14.11.26 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– बिहान
सबेरै उठेर बाबालाई याद गर्यौ भने सतोप्रधान बन्नेछौ , अमृतवेलाको समय धेरै राम्रो
हुन्छ।”
प्रश्न:–
आज्ञाकारी
बच्चाहरूको निसानीहरू के हुन्छन्?
उत्तर:–
आज्ञाकारी
बच्चाहरूले सर्वोच्च बाबाका महावाक्य शिरमा राख्छन् अर्थात् आफ्नो जीवनमा धारण
गर्छन्। उनीहरूको चालचलन धेरै राजसी हुन्छ। उनीहरू धेरै धैर्यवान् हुन्छन्।
उनीहरूलाई विश्वको मालिकपनको गुप्त नसा हुन्छ। आज्ञाकारी बच्चाहरूले आफ्नो कुनै पनि
कर्मद्वारा बापदादाको अपमान हुन दिँदैनन्। अपमान गर्ने अर्थात् अवज्ञा गर्ने
बच्चाहरूले धेरै डिससर्भिस गर्छन्। आज्ञाकारी बच्चाहरूले सदा बाबाको अनुसरण गर्छन्,
कहिल्यै उल्टो काम गर्दैनन्।
गीत:–
छोड भी दे
आकाश सिंहासन...
ओम् शान्ति ।
मीठा-प्यारा
रुहानी बच्चाहरूले दुई शब्द सुन्यौ। अहिले त बच्चाहरूले यसको अर्थ बुझिसकेका नै छौ–
बाबा यहाँ हुनुहुन्छ। बाबा बसेर सही कुरा सम्झाउनुहुन्छ किनकि मानिसहरूले ज्ञानको
बारेमा वा ईश्वरसँग मिल्ने विषयमा जतिसुकै कुरा पनि भन्छन्, त्यो गलत हो। अहिले
गीतका शब्द सुन्यौ– छोड भी दे आकाश सिंहासन... तर आकाश सिंहासन के हो, यो कसैलाई
थाहा छैन। पतितपावन त आउनु नै हुन्छ। कसैले भन्छन्– भगवान् हुनुहुन्न। कसैले भन्छन्–
सबै भगवानै-भगवान् हुन्। भगवान् किन आउनुहुन्छ? तिमी बच्चाहरूले त यो जानेका छौ–
बाबा आउनुभएको छ, त्यसैले यो भक्तिमार्गको गायन आदि सबै सुन्न राम्रो मान्दैनौ।
पतितपावन आउनुहुन्छ र आफ्नो परिचय दिएर रचनाको आदि-मध्य-अन्त्यको रहस्य
सम्झाउनुहुन्छ। बाँकी दुनियाँमा यी कुरा कसैले बुझ्न सक्दैनन्। यहाँ पनि कति मतका
मानिसहरू छन्। भन्छन्– मानिस पवित्र बन्ने, यो हुनै सक्दैन। त्यसैले अवश्य भगवान्
नआउँदासम्म पवित्र कसरी बन्न सक्छन्? परमात्मा नै आएर शिक्षा दिनुहुन्छ र आश पनि
देखाउनुहुन्छ– यसमा कति ठुलो प्राप्ति छ। तिमीलाई थाहा छ, बाबा भन्नुहुन्छ– मेरा
बनेर श्रीमतमा चलेनौ भने सजाय खानुपर्नेछ। जसरी पिताले साना बच्चाहरूको चालचलन ठीक
देखेनन् भने थप्पड हानिदिन्छन्, उहाँ बाबाले त थप्पड हान्नुहुन्न। केवल
सम्झाउनुहुन्छ– रगतले प्रतिज्ञा लेखेर पनि दिन्छन्, तैपनि हार्छन्। मानिसहरूलाई थाहा
नै छैन, पवित्र बनेमा के मिल्छ? पतित कसलाई भनिन्छ? बाबा सम्झाउनुहुन्छ– जो विकारमा
जान्छन्– उनीहरू पतित हुन्। मानिसहरूले सम्झन्छन्– विकार छोड्न असम्भव छ। भन–
देवीदेवताहरू त सम्पूर्ण निर्विकारी थिए। चित्रहरू देखाउनुपर्छ। यो निर्विकारी
दुनियाँ थियो नि। पवित्रता हुँदा भारतवर्ष कति धनवान् थियो, शिवालय थियो।
मानिसहरूलाई यो चिन्ता हुन्छ– विकारविना दुनियाँ कसरी बढ्छ? अरे, जनसङ्ख्या नबढोस्
भनेर सरकार हैरान भइसकेको छ, तैपनि हरेक वर्ष कति मानिसहरू बढिरहन्छन्। जनसङ्ख्या
घट्न त धेरै मुस्किल छ। यहाँ बेहदका बाबा भन्नुहुन्छ– तिमी पवित्र बन्यौ भने मैले
तिमीहरूलाई स्वर्गको मालिक बनाउनेछु। आम्दानी धेरै ठुलो छ। तिमी बच्चाहरूलाई थाहा
छ, अवश्य मायाजित बनेमा हामी जगतजित बन्नेछौँ। रावणलाई जितेर रामराज्य पाउनेछौँ।
त्यहाँ यी विकारहरू हुन सक्दैनन्। ती विकारहरूलाई तिमीले जितिसक्यौ नि। यी कुरा
कसैले मुस्किलले बुझ्छन्, भन्छन्– यो विकार बिना दुनियाँ कसरी चल्छ! कसैले यस
प्रकारका कुरा गर्छ भने बुझ्नुपर्छ– यो आदि सनातन धर्मको होइन। जहाँसुकै पनि तिमीले
भाषण गर्दा भन– भगवानुवाच, भगवान् भन्नुहुन्छ– काम महाशत्रु हो, त्यसमाथि विजय
प्राप्त गरेमा तपाईंहरू जगतजित बन्नुहुनेछ। ज्ञान धेरै सीधा छ। तर, तैपनि उनीहरूले
बुझ्दैनन् कि त सम्झाउनेहरूमा अक्कल छैन। बाबाले त जान्नुहुन्छ– बच्चाहरूले एक
रुपैयाँमा ५ आना पनि मुस्किलले सिकेका छन् कि त स्वयं पूरा योगी बनेका छैनन्,
त्यसैले तागत मिल्दैन। यादबाट नै तागत मिल्छ, बाबा सर्वशक्तिमान् सत्ता हुनुहुन्छ
नि। योग भयो भने शक्ति पनि मिल्छ। धेरै बच्चाहरूको योग त एकदमै थोरै छ। सत्य पनि
कसैले लेख्दैनन्। यादको चार्ट लेख्नु, त्यो पनि मुस्किल छ। टिचरहरूले नै चार्ट
राख्दैनन् भने विद्यार्थीहरूले कसरी राख्छन्? धेरै विद्यार्थीहरू योगमा धेरै
तीक्ष्ण छन्। मुख्य कुरा हो बाबालाई याद गर्नु छ। योग शब्द शास्त्रहरूको हो।
मानिसहरू सुनेर अलमलिन्छन्। भन्छन्– योग सिकाउनुहोस्। अरे, योग कुनै सिक्ने कुरा कहाँ
हो र? बिहान सबेरै उठेर आफैले याद गर्नु छ, यसमा टिचरको के आवश्यकता छ र जसले बसेर
सिकाउनुहुन्छ, त्यसैले याद शब्द ठीक छ। योग सिक्ने कुरा होइन। यो बानी पार्नुहुँदैन।
बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर बाबालाई याद गरेमा सतोप्रधान बन्नेछौ।
अमृतवेलामा याद गर्नु राम्रो हो। भक्ति पनि बिहानै उठेर गर्छन्। यिनले पनि त
बाबालाई याद गर्छन्। किन याद गर्छन्? किनकि बाबाबाट वर्सा मिल्नु छ। गर्न त
भक्तिमार्गमा शिवलाई याद गर्छन् तर उनीहरूलाई यो थाहा छैन, शिवबाट के मिल्छ। यो
केवल तिमी बच्चाहरूले नै जान्दछौ। अहिले बाबाले– आफ्नो कल्याण गर्नको लागि मलाई याद
गर भन्ने श्रीमत दिनुहुन्छ। यादबाट नै शक्ति आउँछ। शक्तिले विकर्म विनाश हुन्छ।
ज्ञानले विकर्म विनाश हुँदैन। ज्ञानले पद मिल्छ। पतितबाट पावन बनिन्छ यादले। धेरै
बच्चाहरू यसमा असफल हुन्छन्। धेरै राम्रा महारथीहरूले ५ आना पनि मुस्किलले याद
गर्छन्। कसैले त एक पैसा पनि याद गर्दैनन्, यसमा ठुलो मेहनत छ। ज्ञान त तुरुन्तै
सिक्छन् तर यादमा रहेपछि मात्र बेडा पार हुन्छ। अनि मात्रै जन्मजन्मान्तरका विकर्म
विनाश हुन्छन्, त्यसपछि पुण्यात्मा बन्छन्। बाबालाई बोलाउँछन्– आएर मलाई पतितबाट
पावन बनाउनुहोस्। पावन त प्रशस्त बन्छन् तर उच्च वर्सा उनीहरूले पाउँछन् जो
राम्रोसँग यादमा रहन्छन्। तिमीहरूभन्दा जो बाँधेलीहरू छन्, उनीहरूले धेरै याद गर्छन्।
यादबाट नै विकर्म विनाश हुन सक्छ। कसैले पवित्र रहनु असम्भव छ भन्छ भने फेरि उसँग
कुरा पनि गर्नुहुँदैन। भारतवर्ष निर्विकारी हुँदा सतोप्रधान थियो तर धनवानहरूको
बुद्धिमा यो ज्ञान बस्न नै मुस्किल छ किनकि यादमा नै मेहनत छ।
बाबा भन्नुहुन्छ,
गृहस्थ व्यवहारमा रहँदा पनि सबैसँग सम्बन्ध निर्वाह (तोड) गरिराख। वास्तवमा नियमहरू
धेरै कडा छन्। तिमी जन्मजन्मान्तर त पापात्माहरूलाई दान दिँदै पापात्मा बनिरह्यौ।
अहिले तिमीले पापात्मालाई पैसा दिन सक्दैनौ तर दादाको वर्सा हो भने दिनुपर्छ,
त्यसैले बाबा भन्नुहुन्छ– पहिला सबै (लौकिक) काम सकेर फेरि समर्पित होऊ। यस्ता पनि
करोडौँमा कोही निस्कन्छन्। मञ्जिल धेरै महान् छ। बाबाको अनुसरण गर्नु छ। नष्टोमोहा
हुनु यो कुनै सजिलो कुरा होइन, यसमा ठुलो मेहनत छ। विश्वको मालिक बन्ने, प्राप्ति
कति ठुलो छ। कल्प कल्प जो विश्वका मालिक बने, उनीहरू नै फेरि पनि बन्छन्। ड्रामाको
रहस्य पनि थोरैको बुद्धिमा बस्छ। धनवानहरू त मुस्किलले यस मार्गमा लाग्न सक्छन्।
गरिबले त तुरुन्तै भनिदिन्छन्– बाबा, यो सबैथोक हजुरको हो, फेरि उनीहरूले सेवा पनि
गर्नु छ। पावन बन्नको लागि याद पनि हुनुपर्छ। नत्र धेरै सजाय खानुपर्नेछ। सजाय खायौ
भने पद पनि सानो हुनेछ। सजाय उनीहरूले खान्छन् जसले याद गर्दैनन्। ज्ञान जतिसुकै
सुने पनि त्यसबाट विकर्म विनाश हुँदैन। सजाय खाएर फेरि सानो पद पाउनु– त्यो कुनै
वर्सा कहाँ हो र? बाबाबाट पूरा वर्सा लिनको लागि त बाबाको आज्ञाकारी बन्नुपर्छ।
उच्चभन्दा उच्च बाबाका महावाक्य शिरमा राख्नुपर्छ। श्रीकृष्णको आत्माले पनि यस समयमा
वर्सा लिइरहेको छ। यी लक्ष्मीनारायणका धेरै जन्महरूको अन्त्यमा मैले फेरि
यिनीहरूलाई पढाएर वर्सा दिन्छु। तिमीहरूमध्ये पनि राजकुमार-राजकुमारी बन्नेहरू
होलान् नि। राज-घरानाकाहरूको चालचलन धेरै धैर्यवत हुन्छ। गुप्त नसा हुन्छ। बाबा कति
साधारण रहन्छन्। थाहा छ, बाँकी थोरै समय छ। म त गएर विश्व महाराजन बन्नु छ। यिनी पनि
पतित थिए। यिनी त बाबाका रथ हुन्, त्यसैले यहाँ सन्दलीमा बस्नुपर्छ। नत्र बाबा कहाँ
बस्नुहुन्थ्यो? यिनी पनि तिमीजस्तै विद्यार्थी हुन्। पढ्छन्। धेरै बच्चाहरू छन्–
बाबालाई चिन्दैनन्। बाबाको साथमा धर्मराज पनि हुनुहुन्छ। बाबा भन्नुहुन्छ– मेरो
आज्ञा मानेनौ, मेरो अपमान गरेछौ भने धर्मराजले धेरै सजाय दिनुहुनेछ। तिमीले
डाइरेक्ट मेरो अथवा मेरो बच्चाको अवज्ञा गर्छौ। बाबाको एउटै सिकिलधे बच्चा हो।
स्नेह त छ नि। यिनको अपमान गरेछौ भने कति सजाय खानुपर्नेछ। केही आपत् आउन देऊ, फेरि
हेर कति भाग्छन्। तिमीहरू सबै भागेर आएका हौ, यिनीले जादु आदि केही गरेका होइनन्।
जादुगर शिवबाबा हुनुहुन्छ। धेरै छन्– जसलाई यिनमा शिवबाबा आउनुहुन्छ भन्ने ख्याल पनि
आउँदैन। शिवबाबाको अगाडि मैले केही उल्टो कर्म गरिदिएँ भने बाबाले भन्नुहुनेछ– यो
नालायक बच्चा हो। यसमा डबल हुनुहुन्छ नि, त्यसैले तारमा लेख्छन्– बापदादा। तर यसमा
पनि बच्चाहरूले बुझ्दैनन्– बापदादा सँगसँगै कसरी हुनुहुन्छ। बाबाले दादाद्वारा वर्सा
दिनुहुन्छ। आफै कुरा निकाल्नुपर्छ। तपाईंलाई थाहा छ, बापदादा को हुनुहुन्छ? चाहे
कसैले सोध्यो– तपाईंहरूले बापदादा कसलाई भन्नुहुन्छ? बाप दादा एकको नाम हुन सक्दैन।
त्यसैले बच्चाहरूले युक्तिले सम्झाउनुपर्छ। तिमीले कसैलाई सम्झाउँदा उनीहरूको
बुद्धिमा बस्छ– शिवबाबाले दादाद्वारा वर्सा दिनुहुन्छ। अब त विनाश हुनु छ। त्योभन्दा
पहिला राजयोग सिकाइरहनुभएको छ, तपाईंले पनि सिक्नुहोस्। आधाकल्प जुन बाबालाई
पुकार्नुभएको छ, उहाँ ज्ञान दिन आउनुभएको छ। तैपनि भन्छन्– बुझ्ने फुर्सद छैन।
त्यस्तालाई भनिन्छ– तपाईं देवीदेवता धर्मको हुनुहुन्न। तपाईंको तकदिरमा स्वर्गको
सुख छैन। बाँकी यहाँ कुनै ढोग्नु आदि त छैन। संन्यासीहरूको अगाडि चरणमा अवश्य
ढोग्छन्। यहाँ त गुप्त हुनुहुन्छ नि। पछि गएर धेरै प्रभाव निस्कनेछ। त्यतिबेला धेरै
भीड हुनेछ। भीडभाडमा कति मानिसहरू मर्छन्। प्रधानमन्त्री आदिको दर्शन गर्न कति भीड
जम्मा हुन्छ। यहाँ बच्चाहरूको साथमा कति गुप्त बस्नुभएको छ। यहाँ कसलाई हेर्ने?
यिनको लागि त थाहा छ, जौहरी थिए। शास्त्रहरूमा पनि छ– ब्रह्माद्वारा मनुष्य सृष्टि
रच्नुभयो, कसरी? बाबा भन्नुहुन्छ– म यिनीमा प्रवेश गरेर रचना गर्छु। यो पनि लेखिएको
छ तर पत्थरबुद्धिहरूले बुझ्दैनन्।
बाबा आएर बच्चाहरूलाई
पतितबाट पावन बनाएर माथिल्लो कक्षामा ट्रान्स्फर गर्नुहुन्छ। बाँकी कुनै नयाँ रचना
कहाँ रच्नुहुन्छ र? यो पतितहरूलाई पावन बनाउने युक्ति हो। विराट रूपको चित्र अवश्य
हुनुपर्छ। चित्र ठुलो भयो भने सम्झाउन पनि सहज हुनेछ। पत्थरबुद्धिबाट पारसबुद्धि
बनाउनु कुनै सहज कुरा कहाँ हो र? कसैले त एकदम त्यसै अस्थिर (तवाई) आत्माले जस्तै
हेरेर जान्छन्। प्रजा बन्ने छ भने पनि केही न केही बुद्धिमा बस्छ। हम सो ब्राह्मण,
सो हम देवता– ‘हम सो’ को अर्थ बाबाले कति राम्रो सम्झाउनुभएको छ। उनीहरूले भन्छन्–
आत्मा सो परमात्मा। बस्। यहाँ तिमीलाई थाहा छ, म आत्मा हुँ नै। म आत्मा पहिला
ब्राह्मण, फेरि हम सो देवता, हम सो क्षत्रिय... बन्छु। हामी कति वर्णको बन्छौँ! ८४
को चक्कर लगाउँछौँ। बाँकी जति पछि आउँछन्– उनीहरूका लगभग कति जन्म हुन्छन् होला!
हिसाब निकाल्न सक्छौ। चित्रहरू बाबालाई मनपर्ने धेरै राम्रा बन्नुपर्छ। दुईचार असल
बच्चाहरू हुनुपर्छ, जसले चित्र बनाउनमा मदत गर्नुछ। बाबा खर्च दिनको लागि तयार
हुनुहुन्छ, फेरि हुण्डी बाबाले आफैले भराउनुहुनेछ। बाबा भन्नुहुन्छ– मुख्य चित्रहरू
ट्रान्सलाइटका बन्नुपर्छ। मानिसहरू देखेर खुसी हुनेछन्। सारा प्रदर्शनी यस्तो
बन्नुपर्छ। तर बच्चाहरूलाई तयार गर्नको लागि बाबाले मेहनत गर्नुपर्छ।
बाबाको याद मुख्य हो।
यादबाट नै तिमी पतितबाट पावन सृष्टिको मालिक बन्नेछौ। अरू कुनै उपाय छैन।
हिँड्दाडुल्दा बाबालाई याद गर। चक्रलाई याद गर्नु छ। तिम्रो स्वभाव धेरै राजसी
हुनुपर्छ। हिँड्दाहिँड्दै कसैलाई लोभले, कसैलाई मोहले समात्छ। कोही मनपर्ने चीजमा
पल्किएका हुन्छन्, मिलेन भने बिरामी हुन्छन्। यस कारणले कुनै पनि बानी बसाल्नु
हुँदैन। अच्छा!
मीठे-मीठे सिकिलधे
बच्चाहरूप्रति मातापिता बापदादाको याद-प्यार एवं गुडमर्निङ। रुहानी बाबाको रुहानी
बच्चाहरूलाई नमस्ते। (रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ, नमस्ते।)
धारणाको लागि
मुख्य सारः–
१) आफ्नो कल्याण गर्नको लागि बाबाको आज्ञा मान्नु छ। बापदादाको कहिल्यै पनि अवज्ञा
गर्नु छैन। कुनै पनि लोभ, मोहको बानी बसाल्नु छैन।
२) आफ्नो स्वभाव धेरै
रोयल बनाउनु छ। बिहान सबेरै अमृतवेला उठेर बाबालाई याद गर्ने अभ्यास गर्नु छ।
वरदान:–
सर्व
आत्माहरूलाई शक्तिहरूको दान दिने मास्टर बीजरूप भव
अनेक भक्त आत्मारूपी
पातहरू जो सुकेका छन्, ओइलाएका छन्, तिनीहरूलाई फेरि आफ्नो बीजरूप स्थितिद्वारा
शक्तिहरूको दान देऊ। उनीहरूलाई सर्व प्राप्ति गराउने आधार हो तिम्रो “इच्छा मात्रम्
अविद्या” स्थिति। तिमी स्वयं इच्छा मात्रम् अविद्या भएपछि अन्य आत्माहरूका सर्व
इच्छाहरू पूर्ण गर्न सक्नेछौ। इच्छा मात्रम् अविद्या अर्थात् सम्पूर्ण शक्तिशाली
बीजरूप स्थिति। त्यसैले मास्टर बीजरूप बनेर भक्तहरूको पुकार सुन, प्राप्ति गराऊ।
स्लोगन:–
सदा सर्वोच्च
रुहको छत्रछायाँमा रहनु नै अलौकिक जीवनको सुरक्षाको साधन हो।
अव्यक्त इसारा:–
ब्रह्माबाबा समान सम्पन्न र सम्पूर्ण स्थितिको अनुभव गर
यस समयलाई अमूल्य
सम्झेर प्रयोग गरेमा सम्पूर्ण बन्न सक्नेछौ। सम्पूर्ण हुनमा व्यर्थ सङ्कल्पले जुन
रोकावट गर्छन्, यसबाट बच्नको लागि कहिल्यै भित्र वा बाहिरको विश्राम नलेऊ। विश्राममा
रहेनौ भने समय वेस्ट जानेछैन। त्यस्तै आफूलाई सदैव गेस्ट सम्झ।