18.11.24          Morning Nepali Murli          Om Shanti       BapDada    Madhuban


“मीठे बच्चे– बाबा हुनुहुन्छ अविनाशी वैद्य , जसले एउटै महामन्त्रद्वारा तिम्रा सबै दु:ख हटाइदिनुहुन्छ।”

प्रश्न:–
मायाले तिम्रो बीचमा किन विघ्न ल्याउँछ? कुनै कारण बताऊ?

उत्तर:–
१- किनकि तिमी मायाको सबैभन्दा ठुलो ग्राहक हौ। उसको बिक्री खतम हुन्छ, त्यसैले विघ्न ल्याउँछ। २- अविनाशी वैद्यले तिमीलाई दबाई दिएपछि मायाको बिमारी बाहिर निस्किन्छ, त्यतिबेला विघ्नदेखि डराउनु हुँदैन। मनमनाभवको मन्त्रद्वारा माया भाग्छ।

ओम् शान्ति ।
बाबा बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ, मानिसहरू मनको शान्ति, मनको शान्ति भनेर हैरान हुन्छन्। दिनहुँ भन्छन् पनि– ओम् शान्ति। तर यसको अर्थ नबुझेका हुनाले शान्ति मागि नै रहन्छन्। भन्छन् पनि– आइ एम साइलेन्स अर्थात् म आत्मा हुँ। मेरो स्वधर्म हो शान्ति। फेरि यदि स्वधर्म शान्ति हो भने माग्ने किन? अर्थ नबुझेका हुनाले फेरि पनि मागिरहन्छन्। तिमीले जान्दछौ– यो रावण राज्य हो। तर यो पनि बुझ्दैनन्– रावण सारा दुनियाँको, खासगरी भारतखण्डको दुस्मन हो। त्यसैले रावणलाई जलाइरहन्छन्। यस्तो कुनै मनुष्य छ जसलाई वर्ष वर्ष जलाइरहन्छन्? यसलाई त जन्मजन्मान्तर, कल्पकल्पान्तर जलाउँदै आएका छन् किनकि यो तिम्रो धेरै ठुलो दुस्मन हो। ५ विकारमा सबै फस्छन्। जन्म नै भ्रष्टाचारद्वारा हुन्छ भने रावणको राज्य भयो। अहिले अथाह दु:ख छ। यसको निमित्त को हो? रावण। दु:ख के कारणले हुन्छ? यो कसैलाई थाहा छैन। यो त राज्य नै रावणको हो। सबैभन्दा ठुलो दुस्मन यो हो। हरेक वर्ष त्यसको पुतला बनाएर जलाइरहन्छन्। दिनप्रतिदिन अझै ठुलो बनाउँदै जान्छन्। दु:ख पनि बढ्छ। यति ठुला-ठुला साधु, सन्त, महात्मा, राजा आदि छन् तर एक जनालाई पनि थाहा छैन– रावण हाम्रो दुस्मन हो, जसलाई हामीले वर्ष वर्ष जलाउँछौं। अझै खुसी मनाउँछन्, सम्झन्छन्– रावण मर्यो र हामी लङ्काको मालिक बन्यौं। तर मालिक बन्दैनन्। कति पैसा खर्च गर्छन्। बाबा भन्नुहुन्छ– तिमीलाई यति अनगिन्ती पैसा दिएँ, सबै कहाँ गुमायौ? दशहरामा लाखौं रूपयाँ खर्च गर्छन्। रावणलाई मारेर फेरि लङ्कालाई लुट्छन्। केही पनि बुझ्दैनन्, रावणलाई किन जलाउँछन्। अहिले यी विकारको जेलमा परेका छन्। आधाकल्प रावणलाई जलाउँछन् किनकि दु:खी छन्। सम्झन्छन् पनि, रावणको राज्यमा हामी धेरै दु:खी छौं। सत्ययुगमा यी ५ विकार हुँदैनन्, यो जानेका छैनन्। यो रावणलाई जलाउने आदि हुँदैन। सोध– यो कहिलेदेखि मनाउँदै आउनु भएको हो! भन्छन्– यो त अनादि चल्दै आएको हो। रक्षाबन्धन कहिलेदेखि सुरु भयो? भन्छन्– अनादि चल्दै आएको हो। त्यसैले यी सबै बुझ्नुपर्ने कुरा छन् नि। मनुष्यको बुद्धि के बनेको छ। न जनावर हुन्, न मनुष्य हुन्। कुनै कामका छैनन्। स्वर्गलाई बिलकुल जानेका छैनन्। सम्झन्छन्– यो दुनियाँ भगवानले नै बनाउनु भएको हो। दु:खमा याद त फेरि पनि भगवानको गर्छन्– हे भगवान! यस दु:खबाट छुटाउनुहोस्। तर कलियुगमा त सुखी हुन सक्दैनन्। दु:ख त अवश्य भोग्नु नै छ। सिँढी उत्रिनु नै छ। नयाँ दुनियाँदेखि पुरानो दुनियाँको अन्त्यसम्मको सबै रहस्य बाबाले सम्झाउनु हुन्छ। बच्चाहरूको पासमा आउँदा भन्नुहुन्छ– सबै दु:खको दबाई एउटा छ। अविनाशी वैद्य हुनुहुन्छ नि। २१ जन्मको लागि सबैलाई दु:खबाट मुक्त गरिदिनुहुन्छ। ती वैद्यहरू त आफै पनि बिरामी हुन्छन्। उहाँ त अविनाशी वैद्य हुनुहुन्छ। यो पनि जानेका छौ– दु:ख पनि अथाह छ, सुख पनि अथाह छ। बाबाले अथाह सुख दिनुहुन्छ। त्यहाँ दु:खको नामनिसाना हुँदैन। सुखी बन्ने दबाई हो– केवल मलाई याद गर्यौ भने पावन सतोप्रधान बन्छौ, सबै दु:ख हट्छन् । फेरि सुख नै सुख हुन्छ। गायन पनि गरिन्छ– बाबा दु:खहर्ता, सुखकर्ता हुनुहुन्छ। आधाकल्पको लागि तिम्रा सबै दु:ख हट्छन्। केवल तिमीले आफूलाई आत्मा सम्झिएर बाबालाई याद गर।

यो आत्मा र जीव दुईको खेल हो। निराकार आत्मा अविनाशी छ र साकार शरीर विनाशी छ, यिनैको खेल हो। अब बाबा भन्नुहुन्छ– देहसहित देहका सबै सम्बन्धहरूलाई भुल। गृहस्थ व्यवहारमा रहेरै आफूलाई यस्तो सम्झ– अब हामी फर्केर जानु छ। पतित त जान सक्दैनन्। त्यसैले म एकलाई याद गर्यौ भने सतोप्रधान बन्छौ। बाबासँग दबाई छ नि। यो पनि बताउँछु, मायाले विघ्न अवश्य ल्याउने छ। तिमी रावणका ग्राहक हौ नि। उसको बिक्री जाने भएपछि त अवश्य हैरान पार्छ। त्यसैले बाबा सम्झाउनु हुन्छ– यो त पढाइ हो। कुनै दबाई होइन। दबाई हो यादको यात्रा। यदि मलाई निरन्तर याद गर्ने पुरुषार्थ गर्यौ भने यो एउटै दबाईले तिम्रा सबै दु:ख हट्छन्। भक्तिमार्गमा यस्ता धेरै छन् जसको मुख चलि नै रहन्छ। कुनै न कुनै मन्त्र रामनाम जपि नै रहन्छन्, उनीहरूलाई गुरुको मन्त्र मिलेको हुन्छ। यति पटक तिमीले दिनहुँ जप्नुपर्छ। उनीहरूलाई भन्छन्– रामको नामको माला जप्नु। यसैलाई रामनामको दान भन्छन्। यस्ता धेरै संस्थाहरू बनेका छन्। राम राम जपिरहे भने झगडा आदि कसैले गर्दैनन्, व्यस्त रहन्छन्। कसैले केही भन्यो भने पनि प्रतिक्रिया दिँदैनन्। धेरै कमले यस्तो गर्छन्। यहाँ फेरि बाबा सम्झाउनु हुन्छ– मुखबाट कुनै राम राम भन्ने होइन। यो त अजपाजाप हो। केवल बाबालाई याद गरिराख। बाबा भन्नुहुन्छ– म कुनै राम होइन। राम त त्रेताका थिए, जसको रजाइँ थियो, उनलाई त जप्नु छैन। अब बाबा सम्झाउनु हुन्छ– भक्तिमार्गमा यो सबै जप्दाजप्दै, पूजा गर्दागर्दै तिमी सिँढी उत्रिँदै आएका हौ किनकि ती सबै हुन् झुटा । सत्य त एउटै बाबा हुनुहुन्छ। उहाँ बसेर तिमी बच्चाहरूलाई सम्झाउनु हुन्छ। यो कस्तो भुलभुलैयाको खेल हो। जुन बाबाबाट यति बेहदको वर्सा मिल्छ उहाँलाई याद गर्यौ भने चेहरा नै चम्किइरहन्छ। खुसीमा चेहरा फक्रिन्छ। मुखमा मुस्कुराहट आउँछ। तिमीलाई थाहा छ– बाबालाई याद गर्यौं भने हामी यस्ता बन्छौं। आधाकल्पको लागि हाम्रा सबै दु:ख हट्छन् । यस्तो होइन, बाबाले कुनै कृपा गर्नुहुन्छ। होइन, यो सम्झिनु छ– जति हामीले बाबालाई याद गर्नेछौं त्यति सतोप्रधान बन्छौं। यी लक्ष्मी-नारायण विश्वका मालिक कति हर्षितमुख छन्। यस्तै बन्नु छ। बेहदका बाबालाई याद गरेर भित्र खुसी हुन्छ– फेरि म विश्वको मालिक बन्नेछु। यो आत्माको खुसीको संस्कार नै फेरि साथमा जान्छ। फेरि अलिअलि कम हुँदै जान्छ। अहिले मायाले तिमीलाई धेरै हैरान पार्छ। मायाले कोसिस गर्छ– तिम्रो यादलाई भुलाउने। सदैव यस्तो हर्षितमुख रहन सक्दैनौ। अवश्य कुनै समयमा निसासिन्छौ। मनुष्य बिमारी भए भने उनीहरूलाई भन्ने पनि गर्छन्– शिवबाबालाई याद गर्नुहोस्, तर शिवबाबा को हुनुहुन्छ, यो कसैलाई थाहा छैन भने के सम्झिएर याद गर्ने? किन याद गर्ने? तिमी बच्चाहरूले त जानेका छौ– बाबालाई याद गर्नाले हामी तमोप्रधानबाट सतोप्रधान बन्छौं। देवी-देवता सतोप्रधान हुन्छन् नि, त्यसलाई भनिन्छ नै दैवी दुनियाँ। मनुष्यको दुनियाँ भनिदैन। मनुष्य नाम हुँदैन। फलाना देवता। त्यो हो नै दैवी दुनियाँ, यो हो मनुष्य दुनियाँ। यी सबै बुझ्ने कुरा हुन्। बाबाले नै सम्झाउनु हुन्छ। बाबालाई भनिन्छ ज्ञानका सागर। बाबाले अनेक प्रकारको समझ दिनुहुन्छ। फेरि पनि अन्त्यमा महामन्त्र दिनुहुन्छ– बाबालाई याद गर्यौ भने तिमी सतोप्रधान बन्छौ र तिम्रा सबै दु:ख हट्छन् । कल्प पहिला पनि तिमी देवी-देवता बनेका थियौ। तिम्रो चेहरा देवताको जस्तो थियो। त्यहाँ कसैले पनि उल्टो-सुल्टो बोल्दैनथे। यस्तो कुनै काम नै हुँदैनथ्यो। त्यो हो नै दैवी दुनियाँ। यो हो मनुष्य दुनियाँ। फरक छ नि। यो कुरा बाबा बसेर सम्झाउनु हुन्छ। मनुष्यले त सम्झन्छन्– दैवी दुनियाँ भएको लाखौं वर्ष भयो। यहाँ त कसैलाई देवता भन्न सकिँदैन। देवताहरू त स्वच्छ थिए। महान् आत्मा देवी-देवतालाई भनिन्छ। मनुष्यलाई कहिल्यै भन्न सकिँदैन। यो हो रावणको दुनियाँ। रावण धेरै ठुलो दुस्मन हो। यो जस्तो दुस्मन अरू कोही हुँदैन। हरेक वर्ष तिमीले रावणलाई जलाउँछौ। यो रावण को हो? कसैलाई थाहा छैन। कुनै मनुष्य त होइन, यो हो ५ विकार। त्यसैले यसलाई रावण राज्य भनिन्छ। ५ विकारको राज्य छ नि। सबैमा ५ विकार छन्। यो खेल दुर्गति र सद्गतिको बनेको छ। अहिले तिमीलाई सद्गतिको समय आदिको बारेमा पनि बाबाले सम्झाउनु भएको छ। दुर्गतिको बारेमा पनि सम्झाउनु भएको छ। तिमी नै उच्च चढ्छौ फेरि पनि तिमी नै तल गिर्छौ। शिवजयन्ती पनि भारतवर्षमा नै हुन्छ। रावण जयन्ती पनि भारतवर्षमा नै मनाउँछन्। आधाकल्प हुन्छ दैवी दुनियाँ, लक्ष्मी-नारायण, राम-सीताको राज्य हुन्छ। अहिले तिमी बच्चाहरूले सबैको जीवनीलाई जानेका छौ। महिमा सारा तिम्रो हो। नवरात्रिमा सबै तिम्रो पूजा आदि हुन्छ। तिमीले नै स्थापना गर्छौ। श्रीमतमा चलेर तिमीले विश्वलाई परिवर्तन गर्छौ, त्यसैले श्रीमतमा पूरा चल्नु पर्यो नि। नम्बरवार पुरुषार्थ गरिरहन्छन्। स्थापना भइरहन्छ। यसमा लडाइँ आदिको कुनै कुरा छैन। अहिले तिमीले बुझेका छौ– यो पुरुषोत्तम सङ्गयुग हो नै बिलकुल अलग। पुरानो दुनियाँको अन्त्य, नयाँ दुनियाँको आदि। बाबा आउनु हुन्छ नै पुरानो दुनियाँलाई परिवर्तन गर्न। तिमीलाई सम्झाउन त धेरै सम्झाउनु हुन्छ तर धेरै छन् जसले भुलिहाल्छन्। भाषणपछि स्मृति आउँछ– यो यो प्वाइन्ट सम्झाउनुपर्थ्यो। कल्प कल्प जसरी स्थापना भएको छ, हुबहु त्यसैगरी नै भइरहन्छ, जसले जुन पद पाएको छ त्यही पाउने छ। सबैले उस्तै पद पाउन सक्दैनन्। उच्च भन्दा उच्च पद पाउने पनि छन् भने सानो भन्दा सानो पद पाउने पनि छन्। जुन अनन्य बच्चाहरू छन् उनीहरूले पछि गएर धेरै महसुस गर्नेछन्– यी धनवानको दासी बन्नेछिन्, यी रजाइँ घरानाको दासी बन्नेछिन्। यिनीहरू ठुला धनवान बन्छन्, जसलाई कहिले-कहिले निमन्त्रणा गरिरहन्छौ। सबैलाई कहाँ निमन्त्रणा गर्छन् र, सबैले मुख कहाँ देख्छन् र?

बाबाले पनि ब्रह्मा मुखद्वारा सम्झाउनु हुन्छ, सम्मुख सबैले कहाँ देख्न सक्छन् र! तिमी अहिले सम्मुख आएका छौ, पवित्र बनेका छौ। यस्तो पनि हुन्छ, जो अपवित्र आएर यहाँ बस्छन्, केही सुने भने फेरि देवता बन्छन्। फेरि पनि केही सुने भने असर पर्छ। सुनेन भने फेरि आउने नै छैन। त्यसैले मुख्य कुरा बाबा भन्नुहुन्छ– मनमनाभव। यस एउटै मन्त्रद्वारा तिम्रा सबै दु:ख हट्छन्। बाबा बनेर मनमनाभव भन्नुहुन्छ र टिचर बनेर मध्याजीभव भन्नुहुन्छ। उहाँ बाबा पनि हुनुहुन्छ, टिचर पनि हुनुहुन्छ, गुरु पनि हुनुहुन्छ। तीनैको याद रह्यो भने धेरै हर्षितमुख अवस्था हुन्छ। बाबाले पढाउनु हुन्छ, फेरि बाबाले नै साथमा लिएर जानुहुन्छ। यस्ता बाबालाई कति याद गर्नुपर्छ। भक्ति मार्गमा त बाबालाई कसैले चिन्दैचिन्दैन्। केवल यति जानेका छन्– भगवान हुनुहुन्छ, हामी सबै भाइ भाइ हौं। बाबाबाट के मिल्नु छ, यो केही पनि थाहा छैन। तिमीले अहिले सम्झन्छौ– एक बाबा हुनुहुन्छ, हामी उहाँका बच्चा सबै भाइ भाइ हौं। यो बेहदको कुरा हो नि। सबै बच्चालाई टिचर बनेर पढाउनु हुन्छ। फेरि सबैको हिसाबकिताब चुक्ता गराएर लैजानुहुन्छ। यस फोहोरी दुनियाँबाट फर्केर जानु छ, नयाँ दुनियाँमा आउनको लागि तिमीलाई लायक बनाउनु हुन्छ। जो जो लायक बन्छन्, उनीहरू सत्ययुगमा आउँछन्। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–
१) आफ्नो अवस्था सदा एकरस र हर्षितमुख राख्नको लागि बाबा, टिचर र सद्गुरु तीनैलाई याद गर्नु छ। यहाँबाट नै खुसीको संस्कार भर्नु छ। वर्साको स्मृतिद्वारा चेहरा सदा चम्किरहोस्।

२) श्रीमतमा चलेर सारा विश्वलाई परिवर्तन गर्ने सेवा गर्नु छ। जो ५ विकारमा फसेका छन्, तिनीहरूलाई निकाल्नु छ। आफ्नो स्वधर्मको पहिचान दिनु छ।

वरदान:–
आफूले सबैप्रति प्रेमको दृष्टि र भावना राख्ने सर्व प्रिय फरिस्ता भव

स्वप्नमा पनि कसैको पासमा फरिस्ता आए भने कति खुसी हुन्छ। फरिस्ता अर्थात् सबैको प्यारो। हदको प्यारो होइन, बेहदको प्यारो। जसले प्यार गर्छ उसको प्यारो होइन तर सर्व प्रिय। कोही जस्तोसुकै आत्मा होस् तर तिम्रो दृष्टि, तिम्रो भावना प्यारको होस्– यसलाई भनिन्छ सर्व प्रिय। कसैले अपमान गरोस्, घृणा गरोस् तापनि उसप्रति प्यार र कल्याणको भावना उत्पन्न होस् किनकि त्यस समयमा ऊ परवश छ।

स्लोगन:–
जो सर्व प्राप्तिहरूबाट सम्पन्न छ उही सदा हर्षित, सदा सुखी र भाग्यवान् हो।