19.12.24 Morning Nepali Murli Om Shanti BapDada Madhuban
“ मीठे बच्चे– यो
पुरुषोत्तम सङ्गमयुग ट्रान्सफर हुने युग हो , अहिले तिमी कनिष्टबाट उत्तम पुरुष
बन्नु छ।”
प्रश्न:–
बाबाको साथसाथै
कुन बच्चाहरूको पनि महिमा गाइन्छ?
उत्तर:–
जो टिचर बनेर
धेरैको कल्याण गर्ने निमित्त बन्छन्, बाबाको साथसाथै उनीहरूको पनि महिमा गाइन्छ।
गर्नेगराउनेवाला बाबाले बच्चाहरूद्वारा अनेकौंको कल्याण गराउनु हुन्छ, त्यसैले
बच्चाहरूको पनि महिमा हुन्छ। भन्छन्– बाबा, फलानोले हामीलाई दया गर्नुभयो जसले गर्दा
हामी केबाट के बन्यौं! टिचर नबनेसम्म आशीर्वाद मिल्न सक्दैन।
ओम् शान्ति ।
रूहानी बाबाले
रूहानी बच्चाहरूसँग सोध्नुहुन्छ। सम्झाउनु पनि हुन्छ अनि सोध्नु पनि हुन्छ। अब
बच्चाहरूले बाबालाई चिनेका छौ। ठीक छ, कसैले सर्वव्यापी भने पनि त्यसभन्दा पहिला
बाबाको पहिचान गर्नु त पर्छ नि– बाबा को हुनुहुन्छ? चिनेर फेरि भन्नुपर्छ, बाबाको
निवास स्थान कहाँ हो? बाबालाई नै चिनेन भने उहाँको निवास स्थान कसरी थाहा हुन्छ।
भनिदिन्छन् उहाँ त नाम-रुपबाट न्यारा हुनुहुन्छ अर्थात् हुनुहुन्न। त्यसैले जुन चीज
छैन भने त्यसको निवासस्थानको पनि कसरी विचार गर्न सकिन्छ? यो कुरा अहिले तिमीले
जानेका छौ। बाबाले सबैभन्दा पहिला त आफ्नै पहिचान दिनुभएको छ, फेरि रहने स्थान
सम्झाइएको छ। बाबा भन्नुहुन्छ– म तिमीलाई यो रथद्वारा पहिचान दिन आएको छु। म तिमीहरू
सबैको पिता हुँ, जसलाई परमपिता भनिन्छ। आत्मालाई पनि कसैले जानेका छैनन्। बाबाको
नाम, रुप, देश, काल भएन भने फेरि बच्चाहरूको कहाँबाट आउँछ? पिता नै नाम-रुपबाट
न्यारा छन् भने बच्चाहरू फेरि कहाँबाट आए? बच्चाहरू छन् भने अवश्य पिता पनि
हुनुहुन्छ। सिद्ध हुन्छ उहाँ नाम-रुपबाट न्यारा हुनुहुन्न। बच्चाहरूको पनि नाम-रुप
छ। ठीक छ, जतिसुकै सूक्ष्म होस्। आकाश सूक्ष्म भए पनि नाम त छ नि आकाश। जसरी यो
आकाश सूक्ष्म छ, त्यसैगरी बाबा पनि अति सूक्ष्म हुनुहुन्छ। बच्चाहरूले वर्णन गर्छन्
अजबको सितारा हुनुहुन्छ, जसले यिनमा प्रवेश गर्नुहुन्छ, जसलाई आत्मा भनिन्छ। बाबा त
रहनुहुन्छ नै परमधाममा, त्यो निवास स्थान हो। माथि नजर जान्छ नि। माथि अउँलाले
देखाएर याद गर्छन्। कसैलाई याद गर्छन् भने कुनै वस्तु त छ होला नि। परमपिता परमात्मा
त भन्छन् नि। फेरि पनि नाम-रुपबाट न्यारा भन्नु– यसलाई अज्ञान भनिन्छ। बाबालाई
चिन्नु, यसलाई ज्ञान भनिन्छ। यो पनि तिमीले जान्दछौ– हामी पहिला अज्ञानी थियौं।
बाबालाई पनि चिनेका थिएनौं, आफूलाई पनि चिनेका थिएनौं। अब बुझेका छौं– हामी आत्मा
हौं, नकि शरीर। आत्मालाई अविनाशी भनिन्छ भने अवश्य कुनै चीज हो नि। अविनाशी कुनै
नाम त होइन। अविनाशी अर्थात् जुन विनाश हुँदैन। त्यसैले अवश्य कुनै वस्तु छ।
बच्चाहरूलाई राम्रोसँग सम्झाइएको छ, मीठा प्यारा बच्चाहरू! जसलाई बच्चा-बच्चा भन्छु
ती आत्माहरू अविनाशी छन्। यो कुरा आत्माहरूका पिता परमपिता परमात्माले बसेर सम्झाउनु
हुन्छ। यो खेल एकपटक नै हुन्छ जब बाबा आएर बच्चाहरूलाई आफ्नो परिचय दिनुहुन्छ। म पनि
पार्टधारी हुँ। कसरी पार्ट खेल्छु, यो पनि तिम्रो बुद्धिमा छ। पुरानो अर्थात् पतित
आत्मालाई नयाँ पावन बनाउनु हुन्छ अनि फेरि शरीर पनि तिम्रो त्यहाँ फूल समान हुन्छ।
यो त बुद्धिमा छ नि।
अहिले तिमीले बाबा
बाबा भन्छौ, यो पार्ट चलिरहेको छ नि। आत्माले भन्छ बाबा आउनु भएको छ– हामी
बच्चाहरूलाई शान्तिधाम घर लैजान। शान्तिधाम पछि हुन्छ नै सुखधाम। शान्तिधाम पछि
दु:खधाम हुन सक्दैन। नयाँ दुनियाँमा सुख नै हुन्छ भनिन्छ। यी देवी-देवताहरू यदि
चैतन्य हुन्थे र यिनलाई कसैले सोध्यो– तपाईँ कहाँ रहनुहुन्छ? तब भन्ने छन् – हामी
स्वर्गका निवासी हौं। तर यी जड मूर्तिले त भन्न सक्दैनन्। तिमीले त भन्न सक्छौ नि,
हामी वास्तवमा स्वर्गमा रहने देवी-देवता थियौं फेरि ८४ को चक्कर लगाएर अब सङ्गममा
आइपुगेका छौं। यो ट्रान्सफर हुने पुरुषोत्तम सङ्गमयुग हो। बच्चाहरूले जानेका छौ–
हामी धेरै उत्तम पुरुष बन्छौं। हामी हर ५ हजार वर्षपछि सतोप्रधान बन्छौं। सतोप्रधान
पनि नम्बरवार हुन्छन्। त्यसैले यो सारा पार्ट आत्मालाई मिलेको छ। यस्तो भनिँदैन– यो
सारा पार्ट मनुष्यलाई मिलेको छ। अहम् आत्मालाई पार्ट मिलेको छ। म आत्माले ८४ जन्म
लिन्छु। हामी आत्माहरू वारिस हौं, वारिस सदैव पुरुष हुन्छन्, महिला हुँदैनन्।
त्यसैले तिमी बच्चाहरूले यो कुरा राम्ररी बुझ्नु छ– हामी सबै आत्माहरू मेल हौं।
सबैलाई बेहदका बाबाबाट वर्सा मिल्छ। हदको लौकिक पिताबाट केवल बच्चाहरूलाई वर्सा
मिल्छ, बच्चीलाई मिल्दैन। यस्तो पनि होइन आत्मा सदा फीमेल बन्छ। बाबाले सम्झाउनु
हुन्छ– तिमी आत्माहरूले कहिले पुरुषको, कहिले स्त्रीको शरीर लिन्छौ। यस समयमा
तिमीहरू सबै पुरुष हौ। सबै आत्माहरूलाई एक बाबाबाट वर्सा मिल्छ। सबै बच्चा नै बच्चा
हुन्। सबैका पिता एक हुनुहुन्छ। बाबाले पनि भन्नुहुन्छ– हे प्यारा बच्चाहरू! तिमी
सबै आत्माहरू मेल हौ। मेरा रूहानी बच्चा हौ। फेरि पार्ट खेल्न मेल-फीमेल दुवै
चाहिन्छ। तब त मनुष्य सृष्टिको वृद्धि हुन्छ। यी कुरालाई तिमी बाहेक अरू कसैले
जान्दैन। भन्न त भन्छन्– हामी सबै भाइ-भाइ हौं तर बुझ्दैनन्।
अहिले तिमीले भन्छौ–
बाबा, हजुरबाट अनेक पटक वर्सा लिएका छौं। आत्मालाई यो पक्का निश्चय छ। आत्माले
बाबालाई अवश्य याद गर्छ– हे बाबा, दया गर्नुहोस्। बाबा, अब हजुर आउनुहोस्, हामी सबै
हजुरका बच्चा बन्छौं। देह सहित देहका सबै सम्बन्धलाई छोडेर हामी आत्माहरूले हजुरलाई
नै याद गर्छौं। बाबाले सम्झाउनु भएको छ– आफूलाई आत्मा सम्झेर म पितालाई याद गर।
बाबाबाट हामीले कसरी वर्सा पाउँछौं, हरेक ५ हजार वर्षपछि हामी कसरी यी देवता बन्छौं,
यो पनि जान्नुपर्छ नि। स्वर्गको वर्सा कोबाट मिल्छ, यो अहिले तिमीले जानेका छौ। बाबा
त स्वर्गवासी हुनुहुन्न, बच्चाहरूलाई बनाउनु हुन्छ। स्वयं त नर्कमा नै आउनु हुन्छ।
तिमीले बाबालाई बोलाउन पनि नर्कमा नै बोलाउँछौ, जब तिमी तमोप्रधान बन्छौ। यो
तमोप्रधान दुनियाँ हो नि। सतोप्रधान दुनियाँ थियो, ५ हजार वर्ष पहिला यिनको राज्य
थियो। यी कुरालाई, यस पढाइलाई अहिले तिमीले जानेका छौ। यो हो मनुष्यबाट देवता बन्ने
पढाइ। मनुष्यबाट देवता बन्न समय लाग्दैन... बच्चा बन्यो र वारिस बन्यो। बाबा
भन्नुहुन्छ– तिमी सबै आत्माहरू मेरा सन्तान हौ। मैले तिमीलाई वर्सा दिन्छु। तिमी
भाइ भाइ हौ, तिमीहरूको निवासस्थान मूलवतन अथवा निर्वाणधाम हो, जसलाई निराकारी दुनियाँ
पनि भनिन्छ। सबै आत्माहरू त्यहाँ रहन्छन्। यो सूर्य चन्द्रमाभन्दा पनि पर त्यो
तिम्रो स्वीट साइलेन्स होम हो तर त्यहीँ नै बसिरहनु त छैन। बसेर के गर्ने? त्यो त
मानौं जड अवस्था भयो। आत्माले जब पार्ट खेल्छ तब नै चैतन्य भन्न मिल्छ। चैतन्य भएर
पनि पार्ट खेलेन भने जड भयो नि। तिमी यहाँ खडा भएर पनि हात-खुट्टा चलाएनौ भने यो पनि
जड भयो नि। त्यहाँ त स्वाभाविक शान्ति हुन्छ, आत्माहरू मानौं जड जस्तै हुन्छन्।
पार्ट केही पनि खेल्दैनन्। शोभा त पार्टमा छ नि। शान्तिधाममा के शोभा होला? आत्माहरू
सुख-दु:खको भासना भन्दा पर रहन्छन्। केही पार्ट नै खेल्दैनन् भने त्यहाँ रहनाले के
फाइदा? सबैभन्दा पहिला सुखको पार्ट खेल्नु छ। हरेकलाई पहिलादेखि नै पार्ट मिलेको छ।
कसैले भन्छन् हामीलाई मोक्ष चाहिन्छ। पानीको फोका पानीमा मिल्यो, सकियो। आत्मा मानौं
छँदै छैन। केही पनि पार्ट खेलेनन् भने मानौं जड भयो। चैतन्य भएर पनि जड जस्तै भएर
रह्यो भने के फाइदा? पार्ट त सबैले खेल्नु नै छ। मुख्य पार्ट हीरो-हीरोइनको भनिन्छ।
तिमी बच्चाहरूलाई हीरो-हीरोइनको टाइटिल मिल्छ। आत्माले यहाँ पार्ट खेल्छ। पहिला
सुखको राज्य गर्छ फेरि रावणको दु:खको राज्यमा जान्छ। अब बाबा भन्नुहुन्छ– तिमी
बच्चाहरूले सबैलाई सन्देश देऊ। टिचर बनेर अरूलाई सम्झाऊ। जो टिचर बन्दैनन् उनीहरूको
पद सानो हुन्छ। टिचर नबनी आशीर्वाद कसरी मिल्न सक्छ? कसैलाई पैसा दियौ भने
उनीहरूलाई खुसी हुन्छ नि। मनमा सम्झन्छन्– बी.केले हामीमाथि धेरै दया गर्छन्,
हामीलाई केबाट के बनाइदिन्छन्! हुन त महिमा एक बाबाको नै गर्छन्– वाह बाबा, हजुरले
यी बच्चाहरूद्वारा हाम्रो कति कल्याण गर्नुहुन्छ! कसैद्वारा त हुन्छ नि। गर्नेगराउने
बाबा हुनुहुन्छ, तिमीद्वारा गराउनु हुन्छ। तिम्रो कल्याण हुन्छ। अनि तिमीले फेरि
अरूको कलमी लगाउँछौ। जसरी जसरी जसले जति सेवा गर्छन्, त्यति नै उच्च पद पाउँछन्।
राजा बन्नु छ भने प्रजा पनि बनाउनु पर्छ। फेरि जो राम्रो नम्बरमा आउँछन् तिनीहरू पनि
राजा बन्छन्। माला बन्छ नि। आफैसँग सोध्नुपर्छ– म मालामा कुनचाहिँ नम्बरको बन्छु? ९
रत्न मुख्य छन् नि। बीचमा हुनुहुन्छ हीरा बनाउनेवाला बाबा। हीरालाई बीचमा राख्छन्।
मालामा माथि फूल पनि हुन्छ नि। अन्त्यमा तिमीलाई थाहा हुन्छ– कुनचाहिँ मुख्य दाना
बन्छन्, जो राजवंशमा आउने छन्। पछि गएर तिमीलाई अवश्य सबै साक्षात्कार हुन्छ। देख्छौ–
कसरी यी सबैले सजाय खान्छन्। सुरुमा दिव्य दृष्टिद्वारा तिमीले सूक्ष्मवतनमा
देख्थ्यौ। यो पनि गुप्त छ। आत्माले सजाय कहाँ खान्छ– यो पनि ड्रामामा पार्ट छ। गर्भ
जेलमा सजाय मिल्छ। जेलमा धर्मराजलाई देख्छन् फेरि भन्छन् बाहिर निकाल। बिरामी आदि
हुन्छन्, त्यो पनि कर्मको हिसाब हो नि। यी सबै बुझ्ने कुरा हुन्। बाबाले त अवश्य
राइट नै सुनाउनु हुन्छ नि। अहिले तिमी राइटियस बन्छौ। राइटियस उनलाई भनिन्छ जसले
बाबाबाट धेरै तागत लिन्छन्।
तिमी विश्वको मालिक
बन्छौ नि। तिमीसँग कति तागत हुन्छ। हङ्गामा आदिको कुनै कुरा हुँदैन। तागत कम भयो भने
कति हङ्गामा हुन्छ। तिमी बच्चाहरूलाई आधाकल्पको लागि तागत मिल्छ। फेरि पनि नम्बरवार
पुरुषार्थ अनुसार। एकै किसिमको तागत पाउन सक्दैनौ, न एकै किसिमको पद पाउन सक्छौ। यो
पनि पहिलादेखि नै निश्चित छ। ड्रामामा अनादि निश्चित छ। कोही पछि आउँछन्, एक-दुई
जन्म लियो, शरीर छोड्यो। जसरी दीपावलीमा लामखुट्टे हुन्छन्, राती जन्म लिन्छन्,
बिहान मर्छन्। ती त अनगिन्ती हुन्छन्। मनुष्यको त फेरि पनि गन्ती हुन्छ। जुन
आत्माहरू सबैभन्दा पहिला आउँछन् उनीहरूको आयु कति लामो हुन्छ! तिमी बच्चाहरूलाई खुसी
हुनुपर्छ– हामी धेरै आयुवाला बन्छौं। तिमीले पूरा पार्ट खेल्छौ। बाबाले तिमीलाई नै
सम्झाउनु हुन्छ, तिमीले कसरी पूरा पार्ट खेल्छौ। पढाइ अनुसार माथिबाट पार्ट खेल्न
आउँछौ। तिम्रो यो पढाइ हो नै नयाँ दुनियाँको लागि। बाबा भन्नुहुन्छ– अनेक पटक
तिमीलाई पढाउँछु। यो पढाइ अविनाशी हुन्छ। आधाकल्प तिमीले प्रारब्ध पाउँछौ। त्यस
विनाशी पढाइबाट सुख पनि अल्पकालको लागि मिल्छ। अहिले कोही ब्यारिस्टर बन्यो भने फेरि
कल्प पछि पनि ब्यारिस्टर बन्छ। यो पनि तिमीलाई थाहा छ– सबैको पार्ट जे सुकै भए पनि,
उही पार्ट कल्प-कल्प खेलिरहन्छन्। देवता होस् वा शूद्र, हरेकको पार्ट उही खेलिन्छ,
जुन कल्प कल्प खेलिन्छ। त्यसमा केही फरक हुन सक्दैन। हरेकले आफ्नो पार्ट खेलिरहन्छ।
यो सारा बनिबनाउ खेल हो। सोध्छन्– पुरुषार्थ ठुलो वा प्रारब्ध ठुलो? तर पुरुषार्थ
विना त प्रारब्ध मिल्न सक्दैन। पुरुषार्थले प्रारब्ध मिल्छ, ड्रामा अनुसार। त्यसैले
सारा बोझ ड्रामामा आउँछ। पुरुषार्थ कसैले गर्छन्, कसैले गर्दैनन्। आउँछन् पनि तर
फेरि पनि पुरुषार्थ गरेनन् भने प्रारब्ध मिल्दैन। सारा दुनियाँमा जति पनि एक्ट चल्छ,
यो सारा बनिबनाऊ ड्रामा हो। आत्मामा पहिलादेखि नै आदिदेखि अन्त्यसम्मको पार्ट
निश्चित छ। जसरी तिम्रो आत्मामा ८४ को पार्ट छ, आत्मा हीरा पनि बन्छ भने कौडी जस्तो
पनि बन्छ। यी सबै कुरा तिमीले अहिले सुन्छौ। स्कुलमा यदि कोही फेल भयो भने त भन्छन्–
यो बुद्धिहीन छ। धारणा हुँदैन, यसलाई भनिन्छ भेराइटी वृक्ष। यो भेराइटी वृक्षको
ज्ञान बाबाले नै सम्झाउनु हुन्छ। कल्पवृक्षको बारेमा पनि सम्झाउनु हुन्छ। बरको
वृक्षको उदाहरण पनि यसैको हो। त्यसका शाखाहरू धेरै फैलिन्छन्।
बच्चाहरूले जान्दछन्–
मेरो आत्मा अविनाशी छ, शरीर त विनाश हुन्छ। आत्माले नै धारण गर्छ, आत्माले ८४ जन्म
लिन्छ, शरीर त परिवर्तन हुँदै जान्छ। आत्मा उही रहन्छ, आत्माले नै भिन्न भिन्न शरीर
लिएर पार्ट खेल्छ। यो नयाँ कुरा हो नि। तिमी बच्चाहरूलाई पनि अहिले यो समझ मिलेको
छ। कल्प पहिला पनि यसरी नै बुझेका थियौ। बाबा भारतखण्डमा नै आउनु हुन्छ। तिमीहरूले
सबैलाई सन्देश दिइरहन्छौ, कोही पनि यस्तो हुँदैन जसलाई सन्देश मिल्दैन । सन्देश
सुन्नु सबैको हक हो। फेरि बाबाबाट वर्सा पनि लिन्छन्। केही न केही त सुन्छन् नि फेरि
पनि बाबाका बच्चा त हुन् नि। बाबाले सम्झाउनु हुन्छ– म तिमी आत्माहरूको पिता हुँ।
मद्वारा यस रचनाको आदि मध्य अन्त्यलाई जानेपछि तिमीले यो पद पाउँछौ। बाँकी सबै
मुक्तिमा जान्छन्। बाबाले त सबैको सद्गति गर्नुहुन्छ। गाउँछन् पनि– अहो बाबा, तिम्रो
लीला.... के लीला? कस्तो लीला? यो पुरानो दुनियाँलाई परिवर्तन गर्ने लीला हो। थाहा
हुनुपर्छ नि। मनुष्यले नै जान्दछन् नि। बाबा आएर तिमी बच्चाहरूलाई नै सबै कुरा
सम्झाउनु हुन्छ। बाबा नलेजफुल हुनुहुन्छ। तिमीलाई पनि नलेजफुल बनाउनु हुन्छ। तिमी
नम्बरवार बन्छौ। छात्रवृत्ति लिनेलाई नलेजफुल भनिन्छ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) सदा यसै स्मृतिमा रहनु छ– हामी आत्मा पुरुष हौं, हामीले बाबाबाट पूरा वर्सा लिनु
छ। मनुष्यबाट देवता बन्ने पढाइ पढ्नु र पढाउनु छ।
२) सारा दुनियाँमा
जुनसुकै कर्म भए पनि यो सबै बनिबनाउ ड्रामा हो, यसमा पुरुषार्थ र प्रारब्ध दुवै
निश्चित छ। पुरुषार्थ बिना प्रारब्ध मिल्न सक्दैन, यस कुरालाई राम्रोसँग बुझ्नु छ।
वरदान:–
कुनै पनि सेवा
सच्चा मनले वा लगनले गर्ने सच्चा रूहानी सेवाधारी भव
सेवा जुनसुकै होस्,
तर त्यो सच्चा मनले, लगनले गरियो भने त्यसको १०० मार्क्स मिल्छ। सेवामा चिडचिडापन
नहोस्, सेवा पूरा गर्नको लागि मात्र नगरियोस्। तिम्रो सेवा नै हो बिग्रेकोलाई बनाउनु,
सबैलाई सुख दिनु, आत्माहरूलाई योग्य र योगी बनाउनु, अपकारीहरूमाथि उपकार गर्नु,
समयमा हरेकलाई साथ वा सहयोग दिनु– यस्तो सेवा गर्ने नै सच्चा रूहानी सेवाधारी हुन्
।
स्लोगन:–
पवित्रता नै
ब्राह्मण जीवनको नवीनता हो, यही ज्ञानको फाउन्डेसन (आधार) हो।