15.11.26    Avyakt Bapdada     Nepali Murli    20.03.2012     Om Shanti     Madhuban


सन्तुष्टताको शक्ति चेहरा र चालचलनमा धारण गरेर ब्रह्माबाबा समान बन , सदा खुसी रहने गर र खुसी बाँड


आज बापदादाले चाहे सम्मुखका चाहे टाढाका सन्तुष्टमणि बच्चाहरूलाई देखिरहनुभएको छ। हरेक बच्चाले आफ्नो सन्तुष्टताको शक्तिले चम्किँदै मुस्कुराउँदै मिलन मनाइरहेका छौ। यो सन्तुष्टताको शक्ति सबैभन्दा महान् हो, त्यसैले यसमा सर्व प्राप्तिहरू छन्। सन्तुष्टताको शक्ति धारण गर्ने सन्तुष्टमणिहरू स्वयमलाई पनि प्रिय, बाबालाई पनि प्रिय, परिवारलाई पनि प्रिय हुन्छन् किनकि जहाँ सन्तुष्टता छ त्यहाँ सर्वशक्तिहरू सन्तुष्टतामा समाहित भएका हुन्छन्। सन्तुष्टताको शक्तिको वायुमण्डल चारैतिर फैलिन्छ। सन्तुष्टमणि आत्माहरूले कहिल्यै पनि मायाबाट हार खान सक्दैनन्, मायाले हार खान्छ। सन्तुष्टमणि आत्माहरूले सबैको दिललाई आफ्नो बनाउन सक्छन्। सन्तुष्टमणि आत्माले चाहे माया, चाहे प्रकृतिको भिन्न भिन्न हलचललाई यसरी अनुभव गर्छ मानौँ कुनै कार्टुन हेरिरहेको छ। यसरी हरेक बच्चाले आफूलाई सन्तुष्टताको शक्तिले सम्पन्न सम्झन्छौ? आफैलाई सोध– म सन्तुष्टमणि हुँ? कैयौँ बच्चाहरूले भन्छन्– कहिलेकाहीँ सन्तुष्ट रहन्छु, सदा रहन्न तर बापदादालाई कहिलेकाहीँ शब्द मन पर्दैन। बापदादाले सदा हरेक बच्चालाई याद-प्यार दिनुहुन्छ, खुसी दिनुहुन्छ। त्यसैले बापदादालाई यो कहिलेकाहीँ शब्द मन पर्दैन, सदा प्रसन्नचित्त हुनुछ। त्यसैले बापदादा यही चाहनुहुन्छ– के तिमीले यस कहिलेकाहीँ शब्दलाई परिवर्तन गर्न सक्छौ! कहिलेकाहीँ शब्द ब्राह्मणहरूको शब्दकोशमा नै छैन, सदा शब्द छ। त्यसैले सबै बच्चाहरू जो बाबाका प्यारा, मायाको प्रभावबाट न्यारा बनेका छौ, के तिमीहरूले आज यस कहिलेकाहीँ शब्दलाई समाप्त गर्न सक्छौ? समाप्त गर्न सक्छौ? किनकि बापदादाले धेरै समयदेखि भनिरहनुभएको छ– कुनै पनि हलचल अचानक आउनेछ। त्यसको तयारीको लागि अहिले पनि कहिलेकाहीँका संस्कार भए भने के सदाकालको राज्य-भाग्यको अधिकारी बन्न सक्छौ? ब्रह्माबाबासँग सबैको दिलको प्यार छ। ब्रह्माबाबासँग वाचा छ– साथैमा बस्नेछौँ, साथै जानेछौँ, साथै राज्य गर्नेछौँ। यो वाचा पक्का छ नि! शिर हल्लाऊ। पक्का छ? कति पक्का! ब्रह्माबाबाले कहिलेकाहीँ शब्द भन्नुभयो! तिमीहरू सबैलाई पनि सदा अमृतवेलामा याद-प्यार दिनुभयो र सदा बाबाको साथमा मिलेर ज्ञानका कुरा, प्यारका कुरा, उमङ्ग-उत्साहका कुरा सुनाउनुभयो। बापदादासँग प्यार छ भनेर सबैलाई हात उठाउन लगाइयो भने सबैले दुवै हात उठाउनेछन्। हो नि! पक्का? प्यार छ भने प्यार गर्नेको एक एक शब्दसँग पनि प्यार हुन्छ। ब्रह्माबाबाले कहिल्यै शिव बाबासँग यो भन्नुभएन– कहिलेकाहीँ प्यार हुन्छ। सदा बाबाको अनुसरण गर्नुभयो र साथै तिमीहरूलाई पनि अनुसरण गराउनुभयो किनकि ब्रह्माबाबाको बच्चाहरूसँग अगाध प्रेम छ, त्यसैले तिमीहरूको नाम पनि के हो? ब्रह्माकुमारी; शिवकुमारी होइन। त्यसैले ब्रह्माबाबासँग प्यार अर्थात् ब्रह्माबाबाले भन्नु र ब्रह्माकुमार-कुमारीले मान्नु। प्यार अर्थात् न्यौछावर (समर्पण)। त्यसो भए केमा न्यौछावर हुने? उहाँको आज्ञामा। जे भन्नुभयो त्यो गर्छौ किनकि ब्रह्माबाबाको साथमा शिवबाबा हुनुहुन्छ। एक्लै हुनुहुन्न। बापदादा, बापदादा भन्छौ नि!

त्यसैले आज बापदादाले कहिलेकाहीँ शब्दलाई हरेक बच्चाको मुखबाट समाप्त गर्न चाहनुहुन्छ। तिमीहरू सबै बच्चाहरू बाबाका साथी हौ। बाबासँग प्यार छ नि! प्यारमा त आफैलाई न्यौछावर पनि गरिदिन्छन्, यो त केवल शब्दलाई न्यौछावर गर्नु हो किनकि बापदादाले हरेक बच्चालाई मालाको विजयी रत्न बनाउन चाहनुहुन्छ। त्यसो भए आफूलाई मालाको दाना सम्झन्छौ? विजयी सम्झन्छौ? कैयौँ बच्चाहरूले भन्छन्– ब्राह्मणहरूको सङ्ख्या त धेरै छ र माला १०८ को छ, त्यसैले १०८ नै आउनेछन् नि! तर तिमी सम्पन्न बन्यौ, विजयी बन्यौ भने १०८ को माला छ भनेर नसोच, बापदादाले बीचमा लुमहरू (लडिया) पनि बनाइदिनुहुनेछ। तर तिमी विजयी बन। कैयौँ बच्चाहरूले सोच्छन्– थाहा छैन, नम्बर मिल्नेछ वा मिल्दैन। तिमी सम्पन्न बन्यौ भने बाबाले नम्बर अवश्य दिनुहुनेछ किनकि बाबाको हरेक बच्चासँग स्नेह छ। सुनाइएको पनि थियो, कुनै अन्तिम बच्चा भए पनि उसँग पनि बाबाको स्नेह छ किनकि त्यस बच्चाले स्वभावको वशमा भएपनि बाबालाई चिनेर मेरो बाबा त भन्यो। दुनियाँमा कति ठुला ठुला पदका मानिसहरू छन्, उनीहरूले बाबालाई चिनेनन् तर उसले त चिन्यो, चाहे कुनै कमजोरीको वसमा छ तर बाबालाई त चिन्यो। प्यारले मेरो बाबा त भन्छ, त्यसैले बाबाले पहिला पनि सुनाउनुभएको थियो– अन्तिम बच्चामाथि पनि बाबाको स्नेह त छ नै तर उसमाथि पनि यो बच्चा केही न केही अगाडि बढिरहोस् भन्ने विशेष कल्याणको दृष्टि, कल्याणको वृत्ति पनि छ। त्यसैले बापदादाले आज स्पष्ट सुनाइरहनुभएको छ– तिमीहरूले अरू कुरा नसोच– यो कसरी होला, यो के होला; तिमीहरूले आफूलाई योग्य आत्मा बनाऊ। कर्मयोगी आत्मा बनाऊ। बाँकी बाबाले हरेक बच्चालाई, जुन यस्तो योग्य बच्चा बन्नेछ उसलाई सर्व प्राप्तिको वरदान दिएर पनि अगाडि बढाउनुहुनेछ, पछाडि राख्नुहुनेछैन।

आज अमृतवेला बापदादा चारैतिर चाहे देश, चाहे विदेशमा चक्कर लगाउन जानुभयो। हुन त बापदादाले प्रायः चक्कर लगाउनु नै हुन्छ तर आज चक्कर लगाउँदा, सुनाइएको थियो– बापदादा चक्कर लगाउन जानुहुँदा विशेष तिम्रा पूर्वज दादीहरू पनि साथमा चक्कर लगाउन जान्छन्। चक्कर लगाउँदा के देख्नुभयो? तिमीलाई पनि त थाहा छ। राम्रा राम्रा सङ्कल्प गर्छन्– गरेरै देखाउनेछु, बनेरै देखाउनेछु, हातमा हात समातेरै जानेछौँ। हात के हो? शिवबाबाको त फरिस्ता रूप पनि छैन, त्यसो भए हात कुनचाहिँ हो? श्रीमत हात हो। विदेशमा हातमा हात समातेर हिँड्ने फेसन छ। यहाँ हात हो श्रीमत, त्यसोभए सबै जना हातमा हात समातेर जानेहरू हौ नि! तागत छ नि?

हेर, ब्रह्माबाबाले पाइला पाइलामा श्रीमतमा चलेर तिमीहरू सबैलाई गरेर देखाउनुभयो। के गर्नु छ, कसरी गर्नु छ, उदाहरण छ। साकारमा उदाहरण छ। निराकारको कुरा त छोड तर ब्रह्माबाबा साकारमा तिम्रा साथी हुनुहुन्थ्यो। जसरी ब्रह्माबाबा श्रीमतको हातमा हात मिलाएर फरिस्ता बन्नुभयो, त्यसरी नै बाबाको अनुसरण गर्नु छ नि! बाबाको अनुसरण याद छ नि! त्यसो भए के अनुसरण गर्नु छ? सारा कुरा स्पष्ट गरेर देखाउनुभयो, ब्रह्माबाबाको चेहरा र चालचलनलाई सबैले जान्दछौ नि! आफ्नो बुद्धिद्वारा त ब्रह्माबाबालाई स्मृतिमा ल्याउन (इमर्ज गर्न) सक्छौ नि! जुन दिनचर्या, जसरी दिनचर्या ब्रह्माबाबाले गर्नुभयो, साकार तनमा हुँदा साकारमा पनि सबैले अनुभव गरे। ब्रह्माबाबाको चरित्र त सबैले जान्दछौ नै। त्यसैले बाबाको अनुसरण गर। तिमीलाई पक्का गराउनको लागि ब्रह्माबाबाका हरेक पाइला रिपिट गरेर पनि सुनाइएको छ। १८ पाइला पढेका छौ नि, के के गर्नुभयो! बस्, त्यसलाई अनुसरण गर्नु छ। अनुसरण गर्नु अर्थात् ब्रह्माबाबा समान बन्नु। त्यसैले सोच– बाबासँग प्यार छ, दुवै बाबासँग प्यार छ। प्यार अर्थात् पहिला पनि सुनाइयो– प्यारको प्रत्यक्ष रूप हो ब्रह्माबाबाले भन्नु र बच्चाहरू बाबासमान गर्नु, यो हो सच्चा दिलको प्यार। कैयौँ बच्चाहरूले के गर्छन्? ब्रह्माबाबाले समान गर्नु छ, यो सोच्छन् तर पहिला गरेर पछि सोच्छन्– ब्रह्माबाबा समान त गरिनँ। तर गरिसकेँ। तर अनुसरण गर्नु छ भने पहिला सोच, सङ्कल्प गर्नुभन्दा पहिला सोच– के यो सङ्कल्प ब्रह्माबाबाको हो! हो भने व्यवहारमा गर। गरिसकेपछि नसोच। तर पहिला सोच फेरि अनुसरण गर। ब्रह्माबाबालाई अनुसरण गर्नु अर्थात् ब्रह्माबाबा समान बन्नु। हिम्मत छ? अनुसरण गर्ने हिम्मत छ? जसले सम्झन्छौ– गर्नु नै छ, तिमीहरूले हात उठाऊ। पहिला सोच फेरि गर। गरेर नसोच्नु।

आज बापदादाले हरेक बच्चामा ब्रह्माबाबा समान विशेष सन्तुष्टताको शक्ति देख्न चाहनुहुन्छ। यस एक सन्तुष्टताको शक्तिमा सबै शक्तिहरू आउनेछन्। त्यसैले आज बापदादाको विशेष वरदान छ– सन्तुष्टताको शक्ति स्वरूप भव! जेसुकै होस्, आफ्नो सन्तुष्टतालाई कहिल्यै नछोड्नु। कैयौँ बच्चाहरूले भन्छन्, रुहरिहान गर्छन् नि! भन्छन्– सन्तुष्ट बन्न सहज छ तर सन्तुष्ट बनाउन धेरै मुस्किल छ। कसैले केही गरेछ र तिमीले बुझ्छौ– यो ठीक होइन, तैपनि किन मनमा राख्छौ? यसले यस्तो गर्छ, उसले त्यस्तो गर्छ, यसको स्वभाव यस्तो छ, उसको त्यस्तो छ...। मनमा नराख किनकि तिमीले मनमा बाबालाई बसालेका छौ। बसालेका छौ नि? शिर हल्लाऊ। पक्का बसालेका छौ? कि निकाल्छौ पनि, बसाल्छौ पनि? बसालेका छौ भने के मनमा बाबासँग कुरा पनि गर्छौ र? अब मनमा नराख।

बापदादाले पहिला पनि यो युक्ति सुनाउनुभएको छ– सदा त्यस्तो आत्माप्रति शुभभावना, शुभकामना राखेर आफ्नो शुभकामनालाई कार्यमा लगाऊ र त्यसै पनि हेर, तिमीले सम्झन्छौ– यसले राम्रो गर्दैन, त्यसो भए त्यो नराम्रो चीज हो। कसैले तिमीलाई नराम्रो चीज दियो भने तिमीले लिन्छौ र? त्यसो भए नराम्रो हो भन्ने सम्झन्छौ भने बुद्धिमा राख्नु, मनमा राख्नु– त्यो नराम्रो चीज किन लियौ? यसरी आफ्नो दिलमा सदा बाबालाई राखेर बाबासमान बन्नेछौ। यो त वाचा हो नि, बाबासमान बन्नु छ नि! पक्का बन्नु छ? कि थाहा छैन, बनिन्छ वा बनिँदैन? यस्तो त सोच्दैनौ नि? प्यार अर्थात् बाबाको अनुसरण। त्यसैले बापदादाले अहिले एक एक बच्चालाई शुभकामना, शुभभावना सम्पन्न आत्मा देख्न चाहनुहुन्छ।

टिचरहरू बन्नेछौ? टिचरहरूसँग बापदादाको विशेष प्यार छ। किन प्यार छ? किनकि बाबाको गद्दीमा बस्ने हिम्मत राखेका छौ। टिचरहरूमा हिम्मत छ नि! हरेक टिचरबाट बाबा यो चाहनुहुन्छ– हरेकको चेहराबाट भविष्य देखियोस्। निमित्त टिचरहरूलाई बापदादाले भनिरहनुभएको छ तर तिमीहरू पनि साथी हौ नि! बापदादाले पहिला छात्रावासमा साना साना बच्चाहरूलाई पनि यही शिक्षा दिनुभयो– प्रसन्नचित्त र भाग्यमानी, हरेकको चेहरा यस्तो होस्। अहिले पनि बापदादा यही चाहनुहुन्छ– हरेक बच्चा अनुहारबाट नै देखियोस्– यो प्रसन्नचित्त र भाग्यमानी आत्मा हो। वाणीद्वारा सेवा धेरै गरेका छौ र राम्रो गरेका छौ, त्यसको सर्टिफिकेट त मिलेको छ तर अब आफ्नो चेहरा र चालचलनद्वारा सेवामा अगाडि बढ। जसरी कोही गरिब रहेछ, उसलाई चिठ्ठा परेछ भने उसको चेहरा र चालचलनले बोल्छ नि! उसको चेहरा देखेर सबैले अनुभव गर्छन्– आज यसलाई केही मिलेको छ। यसरी नै तिम्रो चालचलन र चेहराबाट अरूले मानुन्– यिनीहरूलाई केही विशेष प्राप्ति भएको छ।

त्यसोभए आज बापदादा के चाहनुहुन्छ? ब्रह्माबाबा समान बन। बाबाको अनुसरण गर किनकि समय परिस्थिति त हलचलमा आइरहेको पनि छ र आउनु पनि छ, त्यसैले बापदादाले हरेक बच्चालाई यही शिक्षा दिन चाहनुहुन्छ– सदा खुसी होऊ र खुसी बाँड। जति खुसी बाँड्छौ त्यति खुसी बढ्नेछ। तिमीलाई प्रसन्नचित्त देखेर अरू पनि ५ मिनेटको लागि त खुसी हुन्। दुःखी आत्माहरू तिमीलाई देखेर ५ मिनेट खुसी भए भने पनि उनीहरूको लागि त धेरै मन पर्ने कुरा हो। त्यसैले आज बापदादाले हरेक बच्चालाई विशेष सन्तुष्टताको शक्ति चालचलन र चेहरामा धारण गर्ने र अरूलाई पनि धारण गराउने विशेष ध्यान खिचिरहनुभएको छ। अच्छा।

आज जो सबै पहिलो पटक आएका छौ, तिमीहरू उठ। हेर, तिमीहरूले देखिरहेका छौ। आधा क्लास पहिलो पटकका छन्। हात उठाऊ। हेर, सबैका हात हेर। तिम्रा नयाँ नयाँ भाइबहिनीहरू कति तिम्रा साथी बनेका छन्। बधाई छ, धेरै बधाई छ। अहिले जसरी यहाँसम्म पुगेका छौ नि! बापदादासँग मिल्नसम्म आइपुगेका छौ, यसपछि के गर्नु छ? ब्रह्माबाबाको अनुसरण गर। बापदादालाई पनि तिमी बच्चाहरूलाई देखेर खुसी हुन्छ– वाह! बच्चा आए! सारा परिवारलाई पनि खुसी हुन्छ– हाम्रा भाइबहिनी आए, आए, आए। अब ब्रह्माबाबाको अनुसरण गर। कहिल्यै पनि केही भएमा, कुनै प्रश्न भएमा वा कुनै समस्या भएमा, यो त समस्याको दुनियाँ नै हो; अनि तुरुन्तै आफ्ना टिचरद्वारा त्यसको समाधान गराउनु। दुई दिन भइसक्यो, यस्तो छ– यो नभन्नु किनकि धेरै पछि आएका हौ नि र जान त अगाडि चाहन्छौ नि! पछाडि रहन चाहन्छौ र? चाहँदैनौ। अगाडि बढ्न चाहन्छौ भने अगाडि जाने यही एउटा कुरा गर्नु– दिलमा कुनै पनि व्यर्थ कुरा नराख्नु। यसको लागि अमृतवेलामा बाबासँग मिलेपछि, एक त अमृतवेलाको योग अवश्य गर्नु र त्यसपछि आफ्नो सारा दिनको दिनचर्या जसमा मन ब्यस्त रहोस्, कुनै न कुनै ड्रिल– अनेक ड्रिल बापदादाले सुनाउनुभएको छ तर कुनै न कुनै ड्रिल सँगसँगै गरिरहनुछ। बापदादा सबैको लागि भन्नुहुन्छ– बीचबीचमा समय निकालेर चाहे पुराना, चाहे नयाँ सबैले एकदम अशरीरी बन्ने ड्रिल अवश्य गर्नु छ किनकि आउँदो समयमा सेकेन्डमा अशरीरी बन्नैपर्नेछ। यस ड्रिलको लागि कसैले समय मिलेन भन्ला, कोही जतिसुकै ब्यस्त भए पनि पानीको प्यास लाग्दा के पानी पिउन उठ्दैनौ र! जरुरी सम्झेर उठ्छौ नि! त्यसैले यो एक मिनेट अशरीरी बन्ने ड्रिल, यो अभ्यास अवश्य गर। त्यतिबेला अभ्यास गर्न सक्नेछैनौ। कैयौँले सम्झन्छन् नि– समय आएपछि गरौँला। तर होइन। यो जन्मजन्मको देह अभिमानको अभ्यासले त्यतिबेला अशरीरी बन्न दिनेछैन, त्यसैले अहिलेदेखि नै सारा दिनमा समय समयमा कुनै पनि समय निकालेर जुनसुकै समय निश्चित गर, एक सेकेन्डमा म अशरीरी आत्मा हुँ भन्ने भावमा आत्मस्वरूपमा स्थित होऊ। देह अभिमानले आफूतिर नतानोस्। यो अभ्यास सबैले गर्नु छ। चाहे पुराना हुन् चाहे नयाँ किनकि बापदादाले केही समयदेखि यो कुरा भन्नुभएको छ। तर गर्न जरुरी छ। नत्र श्रीमतको हातमा हात दिएर जान सक्नेछैनौ। तिम्रो वाचा छ– साथै जानेछौँ, साथै राज्यमा आउनेछौँ। त्यसैले यो ड्रिल सबैले गर्नु छ। बाँकी जति पनि नयाँ आएका छौ, खुसी होऊ गर, आबाद होऊ, अझ अगाडि बढिराख। अच्छा।

चारैतिर टाढा बसेका दिलमा समाहित बच्चाहरूलाई बापदादाले पनि देखिरहनुभएको छ। सबैको प्यारको सुगन्ध मधुबनमा पुगिरहेको छ। त्यसैले सबैलाई अब तीव्र गतिले चल्नु छ, तीव्र पुरुषार्थ गर्नु छ, दुनियाँका मानिसहरूमा सुखको तीव्रता ल्याउनु छ। दुःखीलाई सुखी बनाउनु छ। यो सुखी बनाउने सन्देश दिएर सबैलाई सुखी बनाउनु छ, यस सेवामा तीव्रता पनि छ र तीव्रता ल्याउनु पनि छ। अच्छा। सबैलाई दिलको धेरै याद-प्यार स्वीकार होस्।

वरदान:–
स्वयंको आरामको पनि त्याग गरेर सेवा गर्ने सदा सन्तुष्ट , सदा हर्षित भव

सेवाधारीले स्वयंको रातदिनको आरामलाई पनि त्यागेर सेवामा नै आराम महसुस गर्छन्, उनीहरूको सम्पर्कमा रहने वा सम्बन्धमा आउनेहरूले समीपताको यसरी अनुभव गर्छन् मानौँ शीतलता वा शक्ति, शान्तिको झरनामुनि बसेका छन्। श्रेष्ठ चरित्रवान् सेवाधारीले कामधेनु बनेर सदाकालको लागि सर्वको मनोकामना पूर्ण गरिदिन्छन्। यस्ता सेवाधारीलाई सदा हर्षित र सदा सन्तुष्ट रहने वरदान स्वतः प्राप्त हुन्छ।

स्लोगन:–
ज्ञानस्वरूप बन्नु छ भने हर पल पढाइमा अटेन्सन राख, बाबा र पढाइसँग समान प्यार रहोस्।

अव्यक्त इसारा:– ब्रह्माबाबा समान सम्पन्न र सम्पूर्ण स्थितिको अनुभव गर

विशेष सूचना:– महिनाको तेस्रो आइतबारको योग अभ्यास

आज महिनाको तेस्रो आइतबार हो, सबै दाजुभाइ तथा दिदीबहिनीहरू सङ्गठित रूपमा एकत्रित भएर साँझ ६:३० देखि ७:३० बजेसम्म आफ्नो शक्तिस्वरूप स्थितिमा स्थित भएर ज्ञानसूर्यका शक्तिशाली किरणहरूलाई स्वयममा धारण गरेर ती किरणहरूद्वारा विश्व परिवर्तनको सेवामा सहयोगी बन्नुहुनेछ।