31.12.25 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– मधुबन
होलिएस्ट अफ द होली बाबाको घर हो , यहाँ तिमीले कुनै पनि पतितलाई ल्याउन सक्दैनौ।”
प्रश्न:–
यो ईश्वरीय
मिसनमा जो पक्का निश्चयबुद्धि छन्, उनीहरूका निसानी के हुन्छन्?
उत्तर:–
१– उनीहरूले
स्तुतिनिन्दा... सबैमा धैर्यले काम लिन्छन्, २. रिसाउँदैनन्, ३. कसैलाई पनि दैहिक
दृष्टिले हेर्दैनन्। आत्मालाई नै देख्छन्, आत्मा भएर कुरा गर्छन्, ४. स्त्रीपुरुष
साथमा रहँदा कमल फूलसमान रहन्छन्, ५. कुनै पनि प्रकारको इच्छा राख्दैनन्।
गीत:–
जले न क्यों
परवाना...
ओम् शान्ति ।
रुहानी
बच्चाहरूप्रति रुहानी बाबाले सम्झाइरहनुभएको छ अर्थात् भगवानले पढाइरहनुभएको छ
रुहानी विद्यार्थीलाई। ती स्कुलहरूमा जुन बच्चाहरूले पढ्छन्, उनीहरूलाई कसैले रुहानी
विद्यार्थी भन्दैनन्। उनीहरू त हुन् नै आसुरी विकारी सम्प्रदायका। पहिला तिमी पनि
आसुरी अथवा रावण सम्प्रदायका थियौ। अब रामराज्यमा जानको लागि ५ विकाररूपी रावणमाथि
विजय प्राप्त गर्ने पुरुषार्थ गरिरहेका छौ। जसले यो ज्ञान प्राप्त गर्दैनन्,
उनीहरूलाई सम्झाउनुपर्छ– तिमी रावण राज्यमा छौ। आफै बुझ्दैनन्। तिमीले आफ्ना
मित्र-सम्बन्धी आदिलाई भन्छौ– हामीले बेहदका बाबासँग पढ्छौँ, तर उनीहरूले निश्चय
गर्छन् भन्ने होइन। जतिसुकै बाबा भने पनि वा भगवान् भने पनि निश्चय गर्दैनन्।
नयाँलाई त यहाँ आउने हुकुम छैन। चिठीबिना वा नसोधिकन त कोही आउन पनि सक्दैनन्। तर
कहीँ कहीँ कोही आइपुग्छन्, यो पनि काइदाको उल्लङ्घन हो। एक एकको पूरा समाचार, नाम
आदि लेखेर सोध्नुपर्छ। यिनलाई पठाइदिऊँ? फेरि बाबा भन्नुहुन्छ– हुन्छ पठाइदेऊ। यदि
आसुरी पतित दुनियाँका विद्यार्थी रहेछन् भने बाबाले सम्झाउनुहुन्छ– त्यो पढाइ त
विकारी पतितले पढाउँछन्। यहाँ ईश्वरले पढाउनुहुन्छ। त्यो पढाइबाट पाई पैसाको दर्जा
मिल्छ। कसैले धेरै ठुलो परीक्षा पास गरे पनि, फेरि कहाँसम्म कमाइरहन्छन् र! विनाश त
सामुन्ने छ। प्राकृतिक प्रकोपहरू पनि सबै आउनेछन्। यो पनि तिमीले बुझेका छौ, जसले
बुझ्दैनन्, उनीहरूलाई बाहिर बैठक कोठामा बसालेर सम्झाउनुपर्छ। यो हो ईश्वरीय पढाइ,
यसमा निश्चयबुद्धि नै विजयन्ती हुन्छन् अर्थात् विश्वमा राज्य गर्छन्। रावण
सम्प्रदायकाले त यो जान्दैनन्। यसमा धेरै होसियारी चाहिन्छ। अनुमतिबिना कोही पनि
भित्र आउन सक्दैन। यो कुनै घुमफिर गर्ने ठाउँ होइन। केही समयमा नियम कडा हुँदै
जानेछ किनकि यो हो परम पवित्र (होलिएस्ट अफ द होली) स्थान। शिवबाबालाई इन्द्र पनि
भन्छन् नि! यो इन्द्र सभा हो। औँठीमा ९ रत्न पनि लगाउँछन् नि! ती रत्नहरूमा नीलम पनि
हुन्छन्, पन्ना, माणिक पनि हुन्छन्। यी सबै नाम राखिएका हुन्। परीहरूका पनि नाम छन्
नि! तिमी परीहरू उड्ने आत्मा हौ। तिम्रै वर्णन छ। तर मानिसहरूले यी कुरा केही पनि
बुझ्दैनन्।
औँठीमा पनि रत्न
राख्दा त्यसमा कुनै पुष्पराज, नीलम, पेरुज पनि हुन्छन्। कुनैको दाम हजार रुपियाँ त
कुनैको दाम १०-२० रुपियाँ। बच्चाहरूमा पनि नम्बरवार छन्। कोही त पढेर मालिक बन्छन्।
कोही फेरि पढेर पनि दासदासी बन्छन्। राजधानी स्थापना हुन्छ नि! त्यसैले बाबा बसेर
पढाउनुहुन्छ। इन्द्र पनि उहाँलाई नै भनिन्छ। यो ज्ञान वर्षा हो। ज्ञान त बाबासिवाय
अरू कसैले दिन सक्दैन। तिम्रो लक्ष्य उद्देश्य नै यो हो। ईश्वरले पढाउनुहुन्छ, यो
निश्चय भयो भने त्यो पढाइलाई छोड्दैनन्। जो हुन्छन् नै पत्थरबुद्धि, उनीहरूलाई
कहिल्यै तीर लाग्दैन। आएर चल्दा चल्दै फेरि गिर्छन्। ५ विकार आधाकल्पका शत्रु हुन्।
मायाले देह अभिमानमा ल्याएर थप्पड मारिदिन्छ, फेरि आश्चर्यवत् सुनन्ती, कथन्ती,
भागन्ती हुन्छन्। यो मायालाई जित्न धेरै कठिन छ, एउटै थप्पडले गिराइदिन्छ। सम्झन्छन्–
हामी कहिल्यै गिर्दैनौँ, फेरि पनि मायाले थप्पड लगाइदिन्छ। यहाँ स्त्रीपुरुष
दुवैलाई पवित्र बनाइन्छ। त्यो त ईश्वर सिवाय अरू कसैले बनाउन सक्दैन। यो हो ईश्वरीय
मिसन।
बाबालाई खिवैया पनि
भनिन्छ, तिमी हौ डुङ्गा। खिवैया आउनुहुन्छ, सबैको डुङ्गालाई पार लगाउन। भन्छन् पनि–
सत्यको डुङ्गा हल्लिन्छ तर डुब्दैन। कति धेरै मठ पन्थ छन्। ज्ञान र भक्तिको मानौँ
लडाइँ हुन्छ। कहिलेकाहीँ भक्तिको पनि विजय हुन्छ, आखिरमा त ज्ञानकै विजय हुन्छ।
भक्तिमार्गमा हेर, कति ठुला ठुला योद्धा छन्। ज्ञानमार्गमा पनि कति ठुला ठुला योद्धा
छन्। अर्जुन, भीम आदि नाम राखेका छन्। यी सबै कथाहरू त बसेर बनाएका हुन्। गायन त
तिम्रो नै हो। तिमीले अहिले हिरो-हिरोइनको पार्ट खेलिरहेका छौ। यस समयमा नै युद्ध
चल्छ। तिमीहरूमा पनि धेरै छन्, जसले यी कुरा बिल्कुल बुझ्दैनन्। जो राम्रा राम्रा
हुन्छन्, उनीहरूलाई नै तीर लाग्छ। थर्ड क्लास त बस्न सक्दैनन्। दिनप्रतिदिन धेरै कडा
काइदा हुँदै जान्छ। पत्थरबुद्धि जसले केही बुझ्दैनन्, उनीहरू त यहाँ बस्नु पनि
अनुचित हो।
यो हल परम पवित्र
स्थान हो। पोपलाई पवित्र (होली) भन्छन्। यहाँ बाबा त हुनुहुन्छ परम पवित्र। बाबा
भन्नुहुन्छ– मैले यी सबैको कल्याण गर्नुछ। यी सबै विनाश हुनेछन्, यो पनि सबैले कहाँ
बुझ्छन् र! सुने पनि एक कानले सुनेर अर्को कानबाट उडाइदिन्छन्। न केही धारण गर्छन्,
न गराउँछन्। यस्ता लाटा बहिरा पनि धेरै छन्। बाबा भन्नुहुन्छ– हियर नो इभिल...
उनीहरूले त बाँदरको चित्र देखाउँछन्। तर यो त मनुष्यको लागि भनिएको हो। मनुष्य यस
समयमा बाँदरभन्दा पनि बिग्रेका छन्। बसेर नारदको कथा पनि बनाएका छन्। उनलाई भने–आफ्नो
अनुहार त हेर– तिमी भित्र ५ विकार छैनन्? जसरी साक्षात्कार हुन्छ। हनुमानको पनि
साक्षात्कार हुन्छ नि! बाबा भन्नुहुन्छ– कल्प कल्प यो हुन्छ। सत्ययुगमा यी कुनै पनि
कुरा हुँदैनन्। यो पुरानो दुनियाँ नै समाप्त हुन्छ। जो पक्का निश्चयबुद्धि छन्,
उनीहरूले बुझ्छन्– कल्प पहिला पनि हामीले यो राज्य गरेका थियौँ। बाबा भन्नुहुन्छ–
प्यारा बच्चाहरू! अब दैवीगुण धारण गर। कुनै अनुचित काम नगर। स्तुतिनिन्दा सबैमा
धैर्य धारण गर्नुछ। क्रोध गर्नुहुँदैन। तिमी कति श्रेष्ठ विद्यार्थी हौ, तिमीलाई
भगवान् बाबाले पढाउनुहुन्छ। उहाँले डाइरेक्ट पढाइरहनुभएको छ, फेरि पनि कति
बच्चाहरूले बिर्सिन्छन् किनकि बाबाको तन साधारण छ नि! बाबा भन्नुहुन्छ– देहधारीलाई
देख्यौ भने तिमी त्यति माथि उठ्न सक्दैनौ। आत्मालाई देख। आत्मा यहाँ भृकुटीको बीचमा
रहन्छ। आत्माले सुनेर शिर हल्लाउँछ। सदैव आत्मासँग कुरा गर। तिमी आत्मा यो शरीररूपी
तख्तमा बसेका छौ। तिमी तमोप्रधान थियौ, अब सतोप्रधान बन। आफूलाई आत्मा सम्झेर
बाबालाई याद गरेमा देहको भान छुट्छ। आधाकल्पको देह अभिमान रहेको छ। यस समयमा सबै
देह अभिमानी छन्।
अब बाबा भन्नुहुन्छ–
देहीअभिमानी बन। आत्माले नै सबै कुरा धारण गर्छ। खानेपिउने सबै कुरा आत्माले गर्छ।
बाबालाई त अभोक्ता भनिन्छ। उहाँ निराकार हुनुहुन्छ। यी शरीरधारीले सबै कुरा गर्छन्।
उहाँले खाने पिउने केही गर्नुहुन्न, अभोक्ता हुनुहुन्छ। त्यसैले यसको फेरि उनीहरू
बसेर नक्कल गर्छन्। कति मानिसहरूलाई ठग्छन्। तिम्रो बुद्धिमा अहिले सारा ज्ञान छ,
कल्प पहिला जसले बुझेका थिए, उनीहरूले नै बुझ्छन्। बाबा भन्नुहुन्छ– मैले नै कल्प
कल्प आएर तिमीलाई पढाउँछु र साक्षी भएर हेर्छु। नम्बरवार पुरुषार्थ अनुसार जसले
पढेको थियो, उसैले पनेढ्छ। समय लाग्छ। भन्छन्– कलियुग अझै ४० हजार वर्ष बाँकी छ।
त्यसैले घोर अन्धकारमा छन् नि! यसलाई अज्ञान अन्धकार भनिन्छ। भक्तिमार्ग र
ज्ञानमार्गमा रातदिनको फरक छ। यो पनि बुझ्ने कुरा हो। बच्चाहरू धेरै खुसीमा
डुबिरहनुपर्छ। तिम्रो लागि सबै कुरा छ, कुनै चाहना छैन। थाहा छ– कल्प पहिलाजस्तै
हाम्रा सबै कामनाहरू पूरा हुन्छन्, त्यसैले पेट भरिएको छ। जसलाई ज्ञान छैन, उनीहरूको
कहाँ पेट भरिन्छ र! भनिन्छ– खुसीजस्तो खुराक छैन। जन्मजन्मान्तरको राज्य भाग्य
मिल्छ। दासदासी बन्नेहरूलाई त्यति खुसी हुँदैन। पूरा महावीर बन्नुछ। मायाले हल्लाउन
नसकोस्।
बाबा भन्नुहुन्छ–
आँखाको धेरै सम्हाल गर्नुपर्छ। विकारी दृष्टि नजाओस्। स्त्रीलाई हेर्दा चञ्चल
हुन्छन्। अरे, तिमी त भाइबहिनी, कुमार-कुमारी हौ नि! फेरि कर्मेन्द्रियहरूले किन
चञ्चलता गर्छन्! ठुला ठुला लखपति, करोडपतिलाई पनि मायाले खतम गरिदिन्छ। गरिबहरूलाई
पनि मायाले एकदमै मारिदिन्छ। फेरि भन्छन्– बाबा मैले धक्का खाएँ। अरे, १० वर्षपछि
पनि हार खायौ! अब त गिरेर पातालमा पुग्यौ। भित्र भित्रै बुझेका छन्– यिनको अवस्था
कस्तो छ। कोही कोहीले त धेरै राम्रो सेवा गर्छन्। कन्याहरूले पनि भीष्म पितामह
आदिलाई बाण हानेका हुन् नि! गीतामा थोरबहुत छ। यो त हो नै भगवानुवाच। यदि श्रीकृष्ण
भगवानले गीता सुनाउनुभएको भए फेरि किन यसो भन्नुहुन्थ्यो– म जो छु, जस्तो छु, कोही
विरलैले जान्दछन्। श्रीकृष्ण यहाँ हुनुभएको भए थाहा छैन के गरिदिन्थे। श्रीकृष्णको
शरीर त हुन्छ नै सत्ययुगमा। यो जान्दैनन्– श्रीकृष्णको धेरै जन्मको अन्त्यको शरीरमा
म प्रवेश गर्छु। श्रीकृष्णको अगाडि त तुरुन्तै सबै भागेर आउँछन्। पोप आदि आए भने
गएर कति झुन्ड जम्मा हुन्छ। मानिसहरूले यो कहाँ बुझ्छन् र– यस समयमा सबै पतित
तमोप्रधान छन्। भन्छन् पनि– हे पतितपावन आउनुहोस्! तर बुझ्दैनन्– हामी पतित छौँ।
बच्चाहरूलाई बाबाले कति राम्रोसँग सम्झाउनुहुन्छ। बाबाको बुद्धि त सबै सेन्टरका
अनन्य बच्चाहरूतिर जान्छ। धेरै अनन्य बच्चाहरू यहाँ आएपछि मात्रै फेरि यहाँ देख्छु,
नत्र बाहिर बच्चाहरूलाई याद गर्नुपर्छ। उनीहरूको अगाडि ज्ञान डान्स गर्छु। बहुमत
ज्ञानी आत्मा भए भने मजा पनि आउँछ। नत्र बच्चीहरूमाथि कति अत्याचार हुन्छन्। कल्प
कल्प सहन गर्नुपर्छ। ज्ञानमा आएपछि फेरि भक्ति पनि छुट्छ। घरमा मानौँ मन्दिर हुन्छ,
स्त्रीपुरुष दुवैले भक्ति गर्छन्, स्त्रीलाई ज्ञानको लत लाग्यो र भक्ति छोडिदिइन्
भने कति हङ्गामा हुन्छ। विकारमा पनि गइनन्, शास्त्र आदि पनि पढिनन् भने झगडा हुन्छ
नि! यसमा विघ्न धेरै पर्छन्, अरू सतसङ्गमा जानको लागि रोक्दैनन्। यहाँ पवित्रताको
कुरा छ। पुरुष त रहन सक्दैनन्, त्यसैले जङ्गलमा जान्छन्, स्त्रीहरू कहाँ जाउन्!
स्त्रीहरूको लागि उनीहरूले सम्झन्छन्– नर्कका द्वार हुन्। बाबा भन्नुहुन्छ– यिनीहरू
त स्वर्गका द्वार हुन्। तिमी बच्चीहरूले अहिले स्वर्ग स्थापना गर्छौ। यसभन्दा पहिला
नर्कका द्वार थियौ। अहिले स्वर्गको स्थापना हुन्छ। सत्ययुग हो स्वर्गको द्वार,
कलियुग हो नर्कको द्वार। यो समझको कुरा हो। तिमी बच्चाहरूले पनि नम्बरवार पुरुषार्थ
अनुसार बुझ्छौ। पवित्र त रहन्छन्। बाँकी ज्ञानको धारणा नम्बरवार हुन्छ। तिमी त
त्यहाँबाट निस्केर यहाँ आएर बसेका छौ, तर अब त सम्झाइन्छ– गृहस्थ व्यवहारमा रहनुछ।
उनीहरूलाई तकलिफ हुन्छ। यहाँ रहनेहरूको लागि त कुनै तकलिफ छैन। त्यसैले बाबा
सम्झाउनुहुन्छ– कमल फूलसमान गृहस्थ व्यवहारमा रहेरै पवित्र रहने गर। त्यो पनि यो
अन्तिम जन्मको कुरा हो। गृहस्थ व्यवहारमा रहँदा आफूलाई आत्मा सम्झ। आत्माले नै
सुन्छ, आत्मा नै यो बनेको छ। आत्माले नै जन्मजन्मान्तर भिन्न भिन्न ड्रेस लगाउँदै
आएको छ। अब हामी आत्माहरू फर्केर जानुछ। बाबासँग योग लगाउनुछ। मूल कुरा हो यो। बाबा
भन्नुहुन्छ– मैले आत्माहरूसँग कुरा गर्छु। आत्मा भृकुटीको बीचमा रहन्छ। यी
अङ्गहरूद्वारा सुन्छ। आत्मा यसमा भएन भने शरीर मुर्दा बन्छ। बाबा आएर कति वन्डरफुल
ज्ञान दिनुहुन्छ। परमात्मा बाहेक यी कुरा अरू कसैले सम्झाउन सक्दैन। संन्यासी आदिले
कसैले आत्मालाई कहाँ देख्छन् र! उनीहरूले त आत्मालाई परमात्मा सम्झन्छन्। अर्को कुरा
फेरि भन्छन्– आत्मामा लेपछेप लाग्दैन। शरीरलाई धुन गङ्गामा जान्छन्। यो बुझ्दैनन्–
आत्मा नै पतित बन्छ। आत्माले नै सबै कुरा गर्छ। बाबा सम्झाइरहनुहुन्छ– यो नसम्झ–
हामी फलाना हौँ, यो फलानो हो...। होइन, सबै आत्माहरू हुन्। जातपातको कुनै भेद
हुनुहुँदैन। आफूलाई आत्मा सम्झ। सरकारले कुनै धर्मलाई मान्दैन। यी सबै धर्म त देहका
हुन्। तर सबै आत्माहरूका पिता त एउटै हुनुहुन्छ। देख्नु पनि आत्मालाई छ। सबै
आत्माहरूको स्वधर्म शान्ति हो। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) जुन कुरा कामको छैन, त्यसलाई एक कानले सुनेर अर्कोबाट निकालिदिनुछ, हियर नो इभिल...
बाबाले जुन शिक्षा दिनुहुन्छ, त्यसलाई धारण गर्नुछ।
२) कुनै पनि हदका
चाहना राख्नुछैन। आँखाको धेरै सम्हाल गर्नुछ। विकारी दृष्टि नजाओस्। कुनै पनि
कर्मेन्द्रिय चञ्चल नहोस्। खुसीले भरपुर रहनुछ।
वरदान:–
मायाको खेललाई
साक्षी भएर हेर्ने सदा निर्भय , मायाजित भव
समयप्रति समय जसरी
तिमी बच्चाहरूको स्थिति राम्रो हुँदै गइरहेको छ, त्यसरी नै अब मायाको वार (आक्रमण)
हुनुहुँदैन, माया नमस्कार गर्न आओस्, वार गर्न होइन। माया आइहाल्यो भने पनि त्यसलाई
खेल सम्झेर हेर। यस्तो अनुभव होस्, मानौँ साक्षी भएर हदको ड्रामा हेरिरहेका छौ।
मायाको जस्तोसुकै विकराल रूप होस्, तिमीले त्यसलाई खेलौना र खेल सम्झेर हेरेमा धेरै
मजा आउनेछ, फेरि त्यसबाट डराउँदैनौ वा आत्तिँदैनौ। जुन बच्चाहरूले सदा खेलाडी बनेर
साक्षी भावले मायाको खेल हेर्छन्, उनीहरू सदा निर्भय वा मायाजित बन्छन्।
स्लोगन:–
यस्तो स्नेहको
सागर बन, जसले गर्दा क्रोध समीप आउन पनि नसकोस्।
अव्यक्त इसारा:– अब
सम्पन्न वा कर्मातीत बन्ने धुन लगाऊ
कर्मातीत अर्थात्
कर्मको अधीन होइन, कर्महरूको परतन्त्र होइन। स्वतन्त्र भएर कर्मेन्द्रियहरूद्वारा
कर्म गराऊ। जुन गायन छ– कर्म गर्द पनि अकर्ता, सम्पर्क-सम्बन्धमा रहँदा पनि
कर्मातीत, के तिम्रो यस्तो स्थित छ? कुनै पनि लगाव नहोस् र सेवा पनि लगावबाट नहोस्
तर निमित्त भावले होस्; यस अभ्यासबाट सहजै कर्मातीत बन्छौ।
सूचना: – आज मधुवनमा
अव्यक्त बापदादा मिलनको शुभ दिन हो। साथै भोलि नयाँ वर्ष २०२६ शुभारम्भ हुँदैछ।
जनवरी महिना भएकाले खास मौन तपस्या गर्ने सुवर्ण अवसर पनि हो।