन्छन्।

स्लोगन:–
सदा परमात्म चिन्तन गर्नेहरू नै बेफिक्र बादसाह हुन्, उनीहरूलाई कुनै पनि प्रकारको चिन्ता हुन सक्दैन।

अव्यक्त इसारा:– एकता र विश्वासको विशेषताद्वारा सफलता सम्पन्न बन

स्व-उन्नति र सेवाको उन्नति दुवैमा एकले भन्यो, अर्काले हुन्छ भन्यो, यसरी सदा एकता र दृढतासँग बढ्दै जाऊ। जसरी दादीहरूको एकता र दृढताको सङ्गठन पक्का छ, त्यसैगरी तिमी रत्नहरूको सङ्गठन पनि पक्का भयो भने सङ्गठनको शक्तिले जे चाह्यो त्यो गर्न सक्छौ। सङ्गठनका निसानीका यादगार हुन् पाँच पाण्डव।