29.06.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– शरीर सहित जे जति देखिन्छ , त्यो सबै विनाश हुनु छ। तिमी आत्माहरू अब घर फर्किनु छ त्यसैले पुरानो दुनियाँलाई भुल।”

प्रश्न:–
तिमी बच्चाहरूले कुन शब्दमा सबैलाई बाबाको सन्देश सुनाउन सक्छौ?

उत्तर:–
सबैलाई सुनाऊ– बेहदका बाबा बेहदको वर्सा दिन आउनु भएको छ। अब हदको वर्साको समय पूरा भयो अर्थात् भक्ति पूरा भयो। अब रावण राज्य समाप्त हुन्छ। बाबा आउनु भएको छ तिमीलाई रावण ५ विकारको जेलबाट छुटाउन। यो पुरुषोत्तम सङ्गमयुग हो, यसमा तिमी पुरुषार्थ गरेर दैवी गुणवाला बन्नु छ। केवल पुरुषोत्तम सङ्गमयुगलाई बुझ्यौ भने पनि स्थिति श्रेष्ठ बन्न सक्छ।

ओम् शान्ति ।
अहिले रुहानी बच्चाहरूले के गरिरहेका छन्? अव्यभिचारी यादमा बसेका छौ। एउटा हुन्छ अव्यभिचारी याद, अर्को हुन्छ व्यभिचारी याद। अव्यभिचारी याद अथवा जब पहिला अव्यभिचारी भक्ति सुरु हुन्छ तब सबैले शिवको पूजा गर्छन्। उच्च भन्दा उच्च भगवान उहाँ नै हुनुहुन्छ, उहाँ पिता पनि हुनुहुन्छ अनि शिक्षक पनि हुनुहुन्छ। पढाउनु हुन्छ। के पढाउनु हुन्छ? मनुष्यबाट देवता बनाउनु हुन्छ। देवताबाट मनुष्य बन्नमा तिमी बच्चाहरूलाई ८४ जन्म लागेको छ र मनुष्यबाट देवता बन्नमा एक सेकेण्ड लाग्छ। यो त बच्चाहरूले जानेका छौ– हामी बाबाको यादमा बसेका छौँ। उहाँ हाम्रो शिक्षक पनि हुनुहुन्छ, सद्गुरु पनि हुनुहुन्छ। योग सिकाउनु हुन्छ– एकको यादमा रहनु छ। उहाँ स्वयं भन्नुहुन्छ– हे आत्माहरू, हे बच्चाहरू! देहका सबै सम्बन्धहरू छोड, अब फर्केर जानु छ। यो पुरानो दुनियाँ परिवर्तन भइरहेको छ। अब यहाँ रहनु छैन। पुरानो दुनियाँको विनाशको लागि नै यी बारुद आदि बनाइएका हुन्। प्राकृतिक प्रकोपले पनि मदत गर्छ। विनाश त अवश्य हुनु नै छ। तिमी पुरुषोत्तम सङ्गमयुगमा छौ। यो कुरा आत्माले जान्दछ। अहिले हामी फर्केर गइरहेका छौँ, त्यसैले बाबा भन्नुहुन्छ– यस पुरानो दुनियाँ, पुरानो देहलाई पनि छोड्नु छ। देहसहित जे जति यस दुनियाँमा देखिन्छ, यो सबै विनाश हुनु छ। शरीर पनि खतम हुनु छ। अब हामी आत्माहरूलाई घर फर्किनु छ। नफर्केसम्म नयाँ दुनियाँमा आउन सकिँदैन। अहिले तिमीले पुरुषोत्तम बन्ने पुरुषार्थ गरिरहेका छौ। पुरुषोत्तम हुन् यी देवताहरू। सबै भन्दा उच्च हुनुहुन्छ निराकार बाबा। फेरि मनुष्य सृष्टिमा आयौ भने यसमा छन् उच्च देवताहरू। तिनीहरू पनि मनुष्य हुन् तर दैवी गुणवाला। फेरि तिनीहरू नै आसुरी गुणवाला बन्छन्। अब फेरि आसुरी गुणबाट दैवी गुणमा जानु छ। सत्ययुगमा जानु छ। कसलाई? तिमी बच्चाहरूलाई। तिमी बच्चाहरूले पढिरहेका छौ अरूलाई पनि पढाउँछौ। केवल बाबाकै सन्देश दिनु छ। बेहदका बाबा बेहदको वर्सा दिन आउनु भएको छ। अब हदको वर्सा पूरा हुन्छ।

बाबाले सम्झाउनु भएको छ– ५ विकार रूपी रावणको जेलमा सबै मनुष्यहरू छन्। सबैले दु:ख नै पाउँछन्। सुक्खा रोटी मिल्छ। बाबा आएर सबैलाई रावणको जेलबाट छुटाएर सदा सुखी बनाउनु हुन्छ। बाबा सिवाय मनुष्यलाई देवता अरू कसैले बनाउन सक्दैन। तिमी यहाँ बसेका छौ, मनुष्यबाट देवता बन्नको लागि। अहिले हो कलियुग। धेरै धर्महरू भएका छन्। तिमी बच्चाहरूलाई रचयिता र रचनाको परिचय स्वयं बाबा बसेर दिनु हुन्छ। तिमीले केवल ईश्वर, परमात्मा भन्थ्यौ। तिमीलाई यो थाहा थिएन– उहाँ बाबा पनि हुनुहुन्छ, शिक्षक पनि हुनुहुन्छ, गुरु पनि हुनुहुन्छ। उहाँलाई भनिन्छ सद्गुरु। अकालमूर्त पनि भनिन्छ। तिमीलाई आत्मा र जीव भनिन्छ। उहाँ अकालमूर्त यस शरीररूपी तख्तमा बस्नु भएको छ। उहाँले जन्म लिनुहुन्न। उहाँ अकालमूर्त बाबाले बच्चाहरूलाई सम्झाउनु हुन्छ– मेरो आफ्नो रथ छैन, मैले तिमी बच्चाहरूलाई पावन कसरी बनाऊँ! मलाई त रथ चाहियो नि। अकालमूर्तलाई पनि तख्त त चाहिन्छ। अकालतख्त मनुष्यहरूको हुन्छ, अरू कसैको हुँदैन। तिमी हरेकको तख्त हुनुपर्छ। अकालमूर्त आत्मा यहाँ विराजमान छ। उहाँ सबैका पिता हुनुहुन्छ, उहाँलाई भनिन्छ महाकाल, उहाँ पुनर्जन्ममा आउनुहुन्न। तिमी आत्माहरू पुनर्जन्ममा आउँछौ। म आउँछु कल्पको सङ्गमयुगमा। भक्तिलाई रात, ज्ञानलाई दिन भनिन्छ। यो पक्का याद गर। मुख्य छन् नै दुई कुरा– अल्फ र बे, बाबा र बादसाही। बाबा आएर बादसाही दिनु हुन्छ र बादसाहीको लागि पढाउनु हुन्छ। त्यसैले यसलाई पाठशाला पनि भनिन्छ। भगवानुवाच, भगवान त हुनुहुन्छ निराकार। उहाँको पनि पार्ट हुनुपर्छ। उहाँ हुनुहुन्छ उच्च भन्दा उच्च भगवान, उहाँलाई सबैले याद गर्छन्। बाबा भन्नुहुन्छ– यस्तो कुनै मनुष्य छैन होला जसले भक्तिमार्गमा याद नगरेको होस्। दिलदेखि नै सबैले पुकार्छन्– हे भगवान, हे मुक्तिदाता, हे परमपिता! किनकि उहाँ हुनुहुन्छ सबै आत्माहरूका पिता, अवश्य उहाँले बेहदको सुख दिनु हुन्छ। हदको पिताले हदको सुख दिन्छन्। यो कसैलाई थाहा छैन। अब बाबा आउनु भएको छ, भन्नुहुन्छ– प्यारा बच्चाहरू! अरू सङ्ग तोडेर म एक पितालाई याद गर। यो पनि बाबाले बताउनु भएको छ– तिमी देवी-देवताहरू नयाँ दुनियाँमा रहन्छौ। त्यहाँ त अपार सुख छ। त्यो सुखको अन्त्य पाउन सकिँदैन। नयाँ घरमा सदैव सुख हुन्छ, पुरानोमा दु:ख हुन्छ। तब त पिताले बच्चाहरूको लागि नयाँ घर बनाउँछन्। बच्चाहरूको बुद्धियोग नयाँ घरमा जान्छ। यो त भयो हदको कुरा। अहिले त बेहदको बाबाले नयाँ दुनियाँ बनाइरहनु भएको छ। पुरानो दुनियाँमा जे जति देख्छौ त्यो कब्रिस्तान हुनु छ, अहिले परिस्तान स्थापना भइरहेको छ। तिमी सङ्गमयुगमा छौ। कलियुगतिर पनि हेर्न सक्छौ, सत्ययुगतिर पनि हेर्न सक्छौ। तिमीले सङ्गमयुगमा साक्षी भएर हेर्छौ। प्रदर्शनीमा अथवा म्युजियममा आए भने त्यहाँ पनि तिमीले सङ्गममा खडा गरिदेऊ। यसतर्फ छ कलियुग, त्यसतर्फ छ सत्ययुग। हामी बीचमा छौँ। बाबाले नयाँ दुनियाँ स्थापना गर्नुहुन्छ, जहाँ धेरै कम मनुष्य हुन्छन्। अरू कुनै पनि धर्मवाला आउँदैनन्। केवल तिमी नै पहिला सुरुमा आउँछौ। अहिले तिमीले स्वर्गमा जाने पुरुषार्थ गरिरहेका छौ। पावन बन्नको लागि नै मलाई पुकारेका हौ– हे बाबा! हामीलाई पावन बनाएर पावन दुनियाँमा लैजानुहोस्। यस्तो भन्दैनौ– शान्तिधाममा लैजानुहोस्। परमधामलाई भनिन्छ स्वीट होम। अब हामी घर जानु छ, जसलाई मुक्तिधाम भनिन्छ, जसको लागि नै संन्यासी आदिले शिक्षा दिन्छन्। उनीहरूले सुखधामको ज्ञान दिन सक्दैनन्। उनीहरू हुन् निवृत्तिमार्गका। तिमी बच्चाहरूलाई सम्झाइएको छ– कुन कुन धर्म कहिले कहिले आउँछन्। मनुष्य सृष्टिरूपी वृक्षमा पहिला सुरुको फाउन्डेसन तिम्रो हो। बिजलाई भनिन्छ वृक्षपति। बाबा भन्नुहुन्छ– म वृक्षपति माथि निवास गर्छु। जब वृक्ष एकदम जर्जर बन्छ, तब म आउँछु देवता धर्म स्थापना गर्न। बरको वृक्ष आश्चर्यजनक हुन्छ। विना फेद सारा वृक्ष खडा हुन्छ। यस बेहदको वृक्षमा पनि आदि सनातन देवी-देवता धर्म नै छैन। बाँकी सबै धर्म खडा छन्।

तिमी मूलवतन निवासी थियौ। यहाँ पार्ट खेल्न आएका छौ। तिमी बच्चाहरू अलराउन्ड पार्ट खेल्नेवाला हौ। त्यसैले ८४ जन्म हो सबै भन्दा बढी। फेरि सबै भन्दा कम एक जन्म। मनुष्यले फेरि भन्ने गर्छन् ८४ लाख जन्म। त्यो पनि कसको हुन्छ– यो पनि बुझ्न सक्दैनन्। बाबा आएर तिमी बच्चाहरूलाई सम्झाउनु हुन्छ– ८४ जन्म तिमीले लिन्छौ। मसँग सुरु सुरुमा तिमीहरू बिछोदिन्छौ। सत्ययुगी देवताहरू नै पहिला हुन्छन्। जब ती आत्माहरूले यहाँ पार्ट खेल्छन्, त्यतिबेला अरू सबै आत्माहरू कहाँ जान्छन्? यो पनि तिमीले जानेका छौ– बाँकी सबै आत्माहरू शान्तिधाममा हुन्छन्। त्यसैले शान्तिधाम त अलग भयो नि। बाँकी दुनियाँ त यहीँ छ। पार्ट यहाँ खेल्छन्। नयाँ दुनियाँमा सुखको पार्ट, पुरानो दुनियाँमा दु:खको पार्ट खेल्नुपर्छ। यो सुख र दु:खको खेल हो। त्यो हो रामराज्य। सृष्टिको चक्र कसरी घुम्छ दुनियाँमा कुनै पनि मनुष्यले यो जान्दैनन्। न रचयितालाई, न रचनाको आदि, मध्य, अन्त्यलाई जानेका छन्। ज्ञानका सागर एक बाबालाई नै भनिन्छ। रचयिता र रचनाको आदि, मध्य, अन्त्यको ज्ञान कुनै शास्त्रमा छैन। मैले तिमीलाई सुनाउँछु। फेरि यो प्राय: लोप हुन जान्छ। सत्ययुगमा यो रहँदैन। भारतवर्षको प्राचीन सहज राजयोगको नै गायन छ। गीतामा पनि राजयोग नाम आउँछ। बाबाले तिमीलाई राजयोग सिकाएर रजाइँको वर्सा दिनु हुन्छ। बाँकी रचनाबाट वर्सा मिल्न सक्दैन। वर्सा मिल्छ नै रचयिता बाबाबाट। हरेक मनुष्य रचयिता हो, बच्चालाई रच्छ। उनीहरू हुन् हदका ब्रह्मा, यिनी हुन् बेहदका ब्रह्मा। उहाँ हुनुहुन्छ निराकार आत्माहरूका पिता, ती लौकिक पिता, यिनी फेरि हुन् प्रजापिता। प्रजापिता कहिले हुनुपर्छ? के सत्ययुगमा? होइन। पुरुषोत्तम सङ्गमयुगमा हुनुपर्छ। मनुष्यहरूलाई यो पनि थाहा छैन– सत्ययुग कहिले हुन्छ? उनीहरूले त सत्ययुग, कलियुग आदिको अवधिलाई लाखौँ वर्ष भनिदिएका छन्। बाबा सम्झाउनु हुन्छ १२५० वर्षको एक युग हुन्छ। ८४ जन्मको पनि हिसाब हुनुपर्छ नि। सिँढीको पनि त हिसाब हुनुपर्छ– हामी कसरी उत्रिन्छौँ। सुरु सुरुमा फाउन्डेसनमा हुन्छन् देवी-देवताहरू। उनीहरू पछि फेरि आउँछन् इस्लामी, बौद्धी। बाबाले वृक्षको रहस्य पनि बताउनु भएको छ। बाबा सिवाय अरू कसैले सिकाउन सक्दैन। तिमीलाई भन्छन्– यी चित्र आदि कसरी बनाउनुभयो? कसले सिकाउनुभयो? भन, बाबाले हामीलाई ध्यानमा देखाउनुभयो, फेरि हामीले यहाँ बनाउँछौँ। फेरि त्यसलाई बाबा नै यस रथमा आएर सुधार्नुहुन्छ– यसरी-यसरी बनाऊ भनेर। स्वयंले नै सुधार्नुहुन्छ।

कृष्णलाई श्यामसुन्दर भन्छन्, तर किन भनिन्छ? यो मनुष्यले बुझ्न सक्दैनन्। यिनी वैकुण्ठको मालिक थिए त्यतिबेला गोरो थिए फेरि गाउँलेको छोरा कालो बने, त्यसैले उनलाई नै श्याम सुन्दर भनिन्छ। यिनै पहिला आउँछन्। ततत्त्वम्। यी लक्ष्मी-नारायणको रजाइँ चल्छ। आदि सनातन देवी-देवता धर्मको स्थापना कसले गर्नुहुन्छ? यो पनि कसैलाई थाहा छैन। भारतलाई पनि बिर्सिएर हिन्दुस्तानको बासिन्दा हिन्दु भनिदिन्छन्। म भारतखण्डमा नै आउँछु। भारतखण्डमा देवताहरूको राज्य थियो जुन अब प्राय: लोप भएको छ। म आउँछु पुन: स्थापना गर्न। पहिला सुरुमा हुन्छ नै आदि सनातन देवी देवता धर्म। यो वृक्षको वृद्धि भइरहन्छ। नयाँ-नयाँ पातहरू, मठ पन्थ पछाडि आउँछन्। त्यसैले तिनीहरूको पनि शोभा हुन्छ। फेरि अन्त्यमा जब सारा वृक्ष जर्जर अवस्थामा पुग्छ, अनि फेरि म आउँछु। यदा यदा हि...। आत्माले आफूलाई पनि चिनेको छैन भने पितालाई पनि चिनेको छैन। आफूलाई पनि गाली गर्छन्, पितालाई पनि र देवताहरूलाई पनि गाली गरिरहन्छन्। तमोप्रधान, बेसमझ बनेपछि म आउँछु। पतित दुनियाँमा नै आउनु पर्छ। तिमीले मनुष्यहरूलाई जीवनदान दिन्छौ अर्थात् मनुष्यबाट देवता बनाउँछौ। सबै दु:खहरूबाट हटाइदिन्छौ, त्यो पनि आधाकल्पको लागि। गायन पनि त छ नि वन्दे मातरम्। कुनचाहिँ माताहरू, जसको वन्दना गर्छन्? तिमी माताहरू हौ, जसले सारा सृष्टिलाई स्वर्ग बनाउँछौ। पुरुषहरू पनि छन्, तर बहुमत माताहरूको छ त्यसैले बाबा माताहरूको महिमा गर्नुहुन्छ। बाबा आएर तिमीलाई यति महिमा लायक बनाउनु हुन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) अपार सुखको दुनियाँमा जानको लागि सङ्गममा खडा हुनु छ। साक्षी भएर सबैथोक देख्दै बुद्धियोग नयाँ दुनियाँमा लगाउनु छ। बुद्धिमा रहोस्– अब हामी फर्केर घर जानु छ।

२) सबैलाई जीवनदान दिनु छ, मनुष्यबाट देवता बनाउने सेवा गर्नु छ। बेहदका बाबासँग पढेर अरूलाई पढाउनु छ। दैवीगुण धारण गर्नु र गराउनु छ।

वरदान:–
सदा श्रेष्ठ समय अनुसार श्रेष्ठ कर्म गर्दै वाह-वाहको गीत गाउने भाग्यवान् आत्मा भव

यस श्रेष्ठ समयमा सदा श्रेष्ठ कर्म गर्दै “वाह-वाह!” को गीत मनबाट गाइराख। “वाह मेरो श्रेष्ठ कर्म वा वाह श्रेष्ठ कर्म सिकाउनेवाला बाबा!” त्यसैले सदा वाह-वाह! को गीत गाऊ। कहिल्यै गल्तीले पनि दु:खको दृश्य देखेर हाय! शब्द निस्कनु हुँदैन। वाह ड्रामा वाह! र वाह बाबा वाह! जुन कुरा सपनामा पनि थिएन त्यो भाग्य घरै बसेर मिल्यो। यही भाग्यको नसामा रहने गर।

स्लोगन:–
मन-बुद्धिलाई शक्तिशाली बनाएमा जस्तोसुकै हलचलमा पनि अचल अडोल रहनेछौ।