30.07.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– दु:खहर्ता सुखकर्ता एक बाबा हुनुहुन्छ , उहाँले नै तिम्रो सबै दु:ख हटाउनुहुन्छ , मनुष्यले कसैको दु:ख हटाउन सक्दैन।”

प्रश्न:–
विश्वमा अशान्तिको कारण के हो? शान्ति स्थापना कसरी हुन्छ?

उत्तर:–
विश्वमा अशान्तिको कारण हो अनेकानेक धर्म। कलियुगको अन्त्यमा जब अनेकता हुन्छ अनि अशान्ति हुन्छ। बाबा आएर एक सतधर्मको स्थापना गर्नुहुन्छ। त्यहाँ शान्ति हुन्छ। तिमीले बुझ्न सक्छौ– यी लक्ष्मी-नारायणको राज्यमा शान्ति थियो। पवित्र धर्म, पवित्र कर्म थियो। कल्याणकारी बाबाले फेरि त्यो नयाँ दुनियाँ बनाइरहनु भएको छ। त्यसमा अशान्तिको नाम हुँदैन।

ओम् शान्ति ।
रूहानी बाबा बसेर रूहानी बच्चाहरूलाई सम्झाउनु हुन्छ, रूहानी बाबालाई नै ज्ञानको सागर भनिन्छ। यो त बच्चाहरूलाई सम्झाइएको छ। मुम्बईमा पनि धेरै समाजसेवी छन्। उनीहरूको मिटिङ भइरहन्छ। मुम्बईमा खास जहाँ मिटिङ गर्छन् त्यसलाई भनिन्छ भारतीय विद्याभवन। विद्या हुन्छ दुई प्रकारको। एक हुन्छ जिस्मानी विद्या जुन स्कुल कलेजहरूमा पढाइन्छ। अब त्यसलाई विद्याभवन भनेका छन्। अवश्य त्यहाँ कुनै अर्को चीज छ। विद्या केलाई भनिन्छ, यो त मनुष्यले जानेका छैनन्। यो त रूहानी विद्याभवन हुनुपर्छ। विद्या ज्ञानलाई भनिन्छ। परमपिता परमात्मा नै ज्ञानसागर हुनुहुन्छ। श्रीकृष्णलाई ज्ञानको सागर भनिँदैन। शिवबाबाको महिमा छुट्टै, श्रीकृष्णको महिमा छुट्टै छ। सबै अलमलिएका छन्। गीताका भगवान श्रीकृष्णलाई सम्झेका छन्, त्यसैले विद्याभवन आदि खोलिरहन्छन्। बुझ्न त केही पनि बुझेका छैनन्। विद्या हो गीताको ज्ञान। त्यो ज्ञान त एक बाबामा मात्र छ। जसलाई ज्ञानको सागर भनिन्छ, जुन मनुष्य मात्रले जानेका छैनन्। हिन्दुहरूको धर्मशास्त्र त वास्तवमा छ नै एक सर्व शास्त्रमयी शिरोमणि भगवद् गीता। अब भगवान कसलाई भन्ने? त्यो पनि यस समयमा कसैले जानेका छैनन्। कि त श्रीकृष्णलाई भनिदिन्छन् कि श्रीरामलाई कि आफूलाई नै परमात्मा भनिदिन्छन्। अहिले त समय पनि तमोप्रधान छ, रावण राज्य हो नि।

तिमी बच्चाहरूले कसैलाई सम्झाउँदा भन– शिव भगवानुवाच। पहिला त बुझुन्- ज्ञानसागर एउटै परमपिता परमात्मा हुनुहुन्छ, जसको नाम शिव हो। शिवरात्रि पनि मनाउँछन्, तर कसैको पनि बुद्धिमा आउँदैन। अवश्य नै शिव आउनु भएको छ, त्यसैले त रात्रि मनाउँछन्। शिव को हुनुहुन्छ– यो पनि जानेका छैनन्। बाबा भन्नुहुन्छ– भगवान त सबैको एक हुनुहुन्छ। सबै आत्माहरू भाइ भाइ हुन्। आत्माहरूका पिता एउटै परमपिता परमात्मा हुनुहुन्छ, उहाँलाई नै ज्ञानसागर भनिन्छ। देवताहरूमा यो ज्ञान हुँदैन। कुनचाहिँ ज्ञान? रचयिता र रचनाको आदि, मध्य, अन्त्यको ज्ञान कुनै पनि मनुष्य मात्रमा छैन। भन्छन् पनि– प्राचीन ऋषिमुनिले जान्दैनथे। प्राचीनको पनि अर्थ जानेका छैनन्। सत्ययुग-त्रेता भयो प्राचीन। सत्ययुग हो नयाँ दुनियाँ। त्यहाँ त ऋषिमुनि थिएनन्। यी ऋषिमुनि आदि सबै पछि आएका हुन्। उनीहरूले पनि यस ज्ञानलाई जानेका छैनन्। नेति नेति भनिदिन्छन्। उनले त जानेका थिएनन् भने जो अहिले तमोगुणी छन् उनीहरूले कसरी जान्न सक्छन्?

यस समयमा साइन्सको पनि कति घमण्ड छ। यस साइन्सद्वारा विश्व स्वर्ग बनेको छ भन्ने सम्झन्छन्। यसलाई मायाको पम्प भनिन्छ। ‘फल अफ पम्प’ को एक नाटक पनि छ। भन्ने पनि गर्छन्– यस समयमा दुनियाँ पतन भएको छ। सत्ययुगमा उत्थान हुन्छ, अहिले पतन भएको छ। यो कुनै स्वर्ग कहाँ हो र! यो त मायाको पम्प हो, यसलाई खतम हुनु नै छ। मनुष्यले सम्झन्छन्– विमान छन्, ठुला ठुला महल, बिजुली छन्– यही स्वर्ग हो। कोही मर्यो भने पनि भन्छन् स्वर्गवासी भयो। यसबाट पनि बुझ्दैनन्– स्वर्ग गयो भनिन्छ भने अवश्य पनि स्वर्ग अन्त कहीँ छ नि। यो त रावणको पम्प हो, बेहदको बाबाले स्वर्गको स्थापना गरिरहनु भएको छ। यस समयमा छ खिचातानी– माया र ईश्वरको, आसुरी दुनियाँ र ईश्वरीय दुनियाँको। यो पनि सबैलाई सम्झाउनु छ। दु:ख त अझै धेरै आउनेवाला छ। अथाह दु:ख आउनु छ। स्वर्ग त हुन्छ नै सत्ययुगमा। कलियुगमा हुन सक्दैन। पुरुषोत्तम सङ्गमयुग केलाई भनिन्छ यो पनि कसैलाई थाहा छैन। यो पनि बाबाले सम्झाउनु हुन्छ- ज्ञान हो दिन, भक्ति हो रात। अँध्यारोमा धक्का खाइरहन्छन्। भगवानसँग मिल्नको लागि कति वेद-शास्त्र आदि पढ्छन्। ब्रह्माको दिन र रात अर्थात् ब्राह्मणहरूको दिन र रात। सच्चा मुख वंशावली ब्राह्मण तिमी हौ। उनीहरू त हुन् कलियुगी कोख वंशावली ब्राह्मण। तिमी हौ पुरुषोत्तम सङ्गमयुगी ब्राह्मण। यी कुरालाई अरू कसैले जान्दैन। यी कुरालाई जब बुझ्ने छन् तब बुद्धिमा बस्छ हामीले यो के गरिरहेका छौं। सृष्टि सतोप्रधान थियो, जसलाई नै स्वर्ग भनिन्छ। त्यसैले अवश्य यो नर्क हो, तब त नर्कबाट स्वर्गमा जान्छन्। त्यहाँ शान्ति पनि हुन्छ, सुख पनि हुन्छ। लक्ष्मी-नारायणको राज्य हो नि। तिमीले सम्झाउन सक्छौ– मनुष्यहरूको जनसङ्ख्या कसरी कम हुन सक्छ? अशान्ति कसरी कम हुन सक्छ? अशान्ति हुन्छ नै पुरानो कलियुगी दुनियाँमा। नयाँ दुनियाँमा नै शान्ति हुन्छ। स्वर्गमा शान्ति हुन्छ नि। त्यसलाई नै आदि सनातन देवी-देवता धर्म भनिन्छ। हिन्दु धर्म त अहिलेको हो, यसलाई आदि सनातन धर्म भन्न मिल्दैन। यहाँ त हिन्दुस्तानको नाममा हिन्दु भनिदिन्छन्। आदि सनातन देवी-देवता धर्म थियो। त्यहाँ सम्पूर्ण पवित्रता, सुख, शान्ति, स्वास्थ्य, सम्पत्ति सबै थियो। अहिले पुकार्छन्– हामी पतित छौं, हे पतित-पावन आउनुहोस्! अब प्रश्न उठ्छ, पतित-पावन को हुनुहुन्छ? श्रीकृष्णलाई त भन्न सकिँदैन। पतित-पावन परमपिता परमात्मा नै ज्ञानसागर हुनुहुन्छ। उहाँले नै आएर पढाउनु हुन्छ। ज्ञानलाई पढाइ भनिन्छ। सारा गीतामा आधारित छ। अहिले तिमीले प्रदर्शनी, सङ्ग्रहालय आदि बनाउँछौ तापनि अहिलेसम्म बी.के.को अर्थ जानेका छैनन्। यो कुनै नयाँ धर्म होला भन्ने सम्झन्छन्। सुन्छन्, तर केही पनि बुझ्दैनन्। बाबा भन्नुहुन्छ– बिल्कुलै तमोप्रधान पत्थरबुद्धि छन्। यस समयमा धेरै साइन्स घमण्डी पनि बनेका छन्, साइन्सद्वारा नै आफ्नो विनाश गर्छन् भने पत्थरबुद्धि भए नि। पारसबुद्धि कहाँ भनिन्छ र! बम आदि बनाउँछन् आफ्नै विनाशको लागि। यस्तो होइन, शङ्करले कुनै विनाश गर्छन्। यिनीहरूले आफ्नो विनाशको लागि सबै बनाएका छन्। तर तमोप्रधान पत्थरबुद्धिले बुझ्दैनन्। जे बनाउँछन् त्यो यस पुरानो सृष्टिको विनाशको लागि। विनाश हुन्छ अनि फेरि नयाँ दुनियाँको जयजयकार हुन्छ। उनीहरूले त सम्झन्छन्– स्त्रीहरूको दु:ख कसरी हटाउने? तर मनुष्यले कहाँ कसैको दु:ख हटाउन सक्छन् र! दु:खहर्ता सुखकर्ता त एक बाबा नै हुनुहुन्छ। देवताहरूलाई पनि भन्न सकिँदैन। श्रीकृष्ण पनि देवता हुन्। भगवान भन्न सकिँदैन। यो पनि बुझ्दैनन्। जसले बुझेका छन् उनले ब्राह्मण बनेर अरूलाई पनि सम्झाइरहन्छन्। जो राज्य पदका अथवा आदि सनातन देवता धर्मका हुन्, उनीहरू निस्कन्छन्। लक्ष्मी-नारायण स्वर्गको मालिक कसरी बने, के कर्म गरे जसले गर्दा विश्वको मालिक बने? यस समयमा कलियुगको अन्त्यमा त अनेकानेक धर्म छन्, त्यसैले अशान्ति छ। नयाँ दुनियाँमा यस्तो कहाँ हुन्छ र! अहिले यो हो सङ्गमयुग, जब बाबा आएर राजयोग सिकाउनु हुन्छ। बाबाले नै कर्म, अकर्म, विकर्मको ज्ञान सुनाउनु हुन्छ। आत्मा शरीर लिएर कर्म गर्न आउँछ। सत्ययुगमा जुन कर्म गर्छन् ती अकर्म बन्छन्, त्यहाँ विकर्म हुँदैन। दु:ख नै हुँदैन। कर्म, अकर्म, विकर्मको गति बाबा नै आएर अन्त्यमा सुनाउनु हुन्छ। म यिनको धेरै जन्मको अन्त्यको पनि अन्त्यमा आउँछु। यस रथमा प्रवेश गर्छु। अकालमूर्त आत्माको यो रथ हो। केवल एक अमृतसरमा होइन, सबै मनुष्यहरूको अकालतख्त छ। आत्मा अकालमूर्त हो। यो शरीर बोल्छ, चल्छ। अकाल आत्माको यो चैतन्य तख्त हो। अकालमूर्त त सबै छन् तर शरीरलाई कालले खान्छ। आत्मा त अकाल छ। तख्त त खलास गरिदिन्छन्। सत्ययुगमा तख्त धेरै कहाँ हुन्छन् र! यस समयमा करोडौं आत्माहरूको तख्त छ। अकाल आत्मालाई भनिन्छ। आत्मा नै तमोप्रधानबाट सतोप्रधान बन्छ। म त सदा सतोप्रधान पवित्र छु। भन्छन्– प्राचीन भारतवर्षको योग, तर कृष्णले सिकाउनु भएको थियो भन्ने सम्झन्छन्। गीतालाई नै खण्डन गरिदिएका छन्। जीवन कहानीमा नाम परिवर्तन गरिदिएका छन्। पिताको सट्टा पुत्रको नाम राखिदिएका छन्। शिवरात्रि मनाउँछन् तर उहाँ कसरी आउनु हुन्छ, यो जानेका छैनन्। शिव हुनुहुन्छ नै परम आत्मा। उहाँको महिमा बिल्कुलै अलग छ, आत्माको महिमा अलग छ। बच्चाहरूलाई यो थाहा छ– राधा-कृष्ण नै लक्ष्मी-नारायण हुन्। लक्ष्मी-नारायण दुवैको संयुक्त रूपलाई नै विष्णु भनिन्छ। फरक त छैन। बाँकी ४ हात भएको, ८ हात भएको कुनै मनुष्य हुँदैन। देवी आदिका कति हात देखाउँछन्। बुझाउनमा समय लाग्छ।

बाबा भन्नुहुन्छ– म हुँ नै गरिब निवाज। म तब आउँछु जब दुनियाँ गरिब बन्छ। राहुको ग्रहण लाग्छ। बृहस्पतिको दशा थियो, अब यहाँ मात्रै होइन सारा विश्वमा राहुको ग्रहण छ। त्यसैले बाबा फेरि आउनु हुन्छ, आएर नयाँ दुनियाँ स्थापना गर्नुहुन्छ, जसलाई स्वर्ग भनिन्छ। भगवानुवाच– मैले तिमीलाई राजाहरूको राजा, डबल शिरताज स्वर्गको मालिक बनाउँछु। आदि सनातन देवी-देवता धर्म भएको ५ हजार वर्ष भयो। अहिले त्यो छैन। तमोप्रधान भएका छन्। बाबा स्वयंले नै आफ्नो अर्थात् रचयिता र रचनाको परिचय दिनु हुन्छ। तिम्रो पासमा प्रदर्शनी, सङ्ग्रहालयमा यति आउँछन्, तर कहाँ बुझ्छन् र! धेरै कमले कोर्स गर्छन्। रचयिता र रचनालाई जान्दछन्। रचयिता हुनुहुन्छ बेहदको बाबा। उहाँबाट बेहदको वर्सा मिल्छ। यो ज्ञान बाबाले नै दिनु हुन्छ। फेरि रजाइँ मिलेपछि त्यहाँ ज्ञानको आवश्यकता हुँदैन। सद्गति भनिन्छ नयाँ दुनियाँ स्वर्गलाई, दुर्गति भनिन्छ पुरानो दुनियाँ नर्कलाई। बाबाले त धेरै राम्रोसँग सम्झाउनु हुन्छ। बच्चाहरूले पनि यसरी नै सम्झाउनु पर्छ। लक्ष्मी-नारायणको चित्र देखाउनु पर्छ। यो विश्वमा शान्ति स्थापना भइरहेको छ। आदि सनातन देवी-देवता धर्मको जग नै छैन जसलाई बाबाले स्थापना गरिरहनु भएको छ। देवताहरूको पवित्र धर्म, पवित्र कर्म थियो। अहिले यो हो नै विकारी दुनियाँ। नयाँ दुनियाँलाई भनिन्छ निर्विकारी दुनियाँ, शिवालय। यो सम्झाउनु पर्छ जसले गर्दा विचराहरूको केही कल्याण होस्। बाबालाई नै कल्याणकारी भनिन्छ। उहाँ आउनु हुन्छ नै पुरुषोत्तम सङ्गमयुगमा। कल्याणकारी युगमा कल्याणकारी बाबा आएर सबैको कल्याण गर्नुहुन्छ। पुरानो दुनियाँलाई परिवर्तन गरेर नयाँ दुनियाँको स्थापना गरिदिनु हुन्छ। ज्ञानले सद्गति हुन्छ। यसमा दिनहुँ समय लिएर सम्झाउन सक्छौ। भन, रचयिता र रचनाको आदि, मध्य, अन्त्यलाई हामीले नै जानेका छौं। यो गीताको अध्याय चलिरहेको छ जसमा भगवानले आएर राजयोग सिकाउनु भएको छ। डबल सिरताज बनाउनु भएको छ। यी लक्ष्मी-नारायण पनि राजयोगद्वारा नै यस्ता बनेका हुन्। यस पुरुषोत्तम सङ्गमयुगमा बाबासँग राजयोग सिक्छन्। बाबाले हरेक कुरा कति सहजै सम्झाउनु हुन्छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) राजयोगको पढाइ आम्दानीको स्रोत हो किनकि यसबाट नै हामी राजाहरूका राजा बन्छौं। यो रूहानी पढाइ दिनहुँ पढ्नु र पढाउनु छ।

२) हामी ब्राह्मण सच्चा मुख वंशावली हौं, यसको सदा हुनु छ। हामी कलियुगी रातबाट निस्केर दिनमा आएका छौं। यो हो कल्याणकारी पुरुषोत्तम युग, यसमा आफ्नो र सबैको कल्याण गर्नु छ।

वरदान:–
हर श्रेष्ठ सङ्कल्पलाई कर्ममा ल्याउने मास्टर सर्वशक्तिमान भव

मास्टर सर्वशक्तिमान अर्थात् सङ्कल्प र कर्म समान होस्। यदि सङ्कल्प धेरै श्रेष्ठ छ र कर्म सङ्कल्प प्रमाण छैन भने मास्टर सर्वशक्तिमान भनिँदैन। त्यसैले जाँच गर– जुन श्रेष्ठ सङ्कल्प गर्छौ, त्यो कर्मसम्म आउँछ कि आउँदैन? मास्टर सर्वशक्तिमानको निसानी हो– जुन शक्ति जुन समय आवश्यक हुन्छ, त्यो शक्ति कार्यमा आओस्। स्थूल र सूक्ष्म सबै शक्तिहरू यति नियन्त्रणमा हुनुपर्छ जतिबेला जुन शक्तिको आवश्यकता हुन्छ त्यसलाई कार्यमा लगाउन सकियोस्।

स्लोगन:–
ज्ञानी बच्चा आत्माहरूमा क्रोध छ भने यसबाट बाबाको नामको ग्लानि हुन्छ।