30.08.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– ज्ञानलाई बुद्धिमा धारण गरेर आपसमा मिलेर क्लास चलाऊ , आफ्नो र अरूको कल्याण गरेर सच्चा कमाइ गरिराख।”

प्रश्न:–
तिमी बच्चाहरूमा कुनचाहिँ अहङ्कार कहिल्यै आउनुहुँदैन?

उत्तर:–
कतिपय बच्चाहरूमा अहङ्कार आउँछ– यी साना साना बालिकाहरूले हामीलाई के सम्झाउलान् र! ठुली दिदी गइन् भने रिसाएर क्लासमा आउन बन्द गरिदिन्छन्। यी हुन् मायाका विघ्न। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमीले सुनाउने टिचरको नाम-रूपलाई नहेरी, बाबाको यादमा रहेर मुरली सुन। अहङ्कारमा नआऊ।

ओम् शान्ति ।
बाबा बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ। तर बाबा भनिन्छ भने यति धेरै बच्चाहरूको एउटै जिस्मानी बाबा त हुन सक्दैन। उहाँ हुनुहुन्छ रुहानी बाबा। उहाँका धेरै बच्चाहरू छन्, बच्चाहरूको लागि यी टेप, मुरली आदि सामग्री हुन्। बच्चाहरूलाई थाहा छ– अहिले हामी सङ्गमयुगमा बसेका छौँ पुरुषोत्तम बन्नको लागि। यो पनि खुसीको कुरा हो। बाबाले नै पुरुषोत्तम बनाउनुहुन्छ। यी लक्ष्मी-नारायण पुरुषोत्तम हुन् नि। यस सृष्टिमा नै उत्तम, मध्यम र कनिष्ठ हुन्छन्। आदिमा हुन्छन् उत्तम, बीचमा हुन्छन् मध्यम, अन्त्यमा हुन्छन् कनिष्ठ। हरेक चीज पहिला नयाँ उत्तम, फेरि मध्यम, फेरि कनिष्ठ अर्थात् पुरानो बन्छ। दुनियाँको पनि यस्तै हो। त्यसैले जुन जुन कुरामा मानिसहरूलाई संशय आउँछ, त्यसमा तिमीले सम्झाउनुपर्छ। धेरैजसो ब्रह्माको लागि नै भन्छन्– उनलाई किन राखिएको हो? त्यसपछि उनीहरूलाई वृक्षको चित्रमा लैजानुपर्छ। हेर, तल पनि तपस्या गरिरहेका छन् र माथि एकदम अन्त्यमा धेरै जन्मको अन्त्यको जन्ममा उभिएका छन्। बाबा भन्नुहुन्छ– म यिनमा प्रवेश गर्छु। यी कुरा सम्झाउने व्यक्ति बडो बुद्धिमान् चाहिन्छ। एकजना पनि बुद्धिहीन निस्कियो भने, सबै बी.के.को नाम बदनाम हुन्छ। पूरा सम्झाउन आउँदैन। हुन त पूरा पास त अन्त्यमा नै हुन्छन्, यस समयमा १६ कला सम्पूर्ण कोही बन्न सक्दैनन् तर सम्झाउनमा नम्बरवार अवश्य हुन्छन्। परमपिता परमात्मासँग प्रीत छैन भने विपरीतबुद्धि ठहरिए नि। यसमा तिमीले सम्झाउन सक्छौ– जो प्रीतबुद्धि छन् उनीहरू विजयन्ती र जो विपरीतबुद्धि छन् उनीहरू विनश्यन्ती हुन्छन्। यसमा पनि कतिपय मानिसहरू रिसाउँछन्, फेरि कुनै न कुनै आरोप लगाइदिन्छन्। कोलाहल मच्चाउन बेर लगाउँदैनन्। कसैले के नै गर्न सक्छन् र! कहिलेकाहीँ चित्रमा आगो लगाउन पनि बेर लगाउँदैनन्। बाबाले राय पनि दिनुहुन्छ– चित्रहरूको बिमा गराइदेऊ। बच्चाहरूको अवस्थालाई पनि बाबाले जान्नुहुन्छ, विकारी दृष्टिमा पनि बाबाले दिनहुँ सम्झाइरहनुहुन्छ। लेख्छन्– बाबा, हजुरले जो विकारी दृष्टिको बारेमा सम्झाउनुभयो, यो बिल्कुल ठीक भन्नुभयो। यो दुनियाँ तमोप्रधान छ नि। दिनप्रतिदिन तमोप्रधान बन्दै जान्छन्। उनीहरूले त सम्झन्छन्– कलियुग अहिले घिस्रेर हिँहिरहेको छ, बिल्कुल अज्ञान निद्रामा सुतेका छन्। कहिलेकाहीँ भन्छन् पनि– यो महाभारत लडाइँको समय हो, त्यसैले अवश्य भगवान् कुनै रूपमा हुनुहुन्छ। रूप त बताउँदैनन्। उहाँलाई अवश्य कसैमा प्रवेश हुनुछ। भाग्यशाली रथ गायन गरिन्छ। रथ त आत्माको आफ्नो हुन्छ नि। त्यसमा आएर प्रवेश गर्नुहुन्छ। उनलाई भनिन्छ भाग्यशाली रथ। बाँकी उहाँले जन्म लिनुहुन्न। यिनकै छेउमा बसेर ज्ञान दिनुहुन्छ। कति राम्रोसँग सम्झाइन्छ। त्रिमूर्ति चित्र पनि छ। त्रिमूर्ति त ब्रह्मा-विष्णु-शङ्करलाई भनिन्छ। अवश्य यिनीहरूले केही गरेर गएका हुन्। जसकारण फेरि बाटोमा, भवनमा पनि त्रिमूर्ति नाम राखिएको छ। जस्तै यस सडकलाई सुभाष मार्ग नाम राखिएको छ। सुभाषको इतिहास त सबैलाई थाहा छ। त्यसपछि बसेर उनीहरूको हिस्ट्री लेख्छन्। फेरि त्यसमा थपेर ठुलो बनाइदिन्छन्। बसेर जति पनि प्रशंसा लेख्छन्। जस्तै गुरुनानकको पुस्तक कति ठुलो बनाएका छन्। त्यति त उनले लेखेका होइनन्। बसेर ज्ञानको सट्टा भक्तिका कुरा लेखेका छन्। यी चित्र आदि त बनाइन्छन् सम्झाउनको लागि। यो त थाहा छ– यी आँखाले जेजति देखिन्छ, यो सबै भस्म हुनुछ। बाँकी आत्मा त यहाँ रहन सक्दैन। अवश्य घर जान्छ। यस्ता यस्ता कुरा कसैको बुद्धिमा कहाँ बस्छ र! यदि धारणा भएको छ भने क्लास किन चलाउँदैनौ। ७-८ वर्षमा यस्तो कोही तयार हुँदैन जसले क्लास चलाउन सक्छ। धेरै ठाउँमा यसरी चलाउँछन् पनि। फेरि पनि सम्झन्छन्– माताहरूको पद उच्च छ। चित्र त धेरै छन्, फेरि मुरली धारण गरेर त्यसमाथि थोरैले सम्झाउँछन्। यो त जो कोहीले पनि गर्न सक्छन्। धेरै सहज छ। फेरि थाहा छैन किन ब्राह्मणीको माग गर्छन्। ब्राह्मणी कतै गइन् भने बस्, रिसाएर बस्छन्। क्लासमा आउँदैनन्, आपसमा खटपट हुन्छ। मुरली त जो कोहीले पनि बसेर सुनाउन सक्छन् नि। भन्छन्– फुर्सद छैन। यो त आफ्नो पनि कल्याण गर्नु हो भने अरूको पनि कल्याण गर्नु हो। यो धेरै ठुलो कमाइ हो। सच्चा कमाइ गराउनुछ जसबाट मानिसहरूको जीवन हीरासमान बन्छ। स्वर्गमा सबै जान्छन् नि। त्यहाँ सदैव सुखी हुन्छन्। यस्तो होइन, प्रजाको आयु कम हुन्छ। होइन, प्रजाको पनि आयु लामो हुन्छ। त्यो हो नै अमर लोक। बाँकी पद कम बेसी हुन्छ। त्यसैले कुनै पनि टपिकमा क्लास गराउनुपर्छ। यस्तो किन भन्छन्– राम्रो ब्राह्मणी चाहिन्छ। आपसमा क्लास चलाउन सक्छन्। होहल्ला गर्नुहुँदैन। कोही कोहीलाई अहङ्कार आउँछ– यी साना साना बालिकाहरूले के सम्झाउलान् र? मायाका विघ्न पनि धेरै आउँछन्। बुद्धिमा बस्दैन।

बाबाले त दिनहुँ सम्झाइरहनुहुन्छ, शिवबाबाले त कुनै टपिकमा सम्झाउनुहुन्न नि। उहाँ त सागर हुनुहुन्छ। उच्छल मारिरहनुहुन्छ। कहिले बच्चाहरूलाई सम्झाउनुहुन्छ, कहिले बाहिरकाहरूको लागि सम्झाउनुहुन्छ। मुरली त सबैलाई मिल्छ। कुनै शब्द जानेनन् भने सिक्नुपर्छ नि– आफ्नो उन्नतिका लागि पुरुषार्थ गर्नुपर्छ। आफ्नो पनि र अरूको पनि कल्याण गर्नुछ। यी बाबा (ब्रह्माबाबा) ले पनि सुनाउन सक्छन् नि, तर बच्चाहरूको बुद्धियोग शिवबाबातिर रहोस्, त्यसैले भन्छन्– सदैव सम्झ शिवबाबाले सुनाउनुहुन्छ। शिवबाबालाई नै याद गर। शिवबाबा परमधामबाट आउनुभएको छ, मुरली सुनाइरहनुभएको छ। यी ब्रह्मा त परमधामबाट आएर सुनाउँदैनन्। सम्झ– शिवबाबा यस तनमा आएर हामीलाई मुरली सुनाइरहनुभएको छ। यो बुद्धिमा याद हुनुपर्छ। यथार्थ रीतिले यो बुद्धिमा रह्यो भने पनि यादको यात्रा हुन्छ नि। तर यहाँ बसेर पनि धेरैको बुद्धियोग यताउता जान्छ। यहाँ तिमी यात्रामा राम्रोसँग रहन सक्छौ। नत्र गाउँ याद आउँछ। घरबार याद आउँछ। बुद्धिमा यो याद हुन्छ– शिवबाबाले हामीलाई यसमा बसेर पढाउनुहुन्छ। हामीले शिवबाबाको यादमा मुरली सुनिरहेका थियौँ, फेरि बुद्धियोग कहाँ दौड्यो! यसरी धेरैको बुद्धियोग जान्छ। यहाँ तिमी यात्रामा राम्रोसँग रहन सक्छौ। बुझ्छौ– शिवबाबा परमधामबाट आउनुभएको छ। बाहिर गाउँ आदिमा बस्दा यो ख्याल हुँदैन। कोही कोहीले सम्झन्छन्– शिवबाबाको मुरली यी कानले सुनिरहेका छौँ, फेरि सुनाउनेको नाम-रूप याद रहँदैन। यो ज्ञान सारा मन भित्रको हो। मनमा ख्याल रहोस्– शिवबाबाको मुरली हामीले सुन्छौँ। यस्तो होइन, फलानी बहिनीले सुनाइरहेकी छिन्। शिवबाबाको मुरली सुनिरहेका छौँ। यो पनि यादमा रहने युक्ति हो। यस्तो होइन– जति समय हामीले मुरली सुन्छौँ, त्यति यादमा हुन्छौँ। होइन, बाबा भन्नुहुन्छ– धेरैको बुद्धि कहाँ कहाँ बाहिर जान्छ। खेतीपाती आदि याद आइरहन्छ। बुद्धियोग कतै बाहिर भट्किनु हुँदैन। शिवबा बालाई याद गर्नमा कुनै तकलिफ कहाँ छ र! तर मायाले याद गर्न दिँदैन। सारा समय शिवबाबाको याद रहन सक्दैन, अरू अरू ख्यालहरू आइहाल्छन्। नम्बरवार पुरुषार्थ अनुसार छन् नि। जो धेरै नजिकका हुन्छन्, उनीहरूको बुद्धिमा राम्रोसँग बस्छ। सबै ८ को मालामा कहाँ आउन सक्छन् र! ज्ञान, योग, दैवीगुण- यी सबै आफूमा कति छन् हेर्नुछ। ममा कुनै अवगुण त छैन? मायाको वश कुनै विकर्म त हुँदैन? कोही कोही धेरै लालची बन्छन्। लालचको पनि भूत हुन्छ। मायाको प्रवेशता यस्तो हुन्छ जसकारण भोक लाग्यो, भोक लाग्यो भनिरहन्छन्। कसैमा खानेकुराको धेरै आसक्ति हुन्छ। खाना पनि काइदा अनुसार हुनुपर्छ। धेरै बच्चाहरू छन्। अझै धेरै बच्चाहरू बन्नेवाला छन्। कति ब्राह्मण-ब्राह्मणीहरू बन्छन्। बच्चाहरूलाई पनि भन्छु– तिमी ब्राह्मण बनेर बस। माताहरूलाई अगाडि बढाइन्छ। शिवशक्ति माताहरूको जय।

बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झ र बाबालाई याद गर। स्वदर्शन चक्र घुमाइराख। स्वदर्शन चक्रधारी तिमी ब्राह्मण हौ। यी कुरा नयाँ कोही आयो भने बुझ्न सक्दैन। तिमी हौ सर्वोत्तम ब्रह्मा मुखवंशावली ब्राह्मण कुलभूषण, स्वदर्शन चक्रधारी। नयाँ कोहीले सुने भने भन्छन्– स्वदर्शन चक्र त विष्णुको हो। फेरि यिनीहरूले यी सबैको भनिरहन्छन्, उनीहरूले मान्दैनन्, त्यसैले नयाँ नयाँलाई सभामा आउने अनुमति दिइँदैन। बुझ्न सक्दैनन्। कोही कोही फेरि रिसाइहाल्छन्– के हामी नबुझ्ने छौँ र, जसले गर्दा आउन दिइँदैन? किनकि अरू अरू सतसङ्गमा त यत्तिकै जोसुकै पनि गइरहन्छन्। त्यहाँ त शास्त्रकै कुरा सुनाइरहन्छन्। त्यो सुन्नु हरेकको हक हो। यहाँ त सम्हाल गर्नुपर्छ। यो ईश्वरीय ज्ञान बुद्धिमा बसेन भने रिसाइहाल्छन्। चित्रहरूको पनि सम्हाल गर्नुपर्छ। यस आसुरी दुनियाँमा आफ्नो दैवी राजधानी स्थापना गर्नुछ। जस्तै क्राइस्ट आए आफ्नो धर्म स्थापना गर्न। यहाँ बाबाले दैवी राजधानी स्थापना गर्नुहुन्छ। यसमा हिंसाको कुनै कुरा छैन। तिमीले न काम कटारीको हिंसा न स्थूल हिंसा गर्न सक्छौ। गायन पनि छ– फोहोर कपडा धुनुभयो। मानिसहरू त बिल्कुल घोर अन्धकारमा छन्। बाबा आएर घोर अन्धकारबाट सम्पूर्ण उज्यालो बनाउनुहुन्छ। फेरि पनि कोही कोहीले बाबा भनेर पनि फेरि मुख मोडिदिन्छन्। पढाइ छोडिदिन्छन्। भगवानले विश्वको मालिक बनाउनको लागि पढाउनुहुन्छ, यस्तो पढाइलाई छोडिदियो भने उसलाई महामूर्ख भनिन्छ। कति जबरजस्त खजाना मिल्छ। यस्ता बाबालाई कहाँ कहिल्यै छोड्नु छ र! एउटा गीत पनि छ– हजुरले प्यार गर्नुहोस् वा तिरस्कार, हामीले हजुरको द्वार कहिल्यै छोड्दैनौँ। बाबा आउनुभएको नै छ– बेहदको बादसाही दिन। छोड्ने त कुरै छैन। हो, लक्षण राम्रो धारण गर्नुछ। स्त्रीहरूले पनि रिपोर्ट लेख्छन्– यिनले हामीलाई धेरै हैरान पार्छन्। आजकाल मानिसहरू धेरै धेरै खराब छन्। बडो सम्हाल गर्नुपर्छ। भाइहरूले बहिनीहरूको सम्हाल गर्नुछ। हामी आत्माहरूले कुनै पनि हालतमा बाबाबाट वर्सा अवश्य लिनुछ। बाबालाई छोडेमा वर्सा खलास हुन्छ। निश्चयबुद्धि विजयन्ती, संशयबुद्धि विनश्यन्ती। फेरि पद धेरै सानो हुन्छ। ज्ञान एउटै ज्ञान सागर बाबाले दिन सक्नुहुन्छ। बाँकी सबै भक्ति हो। हुन त कसैले आफूलाई जतिसुकै ज्ञानी सम्झे पनि बाबा भन्नुहुन्छ– सबैसँग शास्त्र र भक्तिको ज्ञान छ। सच्चा ज्ञान केलाई भनिन्छ, यो पनि मानिसहरूले जान्दैनन्। अच्छा!

मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) ध्यान राख्नुछ– मुरली सुन्ने समयमा बुद्धियोग बाहिर त भट्किदैन? सदा स्मृति रहोस्– हामीले शिवबाबाको महावाक्य सुनिरहेका छौँ। यो पनि यादको यात्रा हो।

२) आफूलाई हेर्नुछ– ममा ज्ञान-योग र दैवीगुण छन्? लालचको भूत त छैन? मायाको वश भएर कुनै विकर्म त गर्दिन?

वरदान:–
निमित्त भावको स्मृतिले हलचललाई समाप्त गर्ने सदा अचल-अडोल भव

निमित्त भावले अनेक प्रकारको मैपन, मेरोपन सहजै खतम हुन्छ। यो स्मृतिले सर्व प्रकारको हलचलबाट छुटाएर अचल अडोल स्थितिको अनुभव गराउँछ। सेवामा पनि मेहनत गर्नुपर्दैन। किनकि निमित्त बन्नेहरूको बुद्धिमा सदा याद रहन्छ– हामीले जे गर्छौँ, हामीलाई देखेर सबैले गर्छन्। सेवाको निमित्त बन्नु अर्थात् स्टेजमा आउनु। स्टेजतिर स्वतः सबैको नजर जान्छ। त्यसैले यो स्मृति पनि सुरक्षाको साधन बन्छ।

स्लोगन:–
सबै कुरामा न्यारा बन्यौ भने परमात्म बाबाको सहाराको अनुभव हुन्छ।

अव्यक्त इसारा:– सहजयोगी बन्नुछ भने परमात्म प्यारको अनुभवी बन

वर्तमान समयमा भट्किरहेका आत्माहरूलाई एक त शान्ति चाहिन्छ, अर्को रुहानी स्नेह चाहिन्छ। प्रेम र शान्तिको नै सबै ठाउँमा अभाव छ, त्यसैले जुनसुकै प्रोग्राम गरे पनि त्यसमा पहिला बाबाको सम्बन्धको स्नेहको महिमा गर र फेरि त्यो प्यारले आत्माहरूको सम्बन्ध जोडेपछि शान्तिको अनुभव गराऊ। प्रेम स्वरूप र शान्त स्वरूप दुवैको ब्यालेन्स होस्।