28.09.26          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– अहिले तिमी अमरलोकको यात्रामा छौ , यो तिम्रो बुद्धिको रुहानी यात्रा हो , जुन तिमी सच्चा सच्चा ब्राह्मणले मात्र गर्न सक्छौ।”

प्रश्न:–
आफैँसँग वा आपसमा कुन चाहिँ कुराकानी गर्नु नै शुभ सम्मेलन हो?

उत्तर:–
आफैँसँग कुरा गर– म आत्मा अब यो पुरानो फोहोरी शरीरलाई छोडेर फर्केर घर जान्छु। यो शरीर कुनै कामको छैन, अब त म बाबासँग जान्छु। आपसमा भेट भएको बेलामा यही कुराकानी गर– सेवाको वृद्धि कसरी हुन्छ, सबैको कल्याण कसरी हुन्छ, सबैलाई कसरी मार्ग बताउने... यही शुभ सम्मेलन हो।

गीत:–
दिल का सहारा टुट न जाये...

ओम् शान्ति ।
मीठा-प्यारा रुहानी बच्चाहरू! तिमी सबै सेन्टरहरूका ब्रह्मामुख वंशावली सर्वोत्तम ब्राह्मण कुल भूषणहरूले आफ्नो कुललाई जान्दछौ, जो जुन कुलका हौ तिमीहरूले आफ्नो कुललाई जान्दछौ। चाहे साधारण कुलका हौ वा राम्रो कुलका हौ, प्रत्येकले आफ्नो कुललाई जान्दछौ र सम्झन्छौ– यसको कुल राम्रो छ। कुल भन वा जाति भन, दुनियाँमा तिमी बच्चाहरू बाहेक अरू कसैलाई पनि थाहा छैन– ब्राह्मणहरूको कुल नै सर्वोत्तम कुल हो। पहिलो नम्बरको कुल भनिन्छ तिमी ब्राह्मणहरूको। ब्राह्मण कुल अर्थात् ईश्वरीय कुल। पहिला निराकारी कुल हुन्छ, फेरि साकारी सृष्टिमा आउँछौ। सूक्ष्मवतनमा त कुल हुँदैन। साकारमा तिमी ब्राह्मणहरूको कुल उच्चभन्दा उच्च हुन्छ। तिमी ब्राह्मणहरू आपसमा भाइबहिनी हौ। बहिनी र भाइ भएका हुनाले तिमीहरू विकारमा जान सक्दैनौ। तिमीले अनुभवबाट भन्न सक्छौ–पवित्र रहन यो धेरै राम्रो युक्ति हो। प्रत्येकले भन्छौ– हामी ब्रह्माकुमार-कुमारी हौँ। शिववंशी त सबै हौ, फेरि साकारमा आइसकेपछि प्रजापिताको नाम भएका हुनाले भाइबहिनी बन्छौ। प्रजापिता ब्रह्मा हुनुहुन्छ भने पक्कै पनि रचयिता पनि हुनुहुन्छ, उहाँले एडप्ट गर्नुहुन्छ। तिमी कोखवंशावली होइनौ, मुखवंशावली हौ। मानिसहरूले कोखवंशावली र मुखवंशावलीको अर्थ पनि जान्दैनन्। मुखवंशावली अर्थात् एडप्ट गरिएका बच्चाहरू। कोखवंशावली अर्थात् कोखबाट जन्म लिने बच्चाहरू। तिम्रो यो जन्म अलौकिक जन्म हो। पितालाई लौकिक, अलौकिक, पारलौकिक भनिन्छ। प्रजापिता ब्रह्मालाई अलौकिक पिता भनिन्छ। लौकिक पिता त सबैका हुन्छन्। त्यो त सामान्य कुरा हो। पारलौकिक पिता पनि सबैका हुनुहुन्छ। भक्तिमार्गमा त सबैले हे भगवान्, हे परमपिता! भनिरहन्छन्। तर यी बाबा (प्रजापिता ब्रह्मा) लाई कहिल्यै कसैले पुकार्दैनन्। यी बाबा पनि ब्राह्मण बच्चाहरूका बाबा हुन्। उहाँहरू दुवैलाई त तिमीहरू सबैले चिन्दछौ। बाँकी ब्रह्मामा अलमलिन्छन्, किनकि ब्रह्मा त हुनुहुन्छ नै सूक्ष्मवतनमा। ब्रह्मालाई त यहाँ देखाउँदैनन्। चित्रहरूमा पनि ब्रह्मालाई दाह्रीजुँगा भएको देखाउँछन्, किनकि प्रजापिता ब्रह्मा यहाँ सृष्टिमा हुनुहुन्छ। सूक्ष्मवतनमा त प्रजा रच्न सकिँदैन। यो कुरा पनि कसैको बुद्धिमा आउँदैन। यी सबै कुरा बाबाले सम्झाउनुहुन्छ।

तिमी बच्चाहरूको यो रुहानी यात्राको पनि महिमा गरिएको छ। रुहानी यात्रा त्यो हो, जहाँबाट फेरि फर्केर आउनुपर्दैन। अरू यात्राहरू त सबै जन्मजन्मान्तर गरिरहन्छन् र गएर फर्किन्छन्। त्यो हो जिस्मानी यात्रा, यो तिम्रो हो रुहानी यात्रा। यो रुहानी यात्रा गरेपछि तिमी मृत्युलोकमा फर्किँदैनौ। बाबाले तिमीलाई अमरलोकको यात्रा सिकाउनुहुन्छ। उनीहरू अमरनाथको यात्रामा काश्मीरतिर जान्छन्। त्यो कुनै अमरलोक होइन। अमरलोक एउटा हुन्छ आत्माहरूको, अर्को छ मानिसहरूको, जसलाई स्वर्ग अथवा अमरलोक भन्न सकिन्छ। आत्माहरूको हुन्छ निर्वाणधाम। बाँकी अमरलोक सत्ययुग हो, मृत्युलोक कलियुग हो र निर्वाणधाम शान्तिलोक हो, जहाँ आत्माहरू बस्छन्। बाबा भन्नुहुन्छ– तिमी अमरपुरीको यात्रामा छौ। ती पैदल जाने जिस्मानी यात्राहरू हुन्। यो हो रुहानी यात्रा, जुन यात्रा सिकाउने केवल एक रुहानी बाबा हुनुहुन्छ र उहाँ एकैपटक आएर यो रुहानी यात्रा सिकाउनुहुन्छ। त्यो त जन्मजन्मान्तरको कुरा हो। यो हो मृत्युलोकको अन्त्यको यात्रा। यो कुरा तिमी ब्राह्मण कुलभूषणहरूले मात्र जान्दछौ। रुहानी यात्रा अर्थात् तिमी आत्माहरू यादमा छौ। भनिन्छ पनि– अन्त मति सो गति। तिमीलाई याद आउँछ नै बाबाको घर। जान्दछौ– अब नाटक पूरा हुन्छ। यो पुरानो वस्त्र, पुरानो शरीर हो। आत्मामा खाद परेपछि शरीरमा पनि खाद जम्छ। आत्मा पवित्र बनिसकेपछि हामीलाई शरीर पनि पवित्र मिल्छ। यो कुरा पनि तिमी बच्चाहरूले बुझेका छौ। बाहिरकाहरूले त केही पनि बुझ्दैनन्। तिमीले देखेका छौ– कोही कोहीले बुझ्छन् पनि। कसैको बुद्धिमा यो ज्ञान हुँदैन। बुझ्ने व्यक्ति रहेछ भने पक्कै अरू कसैलाई सम्झाउँछ। मानिसहरू यात्रामा जाँदा पवित्र रहन्छन्। फेरि घरमा आएर अपवित्र बन्छन्। महिना, दुई महिना पवित्र रहन्छन्। यात्राको पनि सिजन हुन्छ। सदैव यात्रामा जान त सक्दैनन्। जाडो वा वर्षातको समयमा कोही यात्रामा जान सक्दैनन्। तिम्रो यात्रामा त जाडो वा गर्मीको कुनै कुरै छैन। बुद्धिले आफै जान्न सक्छौ– हामी बाबाको घर जाँदैछौँ। जति हामीले याद गर्छौँ, त्यति विकर्म विनाश हुन्छ। बाबाको घरमा गएर फेरि हामी नयाँ दुनियाँमा आउँछौँ। यो कुरा बाबाले नै सम्झाउनुहुन्छ। यहाँ पनि तिमी बच्चाहरू नम्बरवार छौ। वास्तवमा यात्रालाई भुल्नुहुँदैन, तर मायाले भुलाउँछ, त्यसैले लेख्छन् पनि– बाबा, हजुरको याद गर्न भुलिन्छ। अरे, यादको यात्रा– जसबाट तिमी सदा स्वस्थ र सम्पन्न बन्छौ, यस्तो औषधी तिमीले भुलिदिन्छौ! तिमीहरूले यो पनि भन्छौ– बाबालाई याद गर्न त धेरै नै सहज छ। आफैँसँग कुरा गर्नुपर्ने हुन्छ– म आत्मा पहिला सतोप्रधान थिएँ, अहिले तमोप्रधान बनेको छु। शिवबाबाले त अहिले हामीलाई धेरै राम्रो युक्ति बताउनुहुन्छ। बाँकी अभ्यास गर्नु छ। आँखा बन्द गरेर विचार गरिँदैन। (बाबाले अभिनय गरेर देखाउनुभयो) यसरी आफैँसँग कुरा गर– हामी सतोप्रधान थियौँ, हामीले नै राज्य गर्थ्यौँ। त्यो दुनियाँ सत्ययुग (गोल्डन एज) थियो, फेरि त्रेता, द्वापर र कलीयुगमा आयौँ। अब कलीयुगको अन्त्य हुन्छ, त्यसैले बाबा आउनुभएको छ। बाबाले हामी आत्माहरूलाई भन्नुहुन्छ– मलाई याद गर र जहाँबाट आएका हौ त्यो आफ्नो घरलाई याद गर। त्यसपछि अन्त मति सो गति हुनेछ। तिमी त्यहीँ जानु छ। बाबाले यो युक्ति बताउनुहुन्छ– सबेरै उठेर आफैँसँग कुरा गर। बाबाले गरेर देखाउनुहुन्छ– म पनि सबेरै उठेर विचार सागर मन्थन गर्छु। सच्चा कमाइ गर्नुपर्छ हैन! सुवहका साईं मालिक... त्यसैले उहाँ साईंलाई याद गरेमा तिम्रो बेडा पार हुनेछ। बाबाले जे गर्नुहुन्छ, जसरी गर्नुहुन्छ, त्यो कुरा बच्चाहरूलाई पनि सम्झाउनुहुन्छ। यसमा विवादको कुरा छैन। यो कमाइको धेरै राम्रो युक्ति हो। अल्फलाई याद गरेमा बेको बादसाही त अवश्य मिलि नै हाल्छ।

तिमी बच्चाहरूलाई थाहा छ– हामीले राजयोग सिकिरहेका छौँ। बाबा बीजरूप, ज्ञानको सागर हुनुहुन्छ त्यसैले हामीले पनि वृक्षको विषयमा पूरै बुझेका छौँ। यो पनि मोटो रूपको ज्ञान हो। सुरुमा यो वृक्ष कसरी वृद्धि हुन्छ, फेरि कसरी यसको आयु पूरा हुन्छ! अरू रुख त तुफान आदि लागेपछि लड्छन्। तर यो मनुष्य सृष्टिरूपी वृक्षको पहिलो जग देवीदेवता धर्म प्रायः लोप हुन्छ। यो पनि हुनु नै छ। यो लोप भइसकेपछि भनिन्छ– फेरि एक धर्मको स्थापना र अनेक धर्महरूको विनाश। कल्प कल्प यो धर्म प्रायः लोप हुन्छ। आत्मामा खाद मिसियो भने गहना नक्कली बन्छ। तिमी बच्चाहरूले जान्दछौ– हाम्रो आत्मामा खाद थियो, अब हामी स्वच्छ बनेपछि अरूलाई बाटो बताउँछौँ। दुनियाँ त तमोप्रधान छ। पहिला दुनियाँ सतोप्रधान स्वर्ग थियो। त्यसैले बच्चाहरूले सबेरै सबेरै उठेर आफैँसँग कुरा अर्थात् रुहरिहान गर्नुपर्छ। विचार सागर मन्थन गर्नुपर्छ। फेरि कसैलाई सम्झाउनु पर्छ– यो ८४ जन्मको चक्र हो। ८४ जन्म कसरी लिन्छन्, कसले लिन्छन्! पक्कै पनि जो पहिला आउँछन्, उनीहरूले नै ८४ जन्म लिन्छन्। बाबा पनि भारतभूमिमा आउनुहुन्छ। आएर ८४ को चक्रको विषयमा सम्झाउनुहुन्छ। बाबा कहाँ आउनुभएको छ, यो पनि कसैलाई थाहा छैन। बाबा आएर स्वयं आफ्नो परिचय दिनुहुन्छ। भन्नुहुन्छ– मैले तिमीहरूलाई राजयोग सिकाउँछु, मनमनाभव। मलाई याद गरेमा विकर्म विनाश हुन्छ। यस्तो ज्ञान अरू कसैले दिन सक्दैन। सुनाउन त गीता आदि सुनाउँछन्। त्यहाँ पनि मानिसहरू गइरहन्छन्। तर भगवान् कुनै बेला त आउनुभएको थियो होला, ज्ञान सुनाउनुभएको थियो होला। फेरि जुनबेला आउनुहुन्छ, त्यतिबेला सुनाउनुहुन्छ नि! ती मानिसहरू त बसेर गीताको पुस्तक लिएर सुनाउँछन्। यहाँ त भगवान् हुनुहुन्छ ज्ञानको सागर, उहाँले केही हातमा लिएर पढ्नुपर्दैन। उहाँले सिक्नुहुन्न। कल्प पहिला पनि सङ्गममा आएर तिमी बच्चाहरूलाई सिकाउनुभएको थियो। बाबाले नै आएर राजयोग सिकाउनुहुन्छ। यो हो यादको यात्रा। तिम्रो बुद्धिले नै जान्दछ– ब्रह्मा मुखवंशावली बाहेक अरू कुनै यस्तो मानिस हुँदैन, जोसँग यो ज्ञान हुन्छ। सबैमा सर्वव्यापीको ज्ञान भरिएको छ। परमात्मा बिन्दु हुनुहुन्छ भन्ने कुरा कसैलाई थाहा छैन। ज्ञान सागर पतितपावन हुनुहुन्छ। केवल त्यसै गाइरहन्छन्। गुरुहरूले जे सिकाउँछन्, त्यसलाई सत्य सत्य भनिरहन्छन्। अर्थ केही पनि बुझ्दैनन्। यो सत्य हो कि होइन? न त त्यसमा कहिल्यै विचार चलाउँछन्।

बाबा सम्झाउनुहुन्छ– तिमी बच्चाहरू हिँड्दाडुल्दा अवश्य यादको यात्रामा रहनुपर्छ। नत्र विकर्म विनाश हुन सक्दैन। जुनसुकै कर्म गर्दा पनि बुद्धिमा बाबाको याद रहनुपर्छ। श्रीनाथको मन्दिरमा भोजन बनाउँदा बुद्धिमा ती श्रीनाथ हुन्छन् नि! उनीहरू बसेकै हुन्छन् श्रीनाथको मन्दिरमा। जान्दछन्– हामीले श्रीनाथको लागि भोजन बनाउँछौँ। भोजन बनाउँछन्, भोग लगाउँछन्, फेरि घरका छोराछोरी आदि याद आइरहन्छन्। त्यहाँ भोजन बनाउँदा मुख बन्द हुन्छ, कुरा गर्दैनन्। मनसाबाट कुनै विकर्म बन्दैन। तिनीहरू त्यहाँ श्रीनाथको मन्दिरमा बसेका हुन्छन्। यहाँ त तिमीहरू शिवबाबाको समीप बसेका छौ। यहाँ पनि बाबाले युक्ति बताइरहनुहुन्छ। प्यारा बच्चाहरू! कुनै फाल्तु कुरा नगर। सदैव बाबासँग मीठा मीठा कुरा गर्नुपर्छ। जस्तो बाबा, त्यस्तै बच्चाहरू। बाबाको स्मृतिमा हुन्छ– चक्र कसरी घुम्छ, फेरि आएर त्यही कुरा तिमी बच्चाहरूलाई सुनाउनुहुन्छ। तिमी बच्चाहरूलाई थाहा छ– हाम्रा बाबा मनुष्य सृष्टिको बीजरूप हुनुहुन्छ, चैतन्य हुनुहुन्छ। कति सहज कुरा छ! तर फेरि पनि बुझ्दैनन्, किनकि पत्थरबुद्धि छन् नि! त्यो भौतिक बीजलाई हामीले चैतन्य भन्दैनौँ। उहाँ ज्ञानको सागर हुनुहुन्छ, चैतन्य हुनुहुन्छ। उहाँ एक मात्र हुनुहुन्छ। ती बीज त अनेक प्रकारका हुन्छन्। भगवानलाई भनिन्छ– मनुष्य सृष्टिको बीजरूप। त्यसैले उहाँ पिता हुनुभयो नि! आत्माहरूका पिता परमात्मा हुनुहुन्छ त्यसैले सबै भाइ भाइ ठहरिए, बाबा पनि त्यहीँ बस्नुहुन्छ, जहाँ तिमी आत्माहरू पनि बस्छौ। निर्वाणधाममा पिता र बच्चाहरू बस्छन्। यस समयमा तिमी प्रजापिता ब्रह्माका सन्तान भाइबहिनी हौ, त्यसैले तिमीहरूलाई शिववंशी ब्रह्माकुमार-कुमारीहरू भनिन्छ। यो पनि तिमीले लेख्नु छ– हामी ब्रह्माकुमार-कुमारीहरू भाइबहिनी हौँ। बाबाले ब्रह्माद्वारा सृष्टि रच्नुहुन्छ त्यसैले भाइबहिनी ठहरियौ नि! बाबाले कल्प कल्प यसरी नै रच्नुहुन्छ। एडप्ट गर्दै जानुहुन्छ। साधारण मानिसलाई प्रजापिता ब्रह्मा भनिँदैन। भन्न त बाबा भन्छन्, तर ती हुन् हदका, यिनलाई प्रजापिता भनिन्छ, किनकि प्रजा धेरै छन् अर्थात् उनका बच्चाहरू थुप्रै छन्। त्यसैले बेहदका बाबा बसेर बच्चाहरूलाई सबै कुरा सम्झाउनुहुन्छ। यो दुनियाँ एकदमै बिग्रिएको फोहोरी छ। अब बाबाले तिमीलाई वाह वाहको दुनियाँमा लैजानुहुन्छ। तिमीहरूमा पनि धेरै छौ, जसले यो कुरा बिर्सिन्छौ। अब फर्केर जानु छ, यो कुरा याद भयो भने पनि बाबाको याद हुन्छ र सद्गुरुको पनि याद हुन्छ। हामीले पुरानो शरीर छोडिदिन्छौँ, किनकि यो शरीर अब कुनै कामको छैन। आत्मा अब पवित्र बन्दै जान्छ अनि शरीर पनि पवित्र बन्नेछ। आपसमा बसेर यस्ता यस्ता कुरा गर्नुपर्छ, यसलाई भनिन्छ– शुभ सम्मेलन, जसमा राम्रा राम्रा कुरा हुन्छन्। सेवा कसरी वृद्धि हुन्छ, कल्याण कसरी गरौँ! उनीहरूको त फोहोरी सम्मेलन हो, व्यर्थका गफ गरिरहन्छन्। यहाँ गफ आदिको कुरै छैन। सच्चा सम्मेलन यसलाई भनिन्छ। तिमीलाई यो कथा सुनाइएको छ– यो कलियुग हो, सत्ययुगलाई स्वर्ग भनिन्छ। भारतवर्ष स्वर्ग थियो, तिमीहरूले नै पूरा ८४ जन्म भोग्छौ। अहिले तिमीहरू अन्त्यमा छौ। अब तिमीहरू तमोप्रधानबाट सतोप्रधान बन्छौ। यसमा कुनै गङ्गा स्नान आदि गर्नु छैन। भगवानुवाच– म सबैको पिता हुँ। श्रीकृष्ण सबैका पिता हुन सक्दैनन्। श्रीनारायण एक-दुई बच्चाका पिता हुन्, न कि श्रीकृष्ण। श्रीकृष्ण त कुमार हुन्। यी प्रजापिता ब्रह्माका त धेरै बच्चाहरू छन्। कहाँ श्रीकृष्ण भगवानुवाच, कहाँ शिव भगवानुवाच! कति ठुलो भुल गरिदिएका छन्! जहाँसुकै पनि प्रदर्शनी गर्दा, त्यहाँ मुख्य सुनाउने कुरा यो हो– गीताको भगवान् यहाँ बाबा हुनुहुन्छ कि ती श्रीकृष्ण? पहिला सुरुमा यो कुरा सम्झाउनुपर्छ– भगवान् शिवलाई भनिन्छ। यो कुरा बुद्धिमा बसाल्नु छ। यसमा छानबिन हुनुपर्छ। गीताका भगवानको चित्र पनि धेरै स्थायी रूपमा हुनुपर्छ। चित्रको तल लेखिदिनुपर्छ– जज गर्नुहोस् र आएर बुझ्नुहोस्। फेरि लेख्न लगाएर हस्ताक्षर गराएर राख्नुपर्छ। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)

धारणाको लागि मुख्य सारः–
१) आपसमा शुभ सम्मेलन गरेर सेवा वृद्धिका प्लानहरू बनाउनु छ। आफ्नो र सबैको कल्याणको युक्ति रच्नु छ। कहिल्यै पनि कुनै फाल्तु कुरा गर्नु छैन।

२) सबेरै सबेरै उठेर आफूले आफैँसँग कुराकानी गर्नु छ, विचार सागर मन्थन गर्नु छ। भोजन बनाउँदा एक बाबाको यादमा रहनु छ। मनसा पनि बाहिर नभट्कियोस्, यो ध्यान राख्नु छ।

वरदान:–
सर्व आत्माहरूमाथि स्नेहको राज्य गर्ने विश्व राज्य अधिकारी भव

जुन बच्चाहरूले वर्तमान समयमा सर्व आत्माहरूको दिलमा स्नेहको राज्य गर्छन्, उनीहरूले नै भविष्यमा विश्वको राज्यको अधिकार प्राप्त गर्छन्। अब कसैमाथि अर्डर चलाउनु हुँदैन। अहिलेदेखि नै विश्व महाराजन बन्नु छैन, अहिले विश्व सेवाधारी बन्नु छ, स्नेह दिनु छ। हेर्नु छ– आफ्नो भविष्यको खातामा कति स्नेह जम्मा भएको छ। विश्व महाराजन बन्नको लागि केवल ज्ञानदाता बन्नु छैन, यसको लागि सबैलाई स्नेह अर्थात् सहयोग देऊ।

स्लोगन:–
थकाइ महसुस भयो भने खुसीले डान्स गर, यसबाट मनको स्थिति परिवर्तन हुन्छ।

अव्यक्त इसारा:– अब आफ्नो दातास्वरूपलाई प्रत्यक्ष गर

बापदादाले अहिले तिमी बच्चाहरूसँग यही चाहनुहुन्छ– मेरो प्रत्येक बच्चा मास्टर दाता बनोस्। अब रहमदिल बनेर सबैलाई आफ्ना गुणहरूको, शक्तिहरूको सहयोग देऊ, विशालदिलको बन। जति अरूलाई दिँदै जान्छौ, त्यति बढ्दै जान्छ। विनाशी खजाना दिँदा घट्छ र अविनाशी खजाना दिँदा बढ्छ– एक देऊ, हजार पाउँछौ।