04.02.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– बाबाले तिमीलाई अविनाशी ज्ञान रत्नहरूको दान दिनुहुन्छ , तिमीले पनि अरूलाई दान दिँदै जाऊ , यसै दानबाट सद्गति हुन्छ।”

प्रश्न:–
कुनचाहिँ नयाँ मार्ग तिमी बच्चाहरू बाहेक अरू कसैलाई पनि थाहा छैन?

उत्तर:–
घर जाने मार्ग वा स्वर्ग जाने मार्ग अहिले बाबाद्वारा तिमीलाई मिलेको छ। तिमीलाई थाहा छ– शान्तिधाम हामी आत्माहरूको घर हो, स्वर्ग भिन्नै हो, शान्तिधाम भिन्नै हो। यो नयाँ मार्ग तिमी बाहेक अरू कसैले पनि जान्दैन। तिमीले भन्छौ– अब कुम्भकर्णको निद्रालाई छोडौं, आँखा खोलौं, पावन बनौं। पावन बनेर मात्रै घर जान सक्छौं।

गीत:–
जाग सजनियाँ जाग.......।

ओम् शान्ति ।
भगवानुवाच। यो कुरा त बाबाले सम्झाउनु भएको छ– मनुष्यहरूलाई वा देवताहरूलाई भगवान भनिँदैन किनकि उनीहरूको साकारी रूप हुन्छ। तर परमपिता परमात्माको न आकारी, न साकारी रूप हुन्छ, त्यसैले उहाँलाई शिव परमात्माय नम: भनिन्छ। ज्ञानका सागर उहाँ एक मात्रै हुनुहुन्छ। कुनै मनुष्यमा ज्ञान हुनसक्दैन। के को ज्ञान? रचयिता र रचनाको आदि-मध्य-अन्त्यको ज्ञान अथवा आत्मा र परमात्माको यो ज्ञान कसैमा हुँदैन। त्यसैले बाबा आएर जगाउनु हुन्छ– हे सखीहरू, हे भक्तिनीहरू जाग। सबै पुरुष अथवा स्त्री भक्त-भक्तिनीहरू हुन्। भगवानलाई याद गर्छन्। सबै दुलहीहरूले याद गर्छन् एक दुलहालाई। सबै प्रेमीका आत्माहरूले परमपिता परमात्मा प्रेमीलाई याद गर्छन्। सबै सीताहरू हुन्, राम एक परमपिता परमात्मा हुनुहुन्छ। राम नाम किन भन्छन्? रावण राज्य छ नि। त्यसैले त्यसको तुलनामा रामराज्य भनिन्छ। राम हुनुहुन्छ बाबा, जसलाई ईश्वर पनि भन्छन्, भगवान पनि भन्छन्। उहाँको वास्तविक नाम शिव हो। भन्नुहुन्छ– जाग, अब नवयुग आउँदैछ। पुरानो युग समाप्त भइरहेको छ। यो महाभारत लडाइँपछि सत्ययुग स्थापना हुन्छ र यी लक्ष्मी-नारायणको राज्य हुन्छ। पुरानो कलियुग समाप्त भइरहेको छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! कुम्भकर्णको निद्रालाई छोड। अब आँखा खोल। नयाँ दुनियाँ आउँदैछ। नयाँ दुनियाँलाई स्वर्ग, सत्ययुग भनिन्छ। यो हो नयाँ मार्ग। यो घर वा स्वर्गमा जाने मार्ग कसैले पनि जान्दैन। स्वर्ग अलग्गै हो, शान्तिधाम जहाँ आत्माहरू रहन्छन्, त्यो अलग्गै हो। अब बाबा भन्नुहुन्छ– जाग, तिमी रावण राज्यमा पतित भएका छौ। यस समयमा एक जना पनि पवित्र आत्मा हुन सक्दैन। कसैलाई पनि पुण्य आत्मा भनिदैन। हुन त मनुष्यले दानपुण्य गर्छन्, तर पवित्र आत्मा त एउटा पनि छैन। यहाँ कलियुगमा छन् पतित आत्माहरू, सत्ययुगमा हुन्छन् पावन आत्माहरू, त्यसैले भन्छन्– हे शिवबाबा! आएर हामीलाई पावन बनाउनुहोस्। यो पवित्रताको कुरा हो। यतिबेला बाबा आएर तिमी बच्चाहरूलाई अविनाशी ज्ञान रत्नहरूको दान दिनुहुन्छ। भन्नुहुन्छ– तिमीले पनि अरूलाई दान दिइराख्यौ भने ५ विकारको ग्रहण छुट्छ। ५ विकारको दान दियौ भने दु:खको ग्रहण छुट्छ। पवित्र बनेर सुखधाममा जान्छौ। ५ विकारमा पहिलो नम्बर हो काम, त्यसलाई छोडेर पवित्र बन। सबैले स्वयं पनि भन्छन्– हे पतित-पावन, हामीलाई पावन बनाउनुहोस्। पतित विकारीलाई भनिन्छ। यो सुख र दु:खको खेल यहाँको लागि नै भनिएको हो। बाबा भारतखण्डमा नै आएर साधारण तनमा प्रवेश गर्नुहुन्छ अनि बसेर यिनको जीवनी पनि सुनाउनु हुन्छ। यी हुन् सबै ब्राह्मण-ब्राह्मणीहरू, प्रजापिता ब्रह्माका सन्तान। तिमीले सबैलाई पवित्र बन्ने युक्ति बताउँछौ। तिमी ब्रह्माकुमार-ब्रह्माकुमारीहरू विकारमा जान सक्दैनौ। तिमी ब्राह्मणहरूको यो एउटै जन्म हुन्छ। देवता वर्णमा तिमीले २० जन्म लिन्छौ, वैश्य, शूद्र वर्णमा ६३ जन्म। ब्राह्मण वर्णको यो एक अन्तिम जन्म हो, यस जन्ममा नै पवित्र बन्नु छ। बाबा भन्नुहुन्छ– पवित्र बन। बाबाको याद अथवा योगबलबाट विकर्म भस्म हुन्छ। यो एक जन्म पवित्र बन्नु छ। सत्ययुगमा त कोही पनि पतित हुँदैन। अहिले यो अन्तिम जन्म पावन बन्यौ भने २१ जन्म पावन रहन्छौ। पावन थियौ, अहिले पतित बनेका छौ। पतित भएर त बोलाएका हौ। पतित कसले बनायो? रावणको आसुरी मतले। तिमीलाई रावण राज्यबाट, दु:खबाट मैले बाहेक अरू कसैले पनि मुक्त गर्न सक्दैन। सबै काम चितामा बसेर भस्म भएका छौ। मैले आएर ज्ञान चितामा बसाल्नु पर्छ। ज्ञान जल छर्कनुपर्छ। सबैको सदगति गर्नुपर्छ। जसले राम्रोसँग पढाइ पढ्छन् उनैको सदगति हुन्छ। अरू सबै जान्छन् शान्तिधाममा। सत्ययुगमा केवल देवी-देवताहरू हुन्छन्, उनीहरूलाई मात्र सद्गति मिल्छ। अरू सबैलाई गति अथवा मुक्ति मिल्छ। ५ हजार वर्ष पहिला यी देवी-देवताहरूको राज्य थियो। लाखौं वर्षको कुरा होइन। अब बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! म पितालाई याद गर। मनमनाभव शब्द त प्रसिद्ध छ। भगवानुवाच– कुनै पनि देहधारीलाई भगवान भनिँदैन। आत्माहरूले त एक शरीर छोडेर अर्को शरीर लिन्छन्। कहिले स्त्री, कहिले पुरुष बन्छन्। भगवान कहिल्यै पनि जन्ममरणको खेलमा आउनुहुन्न। यो कुरा ड्रामामा निश्चित छ। एक जन्म अर्को जन्मसँग मिल्दैन। फेरि तिम्रो यो जन्म दोहोरियो भने यही कर्म, यही स्वरूप फेरि लिन्छौ। यो ड्रामा अनादि बनीबनाउ छ। यो परिवर्तन हुनसक्दैन। श्रीकृष्णको जुन शरीर सत्ययुगमा थियो त्यो फेरि त्यहाँ नै मिल्छ। त्यो आत्मा त अहिले यहाँ छ। तिमीलाई अहिले थाहा छ– म नै त्यो बन्छु। यो लक्ष्मी-नारायणको स्वरूप यथार्थ होइन। बन्छौं फेरि त्यही। यी कुरा नयाँ कसैले पनि बुझ्न सक्दैन। कसैलाई राम्ररी सम्झायौ भने ८४ को चक्रलाई बुझ्छन् र अवश्य पनि हामी हरेक जन्ममा नाम, रूप, स्वरूप आदि भिन्नाभिन्नै हुन्छौं भन्ने जान्दछन्। अहिले यिनको ८४ औं जन्मको स्वरूप यो हो, त्यसैले नारायणको स्वरूप करिब करिब यस्तो देखाएका छन्। नत्र मनुष्यले बुझ्न सक्दैनन्।

तिमी बच्चाहरूलाई थाहा छ– मम्मा-बाबा नै यस्ता लक्ष्मी-नारायण बन्नुहुन्छ। यहाँ त ५ तत्त्व पवित्र छैनन्। यी शरीर सबै पतित छन्। सत्ययुगमा शरीर पनि पवित्र हुन्छ। श्रीकृष्णलाई परम सुन्दर भन्छन्। स्वाभाविक सुन्दरता हुन्छ। यहाँ बेलायतमा छन त मानिसहरू गोरा छन् तर उनीहरूलाई कहाँ देवता भनिन्छ र? दैवी गुण त छैनन् नि। त्यसैले बाबा बसेर कति राम्ररी सम्झाउनु हुन्छ। यो हो सर्वोच्च पढाइ, जसबाट तिम्रो कति उच्च कमाइ हुन्छ। अनगिन्ती हीरा जुहारत, धन हुन्छ। त्यहाँ त हीरा जुहारतका महल थिए। अहिले ती सबै गुम भएका छन्। तिमी कति धनवान बन्छौ। २१ जन्मको लागि अपरम्पार कमाइ हुन्छ, यसको लागि धेरै मेहनत चाहिन्छ। देहीअभिमानी बन्नु छ, म आत्मा हुँ, यो पुरानो शरीर छोडेर अब फर्केर आफ्नो घर जानु छ। बाबा अहिले लिन आउनु भएको छ। हामी आत्माले ८४ जन्म पूरा गर्यौं, अब फेरि पावन बन्नु छ, बाबालाई याद गर्नु छ। नत्र यो विनाशको समय हो, सजाय खाएर फर्केर जान्छौं। हिसाबकिताब त सबैले चुक्ता गर्नु नै छ। भक्तिमार्गमा काशी कलवट खान्थे तैपनि कसैले मुक्ति पाउन सक्दैनथे। त्यो हो भक्तिमार्ग, यो हो ज्ञानमार्ग। यसमा जीवघात गर्ने आवश्यकता छैन। त्यो हो जीवघात। फेरि भावना हुन्छ– मुक्ति प्राप्त गरौं त्यसैले पापको हिसाबकिताब चुक्ता गरेर फेरि चालु हुन्छ। अहिले त काशी कलवटको मुस्किलै कसैले साहस गर्छन्। तर मुक्ति वा जीवनमुक्ति मिल्न सक्दैन। बाबा बाहेक अरू कसैले पनि जीवनमुक्ति दिनै सक्दैन। आत्माहरू आइरहन्छन् फेरि फर्केर कसरी जान्छन्? बाबा नै आएर सबैलाई सद्गति गरेर फर्काएर लैजानुहुन्छ। सत्ययुगमा धेरै कम मनुष्य रहन्छन्। आत्मा त कहिल्यै विनाश हुँदैन। आत्मा अविनाशी छ, शरीर विनाशी छ। सत्ययुगमा आयु लामो हुन्छ। दु:खको कुरा हुँदैन। एक शरीर छोडेर अर्को लिन्छन्। जसरी सर्पको उदाहरण छ, त्यसलाई मर्नु भनिँदैन, दु:खको कुरा हुँदैन। सम्झन्छन्– अब समय पूरा भयो, यो शरीर छोडेर अर्को लिन्छु। तिमी बच्चाहरूले यहाँ नै यस शरीरबाट अलग हुने अभ्यास गर्नु छ। म आत्मा हुँ, अब मलाई घर जानु छ र फेरि नयाँ दुनियाँमा आउने छु, नयाँ शरीर लिनेछु, यो अभ्यास गर। तिमीलाई थाहा छ– आत्माले ८४ शरीर लिन्छ। मनुष्यले फेरि ८४ लाख भनिदिएका छन्। बाबाको लागि त फेरि अनगिन्ती पत्थरमा हुनुहुन्छ भनिदिन्छन्। त्यसलाई भनिन्छ धर्मको ग्लानि। मनुष्य स्वच्छ बुद्धिबाट बिल्कुलै तुच्छ बुद्धिका बनेका छन्। अहिले बाबाले तिमीलाई स्वच्छ बुद्धिको बनाउनु हुन्छ। स्वच्छ बन्छौ यादबाट। बाबा भन्नुहुन्छ– अब नवयुग आउँछ, त्यसको निसानी यो महाभारत लडाइँ हो। यो त्यही मिसाइल प्रयोग हुने लडाइँ हो, जसमा अनेक धर्मको विनाश, एक धर्मको स्थापना भएको थियो, त्यसैले अवश्य भगवान हुनुपर्छ नि। श्रीकृष्ण यहाँ कसरी आउन सक्छन्? ज्ञानका सागर निराकार वा श्रीकृष्ण? श्रीकृष्णलाई यो ज्ञान हुँदैन। यो ज्ञान नै गुम हुन्छ। तिमीहरूका पनि फेरि भक्तिमार्गमा चित्र बन्छन्। तिमी पूज्य नै पुजारी बन्छौ, कला कम हुन्छन्। आयु पनि कम हुन्छ किनकि भोगी बन्छौ। त्यहाँ हुन्छन् योगी। यस्तो होइन, कसैको यादमा योग लगाउँछौ। त्यहाँ हुन्छ नै पवित्रता। श्रीकृष्णलाई पनि योगेश्वर भन्छन्। यतिबेला श्रीकृष्णको आत्माले बाबासँग योग लगाइरहेको छ। श्रीकृष्णको आत्मा यतिबेला योगेश्वर छ, सत्ययुगमा योगेश्वर भनिदैन। त्यहाँ त राजकुमार बन्छन्। त्यसैले अन्त्यमा यस्तो अवस्था हुनुपर्छ जसबाट बाबा सिवाय अरू कसैको देह याद नरहोस्। देहबाट र पुरानो दुनियाँबाट ममत्व मेटियोस्। संन्यासी रहन त पुरानो दुनियाँमा रहन्छन् तर घरबारबाट ममत्व मेटाइदिन्छन्। ब्रह्मलाई ईश्वर सम्झेर ब्रह्मसँग योग लगाउँछन्। आफूलाई ब्रह्मज्ञानी, तत्त्वज्ञानी भन्छन्। सम्झन्छन् म ब्रह्ममा लीन हुन्छु। बाबा भन्नुहुन्छ– यो सबै गलत हो। सही त म हुँ, मलाई नै सत्य भन्छन्।

बाबा सम्झाउनु हुन्छ– यादको यात्रा धेरै पक्का हुनुपर्छ। ज्ञान त धेरै सहज छ। देहीअभिमानी बन्नमा नै मेहनत छ। बाबा भन्नुहुन्छ– कसैको पनि देह याद नआओस्, यो हो भूतको याद, भूत पूजा। म त अशरीरी छु, तिमीले याद गर्नु छ मलाई। यी आँखाद्वारा देखेर पनि बुद्धिबाट म बाबालाई याद गर। बाबाको निर्देशनमा चल्यौ भने धर्मराजको सजायबाट छुट्नेछौ। पावन बन्यौ भने सजाय समाप्त हुन्छ, यो लक्ष्य धेरै उच्च छ। प्रजा बन्न त धेरै सहज छ, त्यसमा पनि धनवान प्रजा, गरिब प्रजा को को बन्न सक्छन्, सबै सम्झाउनु हुन्छ। जसरी नाटकमा कलाकारको पार्ट पूरा भएपछि बुद्धि घरतिर जान्छ, त्यसैगरी अन्त्यमा तिम्रो बुद्धिको योग हुनुपर्छ बाबा र घरसँग। यो हो बेहदको कुरा। त्यो हो हदको आम्दानी, यो हो बेहदको आम्दानी। राम्रा कलाकारको आम्दानी पनि धेरै हुन्छ नि। त्यसैले बाबा भन्नुहुन्छ– गृहस्थ व्यवहारमा रहेर पनि बुद्धियोग त्यहाँ लगाउनु छ। ती दुनियाँका प्रेमी-प्रेमीका हुन्छन् एक अर्काका। यहाँ त सबै प्रेमीहरूका हुनुहुन्छ एक प्रेमी। उहाँलाई नै सबैले याद गर्छन्। उहाँ अद्भुत यात्री हुनुहुन्छ नि। यस समयमा आउनु भएको छ सबै दु:खबाट छुटाएर सद्गतिमा लैजानको लागि। उहाँलाई भनिन्छ सच्चा सच्चा प्रियतम। तिनीहरू एक अर्काको शरीरमा आकर्षित हुन्छन्, विकारको कुरा हुँदैन। त्यसलाई भनिन्छ– देह अभिमानको योग। त्यो भूतको याद भयो। मनुष्यलाई याद गर्नु भनेको ५ भूतलाई, प्रकृतिलाई याद गर्नु हो। बाबा भन्नुहुन्छ– प्रकृतिलाई बिर्सिएर मलाई याद गर। यसमा मेहनत छ अनि दैवी गुण पनि चाहिन्छ। कसैसँग बदला लिनु, यो पनि आसुरी अवगुण हो। सत्ययुगमा हुन्छ नै एक धर्म, त्यहाँ बदला लिने कुरा हुँदैन। त्यो हो नै अद्वैत देवता धर्म जुन शिवबाबा बाहेक अरू कसैले स्थापना गर्न सक्दैन। सूक्ष्मवतनवासी देवताहरूलाई भनिन्छ फरिस्ता। यस समयमा तिमी ब्राह्मण हौ फेरि फरिस्ता बन्छौ। फेरि फर्केर जान्छौ घर अनि नयाँ दुनियाँमा आएर दैवीगुणधारी मनुष्य अर्थात् देवता बन्छौ। अहिले शूद्रबाट ब्राह्मण बनेका छौ। प्रजापिता ब्रह्माको बच्चा नबनी कसरी वर्सा लिन्छौ? यी प्रजापिता ब्रह्मा र मम्मा, यिनै फेरि लक्ष्मी-नारायण बन्छन्। अब हेर तिमीलाई जैनीहरूले भन्छन्– हाम्रो जैन धर्म सबैभन्दा पुरानो हो। तर वास्तवमा महावीर त आदिदेव ब्रह्मालाई नै भन्छन्। हुन् ब्रह्मा नै, तर कुनै जैन मुनि आएर उनले महावीर नाम राखिदिए। अहिले तिमीहरू सबै महावीर हौ नि। मायामाथि विजय प्राप्त गरिरहेका छौ। तिमीहरू सबै बहादुर बन्छौ। सच्चा सच्चा महावीर महावीरनी तिमीहरू हौ। तिम्रो नाम हो शिव शक्ति, तिमीहरू सिंहमाथि सवारी हुन्छौ र महारथीहरू हात्तीमाथि। फेरि पनि बाबा भन्नुहुन्छ– लक्ष्य धेरै महान् छ। एक बाबालाई याद गर्यौ भने मात्र विकर्म विनाश हुन्छ, अरू कुनै मार्ग छैन। योगबलबाट तिमीले विश्वमाथि राज्य गर्छौ। आत्माले भन्छ– अब मलाई घर जानु छ, यो पुरानो दुनियाँ हो, यो हो बेहदको संन्यास। गृहस्थ व्यवहारमा रहेर पवित्र बन्नु छ। चक्रलाई जान्यौ भने चक्रवर्ती राजा बन्छौ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) धर्मराजको सजायबाट बच्नको लागि कसैको पनि देहलाई याद गर्नु छैन, यी आँखाबाट सबै कुरा देखेर पनि एक बाबालाई याद गर्नु छ, अशरीरी बन्ने अभ्यास गर्नु छ। पावन बन्नु छ।

२) मुक्ति र जीवनमुक्तिको मार्ग सबैलाई बताउनु छ। अब नाटक पूरा भयो, घर जानु छ– यसै स्मृतिबाट बेहदको आम्दानी जम्मा गर्नु छ।

वरदान:–
एक सेकेन्डको बाजीबाट सारा कल्पको तकदिर बनाउने श्रेष्ठ तकदिरवान भव

यस सङ्गमको समयलाई वरदान मिलेको छ– जे चाह्यो, जस्तो चाह्यो, जति चाह्यो त्यति भाग्य बनाउन सक्छौ। किनकि भाग्यविधाता बाबाले तकदिर बनाउने चाबी बच्चाहरूको हातमा दिनु भएको छ। लास्टमा आएका भए पनि फास्ट गएर फस्ट आउन सक्छौ। केवल सेवाको विस्तारमा स्वयंको स्थिति सेकेन्डमा सार स्वरूप बनाउने अभ्यास गर। अहिले भर्खरै एक सेकेन्डमा मास्टर बीज बन्ने निर्देशन मिल्यो भने यसमा समय नलागोस्। यो एक सेकेन्डको बाजीले सारा कल्पको तकदिर बनाउन सक्छौ।

स्लोगन:–
डबल सेवाद्वारा शक्तिशाली वायुमण्डल बनायौ भने प्रकृति दासी बन्नेछ।