16.04.25          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“ मीठे बच्चे– आफ्नो अवस्थालाई हेर , मेरो मन एक बाबासँग मात्रै लाग्छ वा कुनै कर्म सम्बन्धहरूमा लागेको छ।”

प्रश्न:–
आफ्नो कल्याण गर्नको लागि कुन दुई कुराको चार्ट दिनहुँ हेर्नुपर्छ?

उत्तर:–
“योग र चालचलन” को चार्ट दिनहुँ हेर। चेक गर– कुनै डिससर्भिस त गरिनँ? सदैव आफ्नो दिलसँग सोध– मैले बाबालाई कति याद गर्छु? आफ्नो समयलाई कसरी सफल गरेको छु? अरूलाई त देख्दिनँ? मन कसैको नाम-रूपमा लागेको त छैन?

गीत:–
मुखडा देख ले...

ओम् शान्ति ।
यो कसले भन्नुभयो? बेहदका बाबाले भन्नुभयो हे आत्माहरू! प्राणी अर्थात् आत्मा। भन्छन् नि आत्मा निस्केर गयो अर्थात् प्राण निस्केर गयो। अहिले बाबाले सम्मुख बसेर सम्झाउनुहुन्छ– हे आत्माहरू! याद गर, केवल यस जन्मलाई हेर्नुछैन तर जहिलेदेखि तिमी तमोप्रधान बन्यौ, त्यतिबेलादेखि सिँढी तल उत्रिँदै पतित बन्यौ। त्यसैले अवश्य पनि पाप गरेको हुनुपर्छ। समझको कुरा हो, जन्मजन्मान्तरको कति पाप शिरमाथि रहेको छ, यो कसरी थाहा हुन्छ। आफूलाई हेर्नु छ– मेरो योग कत्तिको लाग्छ? बाबाको साथमा जति राम्रो योग लाग्छ त्यति विकर्म विनाश हुन्छ। बाबाले भन्नुभएको छ मेरो याद गर्यौ भने ग्यारेन्टी छ तिम्रा विकर्म विनाश हुन्छन्। हरेकले आफ्नो मनभित्र हेर्नुछ बाबासँग मेरो कति योग रहन्छ? जति हामीले योग लगाउँछौं, पवित्र बन्छौं, त्यति पाप काटिँदै जान्छ, योग बढ्दै जान्छ। पवित्र नबनेसम्म योग पनि लागदैन। यस्ता पनि धेरै छन् जो सारा दिनभरिमा १५ मिनेट पनि यादमा रहदैनन्। आफैसँग सोध्नुपर्छ– मेरो दिल शिवबाबासँग छ वा देहधारीसँग? कर्म सम्बन्धीहरू आदिसँग छ? मायाले त बच्चाहरूलाई नै तुफानमा ल्याउँछ नि! स्वयंले पनि बुझ्नसक्छौ, मेरो अवस्था कस्तो छ? शिवबाबासँग दिल लाग्छ वा कुनै देहधारीसँग? कर्म सम्बन्धीहरू आदिसँग दिल लागेको छ भने सम्झनुपर्छ मेरो विकर्म धेरै छ, जसले गर्दा मायाले खाल्डोमा खसालिदिन्छ। विद्यार्थीले भित्र बुझ्नसक्छन्, हामी पास हुन्छौं वा हुँदैनौं? राम्रोसँग पढ्छौं वा पढ्दैनौं? नम्बरवार त हुन्छन् नि। आत्माले आफ्नो कल्याण गर्नुछ। बाबाले निर्देशन दिनुहुन्छ, यदि तिमीले पुण्य आत्मा बनेर उच्च पद पाउन चाहन्छौ भने त्यसमा पनि पहिला पवित्रता नै चाहिन्छ। पवित्र नै आयौ फेरि पवित्र बनेर नै जानुछ। पतितले कहिल्यै उच्च पद पाउनसक्दैन। सदैव आफ्नो दिलसँग सोध्नुपर्छ– मैले बाबालाई कति याद गर्छु, मैले के गर्छु? अवश्य पनि पछाडि बस्ने विद्यार्थीहरूको मन खान्छ। पुरुषार्थ गर्छन् उच्च पद पाउनको लागि। तर चालचलन पनि चाहिन्छ नि। बाबालाई याद गरेर आफ्नो शिरबाट पापको बोझ उतार्नुछ। हामीले बाबाको याद विना पापको बोझ उतार्न सक्दैनौं। त्यसैले बाबासँग कति योग हुनुपर्छ। उच्चभन्दा उच्च बाबा आएर भन्नुहुन्छ– म बाबालाई याद गर्यौ भने विकर्म विनाश हुन्छ। समय नजिक आउँदै जान्छ। शरीरको भरोसा छैन। अचानक नै कस्ता कस्ता दुर्घटना हुन्छन्। अकालमा मृत्युको त पूरा सिजन छ। त्यसैले हरेकले आफ्नो जाँच गरेर आफ्नो कल्याण गर्नुछ। सारा दिनको योग र चालचलनको चार्ट हेर्नुपर्छ। मैले सारा दिनमा कति पाप गरेँ? मनसा, वाचामा पहिला आउँछ फेरि कर्मणामा आउँछ। अहिले बच्चाहरूलाई ठीक बुद्धि मिलेको छ– हामीले राम्रो काम गर्नुछ। कसैलाई धोका त दिइनँ? फाल्तु, झुटो त बोलिनँ? डिससर्भिस त गरिनँ? कोही कसैको नाम रूपमा फसेका छन् भने यज्ञ पिताको निन्दा गराउँछन्।

बाबा भन्नुहुन्छ– कसैलाई पनि दु:ख नदेऊ। एक बाबाको यादमा बस। यो धेरै जबरजस्त चिन्तन मिलेको छ। यदि हामी यादमा रहनसक्दैनौं भने हाम्रो के गति होला! यस समयमा लापरबाही गर्यौ भने पछि गएर धेरै पछुताउनुपर्नेछ। यो पनि जान्दछौ– जो सामान्य पद पाउनेहरू हुन्, उनले सामान्य पद नै पाउने छन्। बुद्धिले बुझ्नसक्छौ हामीले के गर्नुछ। सबैलाई यही मन्त्र दिनुछ– बाबालाई याद गर। लक्ष्य त बच्चाहरूलाई मिलेको छ। यी कुरालाई दुनियाँले बुझ्नसक्दैनन्। सबैभन्दा पहिलो मुख्य कुरा हो नै बाबालाई याद गर्ने। रचयिता र रचनाको ज्ञान त मिल्यो। सम्झाउनको लागि दिनदिनै कुनै न कुनै नयाँ प्वाइन्ट पनि दिइन्छ। जसरी विराट् रूपको चित्र छ, यसको बारेमा पनि तिमीले सम्झाउन सक्छौ। कसरी वर्णहरूमा आउँछौं– यो सिँढीको चित्र पनि सँगै राख्नुपर्ने हुन्छ। सारा दिन बुद्धिमा यही चिन्तन रहोस्– कसरी कसैलाई सम्झाऊँ? सेवा गर्नाले पनि बाबाको याद रहन्छ। बाबाको यादले नै विकर्म विनाश हुन्छ। आफ्नो पनि कल्याण गर्नुछ। बाबाले सम्झाउनुभएको छ– तिमीहरूमाथि ६३ जन्मको पाप छ। पाप गर्दा गर्दा सतोप्रधानबाट तमोप्रधान बनेका छौ। अब मेरो बनेर फेरि कुनै पाप कर्म नगर। झुटो बोल्नु, सैतानी गर्नु, घर भाँड्नु सुनेको कुरामा विश्वास गर्नु– यो छलकपट धेरै नोक्सानकारक छ। बाबासँग नै योग टुटाइदिन्छ, त्यसैले कति पाप भयो। सरकारका पनि कुरा लगाउने हुन्छन्। सरकारको कुरा कुनै दुस्मनलाई सुनायो भने कति नोक्सानहुन्छ। अनि फेरि उनीहरूलाई धेरै कडा सजाय मिल्छ। त्यसैले बच्चाहरूको मुखबाट सदैव ज्ञान रत्न निस्कनु पर्छ। एक अर्कासँग उल्टोसुल्टो समाचार सोध्नु पनि छैन। ज्ञानको मात्रै कुरा गर्नुछ। तिमीले कसरी बाबासँग योग लगाउँछौ? कसैलाई कसरी सम्झाउँछौ? सारा दिन यही ख्याल रहोस्। चित्रहरूको अगाडि गएर बस्नुपर्छ। तिम्रो बुद्धिमा त ज्ञान छ नि। भक्तिमार्गमा त अनेक प्रकारका चित्रहरूलाई पुजिरहन्छन्। जान्न केही पनि जानेका छैनन्। अन्धश्रद्धा, मूर्तिपूजा, यी कुरामा भारतवर्ष प्रख्यात छ। अहिले तिमीले यी कुरा सम्झाउन कति मेहनत गर्छौ। प्रदर्शनीमा कति मनुष्य आउँछन्। भिन्न भिन्न प्रकारका हुन्छन्, कसैले त सम्झन्छन्, यो देख्न सम्झिन योग्य छ। देख्नेछौ, फेरि सेन्टरमा कहिल्यै जाँदैनन्। दिनप्रतिदिन दुनियाँको हालत पनि बिग्रिँदै जान्छ। झगडा धेरै हुन्छ, बेलायतमा के के भइरहेको छ छ– कुरै नसोध। कति मनुष्य मर्छन्। दुनियाँ तमोप्रधान छ नि। भन्न त भन्छन् बम बनाउनुहुँदैन। तर उनीहरूले भन्छन् तिमीसँग धेरै छ भने फेरि हामीले किन नबनाउने? नत्र गुलाम भएर रहनुपर्छ। जे जति मत निस्किन्छ त्यो सबै विनाशको लागि। विनाश त हुनु नै छ। भन्छन्– शङ्कर प्रेरक हुन् तर यसमा प्रेरणा आदिको कुरा छैन। हामी त ड्रामामा खडा छौं। माया धेरै तेज छ। मेरा बच्चाहरूलाई पनि विकारमा गिराइदिन्छ। कति सम्झाइन्छ– देहको साथमा प्रीत नराख, नाम-रूपमा नफस। तर माया पनि यस्तो तमोप्रधान छ, जसले देहमा फसाइदिन्छ। एकदम नाकबाट समात्छ। थाहा नै हुँदैन। बाबाले कति सम्झाउनुहुन्छ– श्रीमतमा चल, तर चल्दैनन्। रावणको मत तुरुन्त बुद्धिमा आउँछ। रावणले जेलबाट छोड्दैन।

बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झ, बाबालाई याद गर। बस्, अब त हामी गयौं। आधाकल्पको रोगबाट हामी छुट्छौं। त्यहाँ त हुन्छ नै निरोगी काया। यहाँ त कति रोगी छन्। यो रौरव नर्क हो नि। तिनीहरूले गरूडपुराण पढ्न त पढ्छन् तर ती पढ्ने अथवा सुन्नेलाई कत्ति पनि समझ छैन। बाबाले स्वयं भन्नुहुन्छ– पहिला भक्तिको कति नशा थियो। भक्तिबाट भगवान मिल्नुहुन्छ– यो सुनेर खुसी भएर भक्ति गर्थे। पतित बन्छन् त्यसैले त पुकार्छन्– हे पतित-पावन आउनुस्! भक्ति गर्छौ यो त राम्रो छ फेरि भगवानलाई याद किन गर्छौ! सम्झन्छन्– भगवानले आएर भक्तिको फल दिनुहुन्छ। के फल दिनुहुन्छ– त्यो कसैलाई थाहा छैन। बाबा भन्नुहुन्छ– गीता पढ्नेलाई नै सम्झाउनुपर्छ, उनीहरू नै हाम्रो धर्मका हुन्। पहिलो मुख्य कुरा हो नै गीतामा भगवानुवाच। अब गीताको भगवान को हुनुहुन्छ? भगवानको त परिचय चाहिन्छ नि। तिमीलाई थाहा भइसक्यो– आत्मा के हो, परमात्मा के हुनुहुन्छ? मनुष्य ज्ञानको कुरासँग कति डराउँछन्। भक्ति कति राम्रो लाग्छ। ज्ञानबाट ३ कोस टाढा भाग्छन्। अरे, पावन बन्नु त राम्रो हो, अब पावन दुनियाँको स्थापना पतित दुनियाँको विनाश हुनुछ। तर बिल्कुलै सुन्दैनन्। बाबाको निर्देशन छ– हियर नो इभिल... मायाले फेरि भन्छ हियर नो बाबाको कुरा। मायाको निर्देशन छ– शिवबाबाको ज्ञान नसुन। मायाले यस्तो जोडले थप्पड हान्छ कि बुद्धिमा बस्दै बस्दैन। बाबालाई याद गर्नै सक्दैनन्। मित्र सम्बन्धी, देहधारी याद आउँछन्। बाबाको आज्ञा मान्दैनन्। बाबा भन्नुहुन्छ– म एकलाई याद गर फेरि अवज्ञाकारी बनेर भन्छन् मलाई फलानीको याद आउँछ। याद आयो भने गिर्छौ। यी कुराबाट त घृणा आउनुपर्छ। यो बिल्कुलै फोहोरी दुनियाँ हो। हाम्रो लागि त नयाँ दुनियाँको स्थापना भइरहेको छ। तिमी बच्चाहरूलाई बाबाको र सृष्टिचक्रको परिचय मिलेको छ। त्यसैले यस पढाइमा नै लाग्नुपर्छ। बाबा भन्नुहुन्छ– आफै भित्र हेर। नारदको पनि उदाहरण छ नि। बाबाले पनि भन्नुहुन्छ– आफूलाई हेर, मैले बाबालाई याद गर्छु? यादले नै पाप भस्म हुन्छन्। कुनै पनि हालतमा याद शिवबाबालाई नै गर्नुछ, अरू कसैसँग पनि प्रेम गर्नुछैन। अन्त्यमा शिवबाबाको मात्रै याद रहोस् अनि प्राण तनबाट निस्कियोस्। शिवबाबाको याद होस् र स्वदर्शन चक्रको ज्ञान होस्। स्वदर्शन चक्रधारी को हुन्, यो पनि कसैलाई कहाँ थाहा छ र! ब्राह्मणहरूलाई पनि यो ज्ञान कसले दिनुभयो? ब्राह्मणहरूलाई स्वदर्शन चक्रधारी कसले बनाउनुहुन्छ? परमपिता परमात्मा बिन्दुले। अनि के उहाँ पनि स्वदर्शन चक्रधारी हुनुहुन्छ? हो, पहिला त उहाँ स्वदर्शन चक्रधारी हुनुहुन्छ। नत्र हामी ब्राह्मणहरूलाई कसले बनाउने? सारा रचनाको आदि, मध्य, अन्त्यको ज्ञान उहाँमा छ। तिम्रो आत्मा पनि स्वदर्शन चक्रधारी बन्छ, उहाँ पनि आत्मा हुनुहुन्छ। भक्तिमार्गमा विष्णुलाई स्वदर्शन चक्रधारी बनाइदिएका छन्। हामीले भन्छौं परमात्मा त्रिकालदर्शी, त्रिमूर्ति, त्रिनेत्री हुनुहुन्छ। उहाँले हामीलाई स्वदर्शन चक्रधारी बनाउनुहुन्छ। उहाँ पनि अवश्य मनुष्य तनमा आएर सुनाउनुहुन्छ। रचनाको आदि, मध्य, अन्त्यको ज्ञान अवश्य रचयिताले नै सुनाउनुहुन्छ नि। रचयिताको ज्ञानको बारेमा नै कसैलाई थाहा छैन भने रचनाको ज्ञान कहाँबाट मिल्छ। अहिले तिमीले बुझ्छौ– शिवबाबा नै स्वदर्शन चक्रधारी हुनुहुन्छ, ज्ञानका सागर हुनुहुन्छ। उहाँले जान्नुहुन्छ– हामी कसरी यो ८४ को चक्रमा आउँछौं। स्वयंले त पुनर्जन्म लिनुहुन्न। उहाँलाई ज्ञान छ जुन हामीलाई सुनाउनुहुन्छ। त्यसैले सबैभन्दा पहिला शिवबाबा स्वदर्शन चक्रधारी हुनुभयो। शिवबाबाले नै हामीलाई स्वदर्शन चक्रधारी बनाउनुहुन्छ। पावन बनाउनुहुन्छ किनकि उहाँ पतित-पावन हुनुहुन्छ। रचयिता पनि उहाँ नै हुनुहुन्छ। पिताले बच्चाहरूको जीवनलाई जानेका हुन्छन् नि। शिवबाबाले ब्रह्माद्वारा स्थापना गराउनुहुन्छ। गर्ने गराउने हुनुहुन्छ नि। तिमीले पनि सिक र सिकाऊ। बाबाले पढाउनुहुन्छ फेरि भन्नुहुन्छ– अरूलाई पनि पढाऊ। त्यसैले शिवबाबाले नै तिमीलाई स्वदर्शन चक्रधारी बनाउनुहुन्छ। भन्नुहुन्छ– मसँग सृष्टिचक्रको ज्ञान छ त्यसैले त सुनाउँछु। तिमीहरूले ८४ जन्म कसरी लिन्छौ– यो ८४ जन्मको कहानी बुद्धिमा रहनुपर्छ। यो बुद्धिमा रह्यो भने पनि चक्रवर्ती राजा बन्नसक्छौ। यो हो ज्ञान। तर योगले नै पाप काटिन्छ। सारा दिनको चार्ट राख। याद नै गर्दैनौ भने चार्ट पनि के राख्छौ! सारा दिनमा के के गर्यौं– यो त याद रहन्छ नि। यस्ता पनि मनुष्य छन् जसले आफ्नो चार्ट राख्छन्– कति शास्त्र पढेँ, कति पुण्य गरेँ? तिमीले त भन्छौ– कति समय याद गरेँ? खुसीमा आएर कति बाबाको परिचय दिएँ?

बाबाद्वारा जुन प्वाइन्ट मिलेका छन्, घरी घरी त्यसको मन्थन गर। जुन ज्ञान मिलेको छ त्यसलाई बुद्धिमा राख, दिनहुँ मुरली पढ। यो पनि धेरै राम्रो हो। मुरलीमा जुन प्वाइन्टहरू छन् ती घरी घरी मन्थन गर्नुपर्छ। यहाँ बस्नेभन्दा पनि बाहिर बेलायतमा बस्नेहरू बढी यादमा रहन्छन्। कति बाँधेलीहरू छन्, बाबालाई कहिल्यै देखेका पनि हुँदैनन्, कति याद गर्छन्, नशा चढिरहन्छ। घरमा बसेर नै साक्षात्कार हुन्छ वा अनायास सुन्दासुन्दै निश्चय हुन्छ।

बाबा भन्नुहुन्छ– भित्र आफ्नो जाँच गरिराख– मैले कति उच्च पद पाउनेछु? मेरो चालचलन कस्तो छ? कुनै खानपानको लालच त छैन? कुनै बानी हुनुहुँदैन। मूल कुरा हो, अव्यभिचारी यादमा रहनु। आफ्नै दिलसँग सोध– मैले कसलाई याद गर्छु? कति समय अरूलाई याद गर्छु? ज्ञान पनि धारण गर्नुछ, पाप पनि काट्नुछ। कसै कसैले यस्तो पाप गरेका हुन्छन् कुरै नगर। भगवानले भन्नुहुन्छ– यो गर तर भन्छन् परवश छौं अर्थात् मायाको वश छन्। ठीक छ मायाको बशमा नै बस। तिमी कि त श्रीमतमा चल्नुछ कि आफ्नो मतमा। हेर्नुछ– यस हालतमा म कहाँसम्म पास हुन्छु? के पद पाउँछु? २१ जन्मको घाटा पर्छ। जब कर्मातीत अवस्था हुन्छ त्यसपछि देह अभिमानको नाम रहनेछैन त्यसैले भनिन्छ देहीअभिमान बन। अच्छा।

मीठे-मीठे सिकीलधे बच्चाहरू प्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) कुनै पनि कर्तव्य यस्तो गर्नु छैन जसले यज्ञ पिताको निन्दा हुन्छ। बाबाद्वारा जुन सही बुद्धि मिलेको छ त्यस बुद्धिबाट राम्रो काम गर्नुछ। कसैलाई पनि दु:ख दिनुछैन।

२) एक अर्कासँग उल्टोसुल्टो समाचार सोध्नुछैन, आपसमा ज्ञानका कुरा मात्रै गर्नुछ। झुटो, सैतानी, घर भाँड्ने कुरा यो सबै छोडेर मुखबाट सदैव रत्न निकाल्नुछ। नराम्रो कुरा सुन्नुछैन, न त सुनाउनुछ।

वरदान:–
५ विकाररूपी दु स्म नलाई परिवर्तित गर ेर सहयोगी बनाउने मायाजीत जगतजीत भव

विजयीले अवश्य दुस्मनको रूप परिवर्तन गर्छ। तिमीले विकाररूपी दुस्मनलाई परिवर्तन गरेर सहयोगी स्वरूप बनाऊ जसबाट उनीहरूले सदा तिमीलाई सलाम गरिरहनेछन्। काम विकारलाई शुभकामनाको रूपमा, क्रोधलाई रुहानी नशाको रूपमा, लोभलाई अनासक्त वृत्तिको रूपमा, मोहलाई स्नेहको रूपमा र देह अभिमानलाई स्वाभिमानको रूपमा परिवर्तन गर अनि मायाजीत जगतजीत बन्नेछौ।

स्लोगन:–
रियल गोल्डमा मेरोपन नै मिसावट हो, जसले मूल्यलाई घटाउँछ, त्यसैले मेरोपनलाई समाप्त गर।