27.10.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– नाजुकपन पनि देह अभिमान हो । रिसाउनु , रुनु – यी सबै आसुरी संस्कार तिमी बच्चाहरूमा हुनुहुँदैन । दु:ख-सुख , मान-अपमान सबै सहन गर्नुछ ।”

प्रश्न:–
सेवामा सुस्ती आउनुको मुख्य कारण के हो?

उत्तर:–
देह अभिमानको कारण एकअर्काको कमजोरी देख्न थालेपछि सेवामा सुस्ती आउँछ। आपसमा मनमुटाव हुनु पनि देह अभिमान हो। मैले फलानोसँग काम गर्न सक्दिनँ, म यहाँ बस्न सक्दिनँ... यो सबै नाजुकपन (कोमलता) हो । यो बोली मुखबाट निकाल्नु अर्थात् काँडा बन्नु, अवज्ञाकारी बन्नु हो। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमी रुहानी मिलेट्री हौ त्यसैले अडर भयो भने तुरुन्त हाजिर हुनुपर्छ। कुनै पनि कुरामा आनाकानी नगर।

ओम् शान्ति ।
रुहानी बाबा बसेर रुहानी बच्चाहरूलाई सम्झाउनुहुन्छ। बच्चाहरूलाई पहिला सुरुमा यो शिक्षा मिल्छ– आफूलाई आत्मा निश्चय गर। देह अभिमान छोडेर देहीअभिमानी बन्नुछ। हामी आत्मा हौँ, देहीअभिमानी बन्यौँ भने मात्र बाबालाई याद गर्न सक्छौँ। त्यो हो अज्ञानकाल। यो हो ज्ञान काल। ज्ञान त एक बाबाले नै दिनुहुन्छ जसले सबैको सदगति गर्नुहुन्छ। उहाँ निराकार हुनुहुन्छ अर्थात् उहाँको कुनै मनुष्य आकार छैन। जसको मनुष्यको आकार छ उसलाई भगवान भन्न सकिँदैन। तर आत्माहरू त सबै निराकारी नै हुन्छन्। तर देह अभिमानमा आउनाले आफूलाई आत्मा हुँ भन्ने बिर्सिएका छन्। अब बाबा भन्नुहुन्छ– तिमी फर्केर जानुछ। आफूलाई आत्मा सम्झेर बाबालाई याद गरेमा जन्मजन्मान्तरका पाप भस्म हुन्छन्, अरू कुनै उपाय छैन। आत्मा नै पतित, आत्मा नै पावन बन्छ। बाबाले सम्झाउनुभएको छ– पावन आत्माहरू सत्ययुग-त्रेतामा हुन्छन्। फेरि रावण राज्यमा आत्मा पतित बन्छन्। सिँढीमा पनि सम्झाइएको छ– जो पावन थिए उनीहरू नै पतित बनेका छन्। ५ हजार वर्ष पहिला तिमी सबै आत्माहरू शान्तिधाममा पावन थियौ। त्यसलाई भनिन्छ नै निर्वाणधाम। फेरि कलियुगमा पतित बन्छौ त्यसपछि चिच्याउँछौ– हे पतित-पावन आउनुहोस् भनेर। बाबा सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! मैले तिमीलाई जुन पतितबाट पावन हुने ज्ञान दिइरहेको छु, त्यो केवल मैले नै दिन्छु जुन फेरि प्राय: लोप हुन्छ। बाबाले नै आएर सुनाउनुपर्छ। यहाँ मानिसहरूले अथाह शास्त्र बनाएका छन्। सत्ययुगमा कुनै शास्त्र हुँदैन। त्यहाँ भक्तिमार्ग अलिकति पनि हुँदैन।

अहिले बाबा भन्नुहुन्छ– तिमी मबाट नै पतितबाट पावन बन्न सक्छौ। पावन दुनियाँ अवश्य बन्नु नै छ। मैले त बच्चाहरूलाई नै आएर राजयोग सिकाउँछु। दैवीगुण पनि धारण गर्नुछ। रिसाउनु, रुनु– यी सबै आसुरी स्वभाव हुन्। बाबा भन्नुहुन्छ– दु:खसुख, मान अपमान सबै बच्चाहरूले सहन गर्नुछ। नाजुकपन देह अभिमान हो। म फलानो स्थानमा बस्न सक्दिनँ, यो पनि नाजुकपन हो। यसको स्वभाव यस्तो छ, यो यस्तो छ, त्यस्तो छ– यो केही पनि हुनुहुँदैन। मुखबाट सदैव फूल नै निस्कियोस्। काँडा निस्किनुहुँदैन। कति बच्चाहरूको मुखबाट धेरै काँडा निस्किन्छन्। कसैको रिस गर्नु पनि काँडा हो। बच्चाहरूको एक आपसमा धेरै मनमुटाव हुन्छ। देह अभिमान हुनाको कारण एकअर्काका कमजोरी देखिन्छ जसबाट आफूमा अनेक प्रकारका कमजोरीहरू रहिरहन्छन्, त्यसैले फेरि सेवामा ढिलो हुन जान्छ। बाबाले बुझ्नुहुन्छ– यो पनि ड्रामा अनुसार हुन्छ। सुध्रिनु पनि त छ। मिलेट्रीका मानिसहरू लडाइँमा जाँदा उनीहरूको काम नै हो दुस्मनसँग लड्नु। बाढी आयो वा केही हङ्गामा भयो भने पनि धेरै मिलेट्रीलाई बोलाउँछन्। फेरि मिलेट्रीका मानिसहरूले मजदुर आदिको काम पनि गर्न थाल्छन्। सरकारले मिलेट्रीलाई अडर गर्छ– यो सबै माटो भर। यदि कोही आएन भने गोलीको मुखमा जान्छ। सरकारको अडर मान्नैपर्छ। बाबा भन्नुहुन्छ– तिमी पनि सेवाको लागि बाँधिएका छौ। बाबाले जहाँसुकै सेवामा जानको लागि भन्नुभयो भने पनि तुरुन्त हाजिर हुनुपर्छ। मानेनौ भने मिलेट्री भनिँदैन। उनीहरू फेरि दिलमा चढ्दैनन्। तिमी बाबाको मदतगार हौ सबैलाई सन्देश दिनमा। अब सम्झ, कहीँ ठुलो सङ्ग्रहालय खोलियो, भन्छन् त्यो सङ्ग्राहालय १० माइल टाढा छ, तर सेवामा त जानुपर्छ नि। खर्चको ख्याल कहाँ गर्नुछ र। सबैभन्दा ठुलो सरकार बेहदका बाबाको अडर मिल्यो, जसको दाहिने हात फेरि धर्मराज हुनुहुन्छ। उहाँको श्रीमतमा नचलेमा फेरि गिर्न पुग्छौ। श्रीमतले भन्छ– आफ्नो आँखालाई पावन बनाऊ। काममाथि विजय प्राप्त गर्ने हिम्मत राख्नुपर्छ। बाबाको हुकुम छ, यदि हामीले मानेनौँ भने एकदम चकनाचुर हुन्छौँ। २१ जन्मको राज्य भाग्य प्राप्त गर्नमा बाधा पर्छ। बाबा भन्नुहुन्छ– मलाई बच्चाहरू बाहेक कहिल्यै अरू कसैले चिन्न सक्दैन। कल्प पहिलाका आत्माहरू नै बिस्तारै बिस्तारै निस्किरहन्छन्। यी हुन् बिल्कुलै नयाँ नयाँ कुरा। यो हो गीताको युग। तर शास्त्रहरूमा यस सङ्गमयुगको वर्णन छैन। गीतालाई नै द्वापरमा लगेका छन्। तर जब राजयोग सिकाइयो त्यतिबेला अवश्य सङ्गम हुन्छ नि। कसैको बुद्धिमा पनि यी कुराहरू हुँदैनन्। अहिले तिमीलाई ज्ञानको नशा चढेको छ। अरू मानिसहरूलाई छ भक्तिमार्गको नशा। भन्छन्– भगवान नै आउनुभयो भने पनि हामीले भक्ति छोड्दैनौँ। यो उत्थान र पतनको सिँढी धेरै राम्रो छ, तैपनि मानिसहरूका आँखा खुल्दैनन्। मायाको नशामा एकदम चकनाचुर भएका छन्। ज्ञानको नशा धेरै ढिलो चढ्छ। पहिला त दैवीगुण पनि चाहिन्छ। बाबाले कुनै पनि अडर गर्नुभयो भने त्यसमा आनाकानी गर्नुहुँदैन। यो मैले गर्न सक्दिनँ, यसलाई भनिन्छ अवज्ञाकारी। यसो यसो गर्नुछ भन्ने श्रीमत मिल्यो भने बुझ्नुपर्छ– यो शिवबाबाको श्रेष्ठ मत हो। उहाँ हुनुहुन्छ नै सदगतिदाता। दाताले कहिल्यै उल्टो मत दिनुहुन्न। बाबा भन्नुहुन्छ– म यिनको धेरै जन्महरूको अन्त्यमा प्रवेश गर्छु। हेर यिनीभन्दा पनि लक्ष्मी उच्च बन्छिन्। गायन पनि छ– माताहरूलाई अगाडि राखिन्छ। पहिला लक्ष्मी फेरि नारायण, यथा राजा रानी तथा प्रजा हुन्छन्। तिमी पनि यस्तै श्रेष्ठ बन्नुछ। यस समयमा त सारा दुनियाँमा रावण राज्य छ। सबैले भन्छन्– रामराज्य चाहिन्छ। अहिले यो हो सङ्गम। यी लक्ष्मी-नारायणको राज्य हुँदा रावण राज्य थिएन, फेरि परिवर्तन कसरी हुन्छ, यो कसैले जान्दैनन्। सबै घोर अन्धकारमा छन्। सम्झन्छन्–अहिले त कलियुग सानो बच्चा घिस्रिँदै छ। त्यसैले मानिसहरू झन् निद्रामा सुतेका छन्। यो रुहानी नलेज, रुहानी बाबाले नै रुहहरूलाई दिनुहुन्छ, राजयोग पनि सिकाउनुहुन्छ। श्रीकृष्णलाई रुहानी बाबा भनिदैन। उहाँले यसो भन्नुहुन्न– हे रुहानी बच्चाहरू! यो पनि लेख्नुपर्छ– रुहानी नलेजफुल बाबाले यो आध्यात्मिक ज्ञान रुहानी बच्चाहरूलाई दिनुहुन्छ।

बाबा सम्झाउनुहुन्छ– दुनियाँमा सबै मानिसहरू देह अभिमानी छन्। म आत्मा हुँ, यो कसैले जान्दैनन्। बाबा भन्नुहुन्छ– कसैको आत्मा पनि लीन हुँदैन। अहिले तिमी बच्चाहरूलाई सम्झाइन्छ, विजया दशमी के हो, दीपावली के हो। मानिसहरूले त जे जति पनि पूजा आदि गर्छन्, सबै अन्ध-विश्वासमा गर्छन् जसलाई गुडियाको पूजा भनिन्छ, पत्थर पूजा भनिन्छ। अब तिमी पारसबुद्धि बन्छौ त्यसैले पत्थरको पूजा गर्न सक्दैनौ। चित्रहरूको अगाडि गएर शिर झुकाउँछन्। केही पनि बुझ्दैनन्। भन्छन् पनि– ज्ञान, भक्ति र वैराग्य। ज्ञान आधाकल्प चल्यो फेरि भक्ति सुरु भयो। अब तिमीलाई ज्ञान मिलेपछि भक्तिबाट वैराग्य आउँछ। यो दुनियाँ नै परिवर्तन हुन्छ। कलियुगमा हुन्छ भक्ति। सत्ययुगमा भक्ति हुँदैन। त्यहाँ हुन्छन् नै पूज्य। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमीले किन शिर झुकाउँछौ। आधाकल्प तिमीले शिर खियायौ, पैसा पनि गुमायौ, तर केही पनि मिलेन। मायाले एकदम शिर मोडिदिएको छ। कङ्गाल बनाइदिएको छ। फेरि बाबा आएर सबैको शिर ठाडो बनाइदिनुहुन्छ। अब बिस्तारै बिस्तारै केही युरोपियनले पनि बुझ्नेछन्। बाबाले सम्झाउनुभएको छ– यी भारतवर्ष निवासी त बिल्कुल तमोगुणी बनेका छन्। ती अरू धर्मका फेरि पछि आउँछन् त्यसैले सुख पनि थोरै, दु:ख पनि थोरै मिल्छ। यहाँ रहनेलाई सुख धेरै हुन्छ भने दु:ख पनि धेरै हुन्छ। सुरुमा नै कति धनवान एकदम विश्वका मालिक हुन्छन्। अरू धर्मका कोही पहिला कहाँ धनवान हुन्छन् र। पछि वृद्धि हुँदा हुँदा अहिले आएर धनवान भएका छन्। अब फेरि सबैभन्दा भिखारी पनि भारतवर्ष बनेको छ। अन्धश्रद्धालु पनि भारतवर्ष छ। ड्रामा यस्तो पनि बनेको छ। बाबा भन्नुहुन्छ– मैले जहाँ हेभेन बनाएँ, त्यो हेल बनेको छ। मानिसहरू बाँदरबुद्धि बनेका छन्, उनीहरूलाई म आएर मन्दिरलायक बनाउँछु। विकार धेरै कडा हुन्छन्। क्रोध कति छ। तिमीमा कुनै क्रोध हुनुहुँदैन। बिल्कुल मीठो, शान्त, अति मीठो बन। यो पनि थाहा छ– करोडौँमा कोही निस्किन्छन्– राज्यमा पद पाउनेहरू। बाबा भन्नुहुन्छ– म आएको छु तिमीलाई नरबाट नारायण बनाउन। त्यसमा पनि मुख्य ८ रत्नको गायन गरिन्छन्। ८ रत्न र बीचमा हुनुहुन्छ बाबा। ८ हुन्छन् सम्मानसहित पास, त्यो पनि नम्बरवार पुरुषार्थ अनुसार। देह अभिमानलाई तोड्नमा धेरै मेहनत लाग्छ। देहको भान बिल्कुल निस्कियोस्। कोही कोही जो पक्का ब्रह्म ज्ञानी हुन्छन्, उनीहरूको पनि यस्तो अवस्था हुन्छ। बस्दाबस्दै देहको त्याग गरिदिन्छन्। बस्दाबस्दै यसरी शरीर छोड्छन्, वायुमण्डल एकदम शान्त हुन्छ र अक्सर गरेर प्रभातको शुद्ध समयमा शरीर छोड्छन्। रातमा मानिसहरूले धेरै फोहोरी कुकर्म गर्छन्, बिहान स्नान आदि गरेर भगवान भगवान भन्न थाल्छन्। पूजा गर्छन्। बाबा सबै कुरा सम्झाइरहनुहुन्छ। प्रदर्शनी आदिमा पनि पहिला सुरुमा तिमीले अल्फको परिचय देऊ। पहिला अल्फ र बे। बाबा त एउटै निराकार हुनुहुन्छ। बाबा रचयिताले नै बसेर रचनाको आदि-मध्य-अन्त्यको ज्ञान सम्झाउनुहुन्छ। उहाँ बाबाले नै भन्नुहुन्छ– म एकलाई याद गर। देहका सम्बन्ध छोडेर आफूलाई आत्मा सम्झेर म एकलाई याद गर। तिमीले बाबाको परिचय दियौ भने फेरि कसैको हिम्मत हुँदैन प्रश्न उत्तर गर्ने। पहिला बाबाको निश्चय पक्का भएपछि भन– ८४ जन्म यसरी लिइन्छ। चक्रलाई बुझे, बाबालाई चिने भने फेरि कुनै प्रश्न उठ्दैन। बाबाको परिचय नदिई बाँकी तिमीले अरू धेरै कुरा गर्छौ भने त्यसमा तिम्रो समय धेरै बर्बाद हुन्छ। गला नै बस्छ। सबैभन्दा पहिलो कुरा अल्फको उठाऊ। अरू धेरै कुरा गरेमा कहाँ बुझ्न सक्छन् र। बिल्कुल साधारण तरिकाले र बिस्तारै बसेर सम्झाउनुपर्छ, जो देहीअभिमानी हुन्छन् उनीहरूले नै राम्रोसँग सम्झाउन सक्छन्। ठुला ठुला सङ्ग्रहालयमा राम्रा राम्रा सम्झाउनेहरूले मद्दत दिनुपर्छ। केही दिन आफ्नो सेन्टर छोडेर मद्दत दिन आउनुपर्छ। त्यसपछि सेन्टर सम्हाल्न कसैलाई राखिदेऊ। यदि गद्दी सम्हाल्नलायक कसैलाई आफूसमान बनाएका छैनौ भने बाबाले सम्झनुहुन्छ– कुनै कामका छैनौ, सेवा गरेनौ। बाबालाई लेख्छन्– सेवा छोडेर कसरी जाऊँ! अरे बाबाले हुकुम गर्नुहुन्छ– फलानो ठाउँमा प्रदर्शनी छ सेवामा जाऊ। कसैलाई गद्दीलायक बनाएका छैनौ भने तिमी के कामका। बाबाले हुकुम गर्नुभयो भने तुरुन्त दौडनुपर्छ। महारथी ब्राह्मणी तिनलाई भनिन्छ। बाँकी त सबै हुन् घोडसवार, प्यादा। सेवामा सबैले मद्दत दिनुछ। यति वर्षमा तिमीले कसैलाई आफूसमान बनाएका छैनौ भने के गरेका थियौ। यति समयमा पनि सन्देशवाहक बनाएका छैनौ, जसले सेन्टर सम्हाल्न सक्छन्। कस्ता कस्ता मानिसहरू आउँछन्, जोसँग कुरा गर्ने अक्कल पनि चाहिन्छ। मुरली पनि अवश्य दिनहुँ पढ्नुपर्छ अथवा सुन्नुपर्छ। मुरली पढेनौ अर्थात् गयल भयौ। तिमी बच्चाहरूले सारा विश्वमा घेरा हाल्नुछ। तिमीले सारा विश्वको सेवा गर्छौ नि। पतित दुनियाँलाई पावन बनाउनु, यो घेरा हाल्नु हो नि। सबैलाई मुक्ति-जीवनमुक्ति धामको मार्ग बताउनुछ, दु:खबाट छुटाउनुछ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) धेरै मीठो, शान्त, अति मीठो स्वभावको बन्नुछ। कहिल्यै पनि क्रोध गर्नुहुँदैन। आफ्नो आँखालाई धेरै धेरै पावन बनाउनुछ।

२) बाबाले जे हुकुम गर्नुहुन्छ, त्यसलाई तुरुन्त मान्नुछ। सारा विश्वलाई पतितबाट पावन बनाउने सेवा गर्नुछ अर्थात् घेरा हाल्नुछ।

वरदान:–
बाबाको यादद्वारा असन्तोषको परिस्थितिमा सदा सुख र सन्तोषको अनुभूति गर्ने महावीर भव

सदा बाबाको यादमा रहनेहरू हर परिस्थितिमा सदा सन्तुष्ट रहन्छन् किनकि उनीहरूलाई ज्ञानको शक्तिको आधारमा पहाडसमान परिस्थिति पनि रायोसमान अनुभव हुन्छ, रायो अर्थात् केही होइन। चाहे परिस्थिति असन्तोषको होस्, दु:खको घटना होस् तर दु:खको परिस्थितिमा सुखको स्थिति रह्यो भने भनिन्छ महावीर। जेसुकै होस्, नथिङ न्युको साथसाथै बाबाको स्मृतिले सदा एकरस स्थिति रहन सक्छ, त्यसपछि दु:ख अशान्तिको लहर पनि आउँदैन।

स्लोगन:–
सदा आफ्नो दैवी स्वरूप स्मृतिमा रह्यो भने कसैको पनि व्यर्थ नजर जान सक्दैन।


अव्यक्त इसारा:– स्वयं र सर्वप्रति मनसाद्वारा योगका शक्तिहरूको प्रयोग गर

जसरी साइन्सको शक्तिको प्रयोग लाइटको आधारमा हुन्छ। यदि कम्प्युटर चल्छ भने कम्प्युटर माइट हो तर आधार लाइट हो। त्यसैगरी तिम्रो साइलेन्सको शक्तिको पनि आधार लाइट हो। त्यो प्रकृतिको लाइटले यथार्थमा अनेक प्रकारका प्रयोग गरेर देखाउँछ भने तिम्रो अविनाशी परमात्म लाइट, आत्मिक लाइट र साथसाथै यथार्थ स्थितिको लाइट भएमा यसबाट के प्रयोग हुन सक्दैन!