28.09.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– जब तिमी नम्बरवार सतोप्रधान बन्छौ तब यो प्राकृतिक प्रकोप वा विनाशको शक्ति बढ्छ र यो पुरानो दुनियाँ समाप्त हुन्छ।”

प्रश्न:–
कुनचाहिँ पुरुषार्थ गर्नेहरूलाई बाबाबाट पूरा वर्सा मिल्छ?

उत्तर:–
१) पूरा वर्सा लिनको लागि सर्व प्रथम बाबालाई आफ्नो वारिस बनाऊ अर्थात् जे कुरा तिमीसँग छ, त्यो सबै बाबामा समर्पण गर। बाबालाई आफ्नो बच्चा बनायौ भने पूरा वर्साको अधिकारी बन्छौ। २) सम्पूर्ण पवित्र बन्यौ भने पूरा वर्सा मिल्छ। सम्पूर्ण पवित्र बनेनौ भने सजाय खाएर अलिकति रोटी मिल्छ।

ओम् शान्ति ।
बच्चाहरू केवल एकको यादमा रहने होइन। तीनको यादमा रहनु छ। हुन त एउटै हुनुहुन्छ तर तिमीले जानेका छौ– उहाँ बाबा पनि हुनुहुन्छ, शिक्षक पनि हुनुहुन्छ, सद्गुरु पनि हुनुहुन्छ। हामी सबैलाई फर्काएर लिएर जान आउनु भएको छ, यो नयाँ कुरा तिमीले नै बुझ्छौ। बच्चाहरूले जानेका छौ– उनीहरूले जुन भक्ति सिकाउँछन्, शास्त्र सुनाउँछन्, ती सबै हुन् मनुष्य। उहाँ बाबालाई त मनुष्य भनिदैन नि। उहाँ त हुनुहुन्छ निराकार, बसेर निराकार आत्माहरूलाई पढाउनु हुन्छ। आत्माले शरीरद्वारा सुन्छ। यो ज्ञान बुद्धिमा हुनुपर्छ। अहिले तिमी बेहदका बाबाको यादमा बसेका छौ। बेहदका बाबाले भन्नुभएको छ– प्यारा रुहानी बच्चाहरू! मलाई याद गर्यौ भने पाप काटिन्छ। यहाँ शास्त्र आदिको कुनै कुरा हुँदैन। जानेका छौ– बाबाले हामीलाई राजयोग सिकाइरहनु भएको छ। कति महान् शिक्षक हुनुहुन्छ, सबैभन्दा उच्च, त्यसैले पद पनि उच्च भन्दा उच्च प्राप्त गराउनु हुन्छ। जब तिमी नम्बरवार पुरुषार्थ अनुसार सतोप्रधान बन्छौ तब फेरि लडाइँ हुन्छ। प्राकृतिक प्रकोप पनि हुन्छ। याद पनि अवश्य गर्नु छ। बुद्धिमा सारा ज्ञान पनि हुनुपर्छ। केवल एकै पटक पुरुषोत्तम सङ्गमयुगमा बाबा आएर सम्झाउनु हुन्छ, नयाँ दुनियाँको लागि। साना बच्चाहरूले पनि बाबालाई याद गर्छन्। तिमी त समझदार छौ, बाबालाई याद गर्नाले विकर्म विनाश हुन्छ र बाबाबाट उच्च पद पाइन्छ भन्ने जानेका छौ। यो पनि जानेका छौ– यी लक्ष्मी-नारायणले नयाँ दुनियाँमा जुन पद पाएका छन् त्यो शिवबाबाबाटै पाएका हुन्। यी लक्ष्मी-नारायण नै ८४ को चक्कर लगाएर अहिले ब्रह्मा सरस्वती बनेका छन्। यिनै फेरि लक्ष्मी-नारायण बन्छन्। अहिले पुरुषार्थ गरिरहेका छन्। तिमीलाई सृष्टिको आदि, मध्य, अन्त्यको ज्ञान छ। अब तिमीले अन्धश्रद्धावश देवताहरूका अगाडि शिर झुकाउँदैनौ। देवताहरूका अगाडि गएर मनुष्यले आफूलाई पतित सिद्ध गर्छन्। भन्छन्– हजुर सर्वगुण सम्पन्न हुनुहुन्छ, हामी पापी विकारी हौं, हामीमा कुनै गुण छैन। तिमीले जसको महिमा गर्थ्यौ, अहिले तिमी स्वयं त्यही बनिरहेका छौ। भन्छन्– बाबा, यी शास्त्र आदि कहिलेदेखि पढ्न सुरु भएको हो? बाबा भन्नुहुन्छ– जबदेखि रावण राज्य सुरु भएको हो। यी सबै हुन् भक्तिका सामग्री। तिमी यहाँ बस्दा बुद्धिमा सारा ज्ञानको धारणा हुनुपर्छ। यो संस्कार आत्माले लैजान्छ। भक्तिको संस्कार जाँदैन। भक्तिको संस्कार भएकाले पुरानो दुनियाँमा मनुष्यको पासमा नै जन्म लिन्छन्। यो पनि आवश्यक छ। तिम्रो बुद्धिमा यो ज्ञानको चक्र चल्नुपर्छ। साथसाथै बाबाको याद पनि गर्नुपर्छ। बाबा हाम्रा पिता पनि हुनुहुन्छ। बाबालाई याद गर्यौं भने विकर्म विनाश हुन्छ। बाबा हाम्रा शिक्षक हुनुहुन्छ त्यसैले पढाइ बुद्धिमा आउँछ र सृष्टि चक्रको ज्ञान बुद्धिमा हुन्छ, जसबाट तिमी चक्रवर्ती राजा बन्छौ। (यादको यात्रा चलिरहेको छ)।

ओम् शान्ति। भक्ति एवं ज्ञान। बाबालाई भनिन्छ ज्ञानका सागर। उहाँलाई भक्तिका बारेमा सारा कुरा थाहा छ– भक्ति कहिले सुरु भयो, कहिले पूरा हुन्छ। मनुष्यहरूलाई यो थाहा छैन। बाबाले नै आएर सम्झाउनु हुन्छ। सत्ययुगमा तिमी देवी-देवताहरू विश्वको मालिक थियौ। त्यहाँ भक्तिको नाम हुँदैन। एउटा पनि मन्दिर थिएन। सबै देवी-देवता मात्रै थिए। पछि जब आधा दुनियाँ पुरानो हुन्छ अर्थात् २५०० वर्ष पूरा हुन्छ अथवा त्रेता र द्वापरको सङ्गम हुन्छ तब रावण राज्य आउँछ। सङ्गम त अवश्य पनि हुनुपर्छ। त्रेता र द्वापरको सङ्गममा रावण आउँछ जब देवी-देवताहरू वाममार्गमा गएर गिर्छन्। यो तिमीहरू बाहेक अरू कसैले पनि जान्दैन। बाबा पनि आउनु हुन्छ कलियुगको अन्त्य र सत्ययुगको आदिको सङ्गममा अनि रावण आउँछ त्रेता र द्वापरको सङ्गममा। तर त्यो सङ्गमलाई कल्याणकारी भनिदैन। त्यसलाई त अकल्याणकारी नै भनिन्छ। केवल बाबाको नाम मात्र कल्याणकारी हो। द्वापरबाट अकल्याणकारी युग सुरु हुन्छ। बाबा त हुनुहुन्छ चैतन्य बीजरूप। उहाँलाई सारा वृक्षको ज्ञान छ। यदि त्यो बीज पनि चैतन्य हुने भए सम्झाउने थियो– मबाट यो वृक्ष यसरी निस्कन्छ। तर जड भएका हुनाले बताउन सक्दैन। हामीले जान्न सक्छौं– बीज रोपेपछि सुरुमा सानो बिरूवा उम्रन्छ। फेरि बढेर फल फल्न सुरु हुन्छ। तर चैतन्यले नै यी सबै कुरा बताउन सक्छ। दुनियाँमा त मनुष्यहरूले आजकाल के के गरिरहन्छन्। आविष्कार गरिरहन्छन्। चन्द्रमामा जाने कोसिस गर्छन्। यी सबै कुरा अहिले तिमीले सुनिरहेका छौ। चन्द्रमामा कति माथि लाखौं माइलसम्म जान्छन्, जाँच गर्नको लागि– चन्द्रमामा के चीज छ? समुद्रमा कति टाढा गहिराइसम्म जान्छन्, जाँच गर्छन् तर अन्त्य पाउन सक्दैनन्, पानी नै पानी हुन्छ। हवाइजहाजमा माथिसम्म जान्छन्, फर्केर आउन सक्ने गरी त्यसमा धेरै पेट्रोल राख्छन्। आकाश बेहद छ नि, सागर पनि बेहद छ। जसरी यहाँ पिता बेहदका ज्ञानसागर हुनुहुन्छ, त्यो हो पानीको बेहदको सागर। आकाश तत्त्व पनि बेहद छ। धरती पनि बेहद छ, जति हिँडे पनि सकिन्न। सागरको तल फेरि धरती छ। पहाड केमा खडा छ? धरतीमा। फेरि धरतीमा खन्दै जाने हो भने पहाड निस्कन्छ, त्यसको तल फेरि पानी निस्कन्छ। सागर पनि धरती माथि हुन्छ। त्यसको केही अन्त्य पाउन सकिँदैन– कहाँसम्म पानी छ, कहाँसम्म धरती छ? बेहदका पिता परमपिता परमात्मालाई बेअन्त्य भनिदैन। भन्न त मनुष्यले भन्छन् ईश्वर बेअन्त्य हुनुहुन्छ, माया पनि बेअन्त्य छ। तर तिमीले बुझेका छौ– ईश्वर त बेअन्त्य हुन सक्नुहुन्न। तर यो आकाश बेअन्त्य छ। यी ५ तत्त्व हुन्, आकाश, वायु...। यी ५ तत्त्व तमोप्रधान बन्छन्। आत्मा पनि तमोप्रधान बन्छ फेरि बाबा आएर सतोप्रधान बनाउनु हुन्छ। आत्मा कति सानो छ, ८४ जन्म भोग्छ। यो चक्र घुमि नै रहन्छ। यो अनादि नाटक हो, यसको अन्त्य हुँदैन। यो परम्परादेखि चलेर आएको हो। कहिलेदेखि सुरु भयो– यसो भन्ने हो भने फेरि अन्त्य पनि हुन्छ। तर यो कुरा बुझाउनु छ– कहिलेदेखि नयाँ दुनियाँ सुरु हुन्छ। फेरि पुरानो हुन्छ। यो ५ हजार वर्षको चक्र हो जुन घुमि नै रहन्छ। अहिले तिमीले जानेका छौ, तर उनीहरूले त गफ लगाइदिएका छन्। शास्त्रहरूमा लेखिएको छ– सत्ययुगको अवधि यति लाखौं वर्ष हो। मनुष्यहरूले सुन्दा सुन्दा त्यसैलाई सत्य सम्झन्छन्। यो थाहा हुँदैन– भगवान कहिले आएर आफ्नो परिचय दिनुहुन्छ? नजानेका हुनाले भनिदिन्छन् कलियुगको अवधि अझै ४० हजार वर्ष बाँकी छ– जबसम्म तिमीले सम्झाउँदैनौ। अहिले तिमी निमित्त हौ सम्झाउनको लागि– कल्प ५ हजार वर्षको हो, नकि लाखौं वर्षको हो।

भक्तिमार्गका कति सामग्रीहरू छन्, मनुष्यसँग पैसा हुन्छ, त्यसैले खर्च गर्छन्। बाबा भन्नुहुन्छ– तिमीलाई कति पैसा दिएर जान्छु! बेहदका बाबाले त अवश्य पनि बेहदको वर्सा दिनुहुन्छ। त्यसको सुख पनि मिल्छ, आयु पनि लामो हुन्छ। बाबाले बच्चाहरूलाई भन्नुहुन्छ– मेरा प्यारा बच्चाहरू! आयुष्मान् भव। त्यहाँ तिम्रो आयु १५० वर्षको हुन्छ, कहिल्यै कालले खान सक्दैन। बाबाले वर दिनुहुन्छ, तिमीलाई आयुष्मान् बनाउनु हुन्छ। तिमी अमर बन्छौ। त्यहाँ कहिल्यै अकालमा मृत्यु हुँदैन। त्यहाँ तिमी धेरै सुखी हुन्छौ, त्यसैले भनिन्छ सुखधाम। आयु पनि लामो हुन्छ, धन पनि धेरै मिल्छ, सुखी पनि धेरै हुन्छौ। कङ्गालबाट शिरताज बन्छौ। तिम्रो बुद्धिमा छ– बाबा आउनु हुन्छ देवी-देवता धर्म स्थापना गर्न। त्यो त अवश्य पनि सानो वृक्ष हुन्छ। त्यहाँ हुन्छ नै एक धर्म, एक राज्य, एक भाषा। त्यसैलाई नै भनिन्छ विश्वमा शान्ति। सारा विश्वमा हामीले नै नाटक अभिनय गरिरहेका छौं। यो दुनियाँले जान्दैन। यदि जान्ने हो भने बताउँथे– कहिलेदेखि हामीले अभिनय गर्दै आएका हौं? अहिले तिमी बच्चाहरूलाई बाबाले सम्झाइरहनु भएको छ। गीतमा पनि छ नि– बाबासँग जे मिल्छ त्यो अरू कसैसँग मिल्दैन। सारा पृथ्वी, आकाश, सारा विश्वको राजधानी दिनुहुन्छ। यी लक्ष्मी-नारायण विश्वको मालिक थिए फेरि पछि जो राजा आदि हुन्छन् ती भारतवर्षका थिए। गायन पनि छ– बाबाले जे दिनुहुन्छ, त्यो अरू कसैले पनि दिन सक्दैन। बाबाले नै आएर प्राप्ति गराउनु हुन्छ। जुन कोहीलाई पनि सम्झाउन सक्ने गरी यो ज्ञान बुद्धिमा हुनुपर्छ। यति कुरा बुझ्नु पर्ने हुन्छ। अब सम्झाउन कसले सक्छ? जो बन्धनमुक्त छ। बाबासँग कोही आयो भने बाबाले सोध्नुहुन्छ– कति बच्चाहरू छन्? अनि भन्छन् ५ वटा बच्चा आफ्ना छन् र छैटौं बच्चा शिवबाबा हुनुहुन्छ, त्यसैले सबैभन्दा ठुला बच्चा हुनु भयो नि। शिवबाबाका बन्यौ भने फेरि शिवबाबाले आफ्नो बच्चा बनाएर विश्वको मालिक बनाइदिनुहुन्छ। बच्चा हकदार हुन्छन्। यी लक्ष्मी-नारायण शिवबाबाका पूरा हकदार हुन्। पहिलो जन्ममा शिवबाबालाई सबै कुरा सुम्पिदिए। त्यसैले बच्चाहरूलाई अवश्य पनि वर्सा मिल्नु पर्छ। बाबाले भन्नुभएको छ– मलाई हकदार बनाऊ फेरि अरू कसैलाई होइन। भन्छन्– बाबा यो सबै कुरा हजुरको हो, हजुरको सबै हाम्रो हो। हजुरले हामीलाई सारा विश्वको बादसाहीको वर्सा दिनुहुन्छ किनकि तिमीलाई जे जति छ त्यो दिनु भयो। ड्रामामा निश्चित छ नि। अर्जुनलाई विनाश पनि देखाइयो र चतुर्भुज पनि देखाइयो। अर्जुन अरू कोही त होइनन्, यिनलाई साक्षात्कार भयो। देखे– राज्य मिल्छ भने किन शिवबाबालाई हकदार नबनाऊ। उहाँले फेरि हामीलाई हकदार बनाउनु हुन्छ। यो व्यापार धेरै राम्रो छ। कहिल्यै कसैसँग केही सोधेनन्। गुप्त रूपमा सबै कुरा दिए। यसलाई भनिन्छ गुप्त दान। कसैलाई के थाहा, यिनलाई के भयो। कसैले सम्झे यिनलाई वैराग्य आयो, सायद संन्यासी बने। त्यसैले यी बच्चीहरूले पनि भन्छन्– ५ बच्चाहरू त आफ्ना छन्, बाँकी एक बच्चा हामीले यिनलाई बनाउँछौं। धेरै सेवा होस् भनेर यिनले पनि सबै कुरा बाबाको अगाडि राखिदिए। बाबालाई देखेर सबैलाई ख्याल आयो, सबैले घरबार छोडेर भागेर आए। यहीँबाट हङ्गामा सुरु भयो। उनीहरूले घरबार छोड्ने हिम्मत देखाए। शास्त्रमा पनि लेखेका छन्– भट्ठी बनेको थियो किनकि उनीहरूलाई अवश्य पनि एकान्त चाहिएको थियो। बाबा सिवाय अरू कोही याद नआओस्। मित्र-सम्बन्धीहरू आदिको पनि याद नआओस् किनकि आत्मा जो पतित बनेको छ, त्यसलाई अवश्य पनि पावन बनाउनु नै छ। बाबा भन्नुहुन्छ– गृहस्थ व्यवहारमा बसेर पवित्र बन। यसैमा नै समस्या आउँछ। भन्दथे– यो स्त्री-पुरुषका बीचमा झगडा गराउने ज्ञान हो किनकि एक पवित्र बन्छ, अर्को बन्दैन भने मारामार चल्छ। यिनीहरू सबैले मार खाए किनकि अचानक नयाँ कुरा भयो नि। सबैले आश्चर्य खान थाले, यो के भयो जो यति सबै भाग्छन्। मनुष्यमा ज्ञान त छैन। यतिसम्म भन्थे– कुनै तागत छ! सबैले आश्चर्य खान थाले। यसरी त कहिल्यै कसैले आफ्नो घरबारै छोडेर भागेनन्। ड्रामामा यो सबै चरित्र शिवबाबाको हो। कोही खाली हातै दौडे, यो पनि खेल हो। घरबार आदि सबै छोडेर भागे, केही पनि याद रहेन। बाँकी केवल यो शरीर हो, जसबाट काम गर्नु छ। आत्मा पनि यादको यात्राबाट पवित्र बन्नु छ, अनि मात्र पवित्र आत्माहरू फर्केर जान सक्छन्। स्वर्गमा अपवित्र आत्माहरू त जान सक्दैनन्। काइदा छैन। मुक्तिधाममा जान पवित्रै हुनुपर्छ। पवित्र बन्नमा कति विघ्न पर्छन्। पहिला कुनै सतसङ्गमा जानलाई कहाँ रोकावट हुन्थ्यो र! जहाँ पनि जान्थे। यहाँ पवित्रताको कारण विघ्न पर्छ। यो त बुझ्छन्– पवित्र नबनी फर्केर घर जान सकिँदैन। धर्मराजद्वारा सजाय खानुपर्छ। सानो पद मिल्छ। सजाय नखाने हो भने पद पनि राम्रो मिल्छ। यो बुझ्नु पर्ने कुरा हो। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमी मेरो पासमा आउनु छ। यो पुरानो शरीर छोडेर पवित्र आत्मा बनेर आउनु छ। फेरि जब ५ तत्त्व सतोप्रधान, नयाँ हुन्छन् तब तिमीलाई नयाँ सतोप्रधान शरीर मिल्छ। सारा उथल पुथल भएर नयाँ बन्छ। जसरी बाबा यिनमा आएर बस्नुहुन्छ, त्यसैगरी आत्मा विना कुनै कष्ट गर्भ महलमा गएर बस्छ। फेरि जब समय हुन्छ तब बाहिर आउँछ। त्यसपछि बिजुली चम्केजस्तै हुन्छ किनकि आत्मा पवित्र हुन्छन्। यी सबै ड्रामामा निश्चित कुरा हुन्। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) आत्मालाई पावन बनाउनको लागि एकान्त भट्ठीमा रहनु छ। एक बाबा सिवाय अरू कुनै पनि मित्र-सम्बन्धी याद नआओस्।

२) बुद्धिमा सारा ज्ञान राखेर, बन्धनमुक्त बनेर अरूको सेवा गर्नु छ। बाबासँग सच्चा व्यापार गर्नु छ। जसरी बाबाले सबै कुरा गुप्त रूपमा गर्नुभयो, त्यस्तै गुप्त दान गर्नु छ।

वरदान:–
मायाको विकराल रुपको खेललाई साक्षी भएर हेर्ने मायाजित भव

मायालाई स्वागत गर्नेवाला उसको विकराल रुपलाई देखेर आत्तिदैन। साक्षी भएर खेल हेर्नमा आनन्द आउँछ किनकि मायाको बाहिरबाट सिँहको रूप हुन्छ तर त्यसमा तागत बिरालोको जति पनि हुँदैन। केवल तिमी डराएर त्यसलाई ठुलो बनाइदिन्छौ– के गरुँ... कसरी होला...। यही पाठ याद गर– जे भइरहेको छ त्यो राम्रो र जे हुनेवाला छ त्यो झन् राम्रो। साक्षी भएर खेल देख्यौ भने मायाजित बन्छौ।

स्लोगन:–
जो सहनशील छ, ऊ कसैको भाव-स्वभावमा जल्दैन, व्यर्थ कुराहरूलाई एउटा कानले सुनेर अर्को कानबाट निकालिदिन्छ।